बेमौसममा पर्यटक आएपछि सौराहाका व्यवसायी उत्साहित | Khabarhub Khabarhub

बेमौसममा पर्यटक आएपछि सौराहाका व्यवसायी उत्साहित


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

चितवन– बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका होटल व्यवसायी आशावादी बनेका छन् ।

साउन र भदौ महिना पर्यटनका हिसाबले बेमौसम मानिन्छ । यो समयमा होटलमा काम गर्ने मजदुर, कर्मचारीमध्ये अवस्था हेरेर आधालाई बिदासमेत दिने गरिन्छ । यही समयमा स्वदेशी र विदेशी पर्यटक गत वर्षको तुलनामा बढेपछि व्यवसायी उत्साहित भएका हुन् ।

क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष गङ्गा गिरीका अनुसार अहिले सौराहामा दैनिक एक हजारदेखि एक हजार दुई सयसम्म पर्यटक रहेको अनुमान छ । तीमध्ये आधा विदेशी छन् । विदेशीमा पनि चिनियाँको सङ्ख्या बढ्दो छ । सौराहामा एक सय २५ होटल छन् । ती होटलको क्षमता छ हजार दुई सय जनाको रहेको छ । 

क्षमताको हिसाबले पर्यटक न्यून भए पनि बेमौसममा समेत आएको यो सङ्ख्याले व्यवसायीलाई उत्साहित बनाएको उहाँको भनाइ छ । यस बेला चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल वाकबाहेकका गतिविधि रोक्ने गरिन्छ । सामुदायिक वनमा सफारीका गतिविधि सञ्चालन हुने गर्दछन् ।

अहिले दैनिक एक सय जनाभन्दा बढीले हात्ती सफारी गरिरहेको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले जानकारी दिए । यसरी हात्ती चढ्नेमा धेरै विदेशी छन् । 

कोभिडपछि पहिलोपटक चिनियाँ आएकाले हात्ती सफारीमा उनीहरुको ध्यान बढी हुने गरेको छ । क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरेले सडकको अवस्था राम्रो नहुँदासमेत आएको पर्यटकको यो सङ्ख्यालाई राम्रो रुपमा लिनुपर्ने बताए । कतिपय होटलमा कार्यक्रम चलिरहेका छन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा बजारीकरण गर्नसक्ने होटलमा पर्यटक बढिरहेका छन् । उनले भने, ‘विगतको बर्सातको तुलनामा यो वर्ष पर्यटकको सङ्ख्या राम्रो छ ।’ चिनियाँ आउन थालेकाले अबको हिउँदपछि क्रमशः पूर्ववत् अवस्थामा पर्यटन व्यवसाय फर्कनेमा उनी विश्वस्त छन् ।

होटल व्यवसायी गुणराज थपलियाले यो बेमौसम भएकाले पर्यटक राम्रो छ भन्न नसकिए पनि विगतको भन्दा सुधार हुँदै गएको बताए । विगतको तुलनामा कोभिडको प्रभाव क्रमशः घट्दै गएको उनको बुझाइ रहेको छ । यहाँ स्वदेश र विदेशबाट चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा सफारी गर्न पर्यटक आउने गर्दछन् । चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । 

चितवन भित्रने अधिकांश पर्यटकको रोजाइ सौराहा हुने गर्दछ । पछिल्ला वर्षहरूमा खर्चिला पर्यटक पश्चिम चितवनका पर्यटकीय गन्तव्यमा जान रुचाउने गरेका छन् ।

भूकम्प, नाकाबन्दी, कोभिडका कारण थला परेको पर्यटन व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्कने अपेक्षा व्यवसायीको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  १० : ०८ बजे

प्रयागराज महाकुम्भमेला : दश करोड बढीले गरे स्नान

भारत– गङ्गा, यमुना र सरस्वती नदीको सङ्गमस्थल प्रयागराजमा हाल विश्वप्रसिद्ध

आन्तरिक स्रोतबाट ४५ किलोमिटर सडक स्तरोन्नति गरिँदै

कञ्चनपुर– कृष्णपुर नगरपालिकाले चालु आर्थिक वर्षमा ४५ किलोमिटर सडक स्तरोन्नति

मन्थली अस्पताल भवन पालिकालाई हस्तान्तरण

रामेछाप– पन्ध्र शय्याको मन्थली अस्पतालको नवनिर्मित भवन मन्थली नगरपालिकालाई हस्तान्तरण

सम्झनामा तारादेवी : सांस्कृतिक साँझ र सम्मान कार्यक्रम

काठमाडौं– नेपाली गीतसङ्गीतको क्षेत्रमा कोकिला, किन्नरीलगायत उपाधि पाएकी गायिका तारादेवीलाई

कति सहज छ ‘डिजिटल अर्थतन्त्र’को बाटो ?

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसंचार विधेयक ल्याउन बृहत छलफल