विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

आज साउन २६, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट ११, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

म्यान्मारमा बाढीका कारण ५ जनाको मृत्यु, ४० हजारभन्दा बढी विस्थापित

म्यान्मारमा भारी वर्षासँगै आएको बाढी र पहिरोमा परी ५ जनाको मृत्यु भएको छ । प्रकोपका कारण ४० हजारभन्दा धेरै विस्थापित भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

मुलुकको दक्षिणी केइन राज्यमा नदीको बहाव खतराको चिन्ह नाघेपछि १८ हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

‘केइन राज्यका छ टाउनशिपहरूमा बाढीले खतरा उत्पन्न गरेपछि सुरक्षित आश्रयस्थलहरू स्थापना गरिदैछ’ केइन राज्य सरकारका प्रवक्ता यू साउ खिन माउङ मिन्टलाई उद्धृत गर्दै सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

थानल्विन नदी सहित केइन राज्यका विभिन्न नदीहरूमा जल सतह बढेको छ भने केइन राज्यको राजधानी हपा आन र मोन राज्यको राजधानी मावलामाइन जोड्ने प्रमुख सडकका केही भाग डुबानमा परेका छन् ।

यसबाहेक याङ्गुन र मावलामाइन बीचका केही रेल मार्गहरू बागो र मावलामाइन बीचको रेलवे ट्र्याकहरूको खण्डहरूमा बाढीको कारण डुबानमा पारेका छन् ।

देशको मौसम विज्ञान तथा जलविज्ञान विभागले बुधबार दिउँसो यहाँका छवटा नदीमा खतराको स्तर नाघेको जनाएको छ ।

बागो क्षेत्रको मडौक शहर र बागो टाउनसिप, केइन राज्यको ह्पान टाउनसिप र काचिन राज्यको मोगाउङ टाउनसिपमा नदी किनार वा तल्लो क्षेत्रका बासिन्दाहरूलाई सम्भावित बाढीको जोखिमबाट सतर्क रहन मौसम विभागले चेतावनी पनि जारी गरेको छ ।

बागो निवासी को आय ह्लाले बिहीबार सिन्ह्वालाई प्रत्येक वर्ष बाढीको अनुभव गरे पनि यस वर्षको डुबान लगभग तीन वर्षयताकै सबैभन्दा ठूलो भएको बताएका छन् । उनले आफ्नो घरको भुइँ तल्ला हाल डुबेको बताए ।

बागोका तल्लो क्षेत्रका केही बासिन्दाहरूलाई उच्च क्षेत्रहरूको खोजी गर्दै गुम्बा र आश्रयहरूमा सारिएको पनि उनले बताएका छन् ।

४७ वर्षपछि रूसले चन्द्रमामा रकेट पठायो

भारतपछि अब रुसले पनि चन्द्रमाका लागि लुनार मिसन लुना-२५ प्रक्षेपण गरेको छ ।

रुसले ४७ वर्षपछि चन्द्रमामा आफ्नो रकेट पठाएको छ । लुना २५ मस्कोबाट ५५०० किलोमिटर पूर्वमा रहेको अमुर ओब्लास्टको भोस्टोनी कोस्मोड्रोमबाट प्रक्षेपण गरिएको थियो । भारतको चन्द्रयान-३ अघि रुसको लुना-२५ चन्द्रमामा पाइला राख्ने बताइएको छ ।

रुसी मिडियाका अनुसार अगस्ट ११ शुक्रबार बिहान ४ः४० बजे लुना-२५ ल्यान्डर रुसको भोस्टोनी कोस्मोड्रोमबाट प्रक्षेपण गरिएको थियो । लुना-२५ सोयुज २.१बी रकेटमा चन्द्रमामा पठाइएको हो । यसलाई लुना ग्लोब मिसन नाम दिइएको छ। रकेटको लम्बाइ लगभग ४६.३ मिटर छ, जबकि यसको व्यास १०.३ मिटर छ ।

रुसको अन्तरिक्ष एजेन्सी रोस्कोसमोसले लुना–२५ चन्द्रमातर्फ प्रस्थान गरेको जनाएको छ । पाँच दिनसम्म यो चन्द्रमातर्फ सर्नेछ । यसपछि ३१३ टन तौलको रकेटले ७–१० दिनसम्म चन्द्रमाको परिक्रमा गर्नेछ । २१ वा २२ अगस्टमा यो चन्द्रमाको सतहमा पुग्ने अपेक्षा गरिएको छ ।

रुसी मिडियाका अनुसार रुसले ल्यान्डरलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने योजना बनाएको छ । चन्द्रमाको यस ध्रुवमा पानीको सम्भावना रहेको विज्ञहरूले बताएका छन् । लुना-२५ मा नासाले चन्द्रमाको दक्षिणी ध्रुवमा पानी रहेको बताएको थियो । यस रकेटसँग रोभर र ल्यान्डर छ ।

यसको ल्यान्डर लगभग ८०० किलोग्राम छ। लुना-२५ ले सफ्ट ल्यान्डिङ अभ्यास गर्नेछ । ल्यान्डरमा एक विशेष उपकरण छ, जसले सतहको ६ इन्च खन्नसक्छ । लुनाले २५ वटा चट्टान र माटोको नमूना संकलन गर्नेछ । यसले जमेको पानी खोज्नसक्छ ।

इस्लामिक स्टेट समूहको आक्रमणमा २३ सिरियाली सैनिकको मृत्यु

द्वन्द्वग्रस्त देश लेबनानको पूर्वी भागमा इस्लामिक स्टेट समूहले एउटा सैन्य बसमा गरेको आक्रमणमा कम्तीमा २३ सिरियाली सैनिकको मृत्यु भएको छ ।

सिरियाली युद्धको अनुगमन गरिरहेको एक संस्थाले शुक्रबार सो घटनाबारे जानकारी गराएको हो ।

बेलायतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले बिहीबार देइर एजोर प्रान्तमा आइएसका सदस्यहरूले एउटा सैन्य बसलाई निशाना बनाएर गरेको आक्रमणमा २३ सैनिकको मृत्यु भएको र १० जनाभन्दा बढी घाइते भएको बताएको छ ।

अमेरिकाको हवाईमा लागेको डढेलोमा परी मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो

अमेरिकाको हवाई राज्यस्थित एक ऐतिहासिक सहरमा लागेको डढेलोका कारण ५५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

नजिकैको आँधी बेहरीबाट आएको तीव्र हावाहुरीका कारण माउईमा मङ्गलबार लागेको डढेलोले समुन्द्री किनारको लाहैना सहरलाई प्रभावित पारेको थियो ।

आगोको लप्का तीव्र गतिमा सरेका कारण धेरै जना सडकहरूमा फसेको र अन्य धेरैले भाग्नको लागि समुद्रमा हामफालेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

“शहरको दृश्यलाई भिडियोमा हेर्दा वास्तवमा कसैले एक्कासी पूरै सहरमा बमबारी ग¥यो । मानिसहरूले आगोबाट बच्ने विकल्प केही नहुँदा आगोको लप्काबाट जोगिन समुद्रमा हाम फालेका थिए । शहर पूर्ण रूपमा तहसनहस भएको छ’’ त्यहाँ रहेका क्यानेडियन नागरिक ब्रान्डन विल्सनले भने ।

विल्सन आफ्नी पत्नीसँग हवाई घुम्न पुगेका थिए । विमानस्थलमा उडान भर्ने प्रयास भइरहँदा उनले उक्त दृष्यलाई प्रत्यक्ष देखेका थिए ।

आँसु झार्दै उनले भने, “यो हेर्न साँच्चै कठिन हुन्थ्यो । तिनीहरूले आफ्नो घर, आफ्नो जीवन, आफ्नो जीविकोपार्जन गुमाए ।”

यो गर्मीयाममा उत्तरी अमेरिकामा भएका अन्य चरम मौसमी घटनाहरूमध्ये हवाई डढेलो घटना एक हो । क्यानाडामा अझै पनि विशाल डढेलो लागिरहेको छ । अमेरिकाको दक्षिण–पश्चिममा उच्च उष्ण लहर फैलिरहेको छ ।

युरोप र एसियाका केही भागमा पनि बढ्दो तापक्रमको सामना गर्नुपरेको छ, जहाँ विशाल डढेलो र बाढीले आतङ्क मच्चाएको छ ।

“आज हामीले जे देखेका छौं त्यो विनाशकारी भएको छ । सम्भवतः हवाई राज्यको इतिहासकै सबैभन्दा ठूलो प्राकृतिक विपत्ति हो,” गभर्नर जोस ग्रीनले भने ।

“सन् १९६० मा बिग आइल्याण्डमा ठूलो लहर आउँदा ६१ जनाको मृत्यु भएको थियो,” उनले भने ।

माउ काउन्टीका अधिकारीहरूले बिहीबार राति ९ः०० बजेपछि दिएको जानकारीमा ५५ जनाको मृत्यु भएका पुष्टि गरिएको हो । अधिकारीहरूले १९ औं शताब्दीको सुरुमा हवाई राज्यको राजधानीको रूपमा रहेको शहरमा अग्निनियन्त्रकहरू अझै पनि आगोसँग जुधिरहेको बताएका छन् ।

लाहैनामाथि उडेका एएफपीका एक फोटोग्राफरले खिचेका तस्बिरहरूले यो कालो र धुवाँको भग्नावशेषमा परिणत भएको देखाउँछ ।

ग्रीनका अनुसार शहरको ८० प्रतिशत भाग हराइसकेको छ ।

उनले भने, “हामी सबैले दशकौंदेखि सँगै रमाएका र पुस्तौंदेखि देख्दै आएका भवनहरू पूर्णरूपमा ध्वस्त भएका छन् ।”

हजारौं मानिस घरबारविहीन भएका छन् र ग्रीनले आवासको खोजीका लागि व्यापक अभियान सञ्चालन भइरहेको बताएका छन् ।

उनले पत्रकार सम्मेलनमा भने, “हामीले हजारौं विस्थापित व्यक्तिलाई बस्ने र खाने व्यवस्था गर्न आवश्यक छ ।”

अमेरिकी राष्ट्रपति जो बाइडेनले डढेलोलाई बिहीबार ‘ठूलो विपत्ति’ भन्दै राहत कार्यका लागि सङ्घीय सहायता खुला गरिएको घोषणा गरेका थिए ।

पोप फ्रान्सिसले शुक्रबार हवाईका जनताको सुरक्षाको लागि प्रार्थना गरेको जनाएका छन् । भ्याटिकनले जारी गरेको एक टेलिग्राममा फ्रान्सिस उक्त घटनाबाट निकै मर्माहत भएको उल्लेख छ ।

अमेरिकी तटरक्षक बलका कमान्डर अजा कर्कसीले सीएनएनलाई बताएअनुसार आगोको लप्काबाट जोगिन करिब १०० जना मानिस पानीमा हामफालेको अनुमान गरिएको छ ।

शान्ति वार्ताका लागि रुसी सेना फिर्ता गर्नुपर्ने युक्रेनको अडान

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले युक्रेनको भूभागबाट रुसी सेना फिर्ता गर्नु रुससँग शान्ति वार्ता सुरु गर्नका लागि पहिले सर्त भएको बताएका छन् ।

इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले बिहीबार जनाएअनुसार मन्त्रीले भने, “हामीले आफ्नो भूमिबाट रुसको सेना फिर्ता गरेपछि रुससँग वार्ता गर्न सक्छौँ ।”

उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको प्रत्यक्ष वार्ताको सम्भावनालाई अस्वीकार गर्दै कीभले “अप्रत्यक्ष रूपमा मुद्दाहरू समाधान गर्न कूटनीतिक तरिकाहरू” अपनाउँन चाहेको उल्लेख गरेका छन् ।

गत हप्ता युक्रेन सङ्कटको समाधानका लागि काम गर्न साउदी अरबको सहर जेद्दाहमा करिब ४० देशका सुरक्षा सल्लाहकार र प्रतिनिधिहरू भेला भएका थिए ।

टर्कीमा फेरी भूकम्प

टर्कीमा फेरी भूकम्प गएको छ । टर्कीको दक्षिणी क्षेत्रमा बिहीबार राति ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

मिडिया रिपोर्टका अनुसार भूकम्पका कारण धेरै भवनमा क्षति पुगेको छ भने २३ जना घाइते भएका छन् । भूकम्पको केन्द्रबिन्दु मलात्या प्रान्तको येसिलुरट सहरमा रहेको जनाईएको छ । सञ्चारमाध्यमका अनुसार अदियामानमा पनि भूकम्पको धक्का महसुस भएको छ ।

टर्कीका स्वास्थ्य मन्त्री फहरेटिन कोकाले एक सामाजिक सञ्जाल पोस्ट गर्दै मालत्या र अदियामानमा भवनहरू भत्किँदा मानिसहरू घाइते भएको बताएका छन् । भूकम्पबाट बच्न मानिसहरु भवनबाट हाम फालेका छन् भने केही घाइते भएका छन् ।

सोही क्रममा स्थानीय टिभीमा प्रसारण गरिएको भिडियोमा भूकम्पले भवनहरू भत्काएको दृश्य देखाइएको छ ।

गत फेब्रुअरीमा गएको विनाशकारी महाभूकम्पबाट दुवै स्थानहरू प्रभावित भएका थिए, जसमा ५० हजारभन्दा बढीको ज्यान गएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ८ : ०६ बजे

ट्राफिक नियम मिच्नेलाई स्वयंसेवक बनाउने गृहमन्त्रीको निर्णयलाई सर्वोच्चले रोक्यो

काठमाडौं– ट्राफिक नियम मिच्नेलाई  स्वयंसेवक बनाएर सडकमा खटाउने उपप्रधान तथा

उदयपुरका सबै सहकारी पीडितहरू एकै ठाउँमा, आन्दोलनको तयारी

काठमाडौं– सर्वसाधारणको बचत अपचलन गरेर सम्पर्क विहीन भएको भन्दै ग्रेस

हावाहुरीले चितवनको केरा खेतीमा करोडौँको क्षति

काठमाडौं– शुक्रबार र शनिबार आएको हावाहुरीले चितवनको केरा खेतीमा करोडौँको

प्रधानमन्त्री कप भलिबल : महिलातर्फ नेपाल पुलिस क्लबको लगातार दोस्रो जित

काठमाडौं– प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल लिग अन्तर्गत महिलातर्फ

लाइसेन्स बनाइदिन्छ भन्दै रकम असुल्ने दुई जना पक्राउ  

रौतहट– रौतहट जिल्ला सदरमुकाम गौर स्थित यातायात व्यवस्था कार्यालय देशभरको