मन्दिर नै मन्दिरको शहर काठमाडौँ उपत्यकामा भेटिने आस्थाका केन्द्र तथा सम्पदा स्थलमा रहेका घण्टीको इतिहास तथा यसको महिमा तपाईँलाई थाहा छ ? जसको धार्मिक मात्र हैन, सामाजिक तथा पुरातन मान्यता समेत स्थापित छ ।
भनिन्छ नि, ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड’ अहिलेको पुस्तालाई ऐतिहासिक मन्दिर सम्पदा तथा घण्टी र शिलास्तम्भहरु यस्तै अर्थहीन लाग्न सक्छ ।
त्यसैले त अहिले धेरै मन्दिरमा रहेका पुराना घण्टी तथा घण्टीको रालो, खम्बा र सापट धेरै हराई सकेका छन् । दशकौँ पहिले तत्कालीन राजा महाराजाले बनाउन लगाएको घण्टी जे जति बाँकी छन् तिनको पनि बेहाल अवस्था छ ।
इतिहास अनुसार, हिन्दु मठ मन्दिरका घण्टीहरू राजनीतिक परिवर्तनका साक्षी मात्र छैनन्, परिवर्तनका पक्षपाती पनि बनेका छन् । किनकि यी घण्टीहरू जति बजेका छन्, शान्ति र परिवर्तनका लागि मात्र बजेका छन् ।
जति वेला यो मानव सभ्यताले फोन तथा मोबाइल भोगेको थिएन त्यस वेलाको सभ्यताले यही घण्टीलाई सबथोक मानेको थियो । कि घण्टी बज्थ्यो कि ढोलक तथा नगरा बज्थ्यो । तर जे बजे पनि टोलवासीले सूचना पाइरहन्थे । तर अहिले शताब्दी पुरानो इतिहासका साक्षी यी सबै सम्पदा धमाधम हराउन थालेका छन् । यसको मर्मत संरक्षण तथा सदुपयोग हुन सकेको छैन ।
काठमाडौँमा घण्टीको इतिहास
गुजुमुज्ज परेको काठमाडौँ शहर । आधुनिकता र शहरीकरणको चपेटामा पर्दै गएको सम्पदास्थल हो । अनि तिनै सम्पदा स्थलमा बनाइएका दशकौँ पुराना आस्थाका केन्द्र मठ मन्दिर अहिले सङ्कटग्रस्त अवस्थामा पुगेका छन् । त्यही आस्थाका केन्द्रहरूमा झुन्ड्याइएका ढलौटका घण्टीहरू झन् कुन अवस्थामा होलान् ?
हुन त, सामान्य आँखाले हेर्दा सामान्य लागे पनि यी घण्टीहरूको इतिहास निकै रोचक छ । धर्म र संस्कृतिका हिसाबले व्याख्या गर्नेहरूले भन्ने गरेका छन्, घण्टी पवित्रताको प्रतीक हो । मन्दिरको गहना हो । देवी देवताको वरिपरि आउने भुत प्रेत धपाउने साधन हो । तर यसको महिमा यतिमा मात्र सिमित छैन । घण्टी कतै भूत भगाउन त कतै देवतालाई खुसी पार्न– कतै आपत् विपत् टार्न त कतै अनिष्टको सङ्केत दिन राख्ने गरिएको छ । घण्टीको प्रयोग र प्रयोजन सबैतिर फरकफरक पाइन्छ ।
काठमाडौँमा भने अहिले देखिने ठूलाठूला घण्टी प्रायः सबै मल्लकालमै स्थापना गरिएको हो । विशेष गरी दरबारका इष्ट देवी भनिने तलेजु भवानीको नजिक प्रायः ठूलाठूला घण्ट राखिएको छ । तर आधुनिक युगसम्म आइपुग्दा यसको परिभाषा र महिमा बिस्तारै परिवर्तन भएको छ ।
मन्दिरमा मूर्ति नरहेपछि मन्दिरको घण्ट बजाउन छाडिएको छ । घण्ट कसले, किन, कहिले तथा कसरी स्थापना गर्याे भन्ने खोजी हुन पनि छाडेको छ ।
काठमाडौँ उपत्यकामा यातायातको साधन नहुँदा नै तत्कालीन शासकहरूले घण्ट स्थापन गरेको पाइन्छ । तर पनि यी गौरवपूर्ण समाजले स्थापना गरेको इतिहासलाई लतारेर र भविष्यको कल्पना गर्ने प्रवृत्तिकै कारण घण्टको इति वृत्तान्त खोज्न छोडिएको छ ।
घण्ट प्रतिस्थापन गर्ने, मन्दिर बनाउने, सार्वजनिक सम्पदा जोगाउने, इतिहास खोतल्ने जस्ता काम अहिलेको पुस्ताको प्राथमिकतामा पर्न छाडेको छ । त्यसैले त यहाँ ‘अर्को पशुपति, अर्को स्वयम्भू, अर्को दरबार स्क्वायर अनि अर्को सिंहदरबार बनाउने हिम्मत कसैले गरेको छैन । बरु उल्टै सम्पदा मानिएको मन्दिर भत्काइएको छ । घण्ट चोरिएको छ । अनि घण्टले थेग्दै आएको ऐतिहासिक काम समेत विभिन्न कारणले लोप भएर जान थालेको छ । हामी न घण्ट बजाउँछौँ, न घण्ट बजाउने तरिका तथा साइत नै बुझ्छौँ । त्यसैले त हामी घण्ट संरक्षण भन्दा यसको विनाशको कारण बनिरहेका छौँ ।
काठमाडौँ उपत्यकाको सम्पदा क्षेत्र वसन्तपुर दरबार क्षेत्रमा एउटा दक्षिण एसियाकै सबैभन्दा ठूलो घण्टी देख्न पाइन्छ । काठमाडौँका अन्तिम मल्ल राजा प्रताप मल्लले वि.सं.१८२३ ताका स्थापना गराएको उक्त घण्टीको मर्मत अन्तिम पल्ट १९१७ ताका रणबहादुर शाहले गराएका थिए ।
इतिहास अनुसार प्रताप मल्लले तलेजु भवानीको नित्य पुजा गरेको सूचना उपत्यका वासीलाई दिनका लागि राखिएको उक्त घण्ट दक्षिण एसियाकै सबैभन्दा ठूलो घण्ट हो । तलेजु भवानीका मूल पुजारीका अनुसार अहिले यो ऐतिहासिक घण्ट मर्मतको पर्खाइमा छ । घण्ट झुण्डाइएको दुवै तिरको ढुङ्गाको सापट तथा घण्ट राखिएको स्थल समयसमयमा मर्मत गरेर अवलोकन योग्य बनाउन यसको प्रचार प्रसार समेत हुन सकेको छैन ।
काठमाडौँ महानगरपालिकाले यो घण्ट बजाउनका लागि मासिक १५ सय रुपैयाँ दिएर एक जना कर्मचारी राखेको छ । तिनै कर्मचारीले हरेक बिहान नौ बजे यो घण्ट १०८ पटक बजाउछन् ।
त्यो पनि बीचमा थर्काइ नमारीकनै मात्र २ मिनेटमा बजाउँछन् । घण्टसँगै वसन्तपुरको नगरा बाजा पनि बजाइन्छ । तलेजु भवानी मल्ल राजाहरूका इष्टदेवी हुन् र हनुमान ढोकामा रहेको देगु तलेजु मन्दिरमा परम्परादेखि नै नित्य पूजा गर्ने समयमा घण्टा र नगरा बजाउने गरिएको छ ।
यसबाहेक यो घण्ट दशैँको फूलपातीका दिन ६ सय ६५ पटक बज्छ । तिहारको गोवर्धन पूजाका दिन पनि साइत जुराएर बजाइन्छ । यो घण्ट त्यत्तिकै बजायो भने अनिष्ठ हुन्छ भन्ने मान्यता रही आएको छ । त्यसैले धूपअक्षता गरेपछि मात्र पुजारीले घण्टको रालो समात्छन् ।
प्रताप मल्लले स्थापना गरेको यो घण्ट २०५६ देखि लगातार १० वर्ष कहिल्यै बजेन र त्यसपछि २०६० सालमा यो घण्टको रालो फेरेर तलेजु भवानी सेवा समिति मार्फत पुनः बजाउन थालिएको हो ।
देवदेवीको मन्दिरको अग्रभागमा साना ठूला घण्ट राख्ने चलन कुनै नौलो नभएको तर तर १५–२० जनाले नै उचाल्न नसक्ने मानिस भन्दा अग्लो आकारको तव गां अर्थात् ठुलो घण्ट राख्नुको उद्देश्य एक आपसमा प्रतिस्पर्धाकै कारण मात्र सम्भव भएको हो ।
ललितपुरको ठुलो घण्ट राजा विष्णु मल्लले (१७३६), भक्तपुरको ठुलो घण्ट राजा रणजीत मल्लले (१७३७) र वसन्तपुरको ठुलो घण्ट राजा रण बहादुर शाहले (१७९७) मा मर्मत गरेर स्थापना गराएको इतिहास भेटिन्छ ।
त्यसमा पनि पाटन शहरमा रहेको घण्टको त झनै रोचक इतिहास छ । पाटनका तत्कालीन मल्ल राजाहरूले काठमाडौँको सिको गरेर पाटन दरबार क्षेत्रमा थुप्रै घण्ट प्रतिस्थापन गराएका थिए । ती सबै घण्ट निकै पछि सम्म प्रयोगमा रहे । पाटनमा त पछिल्लो समय सम्म पनि मंंगल बजारका सर्वसाधारणले घण्टलाई पुरानो टेलिफोन ठान्ने गरेका थिए । यही घण्टले खतरा, सूचना तथा आपतकालीन सङ्केत गर्ने गरेको सम्झन्छन्, पाटनका सर्वसाधारण ।
२००७ सालको परिवर्तन देखि नै पाटनका सर्वसाधारण यहाँ’ रहेको मुख्य घण्ट बजेपछि दरबार क्षेत्रमा जम्मा हुने परम्परामा हुर्केका छन् । त्यसैले त २००७ साल अघिसम्म समयको प्रतीक बन्दै आएको पाटनको घण्ट त्यसपछि परिवर्तनको सूचक बन्यो ।
२००७ सालसम्म यो घण्ट दैनिक ३ पटक मात्र बज्थ्यो । बिहान ४ बजे उज्यालोको सङ्केत, ९ बजे कार्यालय समय र १२ बजे घरबाट बाहिर निस्कन नहुने घडिका रूपमा घण्ट बजाएर पाटनवासीलाई सूचित गरिन्थ्यो । त्यसबेला मङ्गलबजारकाे घण्ट कुपन्डोल जावलाखेल कीर्तिपुर डाँडासम्म सुनिन्थ्यो ।
तर अहिले यो घण्ट मङ्गलबजार मै सुनिन छाडेको छ । स्थानीय बुढापाकाका अनुसार पहिले पहिले सर्वसाधारणको हातमा घडी नहुने भएकाले शासकहरूले दरबारको सँगै घण्ट राखेका हुन् । त्यही घण्टको भरमा सर्वसाधारणको दैनिकी चल्थ्यो । तर समयको परिवर्तन सँगै यसको उपयोगिता फरक भयो ।
२०४६ सालमा यही घण्ट बज्दा पाटनका हजारौँ सर्वसाधारण आन्दोलनमा उत्रे । २०६३ सालमा पनि यही घण्टले सयौँ पाटनवासीलाई आन्दोलनमा उतार्यो । अनि माओवादीले आमहड्ताल गरेको समयमा पनि यही घण्ट बजेपछि हजारौँ पाटनवासी प्रतिकारका लागि मङ्गलबजारमा उत्रिए ।
यस्तै सन्देशवाहक घण्ट कीर्तिपुर भक्तपुर, साँखु, दोलखा तथा पनौतीमा समेत राखिएको पाइन्छ । साँखुको बज्रयोगिनी मन्दिरमा रहेको विशाल घण्ट पनि आपत् आईपरेमा बजाउनका लागि तत्कालीन शासकले स्थापना गरेको पाइन्छ । जसलाई सुरुका दिनमा सर्वसाधारण समय, सूचना, सन्देश, अथवा आह्वानको प्रतीकका रूपमा सदुपयोग गरे । तर अहिले तिनै परिवर्तनका साक्षी स्तम्भहरू जीर्ण बन्दै र ढल्दै गएका छन् ।
प्रतिक्रिया