मुलुकको अर्थतन्त्रबाट निराश हुनुपर्ने अवस्था छैन : अर्थमन्त्री महत | Khabarhub Khabarhub

मुलुकको अर्थतन्त्रबाट निराश हुनुपर्ने अवस्था छैन : अर्थमन्त्री महत


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रबाट निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन् । काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेस्ट होटेलमा बिहीबार इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च आईएसएसआरले आयोजना गरेको ‘साना राष्ट्रको क्षमता : प्रतिस्पर्धाको परख र नेपालको परराष्ट्र नीतिका प्राथमिकता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले कोरोना महामारी र अन्तराष्ट्रिय परिवेशका कारण केहि प्रभाव परेपनि आर्थिक क्षेत्रबाट निराश हुनुपर्ने अवस्था नरहेको बताएका हुन् ।

कार्यक्रममा उनले अन्य मुलुकको धारणाका आधारमा नभई राष्ट्रिय हितका आधारमा परराष्ट्र नीति सञ्चालन गरिनुपर्ने बताए । कार्यक्रममा उनले मुलुकको आवश्यकता र क्षमताका आधारमा परराष्ट्र नीति निर्धारित हुनुपर्ने बतए । नेपाललाई सानो मुलुकको रुपमा परिभाषित गरिएकोप्रति असहमति जनाउँदै उनले छिमेकीको तुलनामा सानो भएपनि भूगोल र जनसङ्ख्याका आधारमा नेपाललाई सानो मुलुक भन्न नमिल्ने धारणा राखे । आर्थिक रुपमा सबल बन्न नसकेका कारण नेपाललाई सानो मुलुकको विशेषण दिइएको भन्दै उनले मुलुकको नेतृत्व, आर्थिक एवम् कूटनीतिक क्षमता बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले नीतिगत निर्णय परिपक्वका साथ नगर्दा आर्थिक क्षेत्रमा समस्या आएपनि सकारात्मक सम्भावनाहरु रहेको जिकिर गरे । मन्त्री महतले मुलुकमा सम्भावना नै नरहेको भन्दै नकारात्मक सोच राख्दा आत्मबल कमजोर हुने जिकिर गरे । आर्थिक विकास र रोजगारी सिर्जनाको प्रचुर सम्भावना भएकाले यसलाई सदुपयोग गर्ने भन्नेमा सबैले जोड दिनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा अर्थमन्त्री डा. महतले मुलुकमा भएको क्षमताको सदुपयोग हुन नसकेको बताउँदै आर्थिक रुपमा कसरी सबल हुने भन्नेतर्फ ध्यान केन्द्रित हुनुपर्ने बताए । उनले भने, ‘आर्थिक रुपमा मुलुक बलियो भए अन्तर्राष्ट्रिय स्तरमा पनि हाम्रो सम्मान बढ्छ ।’ अहिले जताततै कहीँ केही हुन्न भन्ने नकारात्मक र निराशावादी मानसिकताका कारण युवाहरु विदेशिने क्रम बढेको बताउँदै अर्थमन्त्री डा. महतले यसलाई चिर्दै सकारात्मक र आशावादी बहसको आवश्यकता रहेको औँल्याए ।

विदेशिएका नेपालीहरु पहिलो पुस्ताबाट दोस्रो पुस्तामा पुस्तान्तरण हुँदै गएको र विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीहरुम विशाल क्षमता रहेको उनको भनाइ छ । उनले विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीलाई आकर्षण गर्न ‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ कसरी गर्ने भन्ने विषयमा बहस आवश्यता रहेको चर्चा गरे ।

कार्यक्रममा अर्थमन्त्री डा. महतले अहिले मुलुक पैरवी र वकालतभन्दा पनि देखिने र महसुस हुनेगरी पूर्वाधार विकासको आवश्यकता रहेको उल्लेख गरे । उनले नेपालमा पर्यटन, सूचना प्रविधि, कृषि व्यवसायजस्ता क्षेत्रमा ठूलो सम्भावना र क्षमता रहेको बताउँदै यसका लागि पूर्वाधार विकास आवश्यक रहेकोमा जोड दिए । यसका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

त्यस्तै, कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकको विकासका लागि सबै मित्रराष्ट्रहरुको सहयोग चाहिने बताए । उनले मुलुकमा शिक्षा क्षेत्रको विकास, औलो निवारणजस्ता अभियानमा अमेरिकाको भूमिका महत्वपूर्ण रहेको चर्चा गरे । उनले नेपालमा वाह्यका साथै आन्तरिक ऋण पनि बढ्दै गएको उल्लेख गरे । कार्यक्रममा उनले बजेटमा उल्लेख भएको अनुपातमा वाह्य ऋण २० प्रतिशत र अनुदान १५ प्रतिशतको हाराहारीमामात्रै आउने बताए ।

कार्यक्रममा उनले अध्ययनका लागि युवाहरुलाई विदेश जानबाट रोक्न मुलुकमै ठूला र स्तरीय विद्यालयको स्थापना हुनुपर्ने औँल्याए । अहिले करको भार धेरै भएका कारण नेपाली व्यापारीहरु चिनियाँ सामान किन्नका लागि भारत जाने गरेको अवस्था रहेको बताए ।

उनले अहिले एकातिर भारतले चामल निर्यातमा कर लगाएको र नेपालले पनि कृषिजन्य वस्तुमा भ्याट लगाएको एवम् अर्कोतर्फ आन्तरिक उत्पादन पनि अपेक्षाअनुसार नभएका कारण खानै नपाएर मान्छे मर्ने अवस्था आउने होइन भन्ने चिन्ता रहेको उल्लेख गरे । उनले अपेक्षाअनुसार राजश्व उठ्न नसकेका कारण यो आर्थिक वर्ष चुनौतिपूर्ण हुने जिकिर गरे ।

त्यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री जनार्दन शर्माले दुई ठूला मुलुकको बीचमा रहेको नेपालमा लगानी र विकासको अथाह सम्भावना हुँदाहुँदै पनि स्रोतको परिचालन हुन नसकेको टिप्पणी गरे । उनले मुलुकको अर्थतन्त्रलाई विकास गर्न नेतृत्व गम्भीर बन्नुपर्ने बताए ।

स्रोत परिचालनका लागि संरचनागत सुधार गर्न आवश्यक रहेको पनि उनले बताए । कोभिड महामारीलगायतका कारणले अमेरिकाजस्ता मुलुकमा शून्य प्रतिशत रहेको ब्याजदर अहिले तीन प्रतिशत पुगिसकेकाले लगानीको जोखिम रहेका नेपालजस्ता मुलुकमा विदेशबाट लगानी आउने अवस्था नरहेको धारणा राखे ।

कार्यक्रममा पूर्वअर्थमन्त्री शर्माले हाल नेपालको प्रयासभन्दा विदेशी आर्थिक कूटनीतिका कारणमात्रै मुलुकमा लगानी आइरहेको भन्दै नेपालको अर्थ कूटनीति मजबुत हुनुपर्ने बताए । नेपालको परराष्ट्र नीति सन्तुलित र असंलग्न हुनु महत्वपूर्ण रहेको उनको भनाइ छ । उनले मुलुकमा अथाह स्रोत भएपनि उपयोग हुन नसकेको धारणा राखे ।

उनले सगरमाथा, लुम्बिनीजस्ता क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना रहेको र कैलाश मानसरोवर तीर्थयात्राका लागि हुम्लाको लिमीको नाका प्रयोग गर्नसके त्यसबाट पनि पर्यटन क्षेत्रमा उल्लेखनीय सुधार हुने बताए । विदेश गएका नेपालीले ठूलो परिमाणमा रेमिट्यान्स पठाएपनि त्यसको सदुपयोग हुन नसकेको उनको भनाइ छ ।

आईएसएसआरको आयोजना, स्वाती, सीईएसआईएफ, पीईआईको सहआयोजना एवम् एसिया फाउन्डेसनको सहयोगमा सञ्चालन भएको कार्यक्रममा एसिया फाउन्डेसनकी अन्तर्राष्ट्रिय विकास साझेदारीका लागि वरिष्ठ निर्देशक एन्थिया मुलाकालाले स्वागत मन्तव्य राखेकी थिइन् ।

त्यस्तै, वरिष्ठ पत्रकार अखिलेश उपाध्याय, अरनिको फाउन्डेसनकी सहसंस्थापक अनेका राजभण्डारी तथा एसिया फाउन्डेसनकी वरिष्ठ निर्देशक एन्थिया मुलाकाला सम्मिलित प्यानल डिस्कसनमा पिईआईका अनुराग आचार्यले सहजकर्ताको जिम्मेवारी निर्वाह गरेका थिए । कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ६ : ०४ बजे

कारोबारमा उत्साहसँगै यो साता ५२ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं–यो साता नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा उत्साह देखिएको छ

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक

मोदीविरुद्ध उम्मेदवारी दिएका हास्यकलाकार श्याम रंगीलाको मनोनयन खारेज

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध उम्मेदवारको मनोनयन दर्ता गरेका हास्यकलाकार

विश्लेषक झाको सुझाव– बहुमत नपुग्नेले झ्यालबाट छिर्ने काम बन्द गरौँ

सत्ता स्वार्थले दलहरू भित्र मच्चिएको रडाकोले व्यवस्था माथि प्रश्न उठिरहेको

रास्वपा भन्छ- ‘कांग्रेस नेता घण्टा-घण्टामा कुरा फेर्छन्, उहाँहरूलाई सरकार चाहिएको छ’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले छानबिन समितिका नाममा ४ सहकारीलाई