मनको खुशीको लागि कविता लेख्छु | Khabarhub Khabarhub

मनको खुशीको लागि कविता लेख्छु

'कवितालाई व्यवसायिकतासँग जोडेर हेरेको छैन'


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

साहित्यकार राजेन्द्र श्रेष्ठको ‘आइ पो हाल्छ कि’ २०८० भन्ने कविता संग्रह भर्खरै सार्वजनिक भएको छ। लेखन दैनिकी, साहित्य सिर्जना र समसामयिक विषयमा आधारित भएर साहित्यकार राजेन्द्र श्रेष्ठसँग प्रभा थापाले गरेको कुराकानीको सम्पादित अंश :

साहित्यिक यात्रा कसरी सुरुवात भयो ?
कविता लेखनमा विद्यालय पढ्दादेखि नै रुचि थियो। मैले कक्षा ७ मा पढ्दै गर्दा ‘हामी साना बालबालिका भोलि ठुला हुनेछौँ’ शीर्षकमा कविता लेखेँ। त्यो कविता गुरुलाई देखाएँ। गुरुलाई देखाउन लादा राम्रो अक्षर हुने दाइलाई लेखाएर मात्र लगेँ। गुरुहरूले यो सारेर ल्यायो भन्ने ठान्नु भएछ र यो कहाँ सारेर ल्याएको भन्नुभयो। त्यसपछि त्यो मेरो कविता हरायो। तर त्यो कविता वास्तवमा मैले आफैले लेखेको थिएँ। पछि त्रिचन्द्र क्याम्पसमा आईएसी पढ्न गएँ। त्यो समयमा मैले ‘त्रिकोण’ शीर्षकको कविता लेखेँ। त्यो नै मेरो जीवनको प्राप्त पहिलो कविता हो।

‘आइ पो हाल्छ कि’ २०८० कस्तो कृति हो ?
२०५० सालको त्रिकोण भन्ने कविताबाट मेरो कविता यात्रा सुरु भयो। त्यसपछि हालसम्म लेखेको प्राय कविता फेसबुकमा राखेको छु। यसरी सेयर गर्दा कविताको बारेमा विभिन्न खालका टिप्पणी आइरहन्छन्। कसैले राम्रो भन्ने र कसैले लाइक गर्ने गर्दा पनि ऊर्जा थपियो। आज ६७ वटा कवितासहितको कविता संग्रह तयार भयो। किताबको शीर्षमासमेत विभिन्न प्रतिक्रिया आएका छन्। मैले पहिला ‘कतै आइपो हाल्छ कि’ भनेर राखेको थिएँ। साहित्यकार भुवनहरि सिग्देल जसले मलाई पहिला देखिनै कविता लेख्न प्रेरित गर्नुभयो। उहाँले यो कतै भन्ने शब्द हटाइदिज त्यसपछि अझ राम्रो हुन्छ भनेपछि ‘आइपो हाल्छ कि’ भन्ने शीर्षक राखियो।

नेपालमा नेताहरू फेरिए पनि उनीहरूको व्यवहार र जनताको स्तरमा परिवर्तन आएन। त्यस कारण अझ पनि २००७ सालको क्रान्ति ३६, ४६, २०५२ सालदेखि सुरु भएको माओवादी युद्ध र ६२-६३ को जनआन्दोलन र क्रान्तिले पनि जनतामा तात्त्विक फरक ल्याएन। माओवादी द्वन्द्वपछि आज हामी गणतन्त्रमा छौँ। गणतन्त्र भन्दा उन्नत तह हामीले कल्पना गर्न सक्दैनौँ। तर नागरिकले परिवर्तन महसुस गर्न सकेका छैनन्। त्यही हिसाबले एउटा आशावादी दृष्टिकोणमा राखेको हो।

पठन संस्कृति घटेको छ। धेरै मानिस प्रविधिमा अल्झिएका छन्। तपाईंलाई के लाग्छ ?
पठन संस्कृति घटेको पक्कै हो। पुस्तक पढ्ने बेलामा हामी अरु मिडियामा लागेका छौँ। हरेक विद्यालयले ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ भनेर दिवस पनि मनाएका छन्। पुस्तकबाट प्राप्त हुने ज्ञान अरु मिडियाबाट प्राप्त हुन सक्दैन। साहित्यिक अनुभूति पुस्तकबाट मात्र प्राप्त हुन्छ। साहित्यिक सिर्जनाको पुस्तक नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ। तर अहिले एसएमएसको जमानाले गर्दा वा प्रविधिले गर्दा पुस्तक पठन संस्कृति घटेको छ।

यसलाई बढाउन हामीले हाम्रो विद्यालय तहबाट नै हप्ताको एउटा कक्षालाई साहित्यमा बिताउने पद्धतिको विकास गर्नुपर्छ। उनीहरूले त्यो समयमा कुनै एउटा पुस्तक लिन्छन्। त्योबाट सिकेका कुरा भोलिपल्ट कक्षाकोठामा सुनाउने गर्छन्। त्यो बाट केही पाठ सिक्नेछन्। यो सबै विद्यालयमा अपनाउने हो भने पढ्ने संस्कृति विकास हुन्छ।

व्यावसायिकताको कुरामा सबै कुरा मिलाएर साहित्यतर्फ ढल्किनु भएको हो ?
कविता लेखनलाई मैले कहिल्यै व्यावसायिकता बुझिन। मलाई जुन विषयले असर गर्छ त्यही विषयमा कविता लेख्छु। धेरै समय लगाएर पनि म कविता लेख्दिन। यो संग्रह निकाल्दा पनि व्यावसायिक हिसाबले धेरै हेरेको छैन। एक त हाम्रो नेपालमा कविता सबै भन्दा बढीले लेख्ने र थोरैले पढ्ने विधामा पर्छ। मनलाई खुसी बनाउन र आफ्नो इच्छा पुरा गर्न लेखेको ठानेको छु।

तपाईं चन्द्रागिरि कला समूह, चन्द्रागिरि साहित्य समाजमा सक्रिय हुनुहुन्छ। साहित्य सिर्जना र संस्थागत संलग्नताको सम्बन्ध के छ ?
चन्द्रागिरि कला समूह यो हाम्रो एसएलसी पछिको एउटा समूह हो। हामी युवा अवस्थामा केही गर्नुपर्छ भनेर गठन भएको संस्था हो। गठन गर्दा म सचिव थिएँ। हामी सांस्कृतिक कार्यक्रमहरू गर्दथ्यौं। हामीले राष्ट्रिय सभा गृहमा धिरज राईको पहिलो एकल गायन कार्यक्रम पनि गर्यौं। अहिले उहाँ विश्वमा गौतम बुद्धको बारेमा प्रचार गरेर हिँड्नु भएको छ।
त्यसपछि चन्द्रागिरि कला समूहले ५२ सालमा यो मुटुलाई भन्ने एल्बम निकाल्यो। पछि २०६० सालमा आएर पनि संस्थागत हुने काम गरेका छौं।

संस्थागत सक्रियताले समूहमा बसेर काम गर्ने मौका मिल्छ। शिक्षा, स्वास्थ्य, वातावरणमा आफ्नो सक्रियता देखाउँदै आयौं। हामीले साहित्य महोत्सवसमेत गरेका छौं। २०६८ सालमा कवितासँग नै जोडेर चन्द्रागिरि साहित्य समाज स्थापना भयो। शनिबारे साहित्य चौतारी कोठे गोष्ठी हुन्थ्यो। सबै सदस्यको घरघरमा गएर एउटा नयाँ कविता वाचन गर्ने परम्परा बसाएका थियौं। कतै छापेको प्रकाशित भएको कविता आयो भने फेरि कविता लेखिँदैन भनेर हामीले नयाँ नै कविता वाचन गर्ने गरी शनिबारे साहित्य चौतारी स्थापना गरेका थियौं। यस्ता क्रियाकलापले साहित्यमा सक्रिय बनायो।

चन्द्रागिरि साहित्य समाजले अहिले मेरोसहित तेस्रो कृति प्रकाशित गरेको छ। यसको अध्यक्ष भीम नारायण हुनुहुन्छ। उहाँको ‘भाव लहर’ भन्ने कविता संग्रह २०६७ मा प्रकाशित छ। साहित्यिक गतिविधिमा हामीले केही गर्नुपर्छ भनेर सक्रियता देखाएका हौं। हामीले गरेको देखेर पछाडिका पुस्ताले पनि सिक्छन्। हामीले अघिल्लोबाट सिक्यौँ र हामी भन्दा पछिका पुस्ताले हामीबाट सिक्छन् भनेर व्यवसायिकताबीच थोरै समय निकालेर साहित्यमा सक्रिय भएका हौं।

अहिले साहित्यमा नयाँ पुस्ता टाढिएका छन् भनिन्छ तपाइलाई के लाग्छ ?
टाढिएको त होइन। तर मूल धारसँग विच्छेद भएको हो। हिजोको संस्कृति भन्दा आजको पठन संस्कृति फरक भयो। लोकगीतलाई हिजो हामीले आत्मसाथ गरेनौँ। हाम्रो ढाँचालाई अहिलेका पुस्ताले आत्मसाथ नगर्नु स्वाभाविक हो। समयसँगै परिवर्तन भएको जस्तो लाग्छ। अहिले हिपपप गीतमा मान्छेको ध्यान गएको छ। कवितामा पनि लामो होइन छोटोछोटोमा पाठकको ध्यान गएको छ।

तपाईँले कविता कसरी लेख्नु हुन्छ ?
म मोबाइलमा फेसबुकमा राख्न टाइप गर्छु। सच्याउने केही छ भने पछि सच्याएर लेखेको हुन्छु। कतिपय हिँड्दा हिँड्दै सोचेर पछि लेख्ने गर्छु।

तपाईँको प्रेरणाको स्रोत वा व्यक्तित्वका बारेमा केही भन्नु हुन्छ ?
आमा–बुबा भन्दा ठुलो प्रेरणाको स्रोत अरु हुँदैनन्। त्यसपछि साहित्यकार भुवनहरि सिग्देलबाट थुप्रै कुरा सिक्ने अवसर पाएको छु। त्यसैले उहाँलाई म सम्झिन्छु। अर्को, आज म कुनै ठाउँमा उभिँदा मेरो धरातलको माटो नै हो। लक्ष्मी किशोर सुवेदी मेरो गुरुबा हुनुहुन्छ। साहित्यिक क्षेत्रमा लेखक, निर्माता तथा निर्देशक प्रकाश सायमी सरले मलाई हरेक ठाउँमा डोहोर्याउनुभएको छ। उहाँहरू कै प्रवाहमा म अगाडि बढेको हुँ। (एभिन्युजसँगको सहकार्यमा तयार सामग्री)

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ७ : ०५ बजे

नवलपरासी जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय

नवलपरासी– पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयमा पुस्तकालय स्थापना गरिएको छ

घुस आरोपले भारतीय धनाड्य अदानी समूहलाई धक्का

नयाँदिल्ली – विश्वकै धनी व्यक्तिमध्येका एक भारतीय धनाड्य गौतम अदानीले

यूरोपको पीआरप्रति पियार र यथार्थ !

यूरोप महादेश भित्रका अति विकसित र विकसित देशहरू मिलेर आर्थिक

सार्क मुलुकका पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’

पोखरा – पर्यटकीय राजधानी पोखरा प्राकृतिक सुन्दरताले मात्र होइन साहसिक

चिलिमेका तीन जलविद्युतको १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा