खाद्य डिपोमा चामल सकियो, ढुवानीको टुङ्गो छैन « Khabarhub

खाद्य डिपोमा चामल सकियो, ढुवानीको टुङ्गो छैन


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा चामल सकिएको छ । सदरमुकाम मार्तडीको डिपोमा राखिएको चामल यही भदौ २४ गतेदेखि सकिएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा विपद् र जिल्ला कारागारका कैदीका लागि मात्र एक सय ५० क्विन्टल चामल मौज्दात रहेको शाखाका प्रमुख मेखराज ओझाले जानकारी दिए । सर्वसाधारणका लागि राखिएको चामल सकिएको उनले बताए ।

विपद् र कारागारका लागि मात्र चामल राखिएको र सर्वसाधारणलाई बिक्री गर्ने चामल सकिएकाले चामल बिक्री बन्द गरिएको शाखाले सूचना जारी गरेको छ ।

मार्तडीस्थित डिपोमा चामल सकिएपछि सूचना टाँस गरी गोदाममा ताला लगाइएको छ । डिपोमा रहेको मौज्दात चामल सकिएको हुँदा ठेक्का प्रक्रियाबाट ढुवानी नहुञ्जेलसम्म खाद्यान्न बिक्री वितरण कार्य बन्द गरिएको शाखा प्रमुख ओझाले बताए ।

पूर्वी उत्तरी भेगको कोल्टीस्थित डिपोमा भने दुई सय क्विन्टल चामल मौज्दात छ । कोल्टी डिपोमा रहेको चामल एक साताका लागि मात्र पुग्ने भएकाले एक सातापछि ताला लगाएर बिक्री बन्द गरिने सार्वजनिक सूचना टाँस गर्नुपर्ने अवस्था आएको प्रमुख ओझाको भनाइ छ ।

जिल्लाको हिमाली गाउँपालिकामा खाद्यान्न सङ्कट भएको पाँच महिनाभन्दा बढी भएको छ । गाउँपालिकाको कवाडीस्थित अस्थायी डिपोमा गत आर्थिक वर्षको चामल जेठमा सकिएपछि पाँच महिनादेखि खाद्यान्न सङ्कट भएको स्थानिय धनलाल रोकायाले बताउनुभएको छ ।

ढुवानी अनुदानको चामल डिपोमा नभएपछि हिमाली गाउँपालिका १, २ र ३ को बिच्छ्याँ, गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ४ र ५ को रुगीनमा खाद्यान्न सङ्कट भएको हो ।

यस्तै हुम्लाको ताजाकोट गाउँपालिकामा समेत खाद्यान्न सङ्कट भएको छ । हिमाली गाउँपालिका–१ बिच्छयाँका धर्मलाल रोकाया दुुई दिन लगाएर कवाडी अस्थायी डिपोमा चामल किन्न आएका भए पनि डिपोमा चामल नपाएपछि बजारको महँगो चामल किनेर घर फर्किएका छन् ।

आव २०७९–८० मा कवाडी डिपोमा तीन हजार पाँच सय क्विन्टल चामल थियो । कवाडी डिपोको कोटाको चामल जेठ महिनामै सकिएपछि डिपोमा चामल मौज्दात नरहेको शाखाले जनाएको छ ।

आव २०८०–८१ मा कवाडी डिपोका लागि दुई हजार पाँच सय क्विन्टल चामलको कोटा रहेको छ । उक्त चामल ढुवानी ठेक्का प्रक्रियामा रहेकाले चामल आउने अहिले कुनै टुङ्गो छैन । कवाडी डिपोमा चामल भए मोटो चामल प्रतिकिलो ५२ मा बिक्री हुने गरेको थियो । डिपोमा चामल अभाव भएपछि सर्वसाधारणले बजारमा प्रतिकिलो ८० मा हालेर चामल किन्ने गरेका छन् ।

साविकको बिच्छ्याँ गाविसमा मात्र चार हजार जनसङ्ख्या रहेको छ । डिपोमा चामल सकिएपछि बिच्छ्याँका घरघरमा खाद्य सङ्कट भएको छ ।

स्थानीय उत्पादनले वर्षमा दुई महिना पनि खान नपुग्ने गरेको छ । हिमाली गाउँपालिका जिल्लाकै दुर्गम तथा विकट गाउँपालिका हो । गाउँपालिकाको टाढाको गाउँ पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्ने गरेको छ ।

 

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ११ : ३९ बजे

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

कैलाली – धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी