एक महिनादेखि दर खानु संस्कृति होइन | Khabarhub Khabarhub

एक महिनादेखि दर खानु संस्कृति होइन

'विकृतिको अन्त्य गर्न संस्कृतिको अध्ययन आवश्यक छ'



अहिलेको पुस्ताले हरितालिका तीज र यसको महत्त्व भन्दा बढी विकृति देखेको छ। विशेषगरी पौराणिक कालमा यसको सामाजिक पाटो फरक थियो। पूर्वीय सनातन धर्मशास्त्रले यसलाई फरक ढंगबाट व्याख्या गरेको थियो। यसको व्यापकता नेपाललगायत भारत वर्षका विभिन्न देशमा उस्तै थियो। तर विश्वव्यापी बनिराखेको यो तीज पर्वको मौलिकता र सांस्कृतिक महत्त्व चाहिँ पछिल्लो समयमा हराएर गएको छ। आखिर तीजको महत्त्व के छ ? के हो हरितालिका तीज ? किन मनाउने तीज ? पछिल्लो समयमा आएको विकृतिलाई संस्कृतविद्ले कसरी कुन रूपमा बुझ्छन् ? यी र यस्तै विषयमा आधारित रहेर संस्कृतविद् डा.निर्मला पोखरेलसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

संस्कृतविद् भएको हिसाबबाट हामीले भोगी राखेको समाज सभ्यता र संस्कृतिमा तीजको महत्त्व के छ ?
अहिले तीजलाई परिवर्तित स्वरूपमा मनाउन थालियो। तिजलाई तिजको मौलिकता र वास्तविकता के हो ? कसरी यो पर्वको प्रारम्भ भयो र यसको मूल आशय के हो ? यी विषयमा महिला दिदीबहिनी समाजका सबैले भुल्दै गएको जस्तो देखिन्छ। तीजलाई एक पक्षीय मनोरञ्जनको दृष्टिकोणले मात्र महत्त्व दिएको कारणले गर्दा यसमा विकृति बढेर गएको देखिन्छ।

यसको सुरुवात कहिलेबाट र कसरी भयो ?
यसको सुरुवात एउटा महिलाले आफूले चाहेको कुरा जसरी पनि प्राप्त गर्न सक्छिन्। उनमा त्यो क्षमता हुन्छ। उनले त्यो क्षमतालाई सही सदुपयोग गरिन भने असम्भव भन्ने केही पनि हुँदैन। पार्वतीले देवताका पनि देवता महादेवलाई आफ्नो भक्तको रूपमा नभई पतिको रूपमा प्राप्त गर्नु भनेको असम्भव अवस्था हो। तर पनि उनले मैले यो प्राप्त गर्नसक्छु भनेर त्यसप्रति संकल्पित भएर निरन्तर लाग्दा प्राप्त गरिन्। यो क्षमता हरेक नारीमा हुन्छ । नारीले चाहेको कुरामा मेहनत गर्न सक्छन्। उनीहरू निष्ठामा रहन सक्छन् र उनीहरूले प्राप्त पनि गर्न सक्छन् भन्ने कुराको एउटा उदाहरण र संकेतको रूपमा यसको प्रारम्भ भएको हो। त्यसभित्र केही मनोरञ्जनका पक्ष पनि गाँसिए आएका छन्। तीजलाई अहिले मनोरञ्जनको दृष्टिले मात्र हेरिन्छ। यसको प्रारम्भमा मनोरञ्जनको पक्ष होइन कर्तव्य निष्ठा साधनाको पक्षलाई बोकेर अगाडि बढेको हो।

तीजको त्याग र निष्ठा कसरी उत्सवको रूपमा रूपान्तरण भयो ?
परम्परागत रूपमा एउटा नारी र पुरुषको संयुक्त प्रयासबाट नै उनीहरूको निरन्तरता भएको हो। त्यस कारणले नारीले मान्दै आएको पर्व समाजमा जोडिनु स्वाभाविक हो। किनकी यो समाजमा आधा नारी नै छन्। त्यस कारण यो सामाजिक पर्व हो भन्दा गलत छैन। तर यो साबिक पर्वलाई कुन हिसाबले मनाउने हो भन्ने कुरामा सद्भावको कुरा आउँछ। एक अर्का साथीभाइ परिवार इष्टमित्र माइती मावली सबैसँग घुलमिल हुनु जरुरी छ भन्ने कुराको सन्देश पनि यसले दिन खोजेको हो। तर पछिल्लो समयमा आएर यसले आफ्नो मूल आदर्शलाई बिर्सिएर गएकोले अलिकति विकृतिको पाटो ज्यादा हाबी हुन गएको देखिन्छ। यो समाजको नै पर्व हो। दाजुभाइले दिदीबहिनीलाई बोलाउने र खुवाउने सिलसिलामा व्रत बस्ने पनि भनेर मनाइयो। यहाँ आमालाई मान्ने पर्व, गुरुलाई मान्ने पर्व सकिएपछि छोरी चेलीको लागि माइती पक्षबाट मनाउने पर्वको रूपमा यो विकास भयो। आफ्नो विवाह गरेको घरमा झेलेका विभिन्न किसिमका समस्याको केही हदसम्म भए पनि बिर्सिने र पीडालाई राख्ने किसिमले समाजमा विकसित हुँदै गयो । त्यो गलत होइन। तर पछिल्लो समयमा त्यो कुराको ख्याल पछिल्लो समयमा गर्न छोडिएको जस्तो देखिन्छ।

त्यति बेला समाजमा सामाजिक भौगोलिक हिसाबबाट छोरीचेली विवाह गरेर तीजको महिमालाई समाजले रूपान्तरण गरेर ल्यायो। आधुनिकताले रूपान्तरण गर्यो भनेर सकारात्मक रूपमा हेर्दा पनि त्यहाँ भित्र विकृति देखिन्छ ?
सकारात्मक रूपमा हेर्न सकिन्छ। प्रविधिले गर्दा अहिले यातायात सञ्चारको सुविधा छ। त्यसैले यसमा थोरै परिवर्तन हुनु स्वभाविक हो। अहिले यो समय तिथि मिति पनि भूगोललाई हेरेर पनि निर्धारण गरेको हुन्छ। बर्खाको समय सकिसकेको खोला नाला तर्न यो भन्दा अगाडिको खोलानाला बढेर जाने तर्न गाह्रो हुने हुन्थ्यो। तर यो समयमा केही समस्या नहुने, खेती किसानीको काम पनि सकिएको हुनाले यही समयलाई रोजेको हो। अहिलेका महिला कामकाजी भए। पहिलाको जस्तो घर भित्रका काममा मात्र होइन घर बाहिरको काममा पनि महिला निष्किन थाले। त्यसैले थोरै परिवर्तन हुनु स्वाभाविक हो। तर जुन आस्थाले यो पर्वको स्थापना भएको हो। आस्थाको मूल मर्म छुट्नु भएन। तर त्यसमा मनाउने विधिमा परिवर्तन हुनु स्वभाविक हो। यसलाई सकारात्मक रूपमा नै लिनुपर्छ र त्यसमा आफ्नो दायरालाई भुल्न थालेको नै हो। जस्तो कुनै पनि चाडपर्व मनाउँदा एउटा दायरा भित्र बसेर मनाउने हो। हाम्रा ऋषि मुनीहरूले हजारौँ वर्ष तपस्या गरे धर्म पनि त्यसमा जोडेका हुन्। चाडपर्व भनेको मनोरञ्जन, धर्म, सामाजिक परिवेश र परिस्थिति स्थिति सारा हेरेर मात्र तिथि, मिति हेरेर मात्र बनाएको हुन्छ। त्यस कारण यो सबै कुराको धरातललाई बिर्सनु हुँदैन।

समाज र समयको गतिशीलता भित्र अहिलेको पुस्ताले केही सिर्जनशीलता थपेको छ कि छैन ?
केही सिर्जनशीलता थपेको छ तर यो पर्वको मूल के हो भन्ने कुरा बुझेको छैन। कतिपयले राजनीतिका कुरा गर्छन्। आफ्नो मन भित्रको एक प्रकारको असन्तुष्टिलाई पोखेको हो। हाम्रो पुरुष प्रधान समाज हो। यो समाजमा महिलाका पीडा छन्। यो त महिला प्रधान पर्व भयो। यो अवसरमा उनीहरूले यो केही मात्रामा पोख्नु र त्यसमा पोख्दा आफ्नो सिर्जनशीलता देखाउनु राम्रो हो। जस्तो राजनीतिक चेतना अलिकति देखिएको जस्तो देखिनु, सामाजिक अभियानको महिलाले पनि यसमा आफ्ना कुरा राख्न पाउनुले चेतना बनेको र त्यसलाई पोख्ने ठाउँ गीत संगीतको माध्यम बनेको जस्तो पनि देखिन्छ। खाली आफ्नो वेदना मात्र भन्ने पर्व पनि होइन। यस भित्र वेदना भन्दा पनि तिमी सक्षम छौँ भनेर भनिएको पनि हो। जसरी हिमालय पुत्री पार्वती, सीता, भृकुटी जो नेपालकी राजकुमारी हुन्। यस्ता नारीहरू जुन देवीको रूपमा एसियामा पुजिन्छन्। तिमीमा पनि त्यो क्षमता छ भन्ने किसिमको आशय यसमा जोडिन्छ। समाजले स्वीकार गरेका कुरालाई छोड्दा विकृतिले सीमा नाघेको जस्तो देखिन्छ। यस्ता विषयमा नारी चेतनशील भएमा तीज पर्वलाई समाजिक दृष्टिकोणाले सभ्य तरिकाले मनाउन सकिन्छ। यो भाद्र शुक्ल द्वितीया, तृतीया, चतुर्थी र पञ्चमी गरेर चार दिन मनाउने पर्व हो। तर यसलाई एक महिनादेखि लम्ब्याएर दर खाने गरियो। एक महिना तन्काएर दर खानु गलत हो।

परम्परागत रूपमा महिलाको पीडा पोख्न ऋषि मुनिहरुले परिकल्पना गरेको यो पर्व हो। शिक्षित महिला नै यसमा खनिएको देखिन्छ। पाश्चात्य संस्कृतिलाई अवलम्बन गर्छन्। हिन्दु संस्कृति र परम्पराका नाममा गाली गर्छन्। किन यस्तो भयो ?
सबैमा सामाजिक सांस्कृतिक चेतनाको कमी भयो। पढ्न त पढेका छन्। अरु विभिन्न विषयमा अभियान्ताको रूपमा होलान्। सांस्कृतिक चेतना पनि हुनुपर्छ। हाम्रो संस्कृति धनी र वैज्ञानिक छ। हाम्रो वैज्ञानिक धरातलमा टेकेर यी चाडपर्व जन्मेका छन्। मनाउने दायरा छन्। त्यसमा शिक्षित महिला पनि सचेत भएनन्। जुन विषयमा आफ्नो शिक्षाको प्रमाणपत्र हासिल गरे त्यसमा दक्षता महिला पुरुष दुबैमा देखियो। तर संस्कृतिको चेतना पनि हुनुपर्यो। यो अलग्गै कुरा हो। यसको लागि राज्य पनि सचेत हुनुपर्छ। अहिले नर्सरीदेखि लिएर विश्वविद्यालयसम्म संस्कृति विषयको एउटा सानो विषय नै राखिदिए राम्रो हुन्थ्यो। हाम्रो जस्तो वैज्ञानिक संस्कृतिलाई मानेर अघि बढ्दै गएको राष्ट्र विश्वमा अरु छैन। संस्कृतिको रूपमा नेपाल जस्तो धनी देश कुनै छैन। यो कुरालाई जोगाउन राज्य सचेत हुनुपर्छ । गर्नसक्ने काम र गर्नुपर्ने दायित्वमा राज्य चुकेको छ।

यो विषय विश्वविद्यालयमा पढाइन नै हुँदैन अनि संस्कृतिका कुरा कसरी पुस्तान्तरण हुन्छ ?
विश्वविद्यालय यी यस्ता विषयहरू पढाउन पाइन्छ। विश्वविद्यालय जुनजुन विषयमा अध्ययन अध्यापन हुन्छ त्यसमा उनीहरूले जानकारी राखे। पढाइ नहुने होइन। हाम्रो पाठ्यक्रम असाध्यै राम्रो छ। तर संस्कृति विषयको लागि चेतना जागृत हुने किसिमको एउटा सानो पूर्णाङकमा राखिदिनुपर्ने हो। पाठ्यक्रममा त्यो कुराको अभाव छ। अरु आफ्नो विषयमा पोख्त छन्। दक्ष छन्। सबै कुरा छ। तर संस्कृति जगाउने किसिमको पाठ्यक्रम त्यहाँ कुनै तहमा देखिँदैन । एउटा सामाजिक विषय १० कक्षासम्म छ। त्यो भन्दामाथि छैन। खाली जसले संस्कृति विषय लिएर पढेको छन् उनीहरूको लागि मात्र पाठ्यक्रम भयो। अरु विषयमा छैन। त्यो विषयमा उनीहरूले स्कुल लेबलमा सामाजिक विषयमा अलिअलि सिके। पछि गएर सिक्न पाएनन्। त्यस कारण सांस्कृतिक चेतनाको ज्यादै कमी पाइन्छ।

विद्यालय तहबाट नै पढ्ने व्यवस्था गरियो भने हामी हाम्रो संस्कृति समृद्ध बनाउन सक्थ्यौं कि ?
हो। प्रभावकारी भनेको त्यो नै हुन्छ। राज्यले नै सानै कक्षादेखि संस्कृति जस्तो सानो चाडपर्वको लागि बिदा दिन्छ। त्यो ठिक छ। तर त्यो बिदा दिएको दिनमा तिमीले के गर्यौँ भनेर होमवर्क गर भनेर सिकाउनु पर्यो। स्कुलमा पनि सकेसम्म अघिल्लो दिन नै त्यो चाडपर्वको बारेमा बताउने। बिदा नदिने चाडपर्व छ भने होमवर्क नै त्यही दिने गर्नुपर्छ। आफ्नो अभिभावकले ती बालबालिकाले अंग्रेजी अलिकति बोल्यो भने मक्ख पर्ने आफ्नो भाषालाई बिर्सिँदै जाने चलन राम्रो होइन। यहाँ अभिभावकले ठुलो गलत गरेका छौँ।

तीजसँगै जोडिएर आउने गणेश चतुर्थी र ऋषि पञ्चमी यसको महत्त्व र विधि के हो ?
यसको महत्त्व सामाजिक सद्भाव जगाउने हो। माया प्रेम जगाउने हो र महिलाको क्षमतालाई देखाउने पनि हो। महिला तिमीहरू सक्षम छौँ गर्न सक्छौँ र व्रत भनेको निष्ठ र अनुशासन हो। पुरुषमा मात्र क्षमता हुँदैन महिलामा पनि क्षमता हुन्छ। अप्रत्यक्ष चिज पनि पाउन सक्छौँ। तिमी समाजमा स्थापित भएर आफ्नो मूल्य र मान्यतालाई नभुल र अनुशासित निष्ठावान मूल्य र मान्यतालाई नभुल्ने व्यक्ति यो समाजमा जहिले पनि प्रतिष्ठित नै हुन्छ। जसरी यी नारीहरू भए त्यसरी नै तिमीहरू पनि प्रतिष्ठित हुनसक्छौँ। यसरी सम्मानित भएर मनोरञ्जन गर र दायरालाई सम्झिएर निष्ठामा बस। त्यसो गर्दा समाज नै एउटा उच्च स्तरको समाज बन्छ भन्ने कुराको सन्देश दिन खोजेको जस्तो मलाई लाग्छ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  १० : ५३ बजे

कश्मीरमा ठूलो आक्रमण- घुम्न गएका पर्यटकलाई चरमपन्थीले नाम सोधीसोधी हानेका थिए गोली

कश्मीर- सन् २०१९ मा पुलवामामा भएयताकै सबैभन्दा ठूलो चरमपन्थी आक्रमण

कश्मीरमा पर्यटकको समूहमाथि चरमपन्थीको आक्रमण, नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु

कश्मीर- भारतको जम्मु-कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि अहिलेसम्कै ठूलो चरमपन्थी हमला

शिक्षक र राजावादीको आन्दोलनले ओझेलमा उद्योगी मेला, सबै स्टल बुकिङ हुनै मुस्किल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले वैशाख २५ गतेदेखि आयोजना गर्न

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता, भारतीय मन्त्री खट्टरले भने- नयाँ कोसेढुङ्गा

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्

आन्दोलित शिक्षकलाई निजामती कर्मचारीले साथ दिँदा सरकारलाई धक्का !

काठमाडौं- शिक्षक महासंघको नेतृत्वमा विगत २१ दिनदेखि जारी आन्दोलनको निचोड