भक्तपुरमा ऐतिहासिक मुपात्र जात्रा आरम्भ | Khabarhub Khabarhub

भक्तपुरमा ऐतिहासिक मुपात्र जात्रा आरम्भ


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

भादगाउँ– इन्द्रजात्राको अवसरमा मनाइने भक्तपुरको मुपात्र जात्रा आजबाट सुरु हुने भएको छ । विभिन्न धार्मिकग्रन्थका आधारमा तयार पारेको मुपात्र जात्रा यहाँ तीन दिन मनाइन्छ ।

जात्रामा मुपात्र प्रमुख र धिःचा नामक अन्य दुई जना सहायकसहित तीनजनालाई राक्षसको पोशाक लगाई अनुहारमा विभिन्न रङ लगाई शृङ्गारपटारका साथ तरबार समात्न लगाई भक्तपुर नगर परिक्रमा गराउने चलन छ । नगर परिक्रमा गर्दा भक्तपर नगरको टोल–टोलमा ठड्याइराखेको यमःद्योलाई मुपात्र राक्षसले तीनपटक घुमेर तरबारले हान्ने गर्दछ ।

जात्रा सुरु हुनुअघि स्थानीय सःकुलान टोलका मानन्धर समुदायले दत्तात्रयस्थित भीमसेन मन्दिर अगाडि एक जोडा याँमता (आकाश दीप) बालिन्छ । इतिहासकारका अनुसार याँमता त्रिशूल आकारको हुन्छ । त्रिशूलमा जस्तै माथि फर्किएका तीनवटा टुप्पामा बालिने बत्ती नै याँमता अर्थात् आकाश दीप हो । साथै आज तचपालस्थित सँला गणेशलाई खटमा राखी भक्तपुर सहर परिक्रमा गराई सँला गणेशजात्रा गरिन्छ । त्यसपछि मुपात्र जात्रा निकालिन्छ । जात्रामा याँमता, गणेश र मुपात्रलाई यमःद्यो भएको ठाउँमा परिक्रमा गराइन्छ ।

जात्राको दोस्रो दिन बेलुका गोमारीको मानन्धर समुदायको याँमतासँगै चोछें टोलको छुमा गणेशको जात्रा गरिन्छ । यस दिन गोमारीको मानन्धर समुदाय छुमा गणेशकहाँ गएर सुकुना बालेर आइसकेपछि गोमारी मानन्धर चोकमा एउटा याँमता बालेर जात्रा सुरु गरिन्छ । याँमता बालिसकेपछि चोछें टोलको छुमा गणेशको मूर्तिलाई खटमा राखी दरबार स्क्वायरको तलेजु भवानीको दर्शन गराइन्छ । याँमता दरबार स्क्वायर पुगेपछि विभिन्न बाजागाजाका साथ याँमता, छुमा गणेश र मुपात्र जात्रा गरी नगर परिक्रमा गराइन्छ । राति सँला गणेश र छुमा गणेशलाई आ–आफ्नो  द्योःछे (देवगृह)मा पुर्‍याइन्छ ।

जात्राको तेस्रो दिन अर्थात् आश्विन कृष्ण चौथीका दिन तमारीमा रहेको आकाश भैरवलाई गुठी संस्थान कार्यालयबाट विधिवतरूपमा बलिसहितको सरकारी पूजा गरिन्छ । पूजा सकिएपछि तल्लो टोल तपालछींतेखाचोका मानन्धर समुदायले भैरवनाथको मन्दिरमा गई सुकुना बालेर ल्याउँछन् । त्यही सुकुनामा बुलुचास्थित ढुङ्गेधारामा एकजोडा याँमता बालिन्छ । बालिसकेपछि याँमतासँगै त्यसको पछाडि तमारीको आकाश भैरवको अर्को स्वरुप मसान भैरवको खट जात्रा गरिन्छ । यस दिन जात्रामा नायखिङ (खड्गी समुदायको विषेश)बाजा बजाएर भैरवनाथको खटलाई नगर परिक्रमा गराइन्छ ।

भैरवको खट जात्रा गरेपछि स्थानीय लाकुलाछें टोलका समुदायले बाँसको मान्द्रोमाथि निलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको सुँढ राखी तयार गरिएको पुलुकिसी जात्रा सुरु गरिन्छ । तमारीको भैरव मन्दिर अगाडि तीनपटक घुमेर पुलुकिसी जात्रा सुरु गर्छ । जात्रामा पुलुकिसीलाई चार जना मानिसले बोकेर ल्याइन्छ भने एक जनाले पुलुकिसीभित्र बसेर घण्टा बजाएर आउने परम्परा छ ।

जात्रामा पुलुकिसीले कथंकदाचित मुपात्रलाई भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीलाई कुनै कानुन नलाग्ने भएकाले यस दिन पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मुपात्र जात्रा निकालिन्छ । यस दिन भक्तपुरको भैरव मन्दिरबाट मुपात्र जात्रा निकाल्छ ।

इन्द्रजात्रासम्बन्धी लोककथनअनुसार स्वर्गका राजा देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजात फूलको खाँचो पर्यो । इन्द्रले आफ्ना छोरा जयन्तलाई पारिजातको फूल खोज्न पठाए । जयन्त पारिजातको फूल खोज्दै दैत्यहरूको बगैँचामा प्रवेश गरे । दैत्यहरूले पक्रेर दोबाटोमा लगेर खम्बामा बाँधेर राखे । यो कुरा इन्द्रले थाहा पाई दलबलसहित आएर दैत्यहरूसँग लडाइँ गरे । लडाइँमा इन्द्रको जित भयो ।

 दैत्यहरूले इन्द्रको सेनालाई जयन्त भएको स्थानमा लिएर गए । त्यहाँ दैत्यहरूले जयन्तलाई बाँधेको डोरी काटेर क्षमायाचना गर्छन् । सो क्रममा दैत्यहरूलाई जनतामाझ सहर परिक्रमा गराइएको भन्ने विभिन्न ग्रन्थमा उल्लेख भएबमोजिम ग्रन्थको कथामा आधारित गरी यो जात्रा प्रारम्भ गरिएको किंवन्दती रहेको इतिहास तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन् ।

जात्रामा मुपात्र बन्ने व्यक्तिको आजन्म जात जाने र भातपानी नचल्ने सजाय भोग्नुपर्ने प्रचलन रहेको छ । सो अनुसार मुपात्र बन्ने व्यक्तिलाई अछूतको व्यवहार गरिन्छ । त्यसैले यो जात्रामा स्थानीय बासिन्दा नभई विकट ठाउँकालाई मुपात्र बनाउने गुठी संस्थानले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ९ : ५१ बजे

जलवायु परिवर्तनले निम्त्याएका समस्यालाई विश्वव्यापी एजेण्डा बनाउनुपर्छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जलवायु परिवर्तनको

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसार पसारमा

सत्तापक्षको अडान : गृहमन्त्रीको राजीनामा नमाग्ने सर्तमा छानबिन समिति बन्छ

काठमाडौं– संसदीय छानबिन समिति बनाएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको

सन्दीपले सफाइ पाउँदा स्वागतसँगै सुनियो विरोधको चर्को स्वर, कसले के भने ?

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा बुधबार

राष्ट्रियसभा बैठक सर्‍यो

काठमाडौं– राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ