बागलुङमा बुकीबाट बेसी झर्न थाले भेडीगोठ « Khabarhub

बागलुङमा बुकीबाट बेसी झर्न थाले भेडीगोठ


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

बागलुङ– गत जेठमा लेक चढेका भेडीगोठ धमाधम बेसी झर्न थालेका छन् । लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनलगायतका क्षेत्र भेडाबाख्राका बथानले भरिएका छन् ।

लेकमा जाडो सुरु हुन थालेको र चाडबाड नजिकिएसँगै भेडीगोठ बेसी तिर सारिएको हो । जेठ पहिलो सातादेखिनै लेक उक्लिएका भेडीगोठ असोज पहिलो सातादेखि बेसी झर्न सुरु गरेका हुन् । बर्खामा बेसीमा घाँस अभाव हुने र लेकमा प्रशस्त पाइने हुँदा भेडी गोठाले हरेक वर्ष लेक–बेसी गर्ने गर्छन् ।

पश्चिम बागलुङको माथिल्लो क्षेत्रका अधिकांश किसानका लागि लेकबेसी गर्नु परम्परानै हो । एकै परिवारले दुई सयदेखि एक हजार वटासम्म भेडा पाल्दै आएका छन् । गोठालाहरु हप्तौँको यात्रा गरी बुकी चढ्ने र बेसी झर्ने गर्छन् । बेसीमा भन्दा बुकीमा भेडाबाख्राका लागि चरन क्षेत्र र पोषिलो घाँस पर्याप्त पाइन्छ ।

यतिबेला तिलाचन, रिग, पातीहाल्ने, सोलेडाँडा, भर्कोबाङलगायतका क्षेत्रमा भेडाका बथान भेटिन्छन् । यो समय भेडाबाख्रा बिक्री गर्ने सिजन भएको हुँदा गोठालाहरु बेसी झरेर बजार तिर लाग्ने गर्छन् । 

बेसी झरेका गोठालेहरु अब केही दिनमै मुख्यमुख्य सहरसम्म हप्तौँ दिन हिँडेर भेडाबाख्रा बेच्न जान्छन् । यहाँबाट भेडा बिक्रीका लागि केही बुर्तिबाङ, खर्बाङ, गुल्मीको वामी, रिडी, पाल्पा हुँदै बुटवलसम्म र कोही गलकोट, बागलुङ, पर्वतको कुश्मा हुँदै पोखरासम्म जाने तयारीमा छन् ।

गत बैशाखमा परेको बेमौसमी हिमपातले भेडा मर्दा यसवर्ष ठूलो नोक्सानी बेहोर्नु परेको निसीखोलाका प्रेमबहादुर बुढा मगरले बताए । चैतको अन्तिम साता लेकमा भेडा लिएर गएको भन्दै लेकमा पुगेको केही दिनमै लगातार एक सातासम्म परेको वर्षा र हिमपातले आफ्ना १७ वटा भेडा मरेको बताए ।

चिसोले भेडाहरु मर्दा एक सातामै साढे तीन लाख रुपैयाँ बराबरको नोक्सानी भएको र यसवर्ष थोरै मात्र भेडा बिक्री गर्ने योजना रहेको उनको भनाइ छ ।

भेडापालक बलबहादुर घर्ती मगरले यसवर्ष भेडा बेसी झर्ने समयमा वर्षा हुँदा समस्या भएको बताए । असोज ११ मा बेसी झर्न सुरु गरे पनि लगातार परेको पानीका कारण असोज १७ गते मात्रै यहाँ आइपुगेको उनको भनाइ छ । 

करिब चार हजार सात सय मिटरको उचाइमा अवस्थित बुकीमा ह्वात्तै चिसो बढेको उनले बताए । अहिले आफ्ना रैथाने जातका ७० बोका तथा बाख्रा र करिब एक सय भेडा रहेको घर्ती मगरको भनाइ छ ।

स्थानीय कुलबहादुर विकले पछिल्लो समय भेडापालन गर्नेको सङ्ख्या कम हुँदै गएको बताए । उनले आफूहरुले धेरै भेडाबाख्रा पाल्न नसक्ने र युवा पुस्ताले यसतर्फ चासो नदिँदा भेडागोठालोकाे सङ्ख्या घट्दै गएको बताए । 

६७ वर्षीय विकले पहिले आफूले आठ सयसम्म भेडापालेको अनुभव सुनाउँदै अहिले एक सय पचासको हाराहारीमा मात्रै भेडा पालेको बताए । 

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ६ : ५० बजे

आलु उत्पादन वृद्धि हुने आशमा किसान उत्साहित

रसुवा– चैत महिनामा परेको वर्षाले रसुवाका किसान यस वर्ष आलु

नागरिकको निर्णयलाई भूराजनीतिक चस्माबाट नहेरौँ

नेपालको वर्तमान राजनीतिक क्षणलाई सामान्य सत्ता परिवर्तनका रूपमा मात्र बुझ्नु

कर्णाली सरकारबाट सार्वजनिक बिदामा ६ दिन थप

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा ६ दिन

प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन