इजरायलमा विद्यार्थीले ज्यान गुमाउँदा शोकमा सुदूरपश्चिम विश्वविद्यालय  « Khabarhub

इजरायलमा विद्यार्थीले ज्यान गुमाउँदा शोकमा सुदूरपश्चिम विश्वविद्यालय 


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

भजनी– ‘अहिले यहाँ (इजरायलमा) कति बेला के हुन्छ, केही आत्तोपत्तो छैन । हामीहरु शनिबारदेखि बङ्करमा लुकेर ज्यान जोगाउन बाध्य  छौँ । यहाँ सोचेजस्तो सहज केही पनि छैन । कति बेला आकासमा कालो धुँवाको मुस्लो उठ्छ थाहै  हुँदैन । निकै नै त्रसित माहोल छ मिसाइल कति बेला कताबाट आयो पत्तो पाइदैन’, इजारयलमा रहेका कैलालीको टीकापुरका निश्चल पाण्डेले पठाएको म्यासेज हो ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायबाट ‘अर्न एण्ड लर्न कार्यक्रम’मार्फत इजरायल पुगेका पाण्डेले अगाडि भनेका छन्, ‘साइरनको त्यो ठूलो आवाजले सातो जान्छ । आकाशमा हेलिकोप्टर र फाइटर जेट निरन्तर उडिरहेका छन् । बङ्करमा पनि सोचें जस्तै सहज केही छैन् । न खाना न पानी अनि त्यो चिसो भूइँमा त्रासैत्रासमा बिताउनुको पीडाले नर्कमा भएको अनुभूति भएको छ । आजको रात निकै लामो हुने छ । पर्खाइ त्यो भोलि शुभ बिहानीको हुनेछ ।’ 

उनले सन्देश पठाएको केही समयपछि उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएको समाचार आयो । सो घटनापछि सुदूरपश्चिम विश्वविद्यालय शोकमा परेको छ । ‘घटनाले विद्यार्थी हतोत्साहित बनेका छन् । शिक्षक भावविह्वल बनेका छन् । क्याम्पसका सबै पठनपाठन बन्द भएका छन् । आन्तरिक परीक्षा स्थगित भएको छ’, क्याम्पसका उपप्राध्यापक प्रेम पाण्डेले भने, ‘हामीसँग बोल्ने शब्द बाँकी छैनन् । घटनाले हामीलाई विवश बनाएको छ ।’

विश्वविद्यालयका उपप्राध्यापक सरोज घिमिरेले विद्यार्थीको मृत्युले राज्यले ठूलो जनशक्ति गुमाएको बताए। उपप्राध्यापक घिमिरेले भने, ‘आज दुःखद् घटना घट्यो । यस्तो अवस्थामा हामीसँग कुनै उत्तर छैन ।’ 

उपप्राध्यापक गुरु अधिकारीले सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल पुगेका अन्य विद्यार्थी पनि जोखिममा रहेको बताए। उनले जतिसक्दो चाँडो राज्यले घाइतेको उपचारमा र अन्यलाई नेपाल फर्कने वातावरण बनाउन आग्रह गरे । ‘राज्यको भूमिका औपचारिकता मात्रै देखिएको छ । हाम्रा अन्य विद्यार्थी पनि जोखिममा छन् । उनीहरुको समयमै उद्धार होस्’, उनले भने, ‘आज विद्यार्थीका अभिभावक भावविह्वल अवस्थामा छन् । सिङ्गो क्याम्पस शोकमा छ । म आग्रह गर्छु, राज्य जिम्मेवार बनोस् ।’

कृषि विज्ञान संकायको दोस्रो वर्षमा अध्ययनरत सुन्दर विश्वकर्मा थापाले उनीहरुको निधनले आशाको दियो निभेको बताए । पहिलो ब्याचका विद्यार्थी इजरायल जाँदा आफूले बोकेका सपनामा पूर्णविराम लागेको उनको भनाइ छ । ‘हामीभन्दा अघिल्लो ब्याचका विद्यार्थीहरू थप सिकाइका लागि इजरायल जानुभएपछि आफूहरू पनि जानुपर्छ भन्ने लागेको थियो । अहिलेको घटनाले त्यो सपनामा पूर्णविराम लागेको छ ।’ उनीले त्रासमा रहेका सबै विद्यार्थीलाई नेपाल फिर्ताका लागि सरकारले चाँडो पहल गर्नुपर्ने बताए । 

विश्वविद्यालयबाट भदौ २६ गते इजरायल पुग्नुभएका निश्चल पाण्डेका बुबा उत्तम पाण्डेले आफ्नो छोरासहित सबै विद्यार्थीलाई नेपाल फिर्ताका लागि सरकारसँग आग्रह गरेका छन् । उनले छोरासँग सम्पर्क भइरहेको बताउँदै त्यहाँ रहेका विद्यार्थी निकै असुरक्षित भएको बताए । ‘बाहिरको वातावरण निकै असुरक्षित छ भनेर छोरासँग सम्पर्क भइरहेको छ । उनीहरु अझैपनि बङ्करमा बसेर जीवन जोगाइराख्नु भएको छ ।’ पाण्डेले भने, ‘उनीहरुको कुराले सबै विद्यार्थी नेपाल फर्किन चाहन्छन । हामी अभिभावक पनि आफ्ना सन्तान फर्केको हेर्न चाहन्छौँ । सरकारले हाम्रा सन्तान नेपाल फर्कने वातावरण बनाओस् ।’

विश्वविद्यालयको कृषि विज्ञानतर्फ स्नातक तहको अन्तिम सेमिष्टाका ४९ जना विद्यार्थीमध्ये भदौ २६ गते १५ जना र भदौ २७ गते ३५ जना विद्यार्थी इजरायल गएका थिए । उनीहरुमध्ये १० जना छात्रा छन् । उनीहरु १० महिनाका लागि इजरायल गएका थिए । 

विद्यार्थीले लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत साताको एक दिन अध्ययन, पाँच दिन काम र एक दिन छुट्टीमा बस्ने उल्लेख थियो । कृषि विज्ञान सङ्कायले कार्यक्रम अन्तर्गत पहिलो पटक विद्यार्थी पठाएको हो ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  १२ : ४४ बजे

रेनुले हार स्वीकार्दै भनिन् : मतमा हारे पनि कामले चितवनबासीको मन जित्न सफल भएँ

चितवन- चितवन ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले

क्षमा माग्दै इरानले गर्‍यो आइन्दा छिमेकी राष्ट्रविरुद्ध हमला नगर्ने घोषणा

काठमाडौं- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्ना छिमेकी मुलुकहरूमाथि अबदेखि कुनै

ओलीले पेलेर टिकट नदिँदा रास्वपाको चुनावी आँधीबाट जोगिए योगेश र गोकुल

काठमाडौं- नेकपा (एमाले)का केही प्रभावशाली नेताहरू यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्त्र

सुनसरी-१ मा राई १ हजार ६६१ मतान्तरले अगाडि

धरान– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं १ मा श्रम

सङ्खुवासभामा मतगणना सुरु

किमाथांका– सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ। जिल्ला