सीताको संघर्षको कथा « Khabarhub

सीताको संघर्षको कथा



काठमाडौं । नेपोलियन बोनापार्टले भनेका छन्– दृढ इच्छा शक्ति हुनुपर्छ, संसारमा असम्भव भन्ने केही छैन । यस्तै असम्भवलाई सम्भव तुल्याउन संघर्षरत छिन्– स्याङ्जाकी सीता भुषाल । सडक पेटीमा बसेर हातले बुनेका सामाहरु बेच्न ग्राहकको प्रतीक्षामा हुन्छिन्–उनी ।

विहीबार दिउँसोको मध्याह्नतिर काठमाडौंको आरएनएसीस्थित सडक पेटीमा मानिसहरु एकअर्कालाई ठेलमठेल गर्दै हिडिरहेका थिए, त्यही भीडभित्रको एक छेउमा सामानहरु बेचिरहेकी थिइन्– सीता । हेर्दा उनी शारीरिक रुपमा अशक्त देखिन्थिन् ।

सानी मान्छे, सडकको पेटीमा टुसुक्क बसेकी, छेउमै ह्वीलचियर । मानिसहरु आश्चर्य मान्दै हेरिरहेका थिए उनलाई । हेर्नेको भीड बाक्लो बन्थ्यो, वरिपरि हातले बुनेका सामग्री देख्दा सवैले उनको सीपको कदर गर्थे ।

सीताले बेच्न राखेका ती हातले बनाएका गुलाफका फूल, लभ आकारका साना गुडिया किन्दै आफ्नो गन्तव्यतर्फ लाग्थे उनीहरु । कोही कोही उनलाई फर्की–फर्की हेर्दै थिए । कतिपयले सीताको काम र मेहनत देखेर ‘चिया खानुस् है !’ भन्दै केही पैसा हातमा थमाउँथे ।

हेर्दै माया लाग्ने सीता साधारण मानिसभन्दा फरक थिइन् । त्यसैले उनलाई हेर्नेको घुँइचो लाग्नु स्वभाविक थियो । सीताको छेउमा बसेर फोटो खिच्नेहरुको पनि कमी हुन्थेन । साना बालबच्चाहरु सीतालाई देख्दा अचम्म मान्दै भन्थे– दिदी हुन् कि डमी ?

स्याङ्जा स्थायी घर भएकी सिता अहिले काठमाडौंको बालाजुस्थित तारकेश्वर नगरपालिकामा बस्दै आइरहेकी छिन् । सीता जन्मदै शारीरिक रुपमा अशक्त । सामान्य हिडडुल गर्नका लागि अरुको सहारा चाहिने ।

सीतालाई जीवन कसरी जिउने होला भनेर पिरोल्थ्यो– बाल्यकालदेखि नै । सीताका परिवारमा ७ सदस्य छन् । उनी परिवारकी माइली छोरी हुन् । सीता बाहेक परिवारका सबै सदस्य शारीरिक रुपमा सबल नै छन् ।

विगतका दिन सम्झँदै उनले भनिन्, ‘परिवारका सबै सदस्य खेतीपातीमा व्यस्त हुन्थे, म अरुले काम गरेको टुलुटुलु हेरेरै बस्थेँ ।’ काम गर्ने मन र जाँगर हुँदाहुँदै पनि असमर्थ थिएँ म ।’

‘शहरमा थुप्रै अपाङ्ग सेवा केन्द्रहरु खुलेका हुन्छन्, त्यहाँ सीप सिकाएर आत्मनिर्भर बनाउँछन् भन्ने कुरा गाउँमा सुनेकी थिएँ । एक जनाले मलाई काठमाडौं ल्याउनुभयो ।’

त्यो समय मनमा एउटै कुराको खुल्दुली हुन्थ्योे– ‘अशक्त व्यक्तिले के नै काम गर्न सक्ला र ?’ तर जब उनी काठमाडौं आइन् । उनको दिनचर्या राम्रोसँग बित्न थाल्यो । उनलाई आफू सेवा केन्द्र आउँदा कति वर्षकी थिएँ भन्ने समेत थाहा थिएन ।

अपाङ्ग सेवा केन्द्रमा सीताले ७ दिने हस्तकलाको तालिम लिइन् । त्यसपश्चात ऊनबाट विभिन्न सजावटका सामान बनाउन सिकिन् । उनी अहिले ऊनका गुलाफका फूल, ब्याग, किरिङ, लभ आकारका गुडिया, हात्ती लगायतका सामान बुन्छिन् । सीता भन्छिन्, ‘ शुरु शुरुमा काम सिक्न गाह्रो भए पनि अहिले सजिलो लाग्छ, काम गर्ने जाँगर मरेको छैन ।’

उनी दैनिक २५ वटासम्म प्रेम झल्काउने सजावटका सामान बुन्छिन् । ती सामानलाई आरएनएसी अगाडिको फुटपाथमा लगेर बेच्छिन् । सीता एक्लै ह्वीलचियरमा आवतजावत गर्न नसक्ने हुँदा बालाजुदेखि सेवा केन्द्रकै एक व्यक्तिले बिहान आरएनएसीसम्म ल्याइदिन्छन् र बेलुका लिन आउँछन् ।

सीता भन्छिन्, ‘अरुलाई फुटपाथमा व्यापार गर्न दिदैँन, महानगरले सामान खोस्छ, तर मलाई छुट दिएको छ ।’

हप्तामा तीन दिन सडकमै बसेर व्यापार गर्ने गरेको बताउँदै सीताले भनिन्, ‘बाँकी दिन घरमै बसेर गुलाफका फुल, ब्याग, गुडिया बुन्छु ।’
महिनामा १२ दिन सडकमै बसेर व्यापार गर्ने उनले प्रणय दिवसका दिन ७ हजार बढीको व्यापार गरिन् । अन्य दिनमा दैनिक ३–४ हजार कमाउथिन् ।

आफुले कमाएको रकम अपाङ्ग सेवा केन्द्रका अन्य व्यक्तिहरुको हेरचाहको लागि खर्च गर्छिन् भने बाँकी रकम आफै राख्छिन् । ‘विगतमा पैँसा कमाउन के गर्ने होला जस्तो लाग्थ्यो तर काम गरेपछि कमाउन सकिने रहेछ’ साहसका साथ सीताले भनिन् ।

शारीरिक रुपमा अशक्त, त्यसमाथि भुँइमा बसेर व्यापार गर्न कहाँ सहज हुन्छ र ? तर पनि जसोतसो संघर्ष गरिरहेकी छिन् । उनी भन्छिन्, ‘चाहना हुनुपर्छ, काम गर्न सकिन्छ ।’

शारीरिक रुपमा अशक्त व्यक्तिहरु धेरै मेहनती हुने उनको भनाइ छ । उनले सेवा केन्द्रका अन्य अपाङ्गता व्यक्तिहरुलाई पनि काम गर्नका लागि सहयोग गरिरहेको र आफूले देखेका अशक्तहरु सबैलाई काम गरेर खानुपर्छ भन्ने गरेको बताउछिन् । उनी शारीरिक रुपमा अशक्त भएपनि मनोबल उच्च राख्छिन् ।

‘काम गर्नका लागि इच्छाशक्ति भएमा जस्तो काम पनि गर्न सकिन्छ । शारीरिक रुपमा अशक्त हुदैँमा केही हुदैँन । जीविकोपार्जनका लागि केही न केही दुःख त गर्नु नै पर्छ तर साहस र आँट भयो भने जीवन जिउन गाह्रो छैन ।’

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ८ : ०० बजे

कङ्गोमा इबोला सङ्क्रमण तिव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमा हाल इबोला सङ्क्रमण तिव्र भएको जनाइएको

राष्ट्रियसभामा बाढीपहिरोले अवरुद्ध राजमार्ग सञ्चालन गर्न सरकारसँग माग

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मनसुनका कारण बाढीपहिरोबाट अवरुद्ध

शिक्षक महासङ्घको काठमाडौं जिल्ला समिति विस्तार

काठमाडौं– नेपाल शिक्षक महासङ्घले पहिलो पटक जिल्ला समिति काठमाडौं गठन

सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

राष्ट्रियसभाको बैठक : चार महत्त्वपूर्ण विधेयकमाथि छलफल हुने

 काठमाडौं – सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ। आजको बैठकमा