काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले इजरायलमा भएको आङ्कवादी आक्रमणका कारण त्रासमा बसेका नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शून्य समयमा सांसद विमला सुवेदीले इजरायलमा भएको आङ्कवादी हमलापछि स्वेदश फर्कन चाहने २ सय ५४ जनालाई पहिलो खेपमा आज बिहान उद्धार गरिएकामा त्यसको स्वागत गर्दै स्वदेश फर्कन चाहनेलाई सबै नेपालीलाई ल्याउन सरकारसँग आग्रह गरिन् ।
सांसद रघुजी पन्तले इजरायलमा मारिएका व्यक्तिका पारिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै सम्पर्कविहीन भएका एक जनाको खोजी गर्न सरकारले कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण गराए । सांसद मनिष झाले इजरायलबाट केही नेपालीलाई ल्याइएकामा त्यसको स्वागत गर्दै स्वदेश आउन चाहने सबैलाई ल्याउन सरकारसँग आग्रह गरे ।
सांसद रमा कोइराला पौडेलले इजरायलमा धेरै महिला सुसारे भएर गएकाले घर फर्कन चाहने उनीहरूलाई पनि फर्काउनुपर्नेमा जोड दिइन् । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले शिक्षकका समस्या, स्वास्थ्यकर्मीका समस्या सम्बोधन गर्न माग गर्दै कालोबजारी नियन्त्रणतर्फ पनि ध्यान दिन सरकारसँग आग्रह गरे ।
सांसद माधव सापकोटाले खेतबारी बाँझै राख्दा उत्पादन घटेकाले खाद्यान्न उत्पादन वृद्धिका लागि विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिए । सांसदहरु मीना तामाङ, मुक्तकुमारी यादव, रामकुमार राई, रणेन्द्र बराली, रञ्जुकुकमारी झाले चाडपर्वका बेला बजार मूल्य नियन्त्रण गर्न सरकार चुकेको आरोप लगाए ।
सांसद रामकृष्ण यादवले धनुषा जिल्लामा हुलाकी सडकको अवस्था दयनीय भएकाले तत्काल उक्त सडकको मर्मतसम्भार थाल्न माग गरे । सांसद रामप्रकाश चौधरीले तराईमधेसका प्रत्येक नगरपालिकामा चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालन गर्न सरकारलाई सुझाव दिए ।
नेपाली काङ्ग्रेसका रामहरि खतिवडाले डेङ्गु सङ्क्रमण रोक्न समयमै ठोस प्रयत्न नभए त्यसले भयावह रुप लिने भएकाले समयमै सचेत भएर नियन्त्रणका काममा लाग्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया