बागमती प्रदेशमा अस्पताल सुदृढीकरण कार्यक्रम सञ्चालन « Khabarhub

बागमती प्रदेशमा अस्पताल सुदृढीकरण कार्यक्रम सञ्चालन


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

चितवन– बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ‘एक प्रदेश निर्वाचन क्षेत्र एक अस्पताल सुदृढीकरण एवं सबलीकरण कार्यक्रम’ सञ्चालनमा ल्याएको छ ।

प्रदेशमा चिकित्सक नभएका अस्पतालमा चिकित्सकीय सेवा दिने र भएका ठाउँमा चिकित्सक थप गरी सेवा प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

स्वास्थ्यमन्त्री उत्तम जोशीका अनुसार प्रदेशभित्रका ६६ वटा प्रदेश निर्वाचन क्षेत्र रहेकामा हरेक निर्वाचन क्षेत्रमा एउटा स्वास्थ्य संस्थालाई सुदृढीकरण एवं सबलीकरण गर्ने गरी काम अघि बढाइएको हो । यसका लागि प्रदेशले २२ करोड ती स्वास्थ्य संस्थामा पठाएको उनले जानकारी दिए ।

‘एउटा स्वास्थ्य संस्थाले आफूले पाएको बजेटले दुई जना चिकित्सक राख्नुपर्नेछ । कतिपय ठाउँमा चिकित्सक बढी भएमा नर्स, एचए वा सोसरहका एक कर्मचारी राख्न पाउनेछन्’, जोशीले भने, ‘कम्तीमा एक चिकित्सक उनीहरूले पनि राख्न पर्नेछ । ठाउँ र आवश्यकता अनुसार बजेट बाँडफाँड गरी पठाइएको छ ।’ उनका अनुसार कार्यक्रमको कार्यान्वयन भइसकेको छ ।

मन्त्री जोशीले भने, ‘ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा समेत चिकित्सकीय सेवा दिने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो ।’ यसको प्रभावकारिता राम्रो हुने भन्दै उनले आमनागरिकलाई सहज स्वास्थ्य सेवा दिन कार्यक्रम फलदायी हुने बताए ।

प्रदेश सरकारले ग्रामीण क्षेत्रमा ज्यान जोखिममा परेका सुत्केरी र गर्भवतीको हवाई उद्धारका लागि कार्यविधि बनाएर प्रक्रिया अघि बढाएको छ ।

मन्त्री जोशीका अनुसार कार्यविधि बनिसकेकाले हेलिकप्टर कम्पनीसँग सम्झौता गरेसँगै कार्यक्रम कार्यान्वयनमा आउनेछ । सम्बन्धित चिकित्सकले ‘ज्यान जोखिममा रहेको’ भनेर प्रमाणित गरेपछि हवाई उद्धार गरिने उनले जानकारी दिए ।

प्रदेशले एम्बुलेन्सलाई जीपीएस प्रणालीमार्फत छिटोछरितो सेवा दिने प्रक्रिया अघि बढाएको छ । ‘विद्यालय नर्स कार्यक्रम’लाई थप प्रभावकारी बनाउन यस वर्ष एक सय १५ विद्यालयमा नर्स पठाइएको मन्त्री जोशीले बताए ।

उनका अनुसार योसँगै प्रदेशभित्रका ६ सय ३४ विद्यालयमा नर्स रहेका छन् । उनीहरूले विद्यार्थी, शिक्षक, कर्मचारीसँगै स्थानीय स्वास्थ्य सेवा र मनोपरामर्शसमेत दिनेछन् ।

प्रदेशमा बसोबास गर्ने अतिसिमान्तकृत एवं लोपोन्मुख जातिको मातृ तथा बालस्वास्थ्य सेवामा सहज पहुँच तथा उपभोग बढाउन संस्थागत सुत्केरी र तिनका बालबालिकाले पूर्ण खोप लगाएका आमालाई पाँच हजार उत्प्रेरणा खर्च प्रदान गर्ने व्यवस्था गरिएको मन्त्री जोशीको भनाइ थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  १२ : ४१ बजे

रुकुमपूर्वको विकासका लागि प्रचण्ड र अन्य उम्मेदवारका सङ्कल्प : आर्थिक तथा पूर्वाधार प्याकेज लागू गर्ने

रुकुमपूर्व– रुकुमपूर्वका प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेपाली कम्युनिष्ट पार्टीका (नेकपा)का संयोजक

सिरहामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

सिरहा– पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–३ जमनटोकी नजिक आइतबार राति बस

वसन्तपुरमा विदेशी पर्यटकसहितले मनाए होली (तस्बिरहरू)

काठमाडौं– फागु पूर्णिमा (होली) पर्व आइतबार काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको

निर्वाचन सम्मुखमा छ, शान्तिपूर्ण वातावरणमा होली मनाऔँ : संयोजक दाहाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक निर्वाचनमा