बेइजिङ- उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीबार एउटा भवनमा आगलागी हुँदा २६ जनाको मृत्यु भएको छ । आगलागीमा घाइते भएका अरु दर्जनौँलाई अस्पताल लगिएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।
लुलियाङ सहरको लिसी जिल्लामा रहेको योङ्ग्जु कोइला कम्पनीको चार तले भवनमा स्थानीय समयअनुसार बिहान ६ः५० मा आगलागी भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै सीसीटीभीले जनाएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले आगलागीमा परेर २६ जनाको मृत्यु भएको जनाएको छ । यसअघि सीसीटीभीले ६३ जनालाई उक्त भवनबाट बाहिर निकालिएको र तीमध्ये ५१ जनालाई उपचारका लागि अस्पताल लगिएको जनाएको थियो ।
यद्यपि टिभीले अस्पतालमा लगिएकामध्ये कसैको मृत्यु भएको हो होइन भन्नेबारे केही बताएको छैन । “उद्धार कार्य जारी छ र कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ”, सीसीटीभीले भनेको छ, “आगो अहिले नियन्त्रणमा आइसकेको छ ।”
प्रतिक्रिया