काठमाडौं– बिहीबार तीनकुनेस्थित नेकपा एमालेको भातृ संगठन युवा संघको कार्यक्रममा पहिचानवादी अभियन्ता आङकाजी शेर्पालाई पनि एमाले नेताहरुसँगै बोल्न दिइयो । महेश बस्नेतले आयोजना गरेको कार्यक्रम गणतन्त्रवादीको भएकाले आफ्नो साथ रहेको सन्देश दिन आङकाजी एमालेको सभामा पुगेका थिए ।
ट्रकमाथि चढेर भाषण गर्दै आङकाजीले राजावादीहरुलाई लल्कारे । राजाले प्रयोग गर्ने श्रीपेच र राजदण्ड नारायणहिटी संग्रहालयमा थन्क्याइसकिएको हुनाले राजतन्त्र नफर्कने उनले दाबी गरे । जनताले नासोका रुपमा थन्क्याइसकेको श्रीपेच र राजदण्ड कसैले नपाउने उनले बताए ।
मेडिकल व्ययसायी दुर्गा प्रसाईको विरोध गर्दै उनले बैंकको श्रण नतिरेको हुनाले चेक बाउन्स मुद्दामा गिरफ्तार गरिनुपर्ने बताए । नेपालको इतिहासमा राजतन्त्रको पक्षमा आन्दोलन गर्ने दुर्गा प्रसाई अन्तिम मानिस हुने उनको दाबी थियो ।
पूर्वराजा ज्ञानेन्द्र र दुर्गा दुबैलाई नख्खु जेलको कैदी बनाइने चेतावनी दिँदै आङकाजीले भने, ‘स्याललाई काल आयो भने शहर पस्छ ।’
अहिले गणतन्त्र संकटमा परेको बताउँदै उनले भने, ‘आज गणतन्त्र संकटमा छ । धर्म निरपेक्षता संकटमा छ । संघीयता संकटमा छ । यस्ताखालका प्रतिगमनकारीहरुलाई ठेगान लगाउन बहुदलवादी सबै शक्तिहरु एक ढिक्का भएर उभिनुपर्छ । राजेन्द्र लिङदेन र रवि लामिछानेजस्ता प्रतिगामी शक्तिहरुलाई धुलो चटाउनुपर्छ ।’
एमालेको सभामा आङकाजीले भाषण गरिरहँदा युवा संघको झण्डा बोकेर सडकमा उभिएका केही कार्यकर्ता चाहिँ भन्दै थिए, ‘यो आङकाजी त पहिचानवादी हो, यसलाई किन हाम्रो मञ्च दिएको ?’
आदिवासी जनजाति आन्दोलनका अगुवा आङकाजी शेर्पा र नेकपा एमालेका कार्यकर्ताबीच विगतमा राम्रो सम्बन्ध थिएन । खासगरी कोशी प्रदेशको नामाकरण लगायत पहिचानका मुद्दाहरुमा आङकाजीका अभिव्यक्तिलाई लिएर सोसल मिडियामा उनीमाथि एमाले कार्यकर्ताहरु खनिने गरेका थिए । आङकाजी पनि यति ‘एक्ट्रिमिस्ट’ नेता हुन् कि उनले पृथ्वीनारायण शाहको राज्य विस्तारको समेत विरोध गर्दै आएका छन् ।
तर, पछिल्लो समय काठमाडौंमा दुर्गा प्रसाई र महेश बस्नेतले आयोजना गरेको कार्यक्रमलाई लिएर मानिसहरु तरंगित हुन थालेपछि आङकाजीले फेसबुकमा स्टाटस लेखेर महेश बस्नेतलाई गठातन्त्रवादी बताउँदै आफ्नो समर्थन रहने जनाएपछि बस्नेतले विहीबारको कार्याक्रममा उनलाई निम्त्याएर मञ्च दिएका हुन् ।
कार्यक्रम सकेर निस्कँदै गर्दा एकजना मिडियाकर्मीले आङकाजीलाई भने, ‘यस्तो एकदुई मिनेट हजुरको प्रतिक्रिया लिउँ न ।’ आङकाजीले कड्किँदै भने, ‘हैट् तिम्रो मिडिया कतिजनाले हेर्छ ? बाटो छाड ।’
प्रतिक्रिया