आज मंसिर ८, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर २४, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
भारतीय र अमेरिकी सेनाबीच मेघालयमा संयुक्त सैन्य अभ्यास
भारतीय र अमेरिकी सेनाबीच भारतको पूर्वोत्तर राज्य मेघालयमा संयुक्त सैन्य अभ्यास सञ्चालन भएको छ । भारतीय र अमेरिकी सेनाले मेघालयको उमोरी क्षेत्रमा ‘वज्र प्रहार २०२३’ नामक सैन्य अभ्यास सञ्चालन गरेका हुन् ।
अभ्यासमा भारतीय सेनाको पूर्वी कमाण्डको विशेष बल र अमेरिकी सेनाको प्रथम विशेष बल समूह (एसएफजी) का सैनिक सहभागी रहेको इन्डिया ब्लुम्सले जनाएको छ ।
यस अभ्यासबाट दुई मुलुकका सेनाबीच संयुक्त सैन्य अभियान योजना र कारवाही रणनीतिबारे अभ्यास र अनुभव आदान प्रदान हुने भारत सरकारको विश्वास छ । भारत र अमेरिकाबीच प्रथम पटक सन् २०१० मा यस्तो किसिमको सैन्य अभ्यास सञ्चालन भएको थियो । यस वर्षको यो अभ्यास १३ औँ संस्करणको रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
यस अभ्यासमा सैनिकहरुले आतंकवादविरुद्धको कारवाही, विशेष सैन्य अभियान, हवाइ कारवाही एवम् पहाडी क्षेत्रमा युद्ध कलाबारे प्रशिक्षण लिने बताइएको छ ।
इजिप्टले गाजामा पठायो १२ हजार टन सहायता सामग्री
इजिप्ट र गाजा क्षेत्रबीचको रफाह नाकाबाट गाजातर्फ करिब १२ हजार टन मानवीय सहायता सामग्री पठाइएको छ । रफाह नाकाबाट करिब १२ हजार टन मानवीय सहायता गाजा पट्टी पठाइएको इजिप्टका राष्ट्रपतिले बताएका हुन् ।
काएरो अन्तर्राष्ट्रिय रङ्गशालामा आयोजित प्यालेस्टाइनको समर्थनमा आयोजित एक कार्यक्रममा राष्ट्रपति अब्देल–फताह अल–सिसीले भने “एक हजार तीन सय ट्रकहरूद्वारा ढुवानी गरिएको झण्डै १२ हजार टन राहत सहायता रफाह हुँदै गाजामा पठाइएको छ ।’
उनले इजिप्टको उत्तरी सिनाई प्रायद्विपमा रहेको एल–आरिश अन्तर्राष्ट्रिय विमानस्थलमा राहत सामग्रीले भरिएको एक सय ५८ जहाज अवतरण गरेको र इजिप्टले गाजालाई पठाइएको कूल सहायताको ७० प्रतिशत अनुदान रहेको बताए ।
इजिप्टका राष्ट्रपतिले गाजामा खाद्यान्न, चिकित्सा सहायता र इन्धन पुर्याउन र युद्धग्रस्त क्षेत्रबाट घाइतेहरूलाई लिन रफाह सीमानाका खुला राख्ने इजिप्टको निर्णयको महत्वलाई जोड दिए ।
उनले भने, “संयुक्त राज्य अमेरिका र इजिप्टको संयुक्त प्रयास र कतारको मध्यस्थतामा कतार, हमास र इजरायलले चार दिनको लागि मानवीय युद्धविराम भएको छ । यसलाई थप लम्ब्याउन सकिन्छ ।”
श्रीलङ्काली केन्द्रीय बैंकद्वारा ब्याजदरमा कटौती
श्रीलङ्काले विदेशी ऋणदाताहरूसँगको महत्वपूर्ण ऋण पुनर्संरचना सम्झौताअघि शुक्रबार दोस्रो पटक ब्याजदरमा कटौती गरेको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले श्रीलङ्काको अर्थतन्त्र स्थिर हुने प्रारम्भिक सङ्केत देखिएको तर पुनरुत्थान ‘अझै सुनिश्चित नभएको’ बताएको छ ।
श्रीलङ्काको केन्द्रीय बैंक सीबीएसएलले शुक्रबार महत्वपूर्ण ऋण दरलाई एक प्रतिशत बिन्दुले घटाएर १० प्रतिशतमा झारेको छ भने वार्षिक मुद्रास्फीति १.५ प्रतिशतमा झरेको छ । निक्षेपको ब्याजदरमा पनि सोही रकम घटाएर ९.० प्रतिशतमा झारिएको छ ।
“मौद्रिक नीति समितिले बजारको ब्याजदर, विशेषगरी कर्जाको ब्याजदरमा मौद्रिक सहजताका उपायहरूको द्रूत र पूर्ण कार्यान्वयनको आवश्यकतामा जोड दिएको छ,” बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आईएमएफसँग भएको दुई अर्ब ९० करोड अमेरिकी डलरको चार वर्षे कर्जा रकममध्ये ३३ करोड अमेरिकी डलरको दोस्रो किस्ता प्राप्त गर्न सरकार असफल भएपछि पछिल्लो कटौती गरिएको हो ।
यद्यपि, केन्द्रीय बैंकले द्विपक्षीय ऋणदाताहरू र निजी ऋणपत्रधारकहरूसँग अर्को महिनाको सुरुमा ऋण सम्झौता गर्ने आशा व्यक्त गरेको छ ।
मार्चमा सुरु भएको आईएमएफ कार्यक्रमको पहिलो समीक्षापछि श्रीलङ्काले सेप्टेम्बरको अन्त्यसम्ममा कर्जाको दोस्रो किस्ता प्राप्त गर्न चाहेको थियो ।
तथापि, श्रीलङ्काले अन्य कुराहरूका साथै सहमत राजस्व लक्ष्यहरूभन्दा कम भएको र कर सङ्कलन बढाउन आवश्यक रहेको कोषले उल्लेख गरेको छ ।
सीबीएसएलले जुन, जुलाई र अक्टोबरमा तीन पटक गरिएको पछिल्लो दर कटौतीले अर्थव्यवस्थालाई पुनरुत्थान गर्न मद्दत गर्ने आशा व्यक्त गरेको छ ।
भारतमा सुरूङभित्र फसेका ४१ श्रमिकको उद्धार प्रयास जारी
भारतको उत्तराखण्ड राज्यस्थित उत्तर काशीमा निर्माणाधीन सुरुङ भत्किएको १३ औँ दिनसम्म सुरुङमा फसेका ४१ जनाको उद्धार गर्ने प्रयास जारी छ । ४१ जना कामदारको उद्धार कार्यमा केही प्रगति भएको उद्धारमा संलग्न टोलीले बताएको छ ।
गत कात्तिक २८ गते सिल्क्यारादेखि बारकोटसम्म निर्माणाधीन सुरुङको केही भाग भत्किएर सुरुङको सिल्कियारातर्फको ६० मिटर क्षेत्रमा खसेको पहिरोले ४१ जना कामदारलाई भित्र थुनेको थियो । कामदारहरू सरूङको निर्माण पूरा भएको दुई किलोमिटरभित्र फसेका छन् ।
भग्नावशेषबाट ड्रिल गर्न प्रयोग गरिने अमेरिकी विशाल ओगर मेशिन राख्ने २५ टनको कङ्क्रिटको संरचना बनाई उद्धारक्रममा बिग्रिएको पाइप मर्मत गर्ने का ‘वेल्डर’ ले शुरू गरिसकेको र मर्मतपछि उद्धार कार्यहरू चाँडै पुनः सुरु हुने अपेक्षा गरिएको उद्धार टोलीलाई उद्धृत गरी प्रहरीले जनाएको छ ।
उपकरण राखिएको संरचनामा बिहीबार उद्धार कार्य जारी रहँदा केही समस्या आएपछि भग्नावशेषमा तेर्सो ड्रिलिङको प्रक्रिया रोक्नुपरेको थियो ।
सरकारी बुलेटिनका अनुसार शुक्रबार बिहान १ः१० मा नवौं पाइपलाई सुरूङतर्फ पठाउने क्रममा थप १.८ मिटर दबेपछि अचानक सानो कम्पन देखिएको थियो ।
“वेल्डरको टोली पाइपभित्र पसेर बेन्ड पाइप काट्ने काम भइरहेको छ । पाइप मर्मतको काम सकेपछि पुनः मेसिनमार्फत् पाइपलाई पठाइनेछ,” विज्ञप्तिमा भनिएको छ । यद्यपि पाइपको अन्य स्थानमा क्षति भएको छ वा छैन भनी परीक्षण गर्न मेसिनलाई निकाल्नुपर्ने र परीक्षणपछि काम थालिने छ ।
पाइप ड्रिलिङ मेशिनको नजिकबाट पाइप गहिराहीमा पठाउनका लागि जनशक्तिलाई सुरक्षित मार्ग प्रदान गर्न ६७ मिटर (१८७ मिटरदेखि १२० मिटर) लम्बाइका लागि कंक्रिट कल्भर्ट ब्लक, ह्युम पाइप र स्टिल पाइप राखेर आपतकालीन सुरक्षित मार्ग निर्माण गरी काम सम्पन्न भएको छ । फसेका कामदारहरु सकुशल रहेको बुलेटिनमा उल्लेख छ ।
“वायर कनेक्टिभिटीसहितको परिमार्जित सञ्चार प्रणाली राज्य विपद् प्रतिकार्य बलले पहिले नै जोडिसकेको छ र यसमार्फत फसेका व्यक्तिसँग नियमित रूपमा स्पष्ट सञ्चार भइरहेको छ ।
त्यहाँ रहेका मानिसहरूले आफू सुरक्षित रहेको बताएका छन् । पाइपको प्रयोग गरी नियमित अन्तरालमा सुरूङभित्र ताजा पकाएको खाना र ताजा फलफूल पठाउने गरिएको छ ।
उत्तरी चीनमा अज्ञात निमोनियाको संक्रमण फैलिँदै, सावधानी अपनाउन डब्लूएचओको आग्रह
उत्तरी चीनमा अज्ञात निमोनियाको संक्रमण फैलिएको छ । उत्तरी चीनमा फैलिएको अज्ञात निमोनियाबाट बढिजसो केटाकेटी संक्रमित छन् । उत्तरी सहर लियोओनिङ र ८ सय किलोमिटर टाढा रहेको राजधानी बेइजिङमा समेत यस संक्रमण देखिएको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पत्रकार सम्मेलन गर्दै गत नोभेम्बर १३ मा नयाँ संक्रमणबारे जानकारी गराएको थियो । नयाँ संक्रमणबाट कति जना प्रभावित भएका छन् भन्ने यकिन विवरण प्राप्त नभएपनि बेइजिङ र आसपासका अस्पतालहरुमा बिरामीको चाप बढेको पाइएको छ ।
यस संक्रमणबाट केटाकेटीहरु धेरै प्रभावित हुने भएकाले विद्यालयमा विद्यार्थीको उपस्थिती पनि घट्दै गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
चिनियाँ स्वास्थ्य आयोगले भने कोरोना भाइरसको महामारीका क्रममा लागू गरिएको कडाई खुकुलो बनाइएका कारण पछिल्लो संक्रमण बढेको जनाएको छ ।
विश्व स्वास्थ्य संगठन डब्लूएचओले भने चीनमा फैलिएको निमोनिया कुनै नौलो वा असामान्य किसिमको नभएको भन्दै चीनसँग यसबारे थप तथ्याङ्क माग गरेको जनाएको छ । यद्यपि यस संक्रमणबाट जोगिन र सावधानी अपनाउन डब्लूएचओले आग्रह गरेको छ ।
गाजा क्षेत्रमा अस्थायी युद्धविराम सम्झौता कार्यान्वयनमा, हमासले आजै १३ बन्धक रिहा गर्ने
गाजा क्षेत्रमा अस्थायी युद्धविराम सम्झौता कार्यान्वयनमा आएको छ । स्थानीय समयअनुसार शुक्रबार ७ बजेबाट युद्धविराम सम्झौता कार्यान्वयनमा आएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
सम्झौताअन्तर्गत प्यालेस्टाइनी लडाकु समूह हमासले प्रथम चरणमा १३ जना बन्धक रिहा गर्ने जनाएको छ । उनीहरुलाई स्थानीय समयअनुसार आजै ४ बजेभित्र रिहा गरिसक्ने तय भएको छ । त्यसैगरी, इजरायली जेलमा रहेका केही बन्दीहरुलाई पनि रिहा गरिने छ ।
आगामी ४ दिनसम्म हमासले ५० जना इजरायली बन्धक रिहा गर्नेछ । हमासले रिहा गर्ने बन्धकमा महिला र केटाकेटी रहेको जनाइएको छ ।
युद्धविराम सम्झौता कार्यान्वयनमा आएसँगै उत्तरी गाजामा इजरायली हवाई आक्रमण रोकिएको लेबनानी टेलिभिजन च्यानल अल मयादिन टेलिभिजनले जनाएको छ ।
यससँगै पछिल्लो ४८ दिनदेखि जारी युद्धबाट इजरायल र प्यालेस्टाइनी जनताले केही राहतको महसुस गरेका छन् ।
इक्वेडरको नयाँ राष्ट्रपतिको रूपमा ड्यानियल नोबोवाद्वारा सपथ ग्रहण
इक्वेडरको नयाँ राष्ट्रपतिको रूपमा ड्यानियल नोबोवाले सपथ ग्रहण गरेका छन् । जसले हिंसालाई कम गर्ने र रक्तपातपूर्ण लागूऔषध युद्धले ग्रसित देशमा रोजगारी सिर्जना गर्ने वाचा गरेका छन् ।
‘बनाना इम्पायर’ का ३५ वर्षीय उत्तराधिकारीले अक्टोबरमा सुरक्षा पुनर्स्थापना र रोजगारी बढाउने वाचामा दक्षिण अमेरिकी देशमा रन अफ भोट जितेका थिए, जसले हजारौंलाई बसाइँसराइ गर्न धकेल्दै कोरोनाभाइरस महामारी पछि आर्थिक चुनौतीहरूको सामना गरेको छ ।
पूर्वराष्ट्रपति गुइलेर्मो लासोले सम्भावित महाभियोगबाट बच्न तत्काल निर्वाचनको आह्वान गरेपछि कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोको उपस्थितिमा आयोजित समारोहमा उनले बिहीबार सपथ लिएका थिए। उनले लासोको बाँकी अवधि मात्र १८ महिना सेवा गर्नेछन् ।
‘हिंसा विरुद्ध लड्न हामीले बेरोजगारीसँग लड्नु पर्छ देशलाई रोजगारी चाहिएको छ र ती सृजना गर्नका लागि म संसदमा तत्काल सुधार ल्याउनेछु,’ नोबोआले क्विटोमा राष्ट्रिय सभाका सांसदहरूका अगाडि आफ्नो पहिलो भाषणमा भने ।
कुनै बेला यस क्षेत्रको सबैभन्दा सुरक्षित देश मानिन्थ्यो, इक्वेडरले हालैका वर्षहरूमा प्रतिद्वन्द्वी लागूऔषध तस्कर समूहहरूद्वारा संचालित हिंसाको विस्फोट देखेको छ। राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो विलाभिसेन्सियोको हत्यासँगै रक्तपात अभूतपूर्व चरम सीमामा पुगेको छ ।
लागूऔषध हिंसाले यस वर्ष हालसम्म करिब ३,६०० हत्या भएको इक्वेडरियन अब्जर्भेटरी अफ अर्गनाइज्ड क्राइम रिपोर्टमा उल्लेख छ । हजारौं घाइते भएका छन् ।
नोबोआले आपतकालीन अवस्था लागू गर्ने, आन्दोलनको स्वतन्त्रताजस्ता केही नागरिक अधिकारहरू निलम्बन गर्ने र सडकमा सेना परिचालन गर्ने बताएका छन् । आफ्नो अभियानको दौडानमा उनले भने कि उनी सबैभन्दा हिंसात्मक कैदीहरूलाई अलग गर्न बार्जहरूमा अपतटीय जेलहरू बनाउन चाहन्छन् ।
क्युबाली राष्ट्रपतिको उपस्थितिमा प्यालेस्टाइनको समर्थनमा मार्चपास
स्वतन्त्र प्यालेस्टाइनीको पक्षमा क्युबामा विशाल प्रदर्शन भएको छ । क्युबाका जनताले प्यालेस्टाइनको समर्थनमा राजधानी हवानामा अमेरिकी दूतावास अगाडि मार्च पास गरेका हुन ।
अलजजिराका अनुसार प्यालेस्टिनीहरू विरुद्ध इजरायलको नरसंहारको निन्दा गर्न हजारौं क्युबालीहरूले बिहीबार देशको राजधानी हवानामा मार्चपास गरेका हुन् ।
सो मार्च पासको नेतृत्व क्युबाका राष्ट्रपति मिगुएल डियाज क्यानेल पनि सहभागी थिए, जुन मार्च पास हवानाको समुद्रीतट ड्राइभ मालेकोनमा छ, जुन स्थानमा अहिले अमेरिकी दूतावास अवस्थित छ ।
प्रदर्शनकारीहरूले प्यालेस्टाइनी झण्डा फहराएर ‘स्वतन्त्र प्यालेस्टाइन,’ ‘इजरायल नरसंहार हो’ र ‘प्यालेस्टिनी स्वतन्त्रताको साथमा’ भन्दै नारा लगाएका थिए ।
प्रतिक्रिया