महिला ट्राफिकको गुनासो : ड्युटीमै प्याड किन्न दगुर्नुपर्छ | Khabarhub Khabarhub

महिला ट्राफिकको गुनासो : ड्युटीमै प्याड किन्न दगुर्नुपर्छ

महिला कर्मचारीलाई महिनावारीमा एक दिन बिदा दिनुपर्ने माग 



काठमाडौँ– डिसेम्बर ८ अर्थात् आज विश्व मर्यादित महिनावारी दिवस ।  ‘बालविवाह र यौनजन्य हिंसा अन्त्यका लागि मर्यादित महिनावारी’ भन्ने नारासहित आज विश्वभर यो दिवस मनाइँदैछ । महिनावारी नितान्त प्राकृतिक र अनिवार्यतः घटित हुने जैविक घटनाको हो । यस अवस्थामा महिलालाई अरु समयको तुलनामा विशेष आरामको आवश्यकता पर्छ ।

महिनावारी मानवअधिकारसँग जोडिएको विषय हो । सबै केटी, महिलाले मर्यादापूर्वक जिउन पाउनुपर्ने भन्दै यो दिवस मनाइन्छ । तर, नेपालमा महिनावारीको समयमा दिनुपर्ने सेवा सुविधाको विषयमा राज्य नै निर्मम देखिन्छ । जसको कारण फ्रन्टलाइनमा बसेर काम गर्ने महिलाले यो कष्टकर समयमा पनि काम गर्न बाध्य छन् । 

सबैखाले हिंसाविरुद्धको १६ दिने अभियानकै क्रममा ‘मर्यादित महिनावारी दिवस’ परेको छ । तर, भोजपुरकी प्रहरी सहायक ह्वलदार लक्ष्मीदेवी श्रेष्ठ कार्यालयहरू आज पनि महिलामैत्री नभएको गुनासो गर्छिन् । ‘अफिसमा प्याडको व्यवस्था छैन, मिन्स भयो भने दगुर्दै मेडिकल वा स्टोर जानुपर्ने अवस्था छ’ ड्युटीमै मिन्स भएर प्याड किन्न दगुर्नुपरेको अनुभव उनले सुनाइन् । जागिर खाएको दश वर्षमा उनले रजस्वला हुँदा बिदा नबसेको बताउँछिन् । महिनावारीमा अधिकांश महिलालाई गाह्रो हुन्छ, त्यसकारण एकदिन भए पनि बिदा दिँदा सहज हुने उनको भनाइ छ । 

‘शहर बजारमै पनि महिनावारीको विषयमा खुलेर कुरा गर्ने चलन छैन । लुकाउनु भन्ने सिकाइएकाले गाह्रो भयो बिदा देउ भनेर भन्न नसकिने अवस्था छैन ।’  सरकारले नै अनिवार्य बिदा गर्दिए मात्रै महिलाले रेष्ट गर्न पाउने हो । होइन भने उनीहरु आफैँ रिपोर्ट गर्न जाँदैनन् । अरु नै बहाना बनाएर वा बिरामी भए भनेर बिदा बस्ने चलन कायम रहने श्रेष्ठको भनाइ छ । 

त्यस्तै, चितवनकी प्रहरी सहायक निरीक्षक रत्न विश्वकर्माले महिनावारीको समयमा ‘मुड सुइङ’ हुने सम्भावना अत्यधिक हुने हुँदा त्यो समयमा ड्युटीमा नलगाउनु उत्तम हुने बताउँछिन् । भन्छिन्, ‘हामीलाई सडकमा एकपटकमा पुरा ४ घण्टा उभिनुपर्छ । त्यो समयमा मुड सुइङ भइरहेको हुन्छ । गाडीको लस्कर र हर्नले झनै रिस उठाउँछ ।’ 

ड्युटीमा पेट दुःखेको छ भनेर सवारी नहेरी बस्न मिल्दैन । ‘प्रत्यक्ष जनताको अगाडि बसेर गर्नुपर्छ,  ‘मान्छेहरूले त्यो ट्राफिकले के हेरेर बसेको भनेर गाली गर्न थाल्छन् ।’ रिङ्गटा लाग्यो भनेर एकछिन बस्यो भने सबै काम बिग्रन्छ, सम्भावित दुर्घटनाबाट जोगिनका लागि बिदा नै उत्तम हुने  उनको राय छ । 

रत्न आफू भने रजस्वला हुँदा कहिले पनि बिदा नबसेको बताउँछिन् । ‘कामको प्रकृति नै राष्ट्रको सेवा जनताको सेवा भन्ने भावबाट सुरु भएको छ, सानोतिनो दुखाइलाई दुख्यो भनेर बस्न मन लाग्दैन ।’  तर, केही महिला ट्राफिक महिनावारीको समयमा बेहोस भएर अस्पताल लग्नुपरेको घटना उनी सुनाउँछिन् । हरेक महिलाको शरीरको हर्मोन फरक हुन्छ , त्यस्तै पीडा पनि फरक हुने हुँदा बिदा हुनुपर्छ भन्नेमा उनी छन् । 

ट्राफिक कार्यालयले महिनावारीको समयमा आवश्यक परेको खण्डमा आराम गर्ने समय  दिन्छ । तर, आवश्यक पर्ने सेवा सुविधाहरूमा भने खासै ध्यान नदिएको उनीहरु बताउँछन् । सेनेटरी प्याड लगायतका सुरक्षाका सामग्रीहरू कार्यालयले उपलब्ध नगराउँदा अझ समस्या थपिन्छ ।
हाल काठमाडौँ उपत्यकामा २ सय १६ जना ट्राफिक महिलाको दरबन्दी छ । ट्राफिक प्रहरी कार्यालय प्रमुख पोषराज पोखरेलका अनुसार ‘महिनावारी अनिवार्य बिदा’ भन्ने नभएकाले बिदा नहुने बताउँछन् ।
तर, आवश्यकता अनुसार बिदा दिने गरेको उनले बताए। उनी खबरहबसँग भन्छन्, ‘पिरियडमा बिदा भन्ने छैन तर साह्रो गाह्रो पर्यो भने बिदा दिने गरेको छ ।’ 

महिनावारीको अवस्थामा बिदा भनेर सरकारले नियम नबनाएको हुँदा ट्राफिक महिलाहरूले अन्य शीर्षकमा बिदा बस्ने गरेको उनको भनाइ छ । ‘महिनावारीमा अनिवार्य बिदा दिने व्यवस्था नभएपनि उनीहरूको स्वास्थ्य अवस्था हेरेर बिदा दिने गरेको छ ।’ त्यस्तै उनीहरूको सुरक्षालाई मध्यनजर गर्दै रातिको ड्युटीमा नराख्ने गरेको उनले बताए । 

पछिल्लो समयमा विश्वभरि नै महिनावारीका बेला बिदा दिनुपर्ने आवाज बढ्दै गएको  छ । भारतमा सन् १९१२ र जापानमा १९४७ देखि नै महिलाले महिनावारी हुँदा एक दिन बिदा लिन पाउने व्यवस्था गरेको छ । 

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  १२ : ४२ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये