दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिकामा युवासँग उपप्रमुख कार्यक्रम सञ्चालन हुने भएको छ । बाँझो जमिनमा उत्पादन केन्द्रित कार्यक्रम लागू गर्ने उद्देश्यसहित नगरपालिकामा युवासँग उपप्रमुख कार्यक्रम सुरु गर्न लागिएको हो ।
यसका लागि कृष्मि बहुउद्देश्यीय सहकारी संस्था र नगरपालिकाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा सहकारीका तर्फबाट अध्यक्ष मनराज गुरुङ र नगरपालिकाका तर्फबाट शिक्षा तथा युवा शाखाका प्रमुख नवराज चापागाँईले हस्तान्तरण गरेका छन् ।
बाँझो जमिनमा उत्पादन केन्द्रित कार्यक्रम लागू गर्ने र उत्पादित वस्तुको जिम्मा नगरपालिकाको रोहबरमा सहकारीले लिने गरी युवासँग उपप्रमुख कार्यक्रम सञ्चालन गर्न लागिएको सहकारीका अध्यक्ष मनराज गुरुङले जानकारी दिए ।
आर्थिक वर्ष २०८०-८१ मा नगरपालिकाका तर्फबाट उक्त कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन भएको छ । नगरपालिकाका तर्फबाट रु १० लाख र बाँकी सहकारीको साझेदारी रहने अध्यक्ष गुरुङले बताएका छन् ।
यस कार्यक्रमअन्तर्गत माटोको जैविकता जोगाउने, रैथाने बीउहरुको संरक्षणका लागि बीउ बैङ्क स्थापना गर्ने लक्ष्य छ । त्यस्तै, उत्पादनमूलक कार्यक्रमअन्तर्गत कफी, जरे बाली (अदुवा, बेसार, पिडालु, तरुल), रैथाने गेडागुडी (मास, मस्याङ, बोडी, सिमी), मरिच र टिम्मुर खेती गरिनेछ ।
युवालाई उत्पादनमा जोड्न युवासँग उपप्रमुख कार्यक्रम ल्याइएको नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले बताए। उनले भने, ‘युवाशक्ति नहुँदा खेतबारी बाँझो हुने क्रम बढेको छ । युवाशक्तिलाई उत्पादनसँग जोड्न सकिए आत्मनिर्भर बनाउन सकिन्छ ।’
प्राकृतिक स्रोतसाधनको उपयोग गरी परापूर्वकालदेखि उत्पादित वस्तु र विधिमा नयाँ प्रविधिको समायोजन गरी व्यावसायिक उत्पादन गर्ने उद्देश्यसहित शुक्लागण्डकी नगरपालिकामा गत कात्तिकमा कृष्मी बहुउद्देश्यीय सहकारी संस्था गठन भएको थियो ।
रासायनिक मल र विषादीको अत्यधिक प्रयोगबाट जनस्वास्थ्यमा पुग्नु गएको दीर्घकालीन स्वास्थ्य समस्यालाई दृष्टिगत राखी प्राकृतिक खेती प्रणालीमार्फत विषादीरहित खाना खाने अभियान सहकारीले गर्ने अध्यक्ष गुरुङको भनाइ छ ।
शुक्लागण्डकी नगरपालिका–४, ९ र १२ संस्थाको कार्यक्षेत्र रहे तापनि नगरपालिकाको अनुमति र समन्वयमा १२ वटै वडामा संस्थाले कार्यक्रम तथा गतिविधि गर्ने जनाइएको छ । संस्थापक शेयर सदस्य ३० जनाबाट सुरु गरिए पनि निकट भविष्यमा पाँच सयजना शेयर सदस्य पुर्याउने लक्ष्य राखिएको अध्यक्ष गुरुङको भनाइ छ ।
हाललाई दुई करोड पुर्याउने र निकट भविष्यमा रु पाँच करोड चुक्ता पुँजी पुर्याउने संस्थाको लक्ष्य छ । मासिक रु एक हजार बचत गर्ने करिब एक हजार सदस्य बनाउने र अन्य बचत रकम संकलन तथा ऋण प्रवाहमार्फत करिब पाँच हजार सदस्य संगठित गर्ने योजना छ ।
हरेक उपभोक्ता अत्यधिक विषादी र रासायनिक मल प्रयोग भएको खाद्यवस्तु उपयोग गर्न बाध्य भएको परिप्रेक्ष्यमा शुक्लागण्डकी नगरपालिकासँगको सहकार्यमा दश हजार घरधुरीमा बायोडायनामिक विधिबाट रासायनिक मल र विषादीरहित करेसाबारी सुधार कार्यक्रम गरिने सचिव ऋषेश्वर भुवाईले जानकारी दिए ।
उनले भने, ‘यो अभियानबाट कम्तीमा पाँच हजार घरधुरीलाई मझौला व्यावसायिक तरकारी उत्पादक कृषकका रुपमा विकास गरी शुक्लागण्डकी नगरपालिकालाई हरियाली प्राकृतिक कृषि अभियानको नमूना नगरपालिकाको रुपमा विकास गर्न प्रेरित गर्नेछ ।’
छरिएर रहेको पुँजीलाई एकीकृत गरी आयआर्जनको पाटोलाई बलियो बनाउँदै किसानको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ संस्था स्थापना गरिएको कोषाध्यक्ष सरोज पौडेलले जानकारी दिए ।
संस्थाले महिलाहरूको बचत तथा लघु उद्यम सञ्चालन गर्न सामूहिक जमानीमा कर्जा प्रवाहका लागि कृष्मी महिला बचत समूह गठन गर्नेछ । समूहमार्फत मासिक बचत, सामूहिक जमानिमा कर्जा प्रवाह, वित्तीय साक्षरता, लघु उद्यमीसम्बन्धी सचेतना लगायतका कार्य गर्ने उनको भनाइ छ ।
संस्थाले कृषकलाई प्रोत्साहनस्वरुप कृषक समृद्धि बचत खाता सञ्चालन गर्ने र जसमा एक लाख जम्मा गर्नुपर्नेछ । त्यसका लागि कम्तीमा दुई वर्षसम्म बचत गर्नुपर्ने र यो योजनाअन्तर्गत सबैभन्दा धेरै ब्याजदरसँगै बचत रकमको तीन प्रतिशत थप रकम प्रोत्साहनस्वरुप प्राप्त गर्ने जनाइएको छ ।
प्रतिक्रिया