उपकुलपति कार्कीलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग « Khabarhub

उपकुलपति कार्कीलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग

अपील जारी गर्दै उपकुलपतिले सम्झाए उच्च अदालतको आदेश 



सुनसरी– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाज संयुक्त संघर्ष समितिले कामु उपकुलपति प्रा.डा प्रल्हाद कार्कीलाई तत्काल बर्खास्त गर्न सरकारकासँग माग गरेको छ ।

शिक्षक कल्याण समाजका अध्यक्ष डा सेराज अहमद खान र कर्मचारी कल्याण समाजका अध्यक्ष कविता ढकालले शुक्रबार बीपी प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई संयुक्त पत्र लेख्दै तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।

कुलपतिलाई लेखेको पत्रमा कामु उपकुलपति डा कार्कीले सबै सरोकारवाला तथा नियामक निकायहरूको सहमति विपरीत आफ्नो व्यक्तिगत हठ पूरा गर्न भइरहेको बढुवा प्रकृया अवरुद्ध गरेको आरोप लगाइएको छ ।

बढुवा प्रक्रिया पुनः अघि बढाउन कुलपति स्वयंले दिएको आदेशको उलङ्घन गरी प्रतिष्ठानलाई मुठभेडमा जान दुरुत्साहन गरेको आरोप कार्कीमाथि लगाइएको छ ।

प्रधानमन्त्रीलाई लेखिएको पत्रमा भनिएको छ, ‘ऐन नियमको आफुखुशी दुरुपयोग गरी प्रशासनिक अराजकता सिर्जना गर्दै यस संस्थाको मूल्यमान्यता र सिद्धान्त विरुद्ध प्रहार गरिरहेको, साथै निजकै कारण पटक-पटक प्रतिष्ठानमा आन्दोलन भई आर्थिक रुपमा जर्जर प्रतिष्ठानलाई थप करोडौँको क्षति पुर्‍याएकाले निजलाई तुरुन्त बर्खास्त गरी मृत्युशैयामा पुगेको यस प्रतिष्ठानलाई जीवनदान दिन हुन अनुरोध गर्दछौं ।’


हेर्नुहोस् पत्र


समाजले प्रतिष्ठानको ऐनमा रहेको प्रावधान विपरीत प्रतिष्ठानको सेवाबाट निवृत्त भइसकेको अवस्थामा सहकुलपति एवं स्वास्थ्यमन्त्रीबाट डा प्रल्हाद कार्कीलाई कामु उपकुलपतिका रुपमा कार्यनिरन्तरताका लागि पत्र दिएकाले सुरुको मितिदेखि नै बदरभागी रहेको समेत जनाएको छ ।

उमेर हद ६५ वर्ष पूरा भएका प्रा.डा कार्कीले गत मंसिर पहिलो सातामै बरबुझारथ गरेर प्रतिष्ठानबाट अवकाश लिइसकेका छन् । 

संयुक्त संघर्ष समितिले कामु उपकुलपति प्रा.डा कार्कीलाई तुरुन्त बर्खास्त गर्न माग गरिरहेका बेला शुक्रबार नै प्रा.डा कार्कीले पनि अपिल जारी गर्दै मिति २०७९ पुस २० गते बढुवाको सन्दर्भमा प्रकाशित विज्ञापन कार्यान्वयनको विषय कानूनी वैधतामा खोजिएको जिकिर गरेका छन् ।

उनले अपिलमा भनेका छन्, ‘कानूनी वैधता स्पष्ट गरेर यसलाई अगाडि बढाए मात्र दीर्घकालीन रुपमा सबैलाई फलदायी उपलब्धि प्राप्त हुने छ भन्ने सोझो र स्पष्ट मान्यता हो ।’

कार्कीले अपिल मार्फत नै उच्च अदालतबाट माघ १० गते प्रतिष्ठानको नाममा जरी अन्तरिम आदेश मार्फत कर्मचारी नियुक्ति तथा स्वतः बढुवा नगर्न नगराउन भन्दै माघ १७ गते छलफलका लागि पेशी तोकेको समेत जनाएका छन् ।

हेर्नुहोस् कार्कीको अपील


यसैबीच, आन्दोलनरत पक्ष र कामु उपकुलपतिको विज्ञप्तिको जुहारीसँगै उच्च अदालतले जारी गरेको अल्पकालीन अन्तरिम आदेशले बीपी प्रतिष्ठानमा उत्पन्न समस्याको समाधान गर्नुको सट्टा झन् जटिल बनाएको प्राध्यापक चिकित्सकहरूले बताएका छन् ।    

 संयुक्त संघर्ष समितिले चिकित्सक शिक्षक, कर्मचारीहरूको बढुवा प्रक्रिया तत्काल सुरु गर्न दवाव दिएपछि तीनदिनदेखि बसेको कार्यकारिणी समिति (कास) को बैठक समापन नै हुन नपाई उच्च अदालतले तत्कालको लागि बढुवा प्रक्रिया रोक्न गरेको आदेशले झन् जटिल बनाएको हो ।

शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाज संयुक्त संघर्ष समितिले पनि आफूहरूको बढुवा सम्बन्धी एक सूत्रीय माग पूरा नभएसम्म भद्र अवज्ञा जारी राख्ने घोषणा गरेको छ । संयुक्त संघर्ष समितिका सदस्य महेश्वर राईले भने, ‘हाम्रो एक सूत्रीय माग पुरा नहुन्जेल भद्र अवज्ञा यथावत राखेका छौं ।’

हजार बेड भएको बीपी प्रतिष्ठानमा दैनिक ३५ सय नयाँ बिरामी उपचारका लागि आउने गरेका छन् । आकस्मिक कक्षमा मात्र दैनिक अढाइ सय बढी बिरामी ल्याइने गरेको छ ।

प्रतिष्ठानमा दैनिक ८० वटा साना ठूला शल्यक्रिया, हजार बढी बायोकेमेस्ट्री रिपोर्ट, पाच सयबढी एक्सरे र अल्ट्रासाउण्ड हुँदै आएकोमा अहिले ठप्प छ ।

आन्दोलनका कारण १२ दिनयता ओपिडी, पठनपाठन र परीक्षा सबै ठप्प हुँदा दैनिक एक करोड रुपैयाँका दरले १२ करोड रुपैयाँ आर्थिक क्षति भएको प्रतिष्ठानका कर्मचारी बताउँछन् । 

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ६ : २१ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र