शुक्लाफाँटाको गजराज ‘शेषचन्द्र’ले अब पर्यटक घुमाउने « Khabarhub

शुक्लाफाँटाको गजराज ‘शेषचन्द्र’ले अब पर्यटक घुमाउने


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरियास्थित हात्तीसार पोष्टमा अढाई वर्षको भाले गजराज शेषचन्द्रलाई पर्यटक घुमाउने तालिम दिइएको छ ।

एक वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट आमा नारायणकलीसँगै शुक्लाफाँटा ल्याइएको गजराज शेषचन्दलाई गत पुसदेखि तालिम दिन थालिएको हो ।

शनिबार शेषचन्द्रले तालिम पू्रा गरेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्टराईले निकुञ्जमा हात्तीलाई प्रयोग गर्न तालिम दिनुपर्ने भएकाले अढाई वर्षको हात्तीलाई प्रशिक्षण दिएको बताए ।

‘शुक्लाफाँटामा गस्ती गर्न र पर्यटकलाई निकुञ्ज भ्रमण गराउन हात्तीको प्रयोग हुँदै आएको छ ।’ उनले भने, ‘हात्तीलाई परिचालन गर्न एक महिनाअघिदेखि सुरु गरिएको तालिम आज समापन भएको छ ।’ उनले हाल निकुञ्जमा दुईवटा छावासहित आठ हात्ती रहेको बताए ।

तालिमको सुरुआतका बेला वयस्क हात्तीको सहारामा जङ्गलतर्फ लगिएको थियो । इच्छाअनुसार स्वतन्त्ररूपमा हिँडडुल गरिरहेका हात्तीलाई इशारा र निर्देशनका आधारमा हिँडाउनका लागि तालिम दिने गरिन्छ ।

शेषचन्द्रलाई नियन्त्रितरूपमा हिँडाउन हात्तीसारको वयस्क हात्ती सुर्तीकलीको प्रयोग गरिएका हात्तीसारका शिवदत्त चौधरीले जानकारी दिए ।

‘हात्तीलाई तालिम दिनुभन्दाअघि एउटा खम्बा तयार पारिन्छ, त्यसलाई खमारा भनिन्छ’, चौधरीले भने, ‘खम्बाको टुप्पोमा डोरी अल्झाउने खालको बनाइन्छ ।

डोरी अल्झिने उचाइ र हात्तीको घाँटीको उचाइ बराबर हुनुपर्छ । खम्बा गाडेको ठाउँमा पूजाआजा गरिन्छ । यसलाई खामेश्वरी पूजा पनि भनिन्छ । हात्तीलाई तालिम जसले दिने हो, उसैले पूजा गर्नुपर्छ ।’ चौधरीका अनुसार हात्तीलाई पूर्णरूपमा तालिम दिन कम्तीमा एक महिना लाग्ने गर्छ ।

हात्तीको घाँटीमा बाँधिने डोरीलाई अग्रन, अगाडिको खुट्टा बाँध्नेलाई छनुवा र पछाडिको खुट्टा बाँध्नेलाई बन्डा भनिन्छ । ‘जबसम्म बहकियाको भनेको टेर्दैन तबसम्म बस्न दिइँदैन र खम्बाबाट सारिँदैन, राति सुत्न पनि दिइँदैन’, चौधरीले भने, ‘कम्तीमा एक हप्ता लाग्छ, त्यतिबेलासम्म खम्बामै बाँधेर सिकाइन्छ ।

चौधरीका अनुसार भनेको मान्ने र उठबस गर्न थालेपछि वयस्क हात्तीकै सहारामा हात्तीमाथि बसेर पनि तालिम दिइन्छ । हात्तीलाई दुईदेखि तीन वर्ष छ महिना भित्रै तालिम दिइसक्नुपर्छ । त्यसपछि भने तालिम दिन निकै समस्या हुन्छ । अटेरी पनि हुनसक्छ ।

शुक्लाफाँटामा १० हात्तीको दरबन्दी भए पनि अहिले सानासहित आठमात्रै छन् । अहिले हात्तीसारसँगै निकुञ्जको मालुबेला र शुक्लाफाँटा पोष्टमा हात्ती राखिएका छन् ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ८ : ५१ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,