ब्लग : बालेन्द्रले नदेखेको नयाँ बसपार्क | Khabarhub Khabarhub

ब्लग : बालेन्द्रले नदेखेको नयाँ बसपार्क


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


993
Shares
  • change font
  • change font
  • change font

काठमाडौं महागरपालिका वडा नम्बर २६ स्थित गोंगबुमा सञ्चालन भएको नयाँबसपार्कको एक सय ६१ रोपनी जग्गा सरकारी हो । ०३९ सालअघि यो जग्गा व्यक्तिको थियो । जापान सरकारले नयाँ बसपार्क बनाइदिने भनेपछि सरकारले यो जग्गा अधिग्रहण गर्‍यो र जापानले यहाँ बसपार्क पनि बनाइदियो ।

यो बसपार्क र जग्गा दुवैमा सरकारको लगानी छ । तर, १६१ रोपनी जग्गामध्ये २७–२८ रोपनी व्यक्तिका नाममा पास भइसकेको छ । यहाँको जग्गाको मूल्य प्रतिआनाकै करोड पर्छ । ६५ रोपनी जग्गामा मात्रै अहिले बसपार्क सञ्चालन हुँदै आएको छ । बाँकी जग्गामा घर बनाएर भाडामा लगाइएको छ ।

एउटै सटरको मासिक ५० हजारदेखि पाँच लाखसम्म भाडा लिइन्छ । खाली सटर २० लाखदेखि ५० लाखमा खरिद–बिक्री हुन्छ । लामो दुरीको एउटा गाडी बसपार्कभित्र छिर्नेबित्तिकै हजार रुपैयाँ लिइन्छ । २४ घण्टा पार्किङको पनि त्यति नै शुल्क लिइन्छ । लोकल गाडीको पाँच सय रुपैयाँ लिइन्छ । यात्रुले काटेको टिकटबापत पनि २५ प्रतिशत कमिशन लिइन्छ ।

लोत्से बहुउद्देश्यीय प्रालिका सञ्चालक दीपक कुँवरले महिनाकै पाँच करोड रुपैयाँ बसपार्कबाट आम्दानी गर्दै आएका छन् । महानगरपालिकालाई एक वर्षको भाडा करिब एक करोड मात्र तिर्छन् । सरकारी सम्पत्तिमाथि यहाँ ठूलो दोहन भइरहेको छ ।

सरकारले ०७६ चैत ११ गते र ०७८ बैशाख १६ गते गरी दुई पटक मुलुकभर लकडाउन गर्‍यो । त्यो लकडाउन अवधिमा एक वर्षको भाडा लोत्सेले महानगरपालिकालाई तिरेन, मिनाहा गराइयो ।

काठमाडौंका मेयर बालेन्द्र शाहले तत्कालीन मेयर केशव स्थापितकै पालामा लोत्सेसँग भएको सम्झौता खारेज गरेर नयाँ टेण्डर आह्वान गरेमा महानगरलाई वर्षको एक करोड हैन, महिनाकै तीन करोडसम्म भाडा आउने देखिन्छ ।

केशव स्थापितका पालामा महानगर र लोत्सेबीच दुई–चार वर्षका लागि होइन, ४५ वर्षका लागि नयाँ बसपार्क सञ्चालन गर्ने सम्झौता भएको छ । अब मेयर बालेनले यो सम्झौता खारेज गर्न सक्छन्, सक्दैनन्, हेर्न बाँकी छ । सरकारी, सार्वजनिक सम्पत्तिमा मोजमस्ती गर्ने माफियाहरुलाई अहिलेसम्म कसैले छुन सकेको छैन ।

उनीहरुले राजनीतिक पार्टीको झोला बोकेर सरकारी सम्पत्ति दोहन गरिरहेका छन् । राजनीतिक दललाई चन्दा दिन्छन् । अनि मजदुर संगठनका नेता तथा यातायात व्यवसायीलाई पनि पैसा दिन्छन् । राज्यको ढुकुटीमा आउनुपर्ने रकममाथि उनीहरुको मोजमस्ती चलिरहेको छ । मेयर बालेन्द्र र वडा नम्बर २६ का वडाध्यक्षले अहिलेसम्म नयाँ बसपार्कको जग्गा नापजाँच गर्न चासो दिएका छैनन् ।

नयाँ बसपार्क सञ्चालन भएको १ सय ६१ रोपनी जग्गामध्ये धेरै जग्गा व्यक्तिको नाममा पास भइसकेको भए पनि स्थानीय तहका जनप्रतिनिधिले जग्गा खोजतलासमा चासो दिएका छैनन् । यसले गर्दा माफियाहरुले सरकारी जग्गामाथि कब्जा जमाइसकेका छन् । राजनीतिक पहुँच र सरकारी कर्मचारीलाई आफ्नो मुठ्ठीमा लिएर दलालहरुले सरकारी, सार्वजनिक जग्गा आफ्नो नाममा ल्याएका छन् ।

अहिले लोत्सेसँगको सम्झौता खारेज नहुँदा काठमाडौं महानगर र राज्यलाई ठूलो घाटा भइरहेको छ । मेयर बालेनलगायत मुलुकभरका स्थानीय तहका जनप्रतिनिधिहरुले सरकारी, सार्वजनिक सम्पत्ति खोजतलास गरेमा राज्यलाई ठूलो फाइदा हुनेछ ।

अब सीआईबीले पनि सरकारी, सार्वजनिक सम्पत्ति खोजतलास गर्नुपर्छ । कसले सरकारी, सार्वजनिक सम्पत्तिको दोहन गरेको छ ? यसको अध्ययन, अनुसन्धान गरी त्यस्ता व्यक्तिलाई कानूनी दायरामा ल्याउनुपर्छ । किनकि राज्यको सम्पत्ति दोहन गर्ने अधिकार कसैलाई पनि छैन । सरकारी, सार्वजनिक सम्पत्ति दोहन गर्ने जोसुकै भएपनि सरकारले त्यस्ता व्यक्तिलाई छोड्नुहुन्न ।

सदनमा पनि सांसदहरुले पनि यसबारे आवाज उठाउनुपर्छ । सरकारी, सार्वजनिक सम्पत्ति कब्जा वा दोहन गर्ने जतिसुकै पहुँच भएको व्यक्तिलाई पनि कानूनको दायरामा ल्याउनैपर्छ ।

मेयर बालेन्द्रलाई जनताको प्रश्न छ, ‘लोत्सेसँग केशव स्थापितले गरेको सम्झौता तोड्नुहुन्छ कि आत्मसमर्पण गर्नुहुन्छ ?’

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ५ : ०४ बजे

जलवायु न्यायको माग गर्दै युवाहरुको र्‍याली (तस्बिरहरू)

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स

इजरायली आक्रमणमा हिजबुल्लाहका शीर्ष नेता मारिए

काठमाडौं– इजरायलले लेबनानमा गरेको आक्रमणमा हिजबुल्लाहका एक शीर्ष नेता मारिएका

चट्याङ लागेर एकजनाको मृत्यु

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत

प्रख्यात धार्मिकस्थल कमलामाई मन्दिर (तस्बिरहरू)

सिन्धुली– सिन्धुली जिल्लाको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थलहरू मध्ये एक

अध्यक्ष लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डल