चुलाचुलीका किसान तरुल खेतीतर्फ आकर्षित | Khabarhub Khabarhub

चुलाचुलीका किसान तरुल खेतीतर्फ आकर्षित


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

इलाम– पछिल्लो समय इलाम चुलाचुलीका किसान सिमल तरुल  खेतीतर्फ आकर्षित भएका छन् । धान, मकै तथा कोदोलगायत अन्नबाली उब्जनी हुने खेतीयोग्य जमिनमा किसानले तरुल खेती गरेर मनग्य आम्दानी समेत लिन  थालेका हुन् ।

अन्य बालीभन्दा सिमल खेती गर्न सजिलो र आम्दानीसमेत बढी हुने भएकाले त्यसतर्फ किसानको आकर्षण बढेको चुलाचुली गाउँपालिका– ५ का किसान मतिराज राईले जानकारी दिए ।

थोरै लगानीबाट नै राम्रो आम्दानी लिन सकिने भएकाले यहाँका किसानको रोजाइमा सिमल खेती परेको हो । यहाँका किसानले एकल तथा सामूहिकरुपमा व्यावसायिक सिमल खेती गर्दै आएका छन् ।

घरमा खाजाका लागि रोपण हुँदै आएको सिमल तरुलको माग पछिल्ला दिनमा बजारमा बढेसँगै व्यावसायिक खेती विस्तार हुन थालेको चुलाचुली– ४ का किसान धनबहादुर योगीले बताए ।

१९ बिघा बढी क्षेत्रमा व्यावसायिक सिमल खेती हुँदै आएको चुलाचुली गाउँपालिकाको तथ्याङ्क छ । यहाँका धेरै किसानले करेसाबारीमा सिमल खेती लगाएका छन्  । यहाँ उत्पादित सिमल तरुल निर्यातका लागि बजारको कुनै समस्या छैन । सिमल तरुल किन्न स्थानीय व्यापारी किसानको बारीमा नै पुग्ने गरेका छन् ।

व्यावसायिक उत्पादन बढेसँगै सिमल तरुल खरिद गर्न चुलाचुली आउने स्थानीय व्यापारीको सङ्ख्यासमेत बढ्दै गएको योगीले बताए । तरुल बजार निर्यातका लागि स्थानीय व्यापारीबाट सङ्कलन हुने गरेको छ ।

सङ्कलन भएको तरुल व्यापारीमार्फत दैनिकरूपमा झापाको दमक, बिर्तामोड, मोरङको उर्लाबारी, सुनसरीको इटहरी र धरानसम्मका बजार पुग्ने गरेको छ ।

सिमल तरुलको खरिदबिक्री पुस, माघ र फागुनमा बढी हुन्छ । बजारमा यसको माग बढ्दै गएपछि किसानको मुख्य आम्दानीको स्रोतसमेत बन्न थालेको छ । सुगर, प्रेसरलगायत दीर्घरोगीले समेत खान मिल्ने सिमल तरुल किसानको बारीबाट प्रतिकिलो ३० देखि ४० रुपैयाँमा बिक्री हुँदै आएको छ ।

तरुल प्रायः बोक्रा तासेर उसिनेपछि खाने गरिन्छ । यसलाई सुकाएर पीठो बनाई रोटी खाने पनि चलन छ । आदिवासी जनजाति समुदायले भने स्थानीय रक्सी उत्पादन गरी बिक्रीसमेत गर्दै आएका छन् ।

तरुल खेती प्रवर्द्धन गर्न चुलाचुली गाउँपालिकाले किसानलाई अनुदान दिँदै आएको छ । चुलाचुलीले गत आर्थिक वर्ष तरुलको व्यावसायिक खेती गर्ने ३८ जना किसानलाई १२ लाख २४ हजार दुई सय ९३ अनुदान दिएको थियो ।

चुरेको फेदीमा रहेको चुलाचुली गाउँपालिकामा तरुल खेतीका लागि उपयुक्त रहेको कृषि विज्ञ टोलीको निष्कर्षपछि चुलाचुली गाउँपालिकाले यस खेतीलाई प्रवर्द्धन गर्न थालेको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुले बताए ।

यस वर्ष चुलाचुली गाउँपालिकाले तरुल खेतीलाई व्यावसायिक बनाउन पीठो उत्पादन गर्ने उद्योग स्थापना गर्ने तयारीमा रहेको अध्यक्ष केरुङले जानकारी दिए ।

 

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  १० : ०७ बजे

उहिलेका सगिनी अर्थात्‌ तीजका गीत

काठमाडौँ – आज नेपाली हिन्दु महिलाहरूले हरितालिका तीज मनाउँदैछन्‌ ।

एक सयभन्दा धेरै बोइङ जहाज किन्ने कोरियन एयरको योजना

वाशिङ्टन डीसी- कोरियन एयरले एक सयभन्दा बढी बोइङ विमान खरिद

सिद्धार्थ बैंकले दिएको लाभांश लिन गएनन् लगानीकर्ता

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले दिएको लाभांश लिन लगानीकर्ता नगएको

शिवजीको पूजा र ‘सेल्फी’मा रमाउँदै महिला (तस्बिरहरू)

काठमाडौं– भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्व मंगलबार देवाधिदेव

सरकारले उखु किसानका माग पूरा गर्नुपर्छ : डा. कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलनरत उखु