बागलुङको बेलढुङ्गा पर्यटकको आकर्षण बन्दै | Khabarhub Khabarhub

बागलुङको बेलढुङ्गा पर्यटकको आकर्षण बन्दै


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

बागलुङ– चिसो मौसम सकिन थालेसँगै बागलुङको बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बर्खादेखि सुनसान बनेको बेलढुङ्गामा दैनिक पर्यटक आउन थालेपछि चहलपहल बढेको हो ।

बागलुङको काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा अवस्थित बेलढुङ्गा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । सडक सञ्जाल र पदमार्गको सहज पहुँच पुगेपछि बेलढुङ्गामा पर्यटक आगमनमा वृद्धि भएको छ ।

समुद्री सतहबाट दुई हजार ६ सय मिटरको उचाइमा रहेको बेलढुङ्गालाई पर्यटकीय गन्तव्य बनाउन गण्डकी प्रदेश र काठेखोला गाउँपालिकाले बर्सेनि लगानी गर्दै आएको छ ।

उच्च पहाडी क्षेत्रमा रहेको हुँदा यहाँबाट धवलागिरिसहित दर्जनौँ हिमशृङ्खला आँखै अगाडि देख्न सकिन्छ । सूर्योदय हेर्नका लागि पनि पर्यटक बेलढुङ्गा पुग्ने गरेका हुन् ।

बेलढुङ्गा नजिकै खाना बस्न र स्थानीय कला, संस्कृतिसँग रम्न सामुदायिक घरबास (होमस्टे) रहेको हुँदा विदेशी पर्यटक पनि समयसमयमा यहाँ आउने गरेको पाइन्छ । बागलुङ र म्याग्दी दुवैतर्फबाट गाडी तथा पैदलयात्रा मार्फत यहाँ पुग्न सकिन्छ ।

दसैँ र तिहारको बीचमा दैनिक करिब पाँच सयको हाराहारीमा पर्यटक आएपछि गत माघ पहिलो सातासम्म बेलढुङ्गा सुनसान रहेको बेलढुङ्गा सामुदायिक घरबासका अध्यक्ष गोपाल श्रीसले बताइ ।

माघयता झण्डै एक हजार दुई सय पर्यटक बेलढुङ्गा आएको उनको भनाइ छ । उनले अधिकांश पर्यटक दिउँसो आएर साँझ फर्कने गरेको जनाउँदै घरबासमा बास बस्ने गरी आउने निकै कम भएको बताए । आधा दशक अगाडिसम्म सुनसानजस्तै रहेको बेलढुङ्गा केही वर्षयता पर्यटकले भरिभराउ हुँदै गएको अध्यक्ष श्रीसले बताए ।

सरकारले पनि यस क्षेत्रको विकासका लागि चासो देखाएको उनको भनाइ छ । गत वर्ष काठेखोला गाउँपालिकाले विनियोजन गरेको दुई लाख ५९ हजार र गण्डकी प्रदेश सरकारले २० लाख बजेट विनियोजन गरेको भन्दै यस वर्ष पनि गाउँपालिकाबाट पाँच लाख विनियोजन भएको श्रीसको भनाइ छ ।

पोहोर साल देउराली डाँडाबाट बेलढुङ्गासम्म जोड्ने दुई सय ६० मिटर पदमार्गमा स्लेटढुङ्गा बिच्छ्याएको र बागलुङ नगरपालिका–६ पञ्चकोटतर्फ दुई सय ५० मिटर साइकल ल्याण्ड बनाएको भन्दै यस वर्ष ‘भ्यू प्वाइन्ट’ व्यवस्थापन गर्न थालिएको उनले बताए ।

पछिल्लो समय बिदाको दिन विभिन्न सङ्घसंस्था तथा विद्यालयबाट विद्यार्थी घुम्न र उच्च पहाडी हावापानीसँग रम्नका लागि आउने गरेका छन् । बागलुङ बजारबाट गाडीमा साढे एक घण्टा र म्याग्दीको बेनीबाट एक घण्टामा बेल्ढुङ्गा पुग्न सकिन्छ ।

बेलढुङ्गा नजिकै म्याग्दीको भकिम्लेमा प्रसिद्ध धार्मिकस्थल स्वर्गाश्रम रहेको छ । यहाँ पूजाआजा गर्न आउने भक्तजन पनि बेलढुङ्गा चढ्न आउने गरेका छन् । दुई वर्ष अगाडिसम्म बेलढुङ्गामा जोखिम मोलेर चढ्नुपर्थ्यो भने अहिले पदमार्गमार्फत सहजरूपमा टुप्पोमा पुग्न सकिन्छ ।

लामो समय बुटवल बसेर बिदामा जन्मघर पर्वत आउनुभएका विशाल घिमिरेले आफूहरू १२ जनाको टोली मोटरसाइकलमै बेलढुङ्गा घुम्न आएको बताए ।

यसभन्दा अगाडि एकपटक पारिवारिक घुमफिरमा आएको सुनाउँदै त्यस बेलाको घुमाइले धित नमरेपछि यसपटक साथीहरूसँग आएको उनको भनाइ छ ।

घिमिरेले बेलढुङ्गामा घण्टौँ बसेर योगा गर्दा मनमा शक्ति पैदा हुने भन्दै करिब पाँच घण्टा यस क्षेत्रमा बिताएको सुनाए । बेलढुङ्गालाई रमाइलो गर्ने स्थलका साथै योगाश्रमका रूपमा विकास गर्न सुझाए ।

 

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ११ : ५१ बजे

हिमाल र पर्वतीय क्षेत्रको बजारीकरण गरौँ : पूर्वअर्थमन्त्री शर्मा

 काठमाडौं– पूर्वअर्थमन्त्री जनार्दन शर्माले हिमाल हाम्रो गौरवपूर्ण सम्पत्ति भएकाले यसको

दुई ओभरमै नेपालले लियो स्कटल्याण्डको तीन विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलको पहिलो

आजका समाचार : प्रचण्डविरुद्ध खनिँदै एमाले, संसद्‌मा रास्वपाको फरक रूप र  इरान-इजरायल तनाव जारी 

दुई बुँदे सहमति भएको एक साता नबित्दै प्रचण्डविरुद्ध खनिँदै एमालेसत्ताको

स्कटल्याण्डविरुद्ध टस जितेको नेपालले फिल्डिङ गर्ने

काठमाडौं– त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा नेपालले टस जितेको

सरकारले बेचेको चिया बगान : एकातिर सुकुम्बासी, अर्कातिर संघाई ग्रुप

झापा– पूर्वी नेपालका झापा, इलाम र पाँचथर जिल्ला चिया बगानका