काठमाडौं- नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहालले चालेका कदमबारे गुण र दोषका आधारमा आफ्ना नीति स्पष्ट पार्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपाल निवास कोटेश्वरमा बसेको समाजवादीको आकस्मिक सचिवालय बैठकले प्रधानमन्त्रीको कदम अप्रत्याशित भएको निष्कर्ष निकाल्दै गुण र दोषका आधारमा आफ्ना नीति स्पष्ट पार्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिडाले जानकारी दिए ।
नयाँ समीकरणको उदेश्य,प्रक्रिया र संरचना अझै स्पष्ट नभएको भन्दै प्रधानमन्त्रीले लिएको निर्णयका उद्देश्य, प्रक्रिया र संरचनाबारेमा सबै विषय अगाडी आएपछि गुण दोषका आधारमा आफ्ना नीतिहरु स्पष्ट पार्ने प्रवक्ता खतिवडाले बताए । उनले प्रधानमन्त्रीको कदमले मुलुकमा अन्यौल देखिएको बताए ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले नयाँ घटनाक्रमपछि पार्टी ‘पर्ख र हेर’ को अवस्थामा रहेको बताएका छन् । उनले आफ्ना पार्टी स्वतन्त्र र क्रान्तिकारी भएकाले मुलुकमा समाजवादी क्रान्ति लागू गर्न लागिपरेको र यसका लागि वामपन्थी एकतामा जोड दिने बताए । अहिले अरु पार्टीको बारेमा टिकाटिप्पणी नगर्ने उनको भनाइ छ ।
त्यस्तै उनले अहिलेको अवस्थामा पुरानो गठबन्धन टुटिसकेकाले पार्टीबाट सरकारमा गएका मन्त्रीहरु बिदा भएर आउने जिकिर गरे ।
प्रतिक्रिया