केन्द्रमा गठबन्धन, इलाममा झगडा : उपचुनावमा रास्वपाले एमालेलाई नसघाउने | Khabarhub Khabarhub

केन्द्रमा गठबन्धन, इलाममा झगडा : उपचुनावमा रास्वपाले एमालेलाई नसघाउने

साझा उम्मेदवार बन्ने आशमा झलनाथ, एमाले भन्छ- एक्लै जितिन्छ



काठमाडौं – केन्द्रमा नेकपा एमाले, माओवादी र रास्वपासमेतको गठबन्धन बनेर सत्ता साझेदारी बने पनि इलाम क्षेत्र नम्बर २ को उपचुनावमा एमालेलाई नसघाउने रास्वपा अध्यक्ष रवि लामिछानेले घोषणा गरेका छन् । आगामी बैशाख १५ गते हुने उपचुनावलाई लिएर सत्ता गठबन्धनमा बेमेल देखिएको छ ।

नेपाली कांग्रेसको साथ छाडेर नयाँ गठबन्धन सरकार बनेपछि इलाम २ को उपनिर्वाचनको सन्तुलन पनि फेरिएको छ । फागुन २३ गतेदेखि संघमा नयाँ पाँचदलीय सरकार बनेको छ । तर, इलाम २ को उपचुनावमा एक्लाएक्लै लड्ने सत्तारुढ दलहरुको तयारी छ ।

एमाले नेता सुवास नेम्वाङको निधनका कारण आगामी वैशाख १५ मा हुन लागेको उपनिर्वाचनमा नयाँ सत्ता गठबन्धनले छुट्टाछुट्टै उम्मेदवार उठाउने सहमति गरेको केही नेताहरुको दाबी छ । संघमा एमाले, माओवादी, रास्वपा, एकीकृत समाजवादी र जसपाको गठबन्धन बने पनि इलामको उपनिर्वाचनमा भने आ–आफ्नै उम्मेदवार उठाउने तयारी छ ।

रास्वपा सभापति रवि लामिछानेले नयाँ सरकारको गृहकार्य भएको दिन नै इलामको उपचुनावबारे स्पष्ट हुनुपर्ने बताएका थिए । त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि यो विषयमा दलको स्वतन्त्रता हुनुपर्ने मत राखेका थिए । रविको भनाइ उल्लेख गर्दै स्रोतले भन्यो ‘तपाईहरु के गर्नुहुन्छ, मलाई सरोकारको विषय भएन तर इलाम २ को उपनिर्वाचनमा रास्वपालाई एक्लै लड्ने कुरामा रोक्नुहुँदैन ।’

त्यसपछि ओलीले पनि माओवादी, जसपा र अन्य दलले जे गरे पनि एमालेले आफ्नो उम्मेदवार उठाउने बताएका थिए । उनले भनेका थिए, ‘हाम्रो पनि रविजीले भनेजस्तै स्पष्ट विचार छ । त्यो एमालेको किल्ला हो । यो कुरा स्पष्ट हो ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओली, जसपा अध्यक्ष उपेन्द्र यादव र रास्वपा सभापति रवि लामिछानेले यो विषयमा दलको स्वतन्त्रता भएकाले गठबन्धन गर्न चाहनेले गर्ने तर नचाहनेले आफ्नै उम्मेदवार उठाउन पाउने सहमति नै गरेको बैठकमा उपस्थित एक नेताले दाबी गरे ।

रास्वपा महामन्त्री मुकुल ढकाल पनि इलामको उपनिर्वाचनमा गठबन्धनमा दलको स्वतन्त्रता कायम भएको कुरा साँचो भएको बताउँछन् । उनले भने, ‘हामी आफ्नो उम्मेदवार उठाउँछौँ । अन्य चार दलले गठबन्धन गर्नुभयो भने त्यसमा हाम्रो आपत्ति छैन ।’


एमाले इलामका अध्यक्ष तथा प्रतिनिधि सभा सांसद महेश बस्नेत एमालेले आफ्नो उम्मेदवार उठाउने बताउँछन् । उनले भने, ‘हामी त तयारीमै छौँ । स्पष्ट जित्ने सम्भावना हुँदा पनि नउठाउने भन्ने हुन्छ ?’

अध्यक्ष ओलीले सुवास नेम्वाङका छोरा सुहाङ नेम्बाङलाई तयारी गर्न भनिसकेको र सुहाङ अहिले इलाममै गाउँ गाउँमा खटिरहेका छन् ।
यदि वाम गठबन्धनको उम्मेदवार खनाल भने रास्वपाले सुहाङलाई टिकट दिने तयारी गरेको कुरा पनि चर्चामा आएका छन् । तर, सुहाङले भने यसबारे कुनै जानकारी नभएको बताए । रास्वपाका महामन्त्री मुकुल ढकालले भने, ‘छलफल त सबै कोणबाट हुन्छ । नि यसरी भएन भने त के राजनीतिक पार्टी भयो र ।’

तर, चर्चा जस्तो चले पनि सुवास नेम्वाङका छोरा सुभाङ एमालेको बिरासत छाडेर रास्वपामा जाने सम्भावना क्षीण छ ।

रास्वपाको तयारी के छ ?

रास्वपाले गठबन्धन नगर्ने बताए पनि भने उम्मेदवार टुङ्गो लगाएको छैन । आन्तरिक तयारी र सबैसँग छलफल गरिरहेको रास्वपाको भनाइ छ । रास्वपा महामन्त्री मुकुल ढकालले खबरहबसँग भने, ‘हामी यसको तयारीमा सबै कोणबाट छलफल गरिरहेका छौँ । हामीले केही साथीहरूलाई पनि पठाएका थियौँ । उहाँहरूले केही प्रारम्भिक कुराहरू लिएर आउनुभएको छ ।’

टिकट माग्नेको लर्को कस्तो छ कि ? भन्ने प्रश्नमा ढकालले भने, ‘हामी माग्नेलाई दिने दल होइन । जसले माग्यो, त्यो हाम्रो नजरबाट अलग नै हुन्छ । हामी सम्पूर्ण कुरा विश्लेषण गरेर उसको चौतर्फी सोचाइ बुझेर मात्र उम्मेदवार उठाउँछौँ । टिकट माग्नै नआए पनि इच्छा गर्ने धेरै छन् ।’
रास्वपाले उपनिर्वाचनको तयारीका लागि ६ सांसद इलाम पठाएको थियो । सांसद सोबिता गौतमलाई इलाम नगरपालिका, गणेश पराजुली देउमाई नगरपालिका, मनिष झा माई नगरपालिका, अशोक चौधरी चुलाचुली गाउँपालिका, हरि ढकाल माङसेबुङ गाउँपालिका र अशिम शाह फाकफोकथुम गाउँपालिकामा पठाएको थियो ।

उनीहरूले स्थानीय आवश्यकता र भूगोलको पहिचान बुझेको मान्छेहरूको केही सूची लिएर आएको ढकालको भनाइ छ । तर, नयाँ बनेको गठबन्धनको कारण ढकाल र सभापति रवि लगायत बसेर ती पात्रहरू को हुन् भनेर बुझ्न नपाएको सो दलका नेताहरुले बताएका छन् ।
रास्वपा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई भने रास्वपाले पहिले नै इलाम पठाएको थियो । उनले त्यहाँको सबै स्थानमा स्थलगत अवलोकन गरेर जनताको कुरा सुनेको बताएका छन् ।

बुर्लाकोटीले खबरहबसँग भने, ‘सबै कोणबाट छलफल र सल्लाह भएको छ । पात्रको नाम निश्चित भएको छैन, सायद उतैको भुगोल बुझेको पात्र उठ्नुहुन्छ ।’

रास्वपा केन्द्रीय सदस्य रमेश प्रसाईँलाई पनि रास्वपाले उठाउन सक्ने चर्चा छ । तर रास्वपाका नेता यो अफवाह मात्रै भएको बताउँछन् ।
यस्तै, बिहीबार प्रतिनिधि सभामा बोल्दै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले पनि रास्वपाले इलाम २ को उपनिर्वाचनमा उम्मेदवारी दिने र जित्ने पनि बताए ।

परियारले भने, ‘सदनमा सहकार्य गरौँ । निर्वाचनमा प्रतिस्पर्धा गरौँ । दुःखद घटनाका कारण इलाममा उपनिर्वाचन हुँदैछ । इलामको निर्वाचनमा प्रतिस्पर्धा गरौँ, सहकार्य नगरौँ ।’

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले ०७९ को चुनावमा यहाँबाट १ हजार ३६३ मत पाएको थियो ।

झलनाथको सम्भावना कति ?

एकीकृत समाजवादीका सम्मानित नेता खनालले भने उपचुनावबारे अहिले नै केही छलफल नभएको बताउँछन् । सत्ता गठबन्धनले एक्लै लड्ने भनिरहँदा त्यो बेलासम्म माधव नेपालको नेकपा एकीकृत समाजवादी पार्टी भने सत्ता गठबन्धनमा मिसिएको थिएन । सो पार्टीले इलाममा झलनाथ खनाललाई उठाउने बताउँदै आएको छ ।

नेकपा एमालेसँग नयाँ गठबन्धन बनेपछि नेकपा एकीकृत समाजवादीका नेता खनाललाई नै एमालेले सघाएर जान्छ कि भन्ने चर्चा पनि शुरु भएको छ । तर, यी कुरामा कुनै कम्प्रोमाइज नभएको एमाले उपाध्यक्ष ईश्वर पोखेलको भनाइ छ । उनले खबरहबसँग भने, ‘यसमा कुनै छलफल र निर्णय हुँदैन । हामी इलाम–२ मा सुरक्षित छौँ ।’

एमालेले यसबारे अहिले पार्टीगत तहमा कुनै कुरा उठाएको छैन । तर ओली र झलनाथबीच केही कुरा भने चलेको हुन सक्ने एमाले नेताहरुको बुझाइ छ ।

यता खनालनिकट स्रोतका अनुसार झलनाथलाई एमाले, माओवादी लगायतका दलले साथ दिने भनिएको छ । ती नेताले भने, ‘वामहरू एक भएर जाने कुरा गाइँगुइँ चलेको हो । तर निर्णय भएको छैन । इमामको उपनिर्वाचनमा सघाउनुपर्छ भनेर नेकपा एकीकृत समाजवादीले प्रचण्ड र ओलीलाई नै भनेको छ ।’

स्रोतका अनुसार इलामको निर्वाचनमा वाम गठबन्धनले एउटै उम्मेदवार उठाउने बारेमा भने कुनै लिखित सहमति भने भएको छैन । तर, खनालले निरन्तर लबिइङ गरिरहेको बुझिएको छ ।

खनालले प्रधानमन्त्री दाहाललाई भेटेर इलामको उपनिर्वाचनमा आफूलाई वाम गठबन्धनको उम्मेदवार बनाइदिन अनुरोध गरेको स्रोतको दाबी छ । तर खनाल यो कुरा स्वीकार गर्दैनन । उनले भने, ‘कसैलाई त्यो परेको होला ।’

माओवादी निर्णयविहीन, कांग्रेसबाट पुरानै

माओवादीले आफ्नो उम्मेदवार उठाउने भने पनि अहिलेसम्म पार्टीले कुनै निर्णय सार्वजनिक गरेको छैन । माओवादीका महासचिव देव गुरुङले यसबारे छलफल नभएको बताए । उनले भने, ‘यो छलफलको विषयमा परेकै छैन ।’

प्रतिपक्षी कांग्रेसले भने यसअगाडि नै स्वर्गीय नेम्वाङसँग निर्वाचन हारेका कांग्रेस इलाम सभापति डम्बरबहादुर खड्कालाई उठाउने तयारी गरेको छ । उनलाई देउवाले टिकट दिएर १४ फागुनमा तयारी गर्न भनिसकेका छन् ।

कांग्रेसका नेता खड्का इलामको क्षेत्र नम्बर २ का मतदाता भने होइनन् । उनी इलाम–१ का मतदाता हुन् । ०७९ को निर्वाचनमा इलाम–१ मा सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका झलनाथ खनालले टिकट पाएपछि खड्कालाई इलाम-२ बाट उठाइएको थियो ।

यस्तो छ अंकगणित

इलाम २ मा २०७९ को निर्वाचनमा माओवादी–कांग्रेस गठबन्धन बनेको थियो । तर, त्यो बेला एक्लै लडेका एमालेका सुवास नेम्बाङले ३० हजार २० मत ल्याएका थिए । गठबन्धनका खड्काले २९ हजार ९०६ मत पाएका थिए । इलामका दुवै निर्वाचन क्षेत्रमा एमाले विजयी भएको थियो ।

गत निर्वाचनको तथ्यांकलाई आधार मान्ने हो भने इलाम–२ मा एमाले एक्लैको मत ३० हजार छ । कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको मत २९ हजार ९ सय छ । तर, नयाँ समीकरण बनेपछि अब कांग्रेसको मात्र मत आफ्नो पक्षमा रहने छ ।

त्यसअघि सुवास नेम्वाङ २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३६ हजार ५ सय १७ मतसहित निर्वाचित भएका थिए । त्यो बेला उनका निकटमा प्रतिद्वन्द्वी कांग्रेसका केशव थापाले २६ हजार ८ सय ६५ मत ल्याएका थिए । त्यतिबेला एमाले र माओवादी केन्द्रको गठबन्धन थियो । यो हिसाबले हेर्दा इलाम २ मा माओवादीको मत करिब ३ हजार छ ।

इलाम क्षेत्र नम्बर २ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाका ६, ७ र ८ नम्बर वडा पर्छन् ।

गत स्थानीय तहको निर्वाचनमा देउमाईको मेयरसहित फाकफोकथुम र माङ्सेबुङको अध्यक्ष एमालेले जितेको थियो । यी क्षेत्रमा एमाले बलियो छ । एमालेको निर्णायक मत पनि यसै वडामा रहेको एमाले नेता नै बताउँछन् । चुलाचुली गाउँपालिकामा भने स्थानीय तहमा एमाले पराजित भएको थियो । यहाँ कांग्रेस बलियो मानिएको छ ।

इलाम नगरपालिकाको मेयर र चुलाचुली गाउँपालिका अध्यक्ष कांग्रेसको छ । गत चुनावमा यहाँबाट मंगोल नेशनल अर्गनाइजेशनले १ हजार ३८० मत पाएको थियो । त्यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीले १ हजार २६२ पाएको थियो ।

जिल्ला निर्वाचन कार्यालय इलामको तथ्याङ्क अनुसार २०७९ को निर्वाचनमा यहाँ १ लाख १५ हजार ३४२ मतदाता थिए । त्यसमध्ये ५९ हजार १३६ मत खसेको थियो । यहाँ १४ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  १ : ३० बजे

चार डीएसपीको एसपीमा बढुवा सिफारिस

काठमाडौं– नेपाल प्रहरी प्रधान कार्यालयले चार जना प्रहरी नायब उपरीक्षक

सहरमा पुनर्जागरण- चिसो छाड्ने, मही पिउने !

काठमाडौं – यतिखेर देशका सहरहरूमा रेनेसा (पुनर्जागरण) भइरहेको छ ।

मोदीदेखि कङ्गनासम्मको अन्तिम चुनावी लडाइँ

सन् २०२३ मा अन्तरिक्ष विज्ञानमा मारेको फड्को, संसारकै महाशक्तिको रूपमा

नारायणहिटी दरबार हत्याकाण्डको २३ वर्ष पूरा, घटना अझै रहस्यकै गर्भमा

काठमाडौं– तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी भएको

कृषकलाई हाते ट्रयाक्टर वितरण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका– ३ का कृषकलाई हाते ट्रयाक्टर वितरण