निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड | Khabarhub Khabarhub

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

९८ औषधी सूचीसहित


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम चौधरी दमका रोगी हुन्। अहिले मौसम परिवर्तन हुँदा दमले बढी च्यापेपछि भल्कामा रहेको नगर अस्पताल पुगेर डाक्टरलाई देखाए। डाक्टरले औषधी लेखिदिए। सरकारले निःशुल्क दिने गरेको औषधीको सूचीमा ‘डेक्सामेथासोन’ नामक दमको औषधी पनि राखिएको छ। तर अस्पतालको औषधी पसलमा लिन जाँदा औषधी छैन। बाहिरबाट किन्नु भनेर उनलाई फर्काइयो।

त्यस्तै कैलालीकै बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ बास्कोटीकी ३५ वर्षीया सीता तिरुवा छोरालाई मौसमी रुघाखोकीसँगै भाइरल ज्वरो आएपछि कोटातुल्सीपुर स्वास्थ्यचौकीमा उपचारका लागि पुगिन्। औषधी दिइयो तर धेरै दिन औषधी खुवाउँदा पनि छोरा निको नभएपछि नेपालगञ्ज लगेर उपचार गराउँदा सामान्य औषधीले नै निको भयो। स्वास्थ्य चौकीबाट त्यही औषधी खुवाउँदा कामै नगरेको उनले बताइन्। देशराम र सीता जस्तै धेरै बिरामी यस्तै गुनासो गर्छन्। गर्भवतीका लागि दिइने आइरन चक्की पनि गुणस्तरीय नहुने सेवाग्राही बताउँछन्। लम्कीचुहाकै एकजना गर्भवती जो एक स्वास्थ्यकर्मी पनि हुन्। उनले भनिन्, ‘यो आइरन चक्की त्यति राम्रो हुँदैन। म त बाहिरैबाट किनेर खान्छु।’

औषधी दिइयो तर धेरै दिन औषधी खुवाउँदा पनि छोरा निको नभएपछि नेपालगञ्ज लगेर उपचार गराउँदा सामान्य औषधीले नै निको भयो। स्वास्थ्य चौकीबाट त्यही औषधी खुवाउँदा कामै नगरेको उनले बताइन्। देशराम र सीता जस्तै धेरै बिरामी यस्तै गुनासो गर्छन्।

अहिले मौसम परिवर्तनका बेला भाइरल ज्वरोका बिरामी धेरै अस्पताल र स्वास्थ्य चौकीमा पुग्ने गरेका छन्। ‘औषधी निःशुल्क छ। निःशुल्क भन्ने बित्तिकै सबै औषधी गुणस्तरहीन छन् भन्न त मिल्दैन तर कुनै कम्पनीको औषधी भने राम्रो छैन’, अस्पतालका जनस्वास्थ्य निरीक्षक कृष्णदेव जोशीले भने। कहिलेकाहीँ भनेको समयमा औषधी उपलब्ध नहुँदा पनि उपचारमा समस्या हुने गरेको उनले बताए।

जिल्ला अस्पताल डोल्पाका मेडिकल अधिकृत अखण्ड उपाध्याय भन्छन्, ‘सरकारले ९८ प्रकारका औषधी निःशुल्क गरेको छ। विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी तथा अस्पतालमा ९८ प्रकारकै औषधीको सूची टाँसिएको हुन्छ। तर सबै औषधी हामीले चलाउन मिल्ने खालका हुँदैनन्। विशेषज्ञ डाक्टरको सेवा सुविधा नभएका अस्पतालमा सामान्य रुघाखोकी, झाडापखाला, ग्यास्टिक, गर्भवतीका लागि चाहिने फोलिक एसिड, आइरन चक्की, बालबालिकाका लागि चाहिने खोप लगायत सामान्य किसिमका औषधी मात्रै खपत हुने भएकाले ती औषधी मात्रै उपलब्ध हुन्छन्।

गुणस्तरको कुरा गर्ने हो भने सरकारी कम्पनीको औषधी एकदमै राम्रो छ। केही कम्पनीका औषधी सिटामोलकै कुरा गर्ने हो भने पनि बढी मात्रामा खाँदा पनि काम नगर्ने गुनासो सेवाग्राहीबाट आउने गरेको छ।’

विशेषज्ञ डाक्टरको सेवा सुविधा नभएका अस्पतालमा सामान्य रुघाखोकी, झाडापखाला, ग्यास्टिक, गर्भवतीका लागि चाहिने फोलिक एसिड, आइरन चक्की, बालबालिकाका लागि चाहिने खोप लगायत सामान्य किसिमका औषधी मात्रै खपत हुने भएकाले ती औषधी मात्रै उपलब्ध हुन्छन्।

केही दीर्घरोगी विपन्न, अपाङ्गता भएका व्यक्तिका लागि पनि सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको छ। कर्णाली प्रदेशमा यो एकदमै प्रभावकारी भइरहेको उपाध्याय बताउँछन्। प्रदेश सरकारले भनेको बेलामा औषधी उपलब्ध गराइरहेको छ। कहिलेकाहीँ अभाव हुँदा अस्पताल आफैंले खरिद गर्ने व्यवस्था अनुसार औषधी उपलब्ध गराउँदै आएको उनको भनाइ छ। ग्रामीण क्षेत्रमा निःशुल्क औषधी वितरण प्रभावकारी भइरहँदा काठमाडौं उपत्यकामा भने यी औषधी कसैले प्रयोग नगरेको पाइएको छ।

टोखा नगरपालिका अन्तर्गत आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत एक जना नर्सले भनिन्, ‘स्वास्थ्य केन्द्रमा आउने अधिकांश बिरामी प्रेसर, सुगर, रेबिज र टिबी तथा नियमित चेकजाँचमा रहेका गर्भवती र खोप लगाउने बालबालिका मात्रै हुन्छन्। ती पनि कहिलेकाहीँ मात्रै आउँछन्। त्यसैले कति औषधी त बिग्रेर जाने सम्भावना हुन्छ।’ सरकारले वर्षेनी ठूलो रकम खर्च गरेर औषधीको व्यवस्था गरेको छ। तर त्यो कतिको प्रभावकारी भइरहेको छ भन्नेतर्फ सरकारको ध्यान नगएको सरोकारवाला बताउँछन्।

निःशुल्क औषधीका नाममा वर्षमा डेढ अर्ब खर्च
निःशुल्क औषधी वितरणका लागि भन्दै संघ सरकारले हरेक वर्ष प्रदेश र स्थानीय सरकारलाई डेढ अर्ब बजेट निकासा गर्दै आएको छ।

चालू आर्थिक वर्षमा मात्रै निःशुल्क वितरण गर्ने औषधी खरिदका लागि सरकारले सात सय ५३ स्थानीय तहलाई एक अर्ब ३८ करोड ४५ लाख ६३ हजार र सात प्रदेशलाई १८ करोड ५० लाख गरेर एक अर्ब ५६ करोड बढी निकासा गरेको थियो। तर, प्रदेशअन्तर्गतका प्रादेशिक अस्पताल र स्थानीय तहअन्तर्गतका आधारभूत स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र, सहरी प्रवद्र्धन केन्द्रलगायतका संस्थामा आवश्यकताअनुसार औषधी उपलब्ध छैनन्।

आगामी आर्थिक वर्ष ०८०/८१ का लागि एक अर्ब ४३ करोड एक लाख विनियोजन गरेको छ। स्थानीय तहका लागि गत वर्षभन्दा दुई करोड ७७ लाख ३७ हजारले रकम बजेट बढाएको छ भने प्रदेशका लागि घटाएको छ। यसअघि ०७८/७९ मा स्थानीय सरकारलाई एक अर्ब ३४ करोड र प्रदेश सरकारलाई १९ करोड गरी कुल एक अर्ब ५३ करोड पठाएको थियो।

त्यस्तै, ०७७/७८ मा स्थानीय सरकारलाई एक अर्ब २० करोड ३५ लाख ७६ हजार र प्रदेश सरकारलाई १७ करोड ५० लाख गरेर कुल एक अर्ब ३७ करोड तथा ०७६/७७ मा स्थानीय तहलाई एक अर्ब १२ करोड ३८ लाख ५० हजार र प्रदेश सरकारलाई १२ करोड ५० लाख गरी कुल एक अर्ब २४ करोड बढी निकासा गरेको थियो।

देशमा तीन तहको सरकार भइसकेपछि केन्द्रले बजेट मात्रै निकासा गर्ने हो। निःशुल्क औषधी खरिद गरेर स्वास्थ्य संस्थामा पठाउने जिम्मा प्रदेश र स्थानीय तहलाई दिइएकाले नियमन र अनुगमन पनि प्रदेश र स्थानीय सरकारले गर्ने गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताए।

देशमा तीन तहको सरकार भइसकेपछि केन्द्रले बजेट मात्रै निकासा गर्ने हो। निःशुल्क औषधी खरिद गरेर स्वास्थ्य संस्थामा पठाउने जिम्मा प्रदेश र स्थानीय तहलाई दिइएकाले नियमन र अनुगमन पनि प्रदेश र स्थानीय सरकारले गर्ने गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताए।

प्रदेश र स्थानीय सरकारले भने स्वास्थ्य संस्थाको मागअनुसार उपलब्ध भएको औषधी खरिद गरेर नियमित पठाइरहेको बताउँदै आएका छन् । तर चाहिएको बेला औषधी उपलब्ध नहुने र भएपनि गुणस्तरीय नहुने सेवाग्राहीको गुनासो छ। फितलो अनुगमनका कारण एकातिर वर्षेनी औषधीका नाममा सरकारको अरबौं रकम खर्च भइरहेको छ भने अर्कातिर प्रभावकारी पनि नभएको पाइएको छ।

औषधीमा हुने खर्चले बढायो गरिबी
नेपालमा वार्षिक पाँच लाख ७४ हजारभन्दा बढी नागरिक स्वास्थ्य उपचारमा महँगो खर्चका कारण गरिबीको रेखामुनि गइरहेको अध्ययनले देखाएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दक्षिण-पूर्व एसिया क्षेत्रमा सर्वव्यापी स्वास्थ्य पहुँच र स्वास्थ्य सम्बन्धी दिगो विकास लक्ष्यको प्रगति सम्बन्धी प्रतिवेदन, २०२२ ले नेपालमा स्वास्थ्य उपचारमा हुने व्यक्तिगत खर्चका कारण प्रत्येक वर्ष पाँच लाख ७४ हजार दुई सय ९४ नागरिक गरिबीको रेखामुनि धकेलिनुपरेको देखाएको हो। विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार प्रत्येक वर्ष स्वास्थ्य उपचारका लागि ३० लाख जनसंख्याले आर्थिक समस्या भोग्दै आएका छन् भने १०.७ प्रतिशत नागरिकले उपचारका लागि आफ्नो आयस्रोतको १० प्रतिशत रकम स्वास्थ्यमा खर्च गर्नुपर्ने अवस्था रहेको प्रतिवेदनमा उल्लेख गरेको छ।

स्वास्थ्य मन्त्रालयको १० वर्षीय विवरण नीतिमा समावेश गरिएको तथ्यांकअनुसार नेपालमा स्वास्थ्यमा ५७.२ प्रतिशत व्यक्तिगत खर्च हुँदै आएको छ। जसमध्ये पनि ७५ प्रतिशत खर्च औषधिजन्य वस्तुमा मात्र भइरहेको छ। उपचार र विशेष गरी औषधिजन्य वस्तुमा सरकारको सहयोग न्यून हुँदा आमनागरिक गरिबीतिर धकेलिएको अध्ययनले देखाएको छ। सरकारले व्यक्तिगत खर्चको दर घटाउन भन्दै उपयुक्त सामाजिक स्वास्थ्य सुरक्षाका उपायमार्फत स्वास्थ्य बिमा, विपन्न नागरिक स्वास्थ्य उपचार, निःशुल्क औषधिलगायत आधारभूत स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ। तर, सञ्चालनमा रहेका सामाजिक सुरक्षाअन्तर्गतका कार्यक्रमसमेत प्रभावकारी हुन सकेका छैनन्।

यी हुन् सरकारले निःशुल्क गरेका औषधी (सूचीसहित)
सामान्य स्लाइन – रगतको कमी, पखाला, शरीरमा पानीको मात्रा कमी भएको बेला प्रयोग गर्ने
पारासिटामोल – ज्वरो
भिटामिन ए – भिटामिनको कमी हुन नदिने पोषण ट्याब्लेट
भिटामिन बी कम्प्लेक्स – भिटामिनको कमी पोषण ट्याब्लेट
भिटामिन के वान – नवजात शिशुलाई दिने भिटामिन ट्याब्लेट
जिंक सल्फेट- निमोनिया, पखाला, कुपोषण हुन नदिन खाइने
डक्सिसाइक्लिन – स्क्रब टाइफस संक्रमण, श्वासप्रश्वासमा समस्या र महिलाको तल्लो पेट दुख्दा
रिसपेरिडोन – मानसिक रोगमा प्रयोग गरिने
पिसिभी खोप – निमोनिया
र्यानिटिडाइन – ग्यास्ट्रिकको समस्या हुँदा
प्यारिडोक्सिन – टिबीका बिरामीलाई भिटामिन
फ्लुजेटिन – डिप्रेसन


सिप्राफ्लोक्सासिन – पिसाबको संक्रमण, हैजा, टाइफाइड, ज्वरो आदिमा
एड्रेनालिन – एलर्जी, एनाफाइलाक्सिस (रियाक्सन)
अल्बेन्डाजोल – जुका
एमिट्रिप्टिलिन – एन्जाइटी, डिप्रेसन, न्युरोप्याथिक पेन, माइग्रेनलगायत हुँदा
एमोक्सिसिलिन – घाँटीको संक्रमण, निमोनिया, पिनास
एम्पिसिलिन – घाँटीको संक्रमण, श्वासप्रश्वाससम्बन्धी संक्रमण र बच्चामा हुने संक्रमणमा
आर्टेसुनेट – कडा मलेरियाले बेहोस हुँदा
एट्रोपिन – अर्गानोफस्फोरस पोइजनिङ
एजिथ्रोमाइसिन – यौनजन्य र घाँटीको संक्रमण, छाला, पिनास, कान पाकेमा, श्वासप्रश्वासमा संक्रमण, स्क्रब टाइफस, हैजा आदि हुँदा
कालामिन लोसन – चिलाउँदा तथा ठेउला आउँदा
क्याल्सियम ग्लुकोनेट – बर्थिङ सेन्टरमा प्रयोग हुने, अचेत भएका बिरामीलाई आकस्मिक रूपमा सेवा गराउने
कार्बामाजिपिन – छारेरोग, न्युरोप्याथिक पेन, माइग्रेनमा
सेट्रिजिन – एलर्जी तथा छालाको समस्या
चारकोल एक्टिभेटेड – विषादी खाएका बिरामीमा प्रयोग
क्लोरहेक्सिडिन – मुख संक्रमण, शिशुको नाभीमा लगाउने मल्हम
क्लोक्विन – मलेरिया, बाथ हुँदा
क्लोट्रिमाजोल – छालाको संक्रमण, योनी संक्रमण तथा फंगल इन्फेक्सन भए
क्लोब बयल – दाँत दुख्दा
क्लोक्सासिलिन – छालाको संक्रमणमा
पिल्स – परिवार नियोजनको साधन
कोट्रिमोक्साजोल – छाला, घाँटी, पिसाब संक्रमण भए
एमडिटी कम्बिप्याक – कुष्ठरोग
डेक्सट्रोज – ग्लुकोज
डाइजेपाम – छारेरोग, ब्याकपेन, निद्रा नलागे, एन्जाइटी आदि हुँदा
डाइक्लोफिन्याक – अत्यधिक दुखाइ, बाथरोग, जोर्नी र ब्याक पेन
एफआइपिभी खोप – पोलीयो विरुद्ध
फ्लुकोनाजोल – योनीमा संक्रमण, छालामा संक्रमण, तल्लो पेट दुखेमा
फोलिक एसिड – गर्भावस्थाका महिलालाई दिइने
जेन्सन भायोलेट – पोलेको, चोटपटक, टाउकोमा संक्रमण
एचपिभी खोप – ह्युमन प्यापिलोमा भाइरस
एचआरजेटई – क्षयरोग
हायोसिन ब्युटोब्रोमाइड – वाकवाकी, दुखाइ, पेट दुखाइ
आइब्रुप्रोफेन – जोर्नी र मांसपेशी दुखाइ
लेभोनरजेस्ट्रेल – परिवार नियोजन, गर्भनिरोधक चक्की
लिग्नोकाइन – दुखाइ कम गर्ने
लिग्नोसाइन विथ एड्रेनालिन – दाँत निकाल्न प्रयोग हुने एनेस्थेसिया
मिजल्स रुबेला खोप – मिजल्स रुबेला
मेड्रग्सिप्रोजेस्ट्रोन – परिवार नियोजन
मेटोक्लोप्रोमाइड – वाकवाकी, बान्ता
मेट्रोनिडाजोल – आउँ तथा मासी हुँदा
मिफेप्रिस्टोन – गर्भपतनमा
मिजोप्रोस्टल – उच्च रक्तस्राव
नियमाइसिन – छालामा संक्रमण भए
ओरल पोलियो खोप – पोलियोविरुद्ध
अक्सिमेटाजोलिन – नाक बन्द हुँदा वा रगत बगेमा
अक्सिटोसिन – रक्तस्राव रोक्न
पेन्टाभ्यालेन्ट खोप – डिप्थेरिया, इन्फ्लुइन्जा बी, टिटानस
पर्मेथ्रिन – लुतोमा
फेनिरमिन – एलर्जिक रिक्याक्सन
फेनोबार्बिटल – छारेरोग
पोभिडिन आयोडिन – छाला तथा घाउ सफा गर्ने
प्रालिडोक्सिम सोडिएम – पोइजनिङ
प्रिमाक्विन – मलेरिया हुँदा
रिंगर ल्याक्टेट – रक्तस्राव, झाडापखालामा
रोटाभाइरस खोप – रोटाभाइरस खोप
सिल्भर सल्फाडियाजिन – पोलेकोलगायत घाउमा लगाउने मलम
टिटानस डिप्थेरिया – टिटानस विरुद्ध
टिटानस टक्साइड – टिटानस विरुद्ध
टेट्रासाइक्लिन – आँखाको संक्रमण हुँदा प्रयोग गरिने
टिनिडाजोल – आउँ तथा रक्तमासी हुँदा प्रयोग गरिने
सोडियम भाल्पोरेट – छारेरोगमा
जेन्टामाइसिन – नवजात शिशुमा हुने संक्रमण तथा निमोनिया
एन्टासिट – ग्यास्ट्रिक, पेट पोल्दा
फुरोसेमाइड – हर्ट फेलियर, मिर्गौलामा समस्या हुँदा
एम्लोडिपिन – उक्त रक्तचाप
लोसार्टान – उच्च रक्तचाप
निफेडिपिन – उच्च रक्तचाप
बिसिजी खोप – क्षयरोगविरुद्ध
एस्पिरिन – शरीर दुख्दा, टाउको दुख्दा, माइग्रेन
बेन्जाथिन बेन्जाइलपेनिसिलिन – बाथ तथा मुटुरोग भएमा
सेफ्ट्रियाकजोन – कडा इन्फेक्सन हुँदा, टाइफाइड र निमोनिया
आर्टिमिसिमिन – मलेरियाको समस्या हुँदा
सेफिक्सिम – मिर्गौला, पिसाब, घाँटी र फोक्सोमा संक्रमण हुँदा
सिप्राफ्लोक्सासिन – पिसाबको संक्रमण, हैजा, टाइफाइड, ज्वरो आएको समयमा प्रयोग गरिने
नाइट्रोफ्युरानटिन – पिसाब तथा अन्य संक्रमणमा
डेक्सामेथासोन – दम र एलर्र्जी जस्ता समस्या देखिँदा
आइरन ट्याब्लेट – गर्भवती र रक्तअल्पता भएकालाई प्रयोग गरिने
म्याग्नेसियम सल्फेट – गर्भवती महिलामा उच्च रक्तचाप हुँदा
मेथाइल्डोपा – गर्भावस्थामा हुने रक्तचापको बेलामा प्रयोग गर्ने
ग्लिमिपिराइड – मधुमेहका बिरामी
मेटफर्मिन – मधुमेहका बिरामी
हाइड्रोकर्टिसोन – दम, एलर्जी, आनाफाइलाक्सिस रियाक्सन
साल्बुटामोल – दम
अक्सिजन – दम तथा अक्सिजन आवश्यक पर्ने बिरामीलाई
प्रेड्निसोलोन – दम, एलर्जी, बाथ हुँदा
जापानिज इन्सेफ्लाइटिस – बच्चालाई दिने खोप
ओआरएस – झाडापखाला लाग्दा

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ७ : २९ बजे

फोहर व्यवस्थापनमा सबैले आवश्यक मापदण्ड पालना गरौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– सहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनमा देखिएका समस्या

काठमाडौंका प्रजिअ आचार्यको जागिर धरापमा

काठमाडौं- काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको जागिर धरापमा परेको

मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध

काठमाडौं– मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका र जापानको खागोसीमा प्रान्तस्थित मिनामिताने

कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको कोषाध्यक्षको जिम्मेवारी उमेश श्रेष्ठलाई दिएएको छ।

जरिवाना नतिरेको भन्दै एमाले कार्यालय पुग्यो महानगरको टोली

काठमाडौं- यही शुक्रबार काठमाडौं महानगरपालिका-१ दरबारमार्गमा फोहोर गरेको भन्दै तोकिएको