‘संघीयता अपराध गर्न ल्याएको व्यवस्था हो’ | Khabarhub Khabarhub

‘संघीयता अपराध गर्न ल्याएको व्यवस्था हो’



पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारलाई थप अस्थिर बनाएको छ । संघमा आएको फेरबदलसँगै प्रदेश सरकार भद्दा राजनीतिक खेलकुदको अखडा बनेको छ । नेताहरूको व्यक्तिगत स्वार्थअनुसार संघीय सरकारमा पटक पटक परिवर्तन आउँदा त्यसको बाछिटाले एकपछि अर्को गर्दै प्रदेश सरकार बदनाम हुने क्रम बढ्दो छ ।

नेताको लहडीमा राज्यका संरचना दुरुपयोग गर्ने होडले राजनीतिप्रति नै चरम वितृष्णा बढ्दो छ । पटक पटकको विभिन्न प्रयोग असफल भएपछि सर्वोच्च अदालतको आदेशअनुसार निर्माण भएको कोशी प्रदेश सरकार पछिल्लो राजनीतिक ध्रुवीकरणले कुन दिशामा जाने भन्ने अनिश्चित छ ।

एमाले र माओवादीले सरकारमाथिको विश्वास फिर्ता लिइसकेको अवस्थामा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सरकार नछोड्ने अडानमा छन् । अरु प्रदेशमा पनि शक्ति बाँडफाँडको हिसाबकिताब मिलेको छैन । प्रदेशका मुख्यमन्त्रीहरू आफ्नो प्रदेशको गाँठो बोकेर सिंहदरबार धाउने क्रम तीब्र छ । सत्तारुढ गठबन्धनको एकीकृत समाजवादीले सुदूरपश्चिम सरकार निर्माणका लागि आइतबार कांग्रेससहितको गठबन्धनलाई साथ दिने निर्णय गरेर राजनीतिमा अर्को विडम्बना थपेको छ । लोग्ने स्वास्नीको घर झगडाको आगो ननिभ्दाको परिणाम विद्रोहबाट उदाएको नागरिक उन्मुक्ति पार्टी यति बेला तहसनहस बनेको छ । यी यावत गतिविधि स्वाभाविक हुन कि आकस्मिकता ? यिनै विषयमा आधारित रहेर वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

संघीयता खारेजीको बाटो कोशीबाट श्रीगणेश भएर गण्डकी हुँदै सुदूरपश्चिम फैलियो भनेर एकाथरिले टीकाटिप्पणी गर्ने गरेका छन् । कानुनी र संवैधानिक दृष्टिकोण केही भन्न सकिने स्थिति हो ?

संघीयता मात्रै हैन, संविधान नै असफल भएको हो । १२ बुँदेबाट सुरु भएको संविधानबाटै संसद् र अख्तियार जस्ता संरचना बनेका हुन् । अख्तियारले ठूला मान्छे समाउने सामर्थ्य राख्दैन । पूर्व प्रधानमन्त्री माधव नेपाल र डा. बाबुराम भट्टराई निर्दोष भए । खरदार, सुब्बालाई कारबाहीको भागिदार बनाइन्छ । सांसदहरू संसदमा बैठक गर्छन्, तलब भत्ता खान्छन् । तर विडम्बना ऐन, कानुन पास हुँदैन । सहकारीमा अभियोग लागेका गृहमन्त्रीलाई प्रधानमन्त्रीले काँध हालेका छन् । यो त अपराधीले अपराध गर्न ल्याएको व्यवस्था हो ।

०४७ सालको संविधानमा मन्त्री, पूर्व आइजिपी, राजस्वका व्यक्तिहरूलाई मुद्दा लागेको थियो । ०६३ साल यता किन ठूला मान्छेलाई मुद्दा लागेन ? कृष्णबहादुर महरा, अरुण चौधरी, विनोद चौधरी कहाँ गए ?  अहिलेका अर्थमन्त्रीलाई पनि सुन काण्डमा अभियोग लागेको छ ।

०४७ सालको संविधान क्रियाशील हुँदा माओवादीले युद्ध शुरु गरेको ०५२ साल फागुन १ अगाडि नेपालमा ११ प्रतिशत बढी आर्थिक वृद्धिदर थियो । त्यसबेला स्ट्याण्डर्ड च्यार्टर बैंकको एक कित्ता सेयर ९ हजारमा बिक्थ्यो ।  नेताले हामीलाई परिवार ठूलो भयो, ११ माना दूध दिने भैंसीले पुगेन ३० पाथी दूध दिने भैँसी चाहियो भने हामी जनताले पत्यायौं । अहिले ३० पाथी दूध दिने भनेर ल्याएको १२ बुँदे भैंसीले साढे ३ माना दूध दियो । अहिले आर्थिक वृद्धिदर साढे ३ प्रतिशतमा खुम्चिएको छ । संविधानमा सहकारी, निजी र सरकारी तीन खम्बे आर्थिक नीति उल्लेख भयो ।

सहकारीको हालत इच्छाबहादुर तामाङ, जसले संविधान बनायो त्यही व्यक्ति जेलमा छन् । तिनले बनाएको संविधान काम लाग्छ त ? रवि लामिछानेले जीबी राई जहाँ भए पनि ल्याउँछु भन्थे खोइ त ? रवि लामिछानेलाई बचाउन संसद् नै बन्द गर्नुपर्ने अवस्था यही संविधानसभाबाट ल्याएको संविधानबाटै आएको हो । त्यसैले ०४७ को संविधान राम्रो कि ०७२ आफैँ निष्कर्ष निकाल्न सकिन्छ । भोगटे रोपेर सुन्तलाको आशा गर्नु व्यर्थ छ ।

व्यक्तिको कार्यशैलीलाई संविधानको सफलता, असफलतासँग जोड्नु कति उचित हो ? राज्य सञ्चालनको विषय चाहिँ प्राथमिकतामा पर्नुपर्ने होइन र ? 

०४७ सालको संविधान माओवादी र भारतलाई चित्त बुझेन । त्यस बखत नागरिकताको विषयमा राम्रो प्रावधान थियो । जलस्रोतलाई दुई तिहाइमा डबल लकमा राखिदिएको थियो । त्यही फ्याँक्न माओवादी प्रयोग भएको मात्रै हो । त्यति हुँदाहुँदै पनि ४ वर्षमा ११ प्रतिशत आर्थिक वृद्धिदर थियो । तर अहिले सिंगापुर र अमेरिका बनाउँछु भनेर हिंसामा उत्रिएपछि प्राप्त वर्तमान त सबैलाई थाहै छ । यो संविधानले नेपाललाई कि सिक्किम, अफगानिस्तान कि त युक्रेन बनाउँछ ।

०४७ सालको संविधान, ०४८ पछिको चुनाव, ०५१ को मध्यावधि बीचको त्यो कालखण्डको एउटा मानक देशको पुरानो र प्रजातान्त्रिक भनिने दल कांग्रेसको नेतृत्व थियो । उसले बाटो बिराउनु पछाडिको कारण के हो ? 

नेपाली कांग्रेस भनेको लहरा पार्टी भयो । हिजो कांग्रेसका लहरा राजाका थाङ्ग्रामा गएका थिए, फल्यो । विदेशीले यसलाई राजाबाट निस्की अब माओवादीमा चढ भनेर भन्यो । विदेशीका एजेन्ट हुन् , यता गएर मिले । नत्र टाउकाको मोल तोक्ने देउवा, तोकिने प्रचण्ड र बाबुराम, एउटै टाट्नामा घाँस कसले खुवाइदियो ?

संघीयता कार्यान्वयनमा आएपछि किन केही गरेनन् भन्ने मान्यता स्थापित हुनु पछाडिको रहस्य के हो ? 

केही पनि भएको छैन । एक जनाले रोजगारी पाएनन् । युवा देशमा छैनन् । उद्योग एउटा खुलेनन् । कृषिमा केही भएन हामी निकास गर्थ्यौँ । लुट मात्रै भयो । ललिता निवासको त्यत्रो राजाले जोडिदिएको जग्गा खाए ।  उद्योग कलकारखाना बेचेर खाए । गिरीबन्धु बेचेर खाए । केपीमाथि किन छानबिन हुँदैन ?

सुनकाण्डको प्रतिवेदनले औँल्याएको मान्छे, शिक्षा मन्त्रालयले सार्वजनिक गरेको शिक्षा सम्बन्धी प्रतिवेदनको मान्छे खोइ ? केही भएको छैन । जेलमा भएका बालकृष्ण खाण जसरी छुटे सबै त्यसरी नै छुट्छन् । राजाले त  सिक्किम हुन भुटान हुन मानेनन् । भारतसँग सम्झौता गरेनन् । गरेको भए त उनकै गद्दी रहन्थ्यो । राजाले बंगलादेशमा भुटान हुन मानेका भए अहिले पनि यी नेता जेलमा नै हुन्थे ।

प्रदेश पनि अधिकारका दृष्टिले नाम मात्रको भयो हैन ?

प्रदेशले त झन् भ्रष्ट्राचार मात्रै ग¥यो । सर्लाहीको माओवादी नेतृत्वको बागमती नगरपालिकाका  मेयरले साढे पाँच करोड अनियमित ५ करोड भ्रष्ट्राचार गरेछ । माओवादीको सबै किन भ्रष्ट्राचारमा जोडिएका छन् । माओको सिद्धान्त भ्रष्ट्राचार नै हो त ।

हाम्रो अबको यात्रा त्यसो भए फेरि अस्थिरता नै हो ?

दिगो नभएसम्म त फर्किनु पर्‍ य नि । त्यसैले यो संविधान मात्रै हैन, प्रणाली नै असफल भयो । नेता पार्टी सबै असफल भए । अब संविधान पनि फेर्नुपर्छ । ०४७ सालकै संविधान ल्याउनु पर्छ किनकि अब हामीसँग संविधान बनाउने बाटो छैन । सबै खालका प्रयोग भइसके । अब ०४७ सालमा  फर्केर आउने र तुरुन्तै चुनाव लडेर आवश्यक संशोधन गर्नुपर्छ ।

मित्र राष्ट्रलाई चित्त बुझाउनु पर्ला नि ? 

अहिले उनीहरूको पनि चित्त बुझ्दै छ रे । टाउकोमा हात राखेर बसेको छन् रे उनीहरू पनि ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ६ : ३२ बजे

चर्चामा विश्वका सुन्दर एयरपोर्ट

यात्रा धेरैको सोख हुनसक्छ। धेरैलाई यसमा रमाइलो लाग्छ। घुम्न सौखिनका

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन

महोत्तरी– भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ

जसपा नेपाल फुटविरुद्ध रिटको पेसी आज

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी

संसदीय छानबिन समितिको कार्यादेश तय गर्न कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार

जलवायु परिवर्तनको क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

काठमाडौं– संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई