काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं ०८० सालमा सर्वाधिक ८ वटा फिल्म खेल्ने नायक उनै हुन्, जो भोजपुरको दुर्गम गाउँ खावामा जन्मिएका थिए ।
यी नायकको हुर्काइ यस्तो थियो कि पढ्न डेढ घण्टा पैदल हिँड्नुपर्थ्यो । गाउँ भौतिक विकासबाट त टाढा थियो नै, जाडो महिनामा घाम देख्न साढे ९ बजेसम्म कुर्नुपर्थ्यो । उनले गाडीसँग प्रत्यक्ष साक्षात्कार गर्न जीवनको डेढ दशक कुर्नुपर्यो ।
भोजपुर छाडेर राजधानी छिरेपछि अभिनयमा जोडिएका दयाहाङ त्यही कलाकार हुन्, जसले पहिलो पटक क्यामेरा अगाडि अभिनय गरेको सिरियल प्रसारण भएन । त्यति मात्र होइन, उनको अभिनय रहेको पहिलो फिल्म पनि हलमा लागेन ।
अहिले त्यही कलाकार सर्वाधिक व्यस्त नायक बनेका छन्, जसले हिरोको पारम्पारिक परिभाषा बदेको जस समालोचकबाट पाउन सफल भएका छन् ।
दयाहाङको अभिनय यात्रा जटिल नभए पनि सहज छैन । सर्वाधिक व्यस्त नायक उनी एक समय गाडी भाडा नहुँदा पैदल हिँड्न थाकेनन् । डिग्री नलिए पनि अध्ययन गर्न छाडेनन् । आँखा खोल्दा पनि सपना देख्न छाडेनन् ।
भोजपुरको उकाली–ओराली
दायाहाङ जन्मिएको घर भोजपुरको खावामा छ । उनको बाल्यकालमा त्यहाँ भौतिक सेवा सुविधाको त कुरै छोडौँ, जाडोको बेला घामको मुख देख्नसमेत मुस्किल थियो ।
निम्न माध्यमिक तहसम्म ४५ मिनेट र माध्यमिक तह डेढ घण्टा यात्रा गरेर उनको स्कुले जीवन कटाएका हुन् । सबै साथीको जीवनशैली एकै भएकाले उनलाई त्यो क्षणको गुनासो न त्यस बेला थियो, न अहिले छ ।
उनी सम्झन्छन्, ‘स्कुलमा लाहुरे, शिक्षक, किसान सबैका छोरा–छोरी पढ्थे । खाजा लैजाने चलन नै थिएन । बिहान ८ बजे भात खाएर स्कुल हिँड्यो, ६ बजेतिर घर आएपछि केही छ भने खायो, नभए त सिधै बेलुकाको भात हो ।’
घरमा बुबा–आमालाई खेती किसानीको काम सघाएर स्कुल जान तयार हुने दैनिकी त्यस बेलाका लागि सामान्य रहेको उनको बुझाइ छ । उनी भन्छन्, ‘हामीले खेतीको काम गर्नु अहिले मोबाइलमा गेम खेलेको जस्तै हो, अर्थात् सामान्य ।’
यद्यपि घरको काम गर्नको अल्छीले पढ्न बसेको क्षण उनको बाल्यकालको यादगार स्मरणमध्ये एक हो । खेलप्रति झुकाव राख्ने उनी विद्यार्थी जीवनमा भलिबल प्रतियोगिता धेरै पटक थाल जितेको सुनाउँछन् ।
हाम्रो पालामा थाल पुरस्कार हुन्थ्यो । पुरस्कार जितेको धेरै थाल छ मेरो घरमा ।’ उनी स्कुले जीवनको किस्सा सेयर गर्छन् ।
विशाल सहरको पढाइ
एसएलसी दिएपछि ०५४ सालमा दयाहाङ क्याम्पस पढ्न सदरमुकाम गए । उनका लागि सदरमुकाम बजार विशेष छ । किनभने उनले पहिलो पटक टेलिभिजन, फिल्म हेरेको र देखेको ठूलो बजार यही थियो ।
उनी भन्छन्, ‘हाम्रो लागि विशाल सहर नै भोजपुर सदरमुकाम थियो । त्यहाँ बिजुली बत्ती, टेलिभिजन, ठूला पसल थिए । शनिबार हाट लाग्थ्यो ।’
तर सदरमुकाममा मोटर बाटो नपुगेकाले यस बेलासम्म उनले गाडी प्रत्यक्ष रुपमा देखेका थिएनन् । इन्टर पढ्दै गर्दा झापा जाने क्रममा पहिलो पटक गाडी देखेको र चढेको उनलाई टड्कारो याद छ ।
‘गाडी हेर्न मन लाग्यो, सदरमुकामबाट दुई दिन हिँडेपछि गाडी चढ्ने स्टेसन आउँथ्यो । ०५६ सालमा झापा जाँदा पहिलो पटक गाडीबारे प्रत्यक्ष अनुभव लिन पाएँ ।’ उनी अहिलेका पुस्तालाई कथाजस्तो लाग्ने जीवनका भोगाइ सुनाउँछन् ।
फुपूको घरमा बस्ने भएकाले सदरमुकाम बसाइ सहज भएको उनी सम्झन्छन् । क्याम्पस पढाइसँगै ‘जीवनमा लक्ष्य राख्नुपर्छ’ भन्ने चेतनाले झकझक्याएको उनलाई महसुस हुन्छ ।
‘स्कुल पढ्दा के बन्ने जीवनमा भन्ने नै थिएन । पढेर के बनिन्छ भन्ने नै थाहा थिएन,’ उनी भन्छन्, ‘सदरमुकाम गएपछि खेलकुद मैदान, फिल्म हल र पुस्तकालयमा समय बित्न लाग्यो । अनि मैले के गर्ने त भन्ने विचार पलाउन लाग्यो ।’
यसरी दृढ लक्ष्यविनै प्रतिस्पर्धा गर्न पुगेका दयाहाङ लाहुरेमा भने असफल बने । उनी भन्छन्, ‘जाऊँ न भिडौँ भन्ने भएर मात्रै गएको । नयाँ ठाउँ, नयाँ भाषा, अर्काको देशमा गएर काम गर्नुपर्छ भनेर मलाई लाहुरे बन्न डर थियो ।’
१२ मा अंग्रेजीमा विषय झुन्डिएर बिरक्तिएपछि भने साहित्यमा अन्जानै झुकाव बढेको उनलाई महसुस हुन्छ । उनी सदरमुकाम बसाइँको अनुभूति सुनाउँछन्, ‘फेल भएँ, अल्लारे उमेरमा विरक्तिपन बढेर होला, केही कुराहरू लेख्न थालेँ । कथा–कविता लेख्न थालेँ । तर, त्यस बेला, लेख्नु–पढ्नुपर्छ, जीवनमा केही कुरा जान्नुपर्छ भन्ने चेतना पसिसकेको थियो ।’
काठमाडौंको यात्रा
जीवनमा केही गर्ने हुटहुटीले झकझक्याएपछि दयाहाङलाई बाल्यकालमा विशाल सहर लाग्ने सदरमुकाम पनि साँघुरो लाग्न थाल्यो । कुनै दृढ लक्ष्य नबोकी उनी ०५८ सालमा राजधानी छिरे । यद्यपि उनी त्यस बेला इन्टर भने पास भइसकेका थिए ।
काठमाडौंमा गाँस र बासका लागि संघर्ष गर्नु नपरेकाले साहित्यिक झुकावलाई निरन्तर दिन पाएको उनी बताउँछन् । उनी भन्छन्, ‘बुद्धनगरमा काकाको डेरा थियो । आरआर क्याम्पसमा स्नातक भर्ना भएँ । बस्न र खान मलाई समस्या थिएन । त्यसकारण मैले संगत बनाउन ठूलो अवसर पाएँ ।’
काठमाडौंको संगतले साहित्य क्षेत्रमा थप झुकाव बढेकाले आर्ट काउन्सिल, एकेडेमी, ललितकला क्याम्पस धाउने बानी बसेको उनी सुनाउँछन् ।
‘जहाँ कार्यक्रम हुन्छ, त्यहीँ जान लागेँ । त्यसरी नै साहित्यतिर झुकाव राख्ने साथीहरूको संगत बढ्दै गयो । साथीहरूको कुरा सुन्ने, कथा–कविता लेख्ने पढ्ने गर्ने दैनिकी बन्न थाल्यो,’ दयाहाङ काठमाडौंका सुरुवाती दिन सम्झन्छन् ।
यसरी विभिन्न कार्यक्रमहरू चाहार्ने क्रममा गाडी भाडा नभएर पैदल हिँड्दा असन्तुष्ट र विचलित भएको उनलाई स्मरण छैन । बरु यसरी हिँडेरै बढाएको संगतलाई अभिनयमा प्रवेश गर्ने प्रेरणामा रूपमा उनी लिन्छन् ।
उनी थप्छन्, ‘लामो समय विभिन्न कार्यक्रम डुल्दा डुल्दै नाटकका साथीहरुसँग भेट हुन लाग्यो । उनीहरूको कुरा सुनेर मनन गर्न लागेँ । विभिन्न किताबहरू पढ्थेँ । बिस्तारै मलाई पनि नाटक सिक्न मन लाग्यो । अनि राष्ट्रिय नाचघरमा अभिनय सिक्न गएँ । त्यहीँबाट अभिनय यात्राको सुरुवात भयो ।’
पहिलो पटक क्यामेराको सामना
नेपाल टेलिभिजनका लागि खिचिएको डमी एपिसोड दयाहाङका लागि क्यामेरा सामना गर्ने अवसर बन्यो, तर त्यो प्रशारणमा आएन ।
‘पहिला टेलिभिजनमा सिरियल प्रशारण गर्न तीन भागको डमी बनाउनुपर्ने हुन्थ्यो । अनि नेपाल टेलिभिजनले किन्थ्यो । एउटा टिमले डमी बनाएको थियो । प्रशारणमै आएन, त्यो सिरियल ।’ दयाहाङ पहिलो पटक क्यामेरा अगाडि अभिनय गरेको स्मरण गर्छन् ।
तर, उनले अभिनय गरेर प्रशारणमा आएको पहिलो सिरियल भने ‘दलन’ हो । जुनका लागि अभिनयमा आत्मविश्वास बढिनसकेकाले उनी अडिसनमै गएका थिएनन् रे ।
‘दलन ०६० तिर खिचिएको हो । प्रशारण ४–५ वर्ष ढिला भयो । दलनको ठूलो अडिसन भएको थियो । धेरै साथीहरू गएँ म चाहिँ जान पाएको थिइनँ’ उनी भन्छन्, ‘मलाई फिट छु भन्ने आत्मविश्वास नै थिएन त्यस बेलासम्म । अनुप बराल सर र निर्देशक नवीन सुब्बाले बोलाउनुभयो । अनि गरियो ।’
नाटकमा अभिनय गर्दा देखेकाले ‘दलन’मा काम गर्न अवसर मिलेको दयाहाङको बुझाइ छ । पारिश्रमिक बुझेरै दलनमा काम गरेका उनलाई ‘कति लिएँ’ भन्ने चाहिँ याद छैन । उनी भन्छन्, ‘तर पैसा भयो कि किताब र फिल्मका भीसीडी र डीभीडी किनिहाल्थेँ ।’
काठमाडौं आएको सुरुवातमा पैदल हिँडेर बनाएको संगतबाट थप अवसरहरू खुल्दै गएको उनी बताउँछन् । त्यसपछि सन् २००६ तिर रामबाबु गुरुङले ‘अनागरिक’ फिल्म बनाउने भएपछि दयाहाङलाई ठूलो पर्दामा काम गर्ने अवसर जुर्यो ।
उनी सम्झन्छन्, ‘रामबाबु चिनेको साथी । उसले मेरो अभिनय पनि हेरेको थियो । लेखक श्रवण मुकारुङले पनि मेरो अभिनय देख्नुभएको थियोे । काम गरौं भनेपछि गरियो ।’
दयाहाङको पहिलो फिल्म प्रदर्शनमा आएन । तर, उनलाई अभिनय क्षमता महसुस गर्ने अवसर भने दिलायो । उनी भन्छन्, ‘केही सिरियल पनि काम गरेको थिएँ । फिल्म पनि गरेँ तर आफूलाई निखार्न थप अभिनय सिक्नपर्छ भन्ने महसुस भयो ।’
यहीबेला एक्टर्स स्टुडियोमा कलाकारको अभाव हुँदा अभिनय सिक्ने संयोग जुरेको उनी सुनाउँछन् । भन्छन्, ‘संयोग पनि मिल्यो । अनुप बराल सरले दलनमा काम गर्दा एक्टर्स स्टुडियो खोल्ने परिकल्पना गर्नुभएको थियो र काम सुरु भएको थियो । त्यहाँ नाटकका लागि जनशक्ति अभाव भएछ, ठूलो टिमको नाटक थियो र मलाई बोलाउनुभयो ।’ उनी भन्छन् । सोही नाटकमा जोडिएपछि एक्टर्स स्टुडियोमा अभिनयको कक्षा सहभागी भएको उनी बताउँछन् ।
लुटको प्रभाव
अनागरिकपछि स–साना भूमिका फिल्ममा काम गरेका दयाहाङलाई ‘दासढुंगा’ले अभिनय क्षमता आत्मविश्वास जगाउने अवसर दियो । सो फिल्ममा उनी केन्द्रीय भूमिकामा नदेखिए पनि ड्राइभर अमर लामाको सशक्त भूमिकामा देखिएका थिए ।
अभिनयमा आत्मविश्वास जगाएको किस्सा सुनाउँदै उनी भन्छन्, ‘दासढुंगा दुर्घटना हुँदा अमर लामाहरुले खाना खाएकै घरमा सुटिङ थियो । मेरो अभिनय हेरेर त्यसघरकी महिला ठ्याक्कै अमर लामाजस्तो लाग्यो भनेर रुनुभयो । मेरो त्यसबेलाको मानसिकताले त्यो घटनालाई म अभिनयमा राम्रै रहेछु भन्ने ग्रहण गर्यो ।’
दयाहाङ अहिले जति व्यस्त छन्, कमाए पनि त्यति नै राम्रो छ । तर, सुरुमा विवाह बन्धनमा बाँधिएर मैतिदेवीको डेरा चलाउन पुग्ने मात्रै आम्दानी हुने गरेको उनी सुनाउँछन् ।
सन् २०१२ मा प्रदर्शनमा आएको चलचित्र ‘लुट’ले आफूले व्यावसायिक रूपमा स्थापित गराएको उनको बुझाइ छ ।
मण्डला परिकल्पना
आफूले फिल्म खेल्दैछु भनेर परिवारलाई बुझाउन कठिन भएकाले अभिनय पढ्ने संस्था खोल्न आवश्यक महसुस भएको दयाहाङ बताउँछन् ।
‘मैले संघर्षका दिनमा यो गर्दै छु भनेर परिवारलाई बुझाउने अवस्था नै थिएन । म नाटक–साहित्यको विश्व विद्यालय नगए पनि सानो संस्था र टिमसँग पढिरहेको थिएँ । यो कुरा परिवारलाई बुझाउन सक्ने अवस्था थिएन,’ उनी भन्छन्, ‘अनि त्यही भएर युवाहरूलाई आफ्नो परिवारलाई यो बाटोमा लाग्दै छु भन्ने बुझाउनका लागि मण्डलाले सहयोग गर्छ भन्ने नै परिकल्पना थियो । तर, निर्माण गर्न आर्थिक संकट थियो ।’
आर्थिक अभावका कारण पूर्णता नपाएको मण्डला थिएटरले आकार पाउनुमा दयाहाङ ‘लुट’ फिल्मको सफलतालाई जस दिन्छन् । उनी सम्झन्छन्, ‘लुटसम्म मैतीदेवीमा श्रीमती र म दुई वटा कोठामा बस्थ्यौँ । आम्दानी त्यहीँ खर्च गर्न मात्रै पुग्थ्यो । मण्डला परिकल्पना गरेर छानो मात्रै हालेका थियौँ । पर्खालहरू केही थिएन । लुट हिट भएपछि साथीहरूले ऋण नै भए पनि पत्याउन लागे ।’
लुटको सफलतासँगै आंकाक्षा बढ्दै गएपछि फिल्ममा झन् दौडधुप सुरु भएको उनको बुझाइ छ ।
कबड्डीका काजी
दयाहाङका लागि कबड्डी फिल्म विशेष छ, किनभने उनी केन्द्रीय भूमिका रहेको पहिलो फिल्म यही हो, जुन सुपरहिट साबित भयो ।
पहिला विदेशी फिल्मका भीसीडी किनेर सिकेको ज्ञान यसै फिल्मबाट पोख्न सुरुवात भएको उनको बुझाइ छ । उनी भन्छन्, ‘ती फिल्महरूले नै नेपालमा रहेका कथामा पनि फिल्म बन्छ है भन्ने चेतना हाम्रो सर्कललाई दिएको हो ।’
तर, त्यस फिल्ममा अनुबन्ध हुने बेलाको रोचक किस्सा छ । दयाहाङ भन्छन्, ‘मलाई अझै बाइक चलाउन आउँदैन । कबड्डीको स्क्रिप्टमा पहिला काजीले नै मोटरसाइकल हाँक्ने भन्ने थियो । बाइक चलाउन पर्छ भने मैले फिल्म खेल्दिनँ भनेँ । विजय बरालले बाइक चलाउने भएपछि बल्ल फिल्म खेलेको हुँ ।’
यो फिल्मपछि दयाहाङले आफ्नो यात्रामा पछाडि फर्किएर हेर्नुपरेको छैन । उनी अहिलेसम्म आइपुग्दा ०८० सालमा सबैभन्दा बढी, ८ वटा फिल्म दिने नायक बनेका छन् ।
दयाहाङले अहिले लिने मोटो पारिश्रमिकको विषय पनि चर्चामा छ । उनको व्यावसायिक सफलतासँगै मण्डला ब्रान्ड बनेर एउटा सुखद गतिमा सञ्चालन भइरहेको छ ।
संगतको असर
दायाहाङ आफू आज यो स्थानमा पुग्नुको जस संगतलाई दिन्छन् । तर, उनको लगानशीलता, निरन्तरता, संघर्ष, क्षमता र दृढ इच्छाशक्ति पनि उनी सशक्त कलाकार बन्नुको मुख्य कारक तत्व हुन् ।
पारिश्रमिककै कुरा गर्दा दासढुंगाबाटै आफ्नै मुखले बोलेको पारिश्रमिक पाए पनि उनलाई अहिले बजारमा चलेको पारिश्रमिकको दर ‘कुन फिल्मबाट लिन थालेँ ?’ भन्ने पत्तो छैन । उनी स्पष्ट पार्छन्, ‘फिल्म गर्दै जाँदा पारिश्रमिक बढाउँदै आएँ । तर, कुन फिल्मबाट कति बढ्यो त्यसको सिलसिला नै याद छैन । थोरै–थोरै बढ्दै जाँदा कुनमा कति बढ्यो याद नहुने रहेछ ।’
दयाहाङले आफूलाई अहिलेको चल्तीको नायक बन्नु पछाडिका संगतहरुलाई सम्झन्छन्, ‘धेरै पात्र छन् तर पहिलो त श्रीमती नै हुन् । ऊ संगीतकी विद्यार्थी भएकाले संगीतका धेरै साथीहरू चिनियो । अर्को बुद्धिसागर हो, जसले कविता गजल लेख्ने व्यक्तिको संगत दियो । निर्देशक रामबाबु गुरुङको सर्कलले एकथरी मानिसको संगत भयो ।’
उनी थप्छन्, ‘श्रवण मुकारुङ, राजन मुकारुङ, उपेन्द्र सुब्बा, स्वर्गीय अर्जुङ खालिङ जस्ता अग्रजको संगतले आँट, भरोसा, ज्ञान, चिन्तन, लगनशीलता बढ्यो ।’
प्रतिक्रिया