गोदावरीको म्यान्डेट बिर्सेर बरालिँदै कांग्रेस | Khabarhub Khabarhub

गोदावरीको म्यान्डेट बिर्सेर बरालिँदै कांग्रेस



काठमाडौं- नेपाली कांग्रेसले फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा महासमिति बैठक राखेको थियो ।

बैठकमा २३ सय ७३ जना महासमिति सदस्यहरू उपस्थित भए । त्यसमध्ये ६ सय ३१ जना महासमिति सदस्यहरूले कांग्रेस पदाधिकारीद्वारा प्रस्तुत दुई प्रतिवेदन र एउटा नीति प्रस्तावमाथि सुझाव राखे ।

६ सय ३१ सदस्यको सुझाव विभिन्न कोण र विचारका छन् । उनीहरूले केही वैचारिक, केही पार्टी संगठन र सरकारको गतिविधिबारे प्रश्नसमेत गरेका थिए ।

उक्त सुझाव र नीतिलाई सिधै अनुमोदन गर्न नसकिने भएकाले व्यापक छलफल र परिमार्जनसहित पारित गर्न केन्द्रीय कार्यसमितिलाई जिम्मेवारी दिइयो ।

केन्द्रीय कार्यसमितिले चैतमा बैठक राखेर महासमितिमा उठेका कुरा समेटी नीति बनाउने भनेको थियो । तर हालसम्म पनि कांग्रेसले महासमिति बैठकका वाचा पूरा गरेको छैन । बरु कांग्रेस अहिले सत्ताको भुलभुलैयामा पसेको छ ।

महासमिति बैठकपछि कांग्रेसले कुनै छलफल तथा नीति महाधिवेशनमा उठेका कुरा समेटेर बैठक बसालेको छैन । औपचारिक या अनौपचारिक रूपले कुनै बैठक बस्न नसकेको कांग्रेस नेताहरूको भनाइ छ ।

महासमिति बैठकमा उठेका विषयलाई चैतभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाएर नीति बनाइने कांग्रेसका तत्कालीन प्रवक्ता मीन विश्वकर्माले खबरहबलाई बताएका थिए ।

पार्टीका प्रचार विभाग प्रमुख रहेका प्रवक्ता विश्वकर्माले अहिलेसम्म केन्द्रीय कार्यसमिति बैठक बस्न नसकेको स्वीकारेका छन् ।

नीति अधिवेशनका क्रममा विभिन्न समूहमा उठेका साझा प्रस्तावलाई संकलन गरेर मूल प्रस्तावमा परिमार्जन गरी प्रस्तुत गर्न समय लाग्ने भएकाले केन्द्रीय कार्यसमितिलाई जिम्मेवारी दिएको कांग्रेसले जनाएको थियो ।

२३ सय ७३ जना महासमिति सदस्यहरू बोलाएर राखिएको बैठकको उपलब्धिबारे नेताहरूको रेडिमेड जवाफ दिन्छन् । सहमहामन्त्री बद्री पाण्डे भन्छन्, ‘चैतमा बैठक राख्ने भनिएको हो । उपनिर्वाचनमा ध्यान दिनुपर्ने भएर नेताहरूको समय व्यवस्थापन गर्न सकिएन । छिट्टै बसेर नीति निर्माण हुन्छ ।’

पाण्डेले यसो भनिरहँदा कांग्रेसले कुनै पनि कुरा समयमा पूरा गर्न सकेको छैन ।

महासमिति बैठक पनि तीन पटक सारिएको थियो । मंसिर २३ देखि २५ सम्म तोकेर पुस १६ बाट गर्ने गरी सारिएको थियो । फेरि फागुन ७ लाई सारियो । पहिलो पटक जाजरकोट भूकम्पलाई बहाना बनाएर सारियो । पुसमा जाडो हुने भन्दै फागुन ७ मा पु¥यायो । पटक–पटक सारिएको बैठक कार्यकर्ता र नेताहरुको तीव्र दबाबपछि देउवाले फागुनमा राखे ।

महासमिति बैठककै बेला सुझाव संकलन गरेर नीति बनाउन कार्यदल बनाउन लागेको कांग्रेसमा विरोध भएको थियो । तर, अहिलेसम्म कुनै छलफल र बैठक भएको छैन । जसले कार्यकर्ता र शुभेच्छुकमा निराशा बढाएको छ ।

महाधिवेशन प्रतिनिधि देवराज कार्कीले खबरहबलाई भने ‘नीति नबनाइँदा हाम्रा कुराको अपमान गरिएको जस्तो भएको छ । देश विदेशबाट जुटेका थियौँ । समयमा काम नहुँदा १५ औं महाधिवेशन पनि सर्ने सम्भावना भयो ।’

उसो त महासमिति बैठकमा ३५ विदेश जनसम्पर्क समितिबाट ९६ जना प्रतिनिधि आएका थिए ।

प्रतिनिधिहरूले आफूहरूलाई बोलाएर पनि पार्टीले कुरा नसुनेको र समयमै नीति नबनाएको गुनासो गरेका छन् । बहराइन प्रवास सभापति पदम गुरुङले महासमिति बैठक आफूले सोचेजस्तो नभएको प्रतिक्रिया खबरहबलाई दिए ।

सत्ता गुमेपछि अड्कियो हलो
कांग्रेसले चैत दोस्रो साता बैठक राखेर नीतिबारे छलफल गर्ने तयारी गरेको थियो । तर फागुन २१ गते सत्ता गुमेपछि सभापति शेरबहादुर देउवाले त्यता ध्यान दिन नपाएको नेताहरूको बुझाइ छ ।

कांग्रेसका एक शीर्ष नेताले भने, ‘सत्ता गुमे पनि २३ सय ७३ महासमिति सदस्यहरूसँग गरिएको वाचा पूरा गर्नुपर्ने थियो । सायद हामी अन्तै अल्मिलियौं?’

सत्ताभन्दा पार्टी कार्यकर्ता र शुभेच्छुकको सुझाव प्रमुख हुने बताउँदै ती नेताले चाँडै केन्द्रीय कार्यसमिति राखेर नीति बनाउने विश्वास दिलाए।
यसबारे सहमहामन्त्री पाण्डेले भने, ‘उपनिर्वाचन सकिएलगत्तै बैठक बस्छ । तयारीमा छौँ ।’

१५ औँ महाधिवेशन अगाडि फेरि विधान अधिवेशन गर्ने कांग्रेसको तयारी छ । त्यसबेला विधान बनाएर मात्रै महाधिवेशनमा जाने कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बताइसकेका छन् ।

कोइरालाले पार्टीले अबको एक वर्षपछि विधान महाधिवेशन गरेर नयाँ विधानअनुसार १५ औँ महाधिवेशन गर्ने बताए ।

पार्टीका अर्का सहमहामन्त्री भीष्मराज आङ्देम्बका अनुसार छिट्टै बैठक बसेर यसबारे छलफल गर्ने तयारी छ ।

‘ती प्रस्तावमाथि झण्डै १८ घण्टासम्म अध्याय गरिएको छ । त्यहाँ उठेका सबै कुरालाई परिमार्जन नगरी पारित गर्ने अवस्था थिएन’, उनले भने ।
तर कांग्रेसले उपनिर्वाचनको बहानामा अलमल गरिरहेको छ । यसो हुँदा तय भइसकेका विधान महाधिवेशन र १५ औं महाधिवेशन समयमा हुन नसक्ने सम्भावना छ ।

गोदावरीमा भएको महासमिति बैठकमा पार्टी उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव ६५ पृष्ठको छ ।
महामन्त्री विश्वप्रकाश शर्माले धेरै नेता तथा सांसदहरू नियमन गर्ने प्रस्ताव राखेका छन् । उनले प्रस्तुत गरेको समसामयिक राजनीति प्रस्तावमा एक व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने भनिएको छ ।

यस्तै शर्माले एक कार्यकाल राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र चार पटक बढी सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने उल्लेख गरेका छन् । तर यो प्रस्तावका कारण धेरै नेताहरूलाई समस्या हुने अवस्था छ ।

बैठकमा सांगठनिक प्रतिवेदन महामन्त्री गगन थापाले पेस गरेका थिए । थापाले ०८२ मंसिरमा १५ औँ महाधिवेशन हुनुपर्ने प्रस्ताव गरेका छन् । यस्तै थापाले कुनै पनि तहका निर्वाचनमा चुनावी गठबन्धन गर्न नहुने प्रस्ताव ल्याएका थिए । जुन कुरालाई इलाम २ उपनिर्वाचनमा कांग्रेसले एक्लै उम्मेदवारी दिएर पुष्टि गरेको छ ।

महामन्त्री थापाले पनि चुनावपछि राष्ट्रिय आवश्यकताका आधारमा सरकार गठनका लागि गठबन्धन गर्न सकिने बताएका थिए ।

त्यसैगरी, आर्थिक प्रतिवेदन तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले केन्द्रीय कार्यालयको समन्वयमा प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ७ : ११ बजे

करेन्ट लागेर एक जनाको मृत्यु

भद्रपुर (झापा)– जिल्लाको कनकाई नगरपालिका–१ मा करेन्ट लागेर आज एकजनाको

वीरगञ्जमा कर्फ्यू

काठमाडौं– वीरगञ्जमा कर्फ्यू आदेश जारी गरिएको छ । वीरगञ्जको छप्कैया

समाजवादी प्रेस सङ्गठनद्वारा स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग

काठमाडौं– समाजवादी प्रेस सङ्गठन नेपालले तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा

शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सभामुख मण्डलको आग्रह

महेन्द्रनगर (धनुषा)– मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले शिक्षा क्षेत्रलाई प्राथमिकतामा

बबरमहल दुर्घटनामा एकको मृत्यु दुई घाइते

काठमाडौं- काठमाडौँमा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ