विसं २०११ सालको नेकपा नेतृत्व । बायाँबाट क्रमश: (बसेको) – कृष्णराज बर्मा, वासुदेव ढुंगाना, मनमोहन अधिकारी, डा. केशरजंग रायमाझी र कमर शाह । उभिएको हिक्मतसिंह भण्डारी, केदारप्रसाद उपाध्याय, कमलराज रेग्मी,शम्भुराम श्रेष्ठ, पुष्पलाल, महेशप्रसाद उपाध्याय र डीपी अधिकारी । (तस्बिर : डा. सुरेन्द्र केसीको पुस्तकबाट)
काठमाडौं- नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको आज ७५ वर्ष पुगेको भन्दै नेकपा एमाले, माओवादी केन्द्र लगायतका विभिन्न कम्युनिष्ट घटकले विशेष कार्यक्रम आयोजना गरेका छन् ।
आपसमा मिल्दा बहुमत जुट्ने भए पनि कहिल्यै मिल्न नसक्नु नेपालका कम्युनिष्टहरुको मौलिक पहिचान नै हो । अरु त कुरै छाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना भएको मिति कुन हो र संस्थापक नेताहरु को–को हुन् भन्नेमै कुरो मिलेको छैन ।
एकथरिले नेकपाको स्थापना विसं. २००६ साल बैशाख १० गते (सन् १९४९ अप्रिल २२) लेनिन जयन्तीका दिन भएको बताउने गरेका छन् । अर्काथरिले विसं. २००६ साल भदौ ३० गते (सन् १९४९ सेप्टेम्बर १५) लाई नेकपा स्गापनाको औपचारिक दिन मान्ने गरेका छन् ।
नेपालको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी एमालेले आजकै दिन अर्थात् लेनिन जयन्ती (अप्रिल २२) लाई नै नेकपा स्थापनाको दिन मानेको छ । सत्तारुढ कम्युनिष्ट घटक नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि अप्रिल २२ कै दिन नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको मान्दै आएका छन् ।
इतिहासकार डा. सुरेन्द्र केसीका अनुसार कम्युनिष्ट पार्टीले विसं. २०१६ सम्म १५ सेप्टेम्बरको दिनलाई ने स्थापना दिवसका रुपमा मान्दै आएको थियो । पछि विस्तारै सबै घटकहरुले २२ अप्रिललाई स्थापना दिवस मान्न थालेका हुन् ।
‘नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहास’माथि पीएचडी गरेका केसीले आफ्नो पुस्तकमा १६ सेप्टेम्बरलाई नै आधिकारिकता दिनुपर्ने सुझाव दिँदै लेखेका छन्, ‘अरु आधिकारिक सामग्रीहरुबाट नयाँ तथ्य अगाडि नआउँदासम्म विसं. २००६ साल भाद्र ३० (सेप्टेम्बर १५, १९४९) लाई नै पार्टी स्थापना दिवस मानिनु तथ्यसंगत देखिन्छ ।’ (नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहास, भाग १ पृ. ६१)
डा. केसीले पुस्तकमा लेखेका छन्, ‘विसं. २०१५ सालको आम निर्वाचनमा नेकपाका तर्फबाट जारी गरिएको चुनाव घोषणापत्रमा पनि पार्टीको जन्म विसं.२००६, आश्विन ६ ( सेप्टेम्बर १५, १९४९) मा भएको हो भनिएको छ ।’
संस्थापक नेता पुष्पलालले पनि आफ्नो पुस्तकको धेरै ठाउँमा १५ सेप्टेम्बरलाई नै पार्टी स्थापनाको दिन उल्लेख गरेको डा. केसीले आफ्नो पुस्तकमा लेखेका छन् । डा. केसीले नेपालका कम्युनिष्टहरुको इतिहास तेस्रो भागसम्म लेखेका छन् ।
अप्रिल र सेप्टेम्बरको विवाद किन ?
पुष्पलाल पहिले कांग्रेस थिए । नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिएपछि उनी मार्क्सवादी अध्ययनमा जुट्न थाले । भारतका विभिन्न शहरमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुले त्यसबेला ‘मार्क्सवादी अध्ययन मण्डल’ बनाए ।
केशरजंग रायमाझी त्यसबेला कोलकातामा एमबीबीएस अध्ययन गर्दै थिए । मनमोहन अधिकारी बनारसमा पढ्दै थिए । उनीहरुले मिलेर ‘मार्क्सिस्ट स्टडी सर्कल’ बनाएका थिए ।
तर, पुष्पलालले भारतीय कम्युनिष्ट रत्नलाल ब्राह्मण, नृपेन्द्र चक्रवर्ती आदि नेताहरुसँगको सम्पर्कपछि ‘मार्क्सीस्ट स्टडी सर्कल’का साथीहरुलाई थाहै नदिई अन्य चारजना मानिसलाई राखेर कोलकातास्थित एक बंगालीको घरमा अप्रिल २२ मा रुपमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेको र त्यसको औपचारिक घोषणा ४ महिनापछि सेप्टेम्बर १५ मा गरेको डा. केसीको पुस्तकमा वर्णन गरिएको छ ।
सन् १९४९ सेप्टेम्बर १५ मै पार्टीको केन्द्रीय संगठन कमिटी पनि घोषणा गरिएको थियो, जसमा पुष्पलाल, मनमोहन अधिकारी, तुल्सीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय, डीपी अधिकारी थिए ।
केसीका अनुसार नेकपाको केन्द्रीय कमिटीमा भाइसाहेब भन्ने भारतीय कम्युनिष्ट पार्टीका अयोध्या सिंहलाई पनि राखिएको थियो । पुष्पलाल, शैलेन्द्र र मनमोहनसमेत रहेको पोलिटक्यूरो कमिटीमा भारतीय नेता भाइसाहेबलाई पनि राखियो । पार्टीेको मुख्यालय पनि कोलकातामै राखियो ।
‘संस्थापक सदस्य’ मोतीदेवी र नेकपाका पोलिटब्यूरो सदस्य भाइराजा (भारतीय)
यसरी कोलकातामा भारतीयसमेतको प्रत्यक्ष संलग्नतामा जन्मिएको नेकपाको स्थापना दिवसबारे त लामो समय विवाद भयो नै, संस्थापक नेताहरु को को हुन् भन्नेमा समेत मत मिलेन । पुष्पलालले अरु नेताहरुलाई थाहा नदिई खुसुक्क बनाएको भनिएको पार्टीका संस्थापनक सदस्यहरु ४ जना हुन् कि ५ जना भन्नेमा अहिलेसम्म नै विवाद छ ।
नेकपाका संस्थापकहरु को-को हुन् भन्ने आधारभूत विषयमै मतभेद रहँदै आएको छ ।नेकपा एमाले लगायतका दलले पुष्पलाल श्रेष्ट, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र मोतीदेवी श्रेष्ठलाई कम्युनिष्ट पार्टीका संस्थापक नेता मान्ने गरेका छन् ।
तर, नरबहादुर कर्माचार्य र निरञ्जन गोविन्द वैद्यको तर्कलाई आधार मानेर माओवादी, मसाल लगायतका दलहरुले भने मोतीदेवी बाहेकका चार जनालाई मात्रै संस्थापक मान्दै आएका छन् ।
इतिहासकार सुरेन्द्र केसी भने हालसम्मका तथ्यका आधारमा मोतीदेवीलाई पनि नेकपाको संस्थापनक मान्नुपर्ने सुझाव दिन्छन् ।
नेकपाका संस्थापक : वायाँबाट – निरञ्जन गोविन्द वैद्य, पुष्पलाल, नरबहादुर कर्माचार्य र नारायणविलास जोशी
अर्को प्रश्न– मनमोहन, डीपी अधिकारी, शैलेन्द्रकुमार, केशरजंग जस्ता समकालीनलाई नसमेटिकन पुष्पलालले हतार–हतार चारजना भेलापारेर कम्युनिष्ट पार्टी किन बनाए ? अनि त्यसको तीन महिनापछि पहिलो केन्द्रीय संगठन कमिटीमा उनीहरुलाई किन समेटियो ? पहिलो केन्द्रीय कमिटी सदस्यका नेताहरु किन संस्थापक बन्न पाएनन् ? यो प्रश्न पनि निरुत्तरित नै रहँदै आएको छ ।
आफ्नो स्थापनाको ७५ वर्षसम्म नेपालका कम्युनिष्टहरु कहिल्यै आपसमा मिलेनन् । अहिले पनि दर्जनौं चिरामा कम्युनिष्ट पार्टीहरु बाँडिएका छन् ।
मिलुन् पनि कसरी ? कम्युनिष्ट पार्टीका संस्थापक को हुन् र स्थापनाको आधिकारिक तिथिमिति कुन हो भन्नेमै यिनीहरुवीच विरोधाभाष रहँदै आएको छ ।
प्रतिक्रिया