डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला « Khabarhub

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न खुला गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालको अध्यक्षतामा जिल्ला सदरमुकाम दुनैमा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लामा रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वनको क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न खुला गरिने प्रजिअ दाहालले जानकारी दिए ।

बैठकले यार्सा सङ्कलन गरिने क्षेत्रमा सुरक्षाकर्मी परिचालन एवं स्वास्थ्य शिविर आयोजना गरिने निर्णयसमेत गरेको छ । प्रत्येक वर्ष डोल्पाका उच्च हिमाली क्षेत्रमा रहेका यार्सा सङ्कलन गर्न बीसौँ हजार सर्वसाधारण पुग्ने गर्दछन् । डोल्पाका यार्सा पाटन वन क्षेत्रमा भन्दा निकुञ्ज क्षेत्रमा धेरै पर्ने गर्दछन् ।

यार्सागुम्बा सङ्कलन गर्न पाटन प्रवेशका लागि तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था निकुञ्जले गरेको छ । मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई एक हजार, डोल्पा जिल्लाभित्रका बासिन्दालाई दुई हजार र जिल्ला बाहिरकालाई तीन हजार तोकिएको छ ।

निकुञ्ज र वन क्षेत्रका यार्सा सङ्कलन गर्न लुकीछिपी अवैधरुपमा मानिसहरु जाने गरेका छन् । डोल्पामा वैशाखमै यार्सा उम्रिसक्ने भएकाले जुम्ला र डोल्पाका सर्वसाधारण सङ्कलन गर्न जाने बताइएको छ ।

निकुञ्जले अवैधानिकरुपमा छिरेका ७५ जनालाई पक्राउ गरेर छोडिसकेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले निकुञ्ज क्षेत्रमा सेनाले नियमित गस्ती गरिरहेको बताए ।

तोकिएको मितिभन्दा अगाडि पाटन प्रवेश गर्न खोज्ने जो कोहीलाई समातेर कानुनी कारबाही गरिने उनको भनाइ छ । डोल्पाली जनताको मुख्य आम्दानीको स्रोतको रुपमा रहेको यार्सागुम्बा सङ्कलन गर्नका लागि छिमेकी जिल्ला रुकुम, जाजरकोट, सल्यान, जुम्लालगायतका जिल्लाबाट हजारौँको सङ्ख्यामा सर्वसाधारण पुग्ने गर्दछन् ।

समुद्री सतहबाट तीन हजारदेखि पैँतीस सय मिटर उचाइसम्ममा यार्सा पाइने भएकाले ज्यानको बाजी लगाएर यार्सा टिप्न जानुपर्ने बाध्यता रहेको त्रिपुरासुन्दरी नगरपालिका–१ का ज्ञानबहादुर बुढाले बताए । डोल्पामा यार्साको व्यावसायिक रुपमा सङ्कलन सुरु २०४० सालदेखि भएको हो । विसं २०७५ देखियता १२ जना यार्सा सङ्कलकले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले यार्सा सङ्कलन इजाजत र छोड पुर्जी वितरणबाट प्रत्येक वर्ष न्यूनतम पचास लाखभन्दा धेरै राजस्व सङ्कलन गर्ने गरेको छ । अघिल्लो वर्षमात्रै छोडपुर्जी र सङ्कलन इजाजत वितरणबाट वितरणबाट निकुञ्जले रु दुई करोड तीन लाख राजस्व सङ्कलन गरेको थियो । सङ्कलकबाट बर्सेनि लाखौं राजस्व उठाए पनि स्वास्थ्य बिमा भने गरिँदैन ।

निकुञ्जले यार्सा टिप्नेबाट राजस्व मात्र लिने र जोखिमको प्रत्याभूति नगर्ने नगर्नु गलत भएको त्रिपुरासुन्दरी मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमान सार्कीले बताए ।

“जिल्लाका प्रत्येक गाउँमा यार्सा टिप्न पाटन जाँदा बर्सेनि धेरैले घर परिवार र अभिभावक गुमाएको अवस्था छ । उनीहरुको जीवनस्तर समेत दयनीय छ, मृतकका छोराछोरी पढ्न पाएका छैनन् ।अभिभावक गुमाएकै कारण कलिलै उमेर बाल विवाह गर्न बाध्य छन्, राम्रोसँग खान पाएका छैन, धेरै पीडामा बाँचेका छन्”, उनले भने।

स्वास्थ्य बिमा भएको भए यार्सा सङ्कलन गर्न जाँदा ज्यान गुमाउनेलाई केहीन केही राहत हुने उनको भनाइ छ । डोल्पामा नेपालमै सबैभन्दा धेरै परिमाणमा र गुणस्तरको हिसाबमा राम्रो यार्सागुम्बा पाइने गर्दछ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ९ : ५६ बजे

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको