हात्तीपाइलेविरुद्ध साझा अभियान | Khabarhub Khabarhub

हात्तीपाइलेविरुद्ध साझा अभियान


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मान्छेलाई अशक्त, अपाङ्ग र कुरुप बनाउने घातक रोग हात्तीपाइले (फइलेरिया) विरुद्ध महोत्तरीमा संगठित र साझा अभियान थालिएको छ । 

वैशाख १६ गते आइतबारदेखि हात्तीपाइले रोग निवारणका लागि सुरु गरिने १० दिने ‘आम औषधी सेवन अभियान’ मा कोही नछुटून् भन्ने अभिप्रायले यसलाई संगठित र साझा अभियान बनाइएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

 यस अभियानमा स्वास्थ्य सेवा प्रदायक सबै संस्था, स्थानीय प्रशासन, स्थानीय तह र सामाजिक सङ्घसंस्थाबीच समन्वय गरी साझा संयन्त्र बनाएर अभियान सफल बनाइने स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख स्वास्थ्य प्रशासक सुनिता गुप्ताको भनाइ छ ।

अभियानको सफलताका लागि जिल्लाका १५ वटै स्थानीय तहमा खटिने स्वास्थ्यकर्मी र स्वयं सेवकलाई बस्तीबस्तीका घरघर पुगेर औषधी खुवाउने तरिकाबारे अभिमुखीकरण गरिएको कार्यालयले जनाएको छ । यसैगरी अभियानको पूर्ण सफलताका लागि वडा तहसम्म स्थानीय जनप्रतिनिधि, सामाजिक सङ्घसंस्थाका अगुवा, सञ्चारकर्मी र स्वास्थ्य सेवा प्रदायक संस्था आबद्ध व्यक्तिको साझा प्रयत्न अभियानमा जोडिएको प्रमुख स्वास्थ्य प्रशासक गुप्ताको भनाइ छ ।

मुलुकका सात हात्तीपाइले निवारण हुन नसकेका जिल्लामध्ये महोत्तरी परेपछि यसविरुद्ध प्रभावकारी नतिजा निकाल्न यसपालि आम औषधी सेवन अभियानमा जनजन परिचालित गर्न खोजिएको कार्यालयले जनाएको छ ।

 अभियानको सफलताका लागि वडा तहसम्म सम्बद्ध पक्षबीच चरण–चरणका छलफलले योजना बनेका  छन् । दुई वर्ष उमेर पुगेका सबैलाई उनीहरुको उचाइ मापन गरी आवश्यक मात्राको औषधी दिन अभियानमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकलाई प्रशिक्षित गरिएको गुप्ताको भनाइ छ । 

यस अभियानमा दुई वर्ष उमेर नपुगेका, गर्भवती महिला, सात दिनभित्रका सुत्केरी, अस्पतालमा भर्ना भएका बिरामी, छारे रोग भएका, दीर्घरोगी र निरन्तर डायलायसिस गर्नु परिरहेका स्वास्थ्य समस्याका बाहेक सबैलाई औषधी खुवाइने छ । यस अभियानअन्तर्गत यसपालि जिल्लाका सात लाख १६ हजार दुई सय६४ जनालाई औषधी खुवाइने गुप्ताले जानकारी दिए।

मधेसका आठ जिल्लामध्ये महोत्तरी, धनुषा, सर्लाही र रौतहटसमेत चार जिल्लामा हात्तीपाइले रोगका बिरामी भेटिएपछि यीसहित मुलुकका कुल सात जिल्लामा यसविरुद्ध अभियान थालिएको छ । 

मधेसका बाहेक तराईका झापा र कपिलवस्तु एवं हिमाली जिल्ला रसुवामा सरकारले यो अभियान सञ्चालन गर्दैछ । राष्ट्रिय अभियानअन्तर्गत प्रत्येक वर्ष हात्तीपाइले निवारणका लागि औषधी सेवन गराइँदै आइए पनि महोत्तरीमा रोग फैलने क्रम पाइएको छ । गत वर्ष औषधी सेवन गराएपछि रक्त नमूना सर्वेक्षणमा जिल्लामा हात्तीपाइले बढ्दो समस्याका रूपमा पहिचान भएको हो । 

जिल्लाको मटिहानी नगरपालिकाका छ सय व्यक्तिमा रगत परीक्षण गरिँदा २१ जनामा हात्तीपाइले देखिएपछि यसपटक जिल्लामा कोही नछुट्ने गरी औषधी सेवन गराउने तयारी गरिएको हो ।

मटिहानीमा छ सय जनामा गरिएको रक्त परीक्षणको सर्वेक्षण नतिजाले डरलाग्दो अवस्था देखिएको स्वास्थ्यकर्मीको भनाइ छ । हात्तीपाइले शारीरिक रूपमा अशक्त, अपाङ्ग र कुरुप बनाउने सरुवा रोग हो । सङ्क्रमण भइसकेर पनि वर्षौँसम्म यसका लक्षण नदेखिने भएको हुँदा अन्यमा चाँडै सर्ने सम्भावना रहन्छ । क्युलेक्स लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्छ । औषधी सेवनले रोग निको हुने र अन्यमा नसर्ने हुँदा अहिले औषधी सेवनको प्रभावकारितामा जोड दिइएको हो ।

औषधी सेवन गर्दा कसैकसैलाई वाकवाकी लाग्ने, रिङ्गटा लाग्ने, वान्ता आउने र ज्वरो आउने पक्ष औषधीको सेवनले शरीरमा भएका रोगका परजीवी नष्ट हुने क्रम भएको स्वास्थ्यकर्मीले स्पष्ट पारेका छन् ।  

तसर्थ हात्तीपाइलेविरुद्धको आम औषधी सेवन अभियानमा सरिक भइ आपूm खाने र अरुलाई खान उत्प्रेरित गर्न स्वास्थ्य कार्यालय महोत्तरीले आम जिल्लावासीसँग अपिल गरेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  १ : ४१ बजे

उद्योग वाणिज्य महासंघमा राजनीति छिर्‍यो

म ०५८ देखि ०६० सम्म उद्योग वाणिज्य महासंघको अध्यक्ष रहेँ

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिने बढ्दै

कञ्चनपुर– कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र

हरिशयनी एकादशीमा कालीगण्डकी नदीमा स्नान गर्नेको भुइँचो

पर्वत– हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीको

हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आइतबार हुम्ला जाँदै छन् ।

सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु

चितवन– सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु भएको छ ।