विशेषतः इलाममा उपनिर्वाचन हुँदै गर्दा तत्कालीन संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भइसकेपछि उपचुनाव गर्नुपर्ने बाध्यता सिर्जना भयो । गत वर्षको चुनावमा २० सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ मा चितवन र तनहूँमा जस्तै राम्रै मत हासिल गर्छ भन्ने धेरैको विश्लेषण थियो । अझ सरकारमा सहभागी भइरहेको अवस्थामा रास्वपाका नेताहरू निकै उत्साही थिए । तर परिणाम उल्टियो । उसले आफ्नो जमानत समेत जोगाउन सकेन ।
मैले नेपालको राजनीति लामो समयदेखि विश्लेषण र मूल्याङ्कन गर्दै आएको छु । निर्वाचनको परिणाममा जसरी जनताले एमालेका सुहाङलाई बहुमत दिए त्यसमा आश्चर्य मान्नु पर्ने ठाउँ छैन । सुहाङ कांग्रेसका डम्बर खड्कालाई उनका दिबंगत बुबाले भन्दा पनि शक्तिशाली मत ल्याएर हराउन सफल भए ।
सामाजिक सञ्जालमा सुहाङलाई हाईलाइट गरेर जिताइएको भनी टिकाटिप्पणीहरू छन् । तर सामाजिक सञ्जालले जिताउने भए त सरकार नै उनीहरूलाई सुम्पिदिए भयो नि । सामाजिक सञ्जालमा गरिने विश्लेषण ट्रेन्डका आधारमा मूल्याङ्कन हुने हैन ।
रास्वपाको इलाममा अस्तित्व पनि थिएन । उसको कार्यालय नै चुनावको हाराहारीमै स्थापना भएको हो । र उम्मेदवार नपाएर पहिले माओवादीतिर लागेर पत्रकारिता गरेका मिलन लिम्बूलाई बनाएका रहेछन् ।
मेरो नेतृत्वको टोलीमा १० जना र डा. गोपालकृष्ण सिवाकोटीको नेतृत्वमा ७ जना सुपरीवेक्षकले गरेको पर्यवेक्षणमा हामीले के पायौँ भने रास्वपाले अधिकांश मतदान केन्द्रमा आफ्ना चुनावी प्रतिनिधिसम्म राख्न सकेका रहेनछन् । यो त कुरा ठूलो, काम त सानो भो ।
इलाम पहिलादेखि नै सूर्योदयको जिल्ला हो । आर्थिक स्थितिमा सम्मुनत ठाउँ हो । चिया, अलैँची र शैक्षिक स्थितिमा यसको आफ्नै विशिष्ट पहिचान छ । अरु जस्तो जालझेल गर्न सकिने जिल्ला हैन । त्यसैले जो ठूला व्यक्ति तामझामका साथ गए । तर जनताले उनीहरूको सक्कली अनुहार ऐनामा देखाइदिए ।
रविका क्रियाकलाप त जनताले देखे नि । उनले गरेको जस्तो क्रियाकलाप हामीले गरेको भए हामी उहिल्यै सिद्धिसक्थ्यौँ । र इलामको सचेत मतदातामा त्यसको पनि प्रभाव परेको होला । तीन ठूला दलका मतदाताहरू मध्ये ५० देखि ६० प्रतिशत उनीहरू आफैं पार्टीप्रति प्रतिबद्ध छन् । यस्ता जिल्लामा पहिचानको ठूलै आन्दोलन भएको थियो ।
इलामले पहिचानको मुद्दा स्थापित नगरे पनि त्यो विषयले पक्कै झकझकाएको छ । सुवासले लामो समयसम्म इलामको प्रतिनिधित्व गर्नु भएको थियो । यद्यपि जनताले उहाँलाई विकास कार्यक्रम ल्याउने नेताका रूपमा भने सम्झिँदैनन् । केन्द्रीय राजनीतिमा नै समय बिताए । तर केन्द्रीय राजनीतिमा भव्य, सभ्य भएर गरेको कामले जनता पनि आकर्षित थिए । र उनका छोरा युवा, शिक्षितसँगै योग्य पनि छन् । उनमा बाबुका गुण पनि छन् । अर्कातिर कांग्रेसका डम्बर ‘क’ श्रेणीका ठेकेदार रहेछन् ।
निश्चय पनि जनतामा ठेकेदार ठूलाबडा हैन, पढेलेखेकालाई दिनुपर्छ भन्ने धारणा आयो होला । अर्को एमालेको माओवादीसँग त गठबन्धन नै छ । अहिलेसम्म संसदीय प्रजातान्त्रिक लोकतान्त्रिक व्यवस्थालाई मान्दैनौँ भन्ने विप्लवले पनि एमालेको उम्मेदवारलाई नै समर्थन गरेका छन् । अब सबै दलहरू नेपालमा लोकतन्त्र बाहेक अरु विकल्प हुन सक्दैन भन्नेमा पुगेको देखिन्छ ।
अब सुहाङले आफ्नो संगठनलाई सैद्धान्तिक मूल्य, मान्यताको मियोमा पुर्याउन सक्नुपर्यो । निष्ठा र इमानदारी प्रदर्शन गरेर काम गरेर देखाउनु पर्छ । तर युवामा भएको अहिलेको उकुसमुकुसलाई नेपाली कांग्रेस र एमालेले धान्न मुस्किल छ ।
राजनीतिमा जुन ठाउँमा जे आफूलाई थाहा हुन्छ, त्यही अनुसारको भाष्य निर्माण हुन्छ । राजनीति सामान्य हिसाब किताबमा चल्दैन । राजनीतिमा विकल्पको लागि जनता तयार भए, नभएको भन्दा पनि विकल्पवादीले जनताको विश्वास जित्न अझै धेरै वर्ष जनता माझ काम गर्नुपर्ने, आफ्नो इमानदारी– विश्वासलाई जनताका सामु छर्लङ्ग बनाएर देखाउँदै जानुपर्छ ।
रास्वपामा धेरै राम्रा र असल मान्छे पनि छन् तर अध्यक्ष रवि लामिछाने स्वयं बेला बेलामा विवादमा पर्ने जुन विवाद जनतालाई पत्याउनै कठिन हुने अवस्था छ । संसारमा कहीँ पनि राजनीतिक दलको स्थापना रातारात भएको हैन । रातारात उम्मेदवारहरू आउलान् तर दल नै अरु दललाई विस्थापित गर्ने गरी आएका छैनन् ।
पहिला बहुमतको निरंकुशता हुन्थ्यो । हाम्रो राजनीतिमा नेपाली कांग्रेस र एमालेले अरूलाई ढिम्किनै दिँदैनथे । तर अहिले पुष्पकमल दाहालले आफ्नो थोरै बहुमत भए पनि कांग्रेस र एमालेलाई खेलाउने मौका पाएका छन् । त्यसैले हाम्रो यो त्रिशंकु संसद् र राजनीतिमा रास्वपाले चलखेल गर्ने मौका पाएको हो तर सधैँ यस्तो रहँदैन ।
ग्रामीण क्षेत्रका मानिसहरू त फेसबुक लगायतका सामाजिक सञ्जालमा भुल्लिने समय छैन । सहरमा पनि सामाजिक सञ्जाल चलाउन फुर्सद भएका मान्छे चाहियो नि । अहिले त फेसबुकमा कहिले जन्मदिनको शुभकामना भन्यो, कहिले श्रद्धाञ्जली भन्यो, कहिले शीघ्र स्वास्थ्य लाभको कामना भन्यो, कहिले बधाई भन्यो ९० प्रतिशत त्यही हुन्छ । बाँकी राम्रा सूचनाहरू आउँछन् । त्यसैले सामाजिक सञ्जाललाई नै संगठन मान्न हुँदैन । सत्यको मिडिया वा प्रिन्ट मिडियालाई विस्थापित गर्न सक्ने साधनका रूपमा स्विकार्न सकिँदैन । फेसबुकले स्वतन्त्रता पाउनु पर्छ तर त्यसका आफ्नै सीमाहरू छन् ।
कांग्रेसका डम्बर खड्काको यो तेस्रो पराजय हो । पहिला प्रदेशसभामा पनि उठिसकेको, पछि संघीय संसद् पनि उठिसकेको र अहिले फेरि उठ्नु भयो । एउटै मान्छेलाई देउवाको खल्तीबाट उम्मेदवारी दिने त्यस मान्छेमाथि पनि पार्टीले विचार गर्नुपथ्र्याे । योगदान होला डम्बरजीको तर म ’क’ श्रेणीको ठेकेदार हुँ धन सम्पत्ति छ । धन सम्पत्तिकै आडमा पनि चुनाव जित्न सक्छु भन्ने लागेको थियो होला तर त्यो भएन ।
यिनै कारण हुनसक्छ, जनताले डम्बरभन्दा सुहाङलाई राम्रो माने । कांग्रेसलाई पनि एउटा सन्देश यो हो कि कि पुराना त्यागी खारिएका काम गर्न सक्ने शिक्षित योग्य नेता छान्न सक्नु पर्यो । धनीमानीलाई प्रश्रय दिने प्रवृत्ति जुन कांग्रेसमा विकास भएको छ, त्यसलाई पुनर्विचार गर्नुपर्छ । नत्र हानी गर्छ र हिजोका दिनमा कांग्रेसबाट त्याग बलिदान गर्ने व्यक्तिहरू पार्टीबाट किनारा लाग्छन् ।
यो चुनावले एमालेलाई थप उत्साही बनायो । किनकि बझाङमा पनि अहिले सुदूर पश्चिमको गठबन्धनको सरकार छ । एक एक भोटको पनि महत्त्व छ । तर अब ओलीको भाषण गजब गजबको आउँछ । नेपालमै राम जन्मेको भनेर प्रमाणित गर्न तम्सिन खोज्ने मान्छे । अरु भन्दा ओलीको भाषणमा कन्टेन्ट नभए पनि मनोरञ्जन हुन्छ । उहाँको भाषा शब्द व्यङ्ग्य सुन्न मान्छे हौसिन्छन् ।
तर एमालेले इलाममा त्यो क्षेत्रमा अत्यन्त योग्य सांसद डा.शिवमाया तुम्बाहाम्फे लाग्नु भयो र कांग्रेसमा त्यो किसिमको प्रतिबद्धता लेखिएन । त्यहाँको वस्तुस्थिति बुझ्ने मान्छे नै भएन कांग्रेसको । जे जति गर्यो तर एक चौथाइ बल कांग्रेसको पुगेन ।
प्रतिक्रिया