कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप | Khabarhub Khabarhub

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

सेवाप्रदायक र भारतीय पक्षसँग वार्तामा सञ्चारमन्त्री


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित भएको छ ।

बिहीबार अपरान्हदेखि देशभरको इन्टरनेट सेवामा समस्या देखिएको थियो । तर अवरुद्ध इन्टरनेट सुचारु भएको सेवाप्रदायकहरूले बताएका छन्।

निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायक वर्ल्ड लिङ्क कम्युनिकेशन, सुबिसु केबलनेट र भायानेट कम्युनिकेसन्सहितले सूचना निकालेर अवरुद्ध इन्टरनेट सुचारु भएको बताएका हुन् ।

बिहीबार अपरान्ह ४ बजेदेखि अधिकांश निजी इन्टरनेट सेवाप्रदायकहरूको सेवा रोकिएको थियो ।

विवाद

भारतीय दूरसञ्चार कम्पनी एयरटेलले नेपालका इन्टरनेट सेवा प्रदायक (आईएसपी)लाई दिइरहेको ब्यान्डविथ आपूर्ति रोकिदिएपछि समस्या भएको थियो ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)का अधिकारीहरूले भारतबाटै एयरटेलले ब्यान्डविथ आपूर्ति बन्द गरिदिएपछि समस्या आएको बताएका थिए ।

नेपालका इन्टरनेट सेवाप्रदायकले भारत हुँदै एयरटेलले ८० प्रतिशतभन्दा धेरै एयरटेलबाट लिने गरेका छन् । अहिले नेपालमा सरकार आईएसपीहरूबीच करको वक्यौता रकमलाई लिएर विवाद जारी छ ।

त्यही विवादका कारण सरकारले ब्यान्डविथ आयातवापद भारतीय कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकमबारे निर्णय दिएको छैन ।

त्यहीकारण एयरटेलको भुक्तानी पनि रोकिएको छ । राजस्वको वक्यौता विवाद अहिले अदालतसम्म पुगेको छ ।

वक्यौता नतिरेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एयरटेललाई भुक्तानी गर्न‍े प्रयोजनाका लागि विदेशी मुद्रा सिफारिस नगरिदिएपछि समस्या विकराल भएको हो ।

आईएसपीहरूले राजस्वको वक्यौता बुझाउन बाँकी नरहेको बताइरहँदा सरकारले पनि आफ्नो अडान छाडेको छैन । यसअघि नै आईएसपीहरूले इन्टरनेट अवरुद्ध हुने चेतावनी दिइसकेका थिए ।

के भन्छ सरकार?

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा प्रदान गर्दैआएका केही सेवा प्रदायकहरुले ‘ब्याण्डविथ’ खरिद वापतको विदेशी मुद्रा भुक्तानीको सिफारिस नहुँदा इन्टरनेट सेवाअवरुद्ध भएको प्रकाशित समाचाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गर्दै इन्टरनेटजस्तो अत्यावश्यक सेवा अवरूद्ध हुने गरी कुनै कार्य नगर्न नगराउन सेवा प्रदायक निकायहरूलाई आग्रह गरेको थियो ।

उपभोक्ताबाट अग्रिमरूपमा सङ्कलन गरेको महशुलबाट कानुनबमोजिम राज्यलाई तिर्न बुझाउनपर्ने ग्रामीण दूरसञ्चार विकास शुल्क तथा रोयल्टी रकम समयमा नबुझाइ अत्यावश्यक सेवा अवरूद्ध हुने गरी कोही कसैले कुनै कार्य नगर्न र नगराउन पनि सरकारले भनेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणमा दर्ता भएका एक सय २२ वटा इन्टरनेट सेवा प्रदायकहरू र २३ वटा नेटवर्क सेवा प्रदायकमध्ये केही इन्टरनेट सेवा प्रदायकबाहेक अन्य दूरसञ्चार सेवा प्रदायकले नियमअनुसार तिर्नु बुझाउनुपर्ने शुल्क बुझाएका सेवा प्रदायकहरूको विदेशी मुद्रा सट्टा सिफारिस नेपाल दूरसञ्चार प्राधिकरणको सिफारिसमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने कानुनी व्यवस्थाबमोजिम नियमित सिफारिस भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

इन्टरनेट सेवा प्रदायकहरूले देशभित्र इन्टरनेट सेवा प्रदान गरेवापत ग्राहकबाट अग्रिम रूपमा महशुल लिने गरेको, यसरी लिएको महशुलबाट वार्षिक आयको दुई प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष र वार्षिक कूल आम्दानीको चार प्रतिशत रोयल्टी बुझाउनुपर्ने व्यवस्थाबारे पनि मन्त्रालयले स्मरण गराएको छ ।

‘इन्टरनेट सेवा प्रदायकहरूले देशभित्र इन्टरनेट सेवा प्रदान गरेवापत ग्राहकबाट अग्रिम रूपमा महशुल लिने गरेको, यसरी लिएको महशुलबाट वार्षिक आयको दुई प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष र वार्षिक कूल आम्दानीको चार प्रतिशत रोयल्टी बुझाउनुपर्ने व्यवस्था दूरसञ्चार ऐन, २०५३ को दफा ३० र दूरसञ्चार नियमावली, २०५४ को नियम २६ मा रहेको छ । नियमावलीको नियम २६ मा (१) नियम १० को उपनियम (५) र (६) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले गरेको वार्षिक कूल आम्दानीको चार प्रतिशतले हुने रकम प्रत्येक वर्ष रोयल्टीको रूपमा नेपाल सरकारलाई बुझाउनु पर्नेछ । सो अवधिभित्र नबुझाएमा बुझाउन बाँकी रहेको रकमको दुई प्रतिशतका दरले प्रत्येक महिना थप दस्तुर लाग्नेछ’, सरकारले भनेको छ ।

वार्तामा मन्त्री

सञ्चारमन्त्री रेखा शर्मा कर छलीमाथि कुनै सम्झौता नहुने अडान लिएकी छन् । उनले यसको दीर्घकालीन समाधान सरकारले खोज्ने पनि बताएकी छन् ।

तत्कालका लागि सेवा सुचारु गर्नु सरकारको दायित्व भएको भन्दै मन्त्री शर्माको नेतृत्वमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणका उच्च पदाधिकारीसँग बैठक बसेको थियो। त्यसपछि आईएसपीहरूले इन्टरनेट सुचारु भएको बताएका हुन् ।

मन्त्री शर्माले इन्टरनेट सेवा रोकेको भारतीय ब्यान्डविथ वितरकसँग एयरटेलसँग पनि वार्ता गरेकी छन् ।

एयरटेलले के भन्यो?

ब्यान्डविथको पैसा रोकिएपछि नेपालका सेवाप्रदायकलाई एयरटेलले पत्र नै लेखेको खुलेको छ ।

उसले पत्रमा अर्डरका आधारमा उपल्बध गराइएको रकम अमेरिकी डलरमा भुक्तानी गर्न भनेको थियो । बाँकी रकम भुक्तानीका लागि पटक पटक पत्राचार भएको दाबी पनि एयरटेलले नेपालका सेवा प्रदायकलाई यसअघि नै पत्र पठाएर गरेको थियो ।

एयरटेलले ब्यान्डविथ वापतको रकम लामो समयदेखि अड्काउनु सम्झौताविपरीत भएको जनाउँदै यसबाट आउने जटिल परिस्थितिका लागि आफू जिम्मेवार नहुने पनि भनेको थियो ।

एयरटेलले यदि आफूले भनेको मितिमा भुक्तानी नदिएमा सेवा रोकिने पनि भनेको थियो । बाँकी भुक्तानी नगर्दा सेवा रोकिन सक्ने चेतावनीसहित एयरटेलले भुक्तानी प्राप्त भए सेवा सुचारु भइजाने जनाएको थियो ।

संयोग
बिहीबार नेपालमा विभिन्न कार्यक्रमसहित राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस मनाइएको छ ।

यो दिवसको एक कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन पनि गरे । तर सरकारकै अनिर्णयका कारण देशभरको इन्टरनेट अवरुद्ध भयो ।

सरकारले एक वर्षदेखि अन्तर्राष्ट्रिय ब्यान्डविथ बापत भारतीय अपस्ट्रिम सेवा प्रदायकलाई तिर्नुपर्ने इन्टरनेट सेवा प्रदायकको विदेशी मुद्राको सिफारिस रोकिदिएपछि समस्या बल्झिएको हो ।

इन्टरनेटको मर्मत सम्भार शुल्कमा रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) दस्तुरबारे सरकार र सेवाप्रदायकबीच विवाद छ । सेवा प्रदायकहरूले दूरसञ्चार सेवा शुल्क नलाग्ने आयमा रोयल्टी र आरटीडीएफ पनि नलाग्ने अडान लिएका छन् । एकैपटक १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउँदा ग्राहक शुल्क नबढाउने सर्तमा यसअघि मूल्य समायोजन भएको थियो ।

त्यस समझदारीअनुसार सेवा प्रदायकहरूले मर्मत सम्भार शुल्क लिन पाउने र टीएससी तथा रोयल्टी र आरटीडीएफ पनि नलाग्ने बताइरहेका छन् । उता सरकारले मर्मत सम्भार दस्तुरमा रोयल्टी र आरटीडीएफ लाग्ने बताएर अर्बौँ रुपैयाँ बक्यौता तिर्न सेवा प्रदायकलाई ताकेत गरिरहेको छ।

तर सेवा प्रदायकहरूले मर्मत सम्भारमा रोयल्टी र आरटीडीएफ नलाग्ने अडान राखेका छन् । उनीहरूले संघीय संसद्को सार्वजनिक लेखा समितिको निर्णय र निर्देशनलाई नजिर बनाएर सरकारलाई टेरेका छैनन् ।

यसअघि नै संसदीय समितिको निर्देशनअनुसार महालेखा परीक्षकको कार्यालयले आर्थिक २०७५/०७६ को बेरुजु फर्छ्यौट गरिसकेको छ । तर त्यसयताको त्यही शीर्षकको बक्यौता नतिरेको भन्दै सरकारले सेवा प्रदायकलाई ताकेता गर्दै जाँदा विवाद पनि लम्बिएको हो ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ११ : १९ बजे

चीनले ब्रह्मपुत्रमा विशाल बाँध बनाउन लागेपछि आत्तियो भारत, निगरानी गर्ने

एजेन्सी – भारतले शुक्रबार तिब्बतको माथिल्लो भागमा निर्माण गर्न लागिएको

बागमती सरकारले विपद् प्रभावित सडक पुनर्निर्माण गर्न १५ करोड बजेट दिने

मनहरी – बागमती प्रदेश सरकारले विपद् प्रभावित सडक तथा पूर्वाधार

हेटौँडा सिमेन्ट उद्योग सञ्चालन अझै अन्योलमा

मकवानपुर – हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले करिब तीन महिनादेखि सिमेन्ट

भूतप उल्का वर्षा आज राति

काठमाडौं – सन् २०२५ को पहिलो उल्का वर्षा आज राति