सलामी, गुलामी र मलामी मोह | Khabarhub Khabarhub

सलामी, गुलामी र मलामी मोह

पहिलो बजेट ल्याउने सुवर्णका पनाति पुस्ताको बजेट भाषण शैली उस्तै



भगवान श्रीकृष्णको छोरा साम्बप्रति युवती भुतुक्कै हुन्थे। तर उनको प्रेम भने परमशत्रु दुर्योधनकी छोरी लक्ष्मणासँग बस्यो। उनीहरु एक अर्काप्रति यति आशक्त कि सँगै जिउने, मर्ने कसम खाएका थिए। यिनीहरुको प्रेमले पाण्डव र कौरव पक्षमा ठूलो हल्लीचल्ली मच्चियो। यदुवंशी खलकसँग छोरी लागेको दुर्योधनलाई सह्य थिएन। बाउहरुको जुँगाको लडाइँले आफ्नो पवित्र प्रेम शहीद हुने बुझेपछि दुवैले भागेर विवाह गरे।

यो खबर आगो झै फैलियो। दुर्योधनले तत्काल फौज पठाएर साम्बलाई बन्दीगृहमा राख्यो। दुर्योधनको बन्दीगृहमा छोरो परेको खबरले कृष्ण आकुल व्याकुल भए। कृष्णका दाजु बलराम साथी उद्धवलाई लिएर साम्बलाई छुटाउन हस्तिनापुर पुगे।

उनले शालीन भाषामा अनुरोध गरे- ‘हे दुर्योधन ! जवान भएका युवायुवती एकले अर्कालाई मन पराएर बिहे गर्छन् भने त्यो अपराध होइन। उचित अनुचितको भेद उनीहरुलाई राम्रोसँग थाहा छ। अब हामी अभिभावकको कर्तव्य विधिपूर्वक जोडी बाँधिदिनु हो। म यही अनुरोध गर्न तपाईं समीप आएको हुँ।’

बलरामको अनुरोध लत्याउँदै अभिमानी दुर्योधन कराउन थाल्यो- ‘खुट्टामा पहिरिने जुत्ता शिरमा किमार्थ लगाइन्न। एउटा गरिब भिखारीको छोराले हस्तिनापुर युवराजकी छोरी ताक्ने ? यो असम्भव छ। राजा महाराजको आसनमा बस्ने अधिकार यस्ता भिखारीलाई छैन।’ दुर्योधनको अपमानजनक वाणीले बलरामलाई क्रोधित बनायो।

हस्तिनापुर थर्काउँदै उनले चेतावनी दिए- ‘तैंले मेरो मात्र हैन, सम्पूर्ण यदुवंशीहरुको अपमान गरेको छस्। साम्बलाई बन्दीमुक्त गरी लक्ष्मणसँग बिहे गरिदिन्छस भने ठीक छ। यदि मेरो वचनको उल्लंघन भयो भने याद गर हस्तिनापुर पुरै उल्टाएर सखाप बनाइदिन्छु। तेरो लागि यो पहिलो र अन्तिम मौका हो।’ बलरामको गर्जनपछि कौरवहरु आफ्नो साइजमा आए। दुर्योधनले साम्बलाई मुक्त मात्र गरेन, प्रशस्त दाइजो सहित छोरी लक्ष्मणालाई अघि लगाएर भव्य कार्यक्रम गरी ज्वाईं सकारेर पठायो।

नेपाल कम्युनिस्ट पार्टी गठनताका केपी ओलीले आफू र प्रचण्डको सहयात्रालाई बोइङको चालकसँग तुलना गरेका थिए। उनलाई थाहा रहेनछ- यात्रुलाई जोगाउन दुई पाइलटलाई उडान अवधिमा एउटै ताउलोमा पकाइएको खाना दिइन्न।

नेपाल कम्युनिस्ट पार्टी गठनताका केपी ओलीले आफू र प्रचण्डको सहयात्रालाई बोइङको चालकसँग तुलना गरेका थिए। उनलाई थाहा रहेनछ- यात्रुलाई जोगाउन दुई पाइलटलाई उडान अवधिमा एउटै ताउलोमा पकाइएको खाना दिइन्न। खाना विषाक्त ठहरियो भने सम्भावित प्रलयबाट जोगाउन यस्तो बुद्धिमानी अपनाइएको हो।

चालक दल सदस्यलाई उडान अवधिभर सुत्ने अनुमति हुँदैन। चालकको एपेन्डिक्स मिल्काइएको हुन्छ। एउटा जहाज चलाउने चालक यति संवेदनशील हुनुपर्छ भने देश हाँक्ने चालकको पहिलो कर्तव्य भनेकै सत्य बोल्नु हो। तर ओली र दाहालले आफ्नो नामबाहेक अरु केही सत्य बोल्दैनन्। हावा कसैले देख्दैन तर हावा छ भन्ने चराचर प्राणीको जीवनबाट प्रमाणित हुन्छ।

यदि सरकारलाई अक्सिजन ठान्ने हो पनि अक्सिजन पाएको अनुभव जनताको सहज जीवनले प्रमाणित गर्छ। राज्य हिसावकिताबमा चल्छ। चितवनको बारीमा दुई रुपियाँमा किनिएको मकैको घोगा काठमाडौंमा उपभोक्ताको हातमा पर्दा ३५ रुपियाँ पर्छ। ३३ रुपियाँ मकैको बोट नदेख्नेले खान्छ। कम्युनिस्ट पार्टी जन्मिएको ७५ वर्ष बित्यो तर कम्युनिस्ट पार्टी २ वर्ष हुँदा ०७ सालको क्रान्तिपछि बनेको सरकारले बजेटमा उल्लेख गरेका विषय र अहिलेमा तात्विक अन्तर छैन।

चितवनको बारीमा दुई रुपियाँमा किनिएको मकैको घोगा काठमाडौंमा उपभोक्ताको हातमा पर्दा ३५ रुपियाँ पर्छ। ३३ रुपियाँ मकैको बोट नदेख्नेले खान्छ।

२००८ सालमा पहिलो बजेट भाषण गरेका तात्कालीन अर्थमन्त्री सुवर्णशमशेर राणाले बजेट भाषणमा भनेका छन्- ‘अर्थ मन्त्रालयबाट बराबर ताकिता गर्दा पनि बाँकी रकमहरूको राम्रो विवरण पाउन सकिएन। यसको अर्थ नतिजा मन्त्रालयहरू र विभिन्न विभागका तालुकवालाहरूले मन्त्रिमण्डल अथवा अर्थ मन्त्रालयको स्वीकृति बिना खर्च गर्न पाएन।’

उपभोगमुखी अर्थतन्त्र वर्तमान राजश्वको मूलाधार मानिन्छ। तर उतिबेला राज्यकोषको मेरुदण्ड भनेको काठ, धान, तेलहनको निकासी कर थियो। विकासको पहिचान गर्दै राणाले भनेका छन्- ‘केही साललाई टेलिफोन, आकाशवाणी, हुलाकको सुव्यवस्था र बाटो तथा हवाई अड्डाहरूको निर्माणमा प्रचुर परिमाण खर्च गर्नुपर्ने देख्तछु।

खर्चको निकासा दिँदा कामको रेखदेख पुर्याउनु र सञ्चालन गर्न नभई नहुने मूल अड्डाहरूको खर्च बाहेक अरु खास योजनाहरुको निमित्त मात्र कार्यानुकूल खर्च निकासा हुनेछ। यस तरिकाबाट सालवसाली कर्मचारीहरू बढाउँदा हुने अपव्यय रोकिई खर्चमा पूरा नियन्त्रण रहने र योजनाहरू पनि चाँडो कार्यान्वित हुने आशा गरिन्छ। कर्जा नछोड्ने, जम्मा नजोड्ने प्रजातान्त्रिक सरकारको मान्यता छ।’

नेपालको पहिलो बजेट भाषण सुवर्णशमशेर राणाले गरेका थिए ।  पनाति पुस्ताका वर्षमान पुनः अर्थमन्त्री हुँदा बजेटको भाषाशैली लगभग त्यही अवस्थामा छ।

छातीमा हात राखेर भनौं त हामीहरु कहाँ थियौं, अनि अहिले कहाँ छौं ? पनातिपुस्ताका वर्षमान पुनः अर्थमन्त्री हुँदा बजेटको भाषाशैली लगभग त्यही अवस्थामा छ। जुनसुकै क्रान्तिवीरले सत्ता सम्हाले पनि वर्षभर अमिबाजस्तो रहने पूँजीगत खर्चको स्वरुप देखिन असार पर्खनुपर्ने बाध्यता छ। मौरीले झै अर्थमन्त्रीले राज्यकोषको माया गर्नुपर्छ भन्ने मान्यता बोकेका अर्थमन्त्रीले बजेट भाषणको अर्को ठाउँमा भनेका छन्- ‘अघिल्लो सरकारले छोडेको धन सामान्य खर्चको निम्ति उपयोग नगरी अखण्ड राख्नु मेरो कर्तव्य हो। राणा सरकारले छोडेको भण्डारखाल मूल ढुकुटी र मुलुकीखाना नोट विभागमा रहेको सुनचाँदी, पुरानो मोहर कम्पनी र नेपाली तथा विदेशी नोट र नेपाल बैंकको शेयरमा लगानी गरिएको समेत गरी सात करोड नब्बे लाख छयालिस हजार दुई सय अन्ठाउन्न रुपियाँ मौज्दात छ।’

राजनीतिमा असम्भव केही हुन्न, यो सत्य हो। बाटोको एउटा इँटा असुरक्षित हुन्छ। जब त्यो पर्खालमा अनुवाद भएर आउँछ, त्यसलाई चलाउने सामथ्र्य कसैको हुन्न। महेन्द्र र बीपी नेपालको राजनीतिक इतिहासका त्यस्ता पात्र थिए, जो मन, मुटु र मस्तिष्कबाट मिल्थे। आत्मवृतान्तमा बीपीले राजासँगको निकटता खोल्दै एक ठाउँमा यसरी अन्तरसंवाद उल्लेख गरेका छन्- ‘तपाईंलाई देख्ने वित्तिक्कै हामी कुरा गरिरहेका थियौं कि नेपालको प्रधानमन्त्री त यही मान्छे हुनसक्छ, जसले बाहिर पनि प्रतिष्ठा राख्न सक्छ। र, देखाउन पनि बाहिर सकिन्छ भने यही मान्छेलाई सकिन्छ भनेर हामी दुई कुरा गरिरहेका थियौं। तपाईंलाई सिंढीमा देख्ने वित्तिक्कै हामीले त्यो कुरा गरेको। मेरो व्यक्तिगत र निजी पाहुना तपाईं मात्र हो। अरु सबै सरकारी पाहुना हुन्।’ सन्दर्भ त्यतिमा मात्र सीमित छैन।

रानी तरकारी काट्दै गरेको ठाउँमा आफू फुत्त पस्दा ‘स्वास्नी मानिसहरुको ठाउँमा किन आएको नि’ भनेर रानी रत्नाले प्रतिप्रश्न गरेको सन्दर्भ झिक्दै बीपी रानीको मूल्यांकन गर्दै भन्छन्- ‘पीर्कामा बसीकन एउटा मध्यम वर्गकी स्वास्नीमान्छेले खास्टो त्यो पनि धेरै महँगो होइन, ओढीकन तरकारी काट्ने, केलाउने गरेको मैले देखेको छु। तिनी कुनै ठस्सावाल होइनन्। उनीहरुले मलाई सम्मान दिए, सम्मान मात्रै होइन, स्नेह दिए । यो एक किसिमको आदर पनि र माया पनि दिए।’

राजारानीप्रति बीपीको सद्भाव उनको अर्को कृति जेल जर्नलमा आइपुग्दा कटाक्षमा परिणत हुन्छ। उनी बम्किदै यसरी आगो ओकल्छन-‘आफ्नो सजायको पूरा अवधि जेलमा काटेर पनि सरकारले रिहा गरेन। अन्धाधुन्ध छ यो राज्यमा। एकदम बहुलट्ठी लागेको छ राजालाई। राजाको एकतन्त्री हुकुमी शासनको आजकाल बारम्बार प्रमाण नकच्चरो किसिमबाट स्वयं राजाले दिराखेका छन्। उनको अन्तिम दिन त होइन आएको ?’

साली रत्नासँग प्रेममा फसेको सुईंको पाएपछि त्रिभुवनले महेन्द्रलाई युवराज भएर अनैतिक काम नगर्न दबाब दिए। छोरो नल्याई नछोड्ने, बिहे गरे युवराजबाट निकाल्ने बाउको चेतावनी। बीपीले मध्यस्थ गरिदिएर महेन्द्रको युवराज पद पनि जोगियो।

त्यो भन्दा अगाडिको एउटा अर्को रोचक प्रसंग छ। साली रत्नासँग प्रेममा फसेको सुईंको पाएपछि त्रिभुवनले महेन्द्रलाई युवराज भएर अनैतिक काम नगर्न दबाब दिए। बाउछोराको गलफत्ती यतिसम्म उत्कर्षमा पुग्यो कि छोरो नल्याई नछोड्ने, अदप नाघेर बिहे गरे युवराजबाट निकाल्ने बाउको चेतावनी। आखिर बीपीले मध्यस्थ गरिदिएर राजा महेन्द्रको बाटो खोलिदिए। युवराज पद पनि जोगियो।

चेपाङ, कुसुन्डा, दनुवारको समस्याले मुलुक थला परेको होइन। न्यायालयमा जानुस् ९० प्रतिशत मुद्दा जग्गासँग सम्बन्धित छ। नजानेको, नबुझेको, नपढेको मुद्दा मामिलाको व्याकरण नै बुझ्दैन। समस्या कोट टाई, दौरा सुरुवाल लगाउनेको दृष्टिकोणमा छ। अहिले त झन् राजनीतिलाई राजनीति गर्ने भन्दा गैरराजनीतिक प्राणीबाट जोगाउनुपर्ने चुनौती छ। कपाल काट्ने हजाम, पशुपतिको विगुत बोक्ने पुजारी, दूध बोक्ने ग्वाला, पत्रिका ल्याउने हकर, फूल गोड्ने माली, सुरक्षाका लागि खटाइएको अंगरक्षक यस्तै अनपेक्षित पात्रबाट राजनीतिका असामान्य खेलकुद हुन सक्छन्।

राजा त्रिभुवनले नर्ससँग निरीह हुँदै भनेका थिए- ‘म नाम मात्रको राजा हुँ। यहाँ राणा परिवारले शासन गर्छ। प्रधानमन्त्री नै राजा हुन। म कैदी हुँ। ताला मारिएको पाँच पाँच ढोकाबाट म थुनिएको छु।’

०७ सालमा रानीको उपचारमा खटिएकी नर्स एरिगा ल्यूस्टागले समेत राजाको दूत भएर राजनीतिक परिवर्तनमा साथ दिएकी थिइन। राजा त्रिभुवनले नर्ससँग निरीह हुँदै भनेका थिए- ‘म नाम मात्रको राजा हुँ। यहाँ राणा परिवारले शासन गर्छ। प्रधानमन्त्री नै राजा हुन। म कैदी हुँ। ताला मारिएको पाँच पाँच ढोकाबाट म थुनिएको छु।’

राजा त्रिभुवनले तिनै नर्सको माध्यमबाट राणालाई सर्प, राजदूतलाई चरा र चिट्ठीलाई फूलको कुट भाषा प्रयोग गरी खबर आदान प्रदान गरेका थिए। जीवनको उत्तराद्र्धमा हरिभक्त कटवाल भन्थे- ‘फूलको थुँगोजस्तो मनपर्ने मेरो बैंस थियो। शहरभरि धेरै उदास अनुहारहरुमा हाँसो उमार्न खोज्दाखोज्दै त्यो बैंस कहिले कहाँ र कसरी गुमाएँ आपैंmलाई थाहा छैन। अब मैले आफैसँग छ भने पनि कोही पत्याउन चाहँदैन।’

जुनसुकै मानिसलाई पनि जिन्दगीमा अवसरले एकपटक छोप्छ। त्यो भेललाई कसरी उपयोग गर्ने उसको प्रारब्ध हो।

जुनसुकै मानिसलाई पनि जिन्दगीमा अवसरले एकपटक छोप्छ। त्यो भेललाई कसरी उपयोग गर्ने उसको प्रारब्ध हो। नारायणगोपाल तबलाबादक थिए। कसैले उनको बादनमा हैन, गायनमा जादु छ भनिदिएपछि उनी गायक भए। राजनीति गर्नेहरुले तीनपटक सोच्नुपर्छ- ‘सलामी बढाउने कि मलामी ?’ खादा, अविर, बधाई, अभिनन्दन, मायाको चिनो हाम्रो सन्दर्भमा यस्ता अलमल हुन, जसले थाहै नपाई हरिभक्तको बैंस समयले खाएजस्तै नेताको औकात धुलिसात बनाइ दिन्छ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ९ : ३२ बजे

कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल

कैलाली – कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी

सन् २०२९ सम्म भारतीय डिजिटल कारोबारको बजार तीन गुणा वृद्धि हुने

काठमाडौं – आर्थिक वर्ष सन् २०२३–२४ मा भारतीय डिजिटल भुक्तानीको

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

गाजा – गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक

बागलुङ कालिकामा चलचित्र ‘वसन्त’को शुभमूर्हत

गण्डकी – गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार

लगानीकर्ता भित्र्याउन भारतले सिंगापुरमा कार्यालय खोल्दै

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंगापुरमा लगानी कार्यालय स्थापना