बालेन टिम : कसरी काम गर्छन् काठमाडौंका मेयर ? | Khabarhub Khabarhub

बालेन टिम : कसरी काम गर्छन् काठमाडौंका मेयर ?

कार्यालयको काममा ध्यान, कार्यक्रममा भाषण कम


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


31.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुलुककै सबैभन्दा ठूलो स्थानीय तह काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) पेसाले ‘स्ट्रकचरल इन्जिनियर’ हुन् । दशकौंको संघर्षमय इतिहास बोकेका राजनीतिक दलले अघि सारेका उम्मेदवारलाई आश्चर्यजनक रुपमा पराजित गरेर महानगर प्रमुखमा निर्वाचित हुनुअघि उनी संगीत रुचाउने ठूलो जमात माझ ‘र्‍यापर’का रूपमा चिनिएका व्यक्ति हुन् ।

डा. रामनारायण साह र ध्रुवदेवी साहका छोरा बालेन ‘र्‍यापर ब्याटल’ नामक प्रतियोगितामा सहभागी भएपछि नयाँ पुस्ताका युवामाझ परिचित भएका थिए । मेयरमा निर्वाचित भएपछि अहिले उनी देश–विदेशमा रहेका नेपालीमाझ चर्चित बनेका छन् ।

बालेन्द्र गत ०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह र नेकपा एमालेका केशव स्थापित लगायतलाई हराउँदै अत्यधिक मतले महानगर प्रमुखमा विजयी भएका थिए । बालेन स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार थिए । उनलाई निर्वाचन आयोगले लौरो चुनाव चिह्न दिएको थियो ।

नयाँ–पुराना राजनीतिक दल र दलका नेताहरुलाई लक्षित गरेर सामाजिक सञ्जालमा बेला–बेला टिप्पणी गर्दै आएका बालेन्द्र प्रायः जसो चर्चामा रहिरहन्छन् । तर, उनी मिडियामा अन्तरवार्ता नदिने र सार्वजनिकरुपमा कम बोल्ने अन्तरमुखी नेताका रुपमा परिचित छन् । तथापि उनले आफ्नो कुराहरु सामाजिक सञ्जालबाट सटिक रुपमा राखेर चर्चा कमाउने गरेका छन् ।

पछिल्लो समय गिरीबन्धु टि स्टेटको घोटाला र केपी शर्मा ओलीसँगको टक्कर पनि सामाजिक सञ्जालबाटै मुखरित भएको हो ।

स्वतन्त्र रुपमा जितेका बालेन्द्रसँग कुनै दल छैन । महानगरका वडाध्यक्ष र सदस्यहरु पनि दलीय आधारमा निर्वाचित छन् । तर, अहिलेसम्म उनले महानगरका सबै जनप्रतिनिधि र कर्मचारीलाई समेटेर आफ्नो नेतृत्वमा लिएर हिँडेको देखिन्छ ।

धेरै मानिसहरुमा चासो छ, आखिर बालेन्द्रले कसरी काम गरिरहेका छन् ? एक्लै चुनाव जितेका उनले व्यक्तिगत आवेगमा काम गर्छन् या सल्लाहकारहरुको कुरा सुन्छन् ? आखिर मेयर बालेन्द्र शाहको टिम कस्तो छ ?

बालेन्द्रको स्वकीय सचिवालय

काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि बालेनले भुपदेव शाहलाई स्वकीय सचिवमा नियुक्त गरेका थिए । बालेनको चुनावी अभियानका क्रममा सक्रिय भुपदेवलाई सुरुमा करारमा नियुक्त गरिएको थियो ।

उनी २०७९ जेठ १८ बाट बालेनको प्रमुख स्वकीय सचिवका रुपमा कार्यरत छन् । अधिकृत सातौं तहको सेवा–सुविधा लिँदै आएका भुपदेव बालेन्द्रका नातेदार भने होइनन् । उनी अछामका शाह हुन् । उनी अध्ययनको शिलशिलामा काठमाडौं आएको नजिकबाट चिन्नेहरु बताउँछन् ।

बालेन्द्रले भुपदेवलाई नियुक्त गरेको केही समयपछि सहायक स्वकीय सचिवका रुपमा नवीन भण्डारीलाई नियुक्त गरेका थिए । उनी पाचौँ तहको कर्मचारीका रुपमा २०७९ असारबाट बालेन्द्रको सचिवालयमा कार्यरत छन् । गुल्मी जिल्ला स्थायी घर भएका नवीन स्थानीय तह निर्वाचनमा बालेनको प्रचार–प्रसारमा खटिएका युवामध्ये पर्दछन् ।

महानगर प्रमुख बालेन्द्रले चुनावी अभियानमा सघाएका निकटवर्ती साथीहरु मध्ये दुईजनालाई आफ्नो सचिवालयमा स्थान दिएका छन् । उनले ललितपुरका कुमार बेनका नामले परिचित कुमार व्यञ्जनकार र भैरहवाका सुदीप ढकाललाई पनि सचिवालयमा समेटेका छन् ।

बालेन्द्रले कुमारलाई व्यवस्थापन सल्लाहकारका रुपमा सचिवालयमा राखेका छन् । उनले चुनावमा उठ्ने घोषणा गरेदेखि नै कुमार प्रत्यक्षरुपमा जोडिएका युवा हुन् ।

सुदीपमार्फत् बालेन्द्रले योजनाको काम गर्दै आएका छन् । सुदीप आईटी विज्ञ हुन् । सुदीपसँग रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आईटी सल्लाहकारका रुपमा काम गरिसकेको अनुभव छ ।

महानगर प्रमुख बालेन्द्रले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का सस्मित पोख्रेललाई महानगरभित्र शिक्षाको जिम्मेवारी दिएका छन् । उनी पनि स्थानीय तह निर्वाचनमा चुनावमा हिँड्ने मध्येमै पर्दछन् । सस्मितले काठमाडौं विश्वविद्यालयबाट बीए– एलएलबीको अध्ययन पूरा गरेका छन् । उनले बालेनलाई कानुनी क्षेत्रमा पनि सघाउँदै आएका छन् ।

महानगर प्रमुख बालेन्द्रको सचिवालयमा कञ्चनपुरका युवाले पनि स्थान पाएका छन् । उनले धिरज जोशीलाई बालबालिका सम्बन्धी सम्पूर्ण काम हेर्ने गरी जिम्मेवारी तोकेका छन् । धिरजले कानुन र शिक्षा क्षेत्रमा पनि बालेनलाई सहयोग गर्दै आएका छन् ।

काठमाडौं विश्वविद्यालयमा कानुनका विद्यार्थी रहिसकेका धिरज चुनावताका भने बालेनसँग थिएनन् ।

बालेनलाई सञ्चारमा पत्रकार सुरेन्द्र बजगाईंले सघाउँदै आएका छन् । स्थानीय तह निर्वाचनका बेला उनी काठमाडौंबाट प्रकाशित हुने एक अनलाइनमा कार्यरत थिए ।

ललितपुरको महांकालका सुरेन्द्रलाई बालेन्द्रले सञ्चार हेर्ने जिम्मेवारी दिएका छन् । उनी महानगरभित्र तत्काल समाधान गर्नुपर्ने कामहरुको समन्वय पनि गर्दै आएका छन् ।

बालेन्द्रलाई विनय शाक्यले मल्टिमिडियामा सघाउँदै आएका छन् । छैटौं तहको कर्मचारीका हैसियतमा बालेनको निजी सचिवालयमा उनी फोटोग्राफर पदका लागि नियुक्त भएका व्यक्ति हुन् ।

 

बालेन्द्रका सल्लाहकार

बालेन्द्रले विभिन्न क्षेत्रको अनुभव बटुलिसकेका व्यक्तिहरुलाई अवैतनिक सल्लाहकारका रुपमा राखेका छन् । स्रोतबाट प्राप्त सूचनाअनुसार विभिन्न समयमा प्रमुख स्तरीय निर्णय गरेर बालेन्द्रले अवैतनिक सल्लाहकारहरु नियुक्त गरेका छन् ।
भैरहवाका सुनील लम्साललाई उनले पूर्वाधार सल्लाहकारसँगै फोहरमैला व्यवस्थापनको सम्पूर्ण जिम्मा दिएका छन् ।

‘काठमाडौंको फोहोरमैलाको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी सुनील लम्साललाई दिइएको छ,’ सचिवालयका एक सदस्यले खबरहबसँग भने । सुनील बालेनका निकटवर्ती साथीमध्येमा पर्दछन् ।

बालेन्द्रको सल्लाहकारका रुपमा नियुक्त भएकाहरुमा सबैभन्दा धेरै खाद्य क्षेत्रका रहेका छन् । खाद्य तथा गुण नियन्त्रण विभागकी पूर्वडीजी जीवन प्रभा लामा, सन्तोष गिरी र सेफ सन्तोष शाहलाई खाद्य क्षेत्रमा सल्लाहकारका रुपमा राखिएको छ । सेफ सन्तोषलाई खाद्य दूतका रुपमा समेत राखिएको छ ।

बालेनले प्रा.डा. जगदीश अग्रवाललाई अवैतनिक स्वास्थ्य सल्लाहकारका रुपमा नियुक्त गरेका छन् । उनी चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का पूर्व डिन हुन् । अग्रवाललाई वरिष्ठताका आधारमा आईओएमको डिन नियुक्त गर्नुपर्ने माग राख्दै विगतमा प्रा.डा. गोविन्द केसी अनशन नै बसेका थिए ।

त्यस्तै महानगरमा ट्राफिक व्यवस्थापनसम्बन्धी पनि बालेन्द्रले सल्लाहकार राखेका छन् । ट्राफिक व्यवस्थापन सल्लाहकारका रुपमा जगतमान श्रेष्ठ रहेका छन् । बालेन्द्रले उनलाई २०७९ भदौ २८ मा ट्राफिक विज्ञ सल्लाहकारका रुपमा नियुक्त गरेका हुन् । जगतमान नेपाल प्रहरीका पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुन् ।

मेयर शाहको सचिवालयका एक सदस्य भन्छन्, ‘सचिवालयमा रहेका सदस्य र सल्लाहकारहरुले मेयरलाई काम नपरी भेट्ने भन्ने हुँदैन । भीडभाड गरेर बस्दैनौँ । काम पर्दा भेटघाट, छलफल हुन्छ । जुन विषयमा छलफल गर्ने हो, त्यही विषयसँग सम्बन्धित व्यक्तिसँग मेयरले छलफल गगर्नुहुन्छ ।’

बालेन्द्रले पूर्वमिस नेपाल अनुष्का श्रेष्ठलाई कम्युनिकेसन एडभाइजरका रुपमा र यादवलाल कायस्थलाई सम्पदा सल्लाहकारका रुपमा नियुक्त गरेको सचिवालय स्रोतले जनाएको छ ।

बालेन्द्रका कानुनी सल्लाहकारमा अधिवक्ता ओमप्रकाश अर्याल रहेका छन् । उनलाई कानुनी सल्लाहकारका रूपमा परामर्श दिने र महानगरका तर्फबाट पक्षमा मुद्दाको वकालत गर्ने जिम्मेवारी दिइएको छ ।

अधिवक्ता अर्यालबाहेक अन्य सल्लाहकारहरु अवैतनिक भएको सचिवालयले जनाएको छ । ‘ओमप्रकाश अर्यालबाहेक सबै सल्लाहकारहरु अवैतनिक हुन्,’ बालेन्द्रको सचिवालयका एक सदस्यले भने ।

मेयर शाहको सचिवालयका अनुसार महानगरको सहरी योजना आयोगका सबै सदस्य बालेनको ‘कोर टिम’ भित्र पर्छन् । उनले सहरी योजना आयोगको उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीलाई नियुक्त गरेका छन् । आयोगमा बालेन्द्रले विषय विज्ञका रूपमा कर्मचारीहरु नियुक्त गरेका छन् ।

महानगरको सहरी योजना आयोगमा रहेका सबै कर्मचारी मेयरले नै नियुक्ति गर्न पाउने कानुनी अधिकार छ । योे टिमले महानगरका विभाग तथा योजनामा काम गर्ने गर्छ ।

महानगर प्रमुख बालेन्द्र समान्यतया कार्यालय समयअगावै काठमाडौं प्लाजामा रहेको कार्यालयमा पुगिसक्छन् । उनी त्यहाँ कार्यालय समयभन्दा पछिसम्म बस्ने गर्छन् । बाहिरी कार्यक्रममा अनावश्यक रुपमा नहिँड्ने भएकाले बालेन्द्रले अधिकांश समय कार्यालयकै काममा बिताउने गर्छन् ।

मेयर शाहको सचिवालयका एक सदस्य भन्छन्, ‘सचिवालयमा रहेका सदस्य र सल्लाहकारहरुले मेयरलाई काम नपरी भेट्ने भन्ने हुँदैन । भीडभाड गरेर बस्दैनौँ । सामान्यतया काम पर्दा भेटघाट, छलफल हुन्छ । जुन विषयमा छलफल गर्ने हो, त्यही विषयसँग सम्बन्धित व्यक्तिसँग मेयरले छलफल गगर्नुहुन्छ ।’

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ६ : ५८ बजे

सरकारको प्राथमिकतामा गुणस्तरीय र जीवनोपयोगी शिक्षा : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा

अर्थ समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार सन्

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं – ऋषिपञ्चमी पर्व आइतबार नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको