जनकपुरमा भारतसँग सम्बन्ध सुधार्न सुझाव, महाधिवेशनमै चीन पुग्यो जसपाको टोली | Khabarhub Khabarhub

जनकपुरमा भारतसँग सम्बन्ध सुधार्न सुझाव, महाधिवेशनमै चीन पुग्यो जसपाको टोली


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन बिहीबार जनकपुरमा समापन भएको छ ।

तर एकताको नाम दिएर गरिएको महाधिवेशनको बीचमै केही नेताहरू चीनतिर उडेका छन् ।

उपेन्द्र यादवले अध्यक्षमा आफूलाई सर्वसम्मत गराइसकेपछि अन्य पदाधिकारी चयन नगरी बिहीबार नै महाधिशेनका सबै कार्यक्रम सकिएको छ।

तर त्यसअघि नै मंगलबार जसपाका केन्द्रीय तहका केही नेताहरू चीनतिर उडे । यसरी चीन यात्रामा निस्किनेमा जसपाका मधेश प्रदेश सदस्यसमेत छन् ।

चाख लाग्दो कुरा के छ भने यस पटक जसपाको महाधिवेशनमा कुनै पनि चिनियाँ नेता आएनन् । अध्यक्ष यादवनिकट स्रोतका अनुसार यस पटकको महाधिवेशनमा चिनिया कम्युनिस्ट पार्टीलाई निम्ता नै गरिएको थिएन ।

यस्तोमा कुनै पनि चिनियाँ नेता जनकपुर आएनन् । बरु अधिवेशनकैबीचमा मंगलबार जसपाका मधेश प्रदेश सदस्य किरण साहसहितको टोली चीन यात्रामा निस्कियो ।

चीन यात्रामा निस्किएको उक्त टोलीको कार्यक्रम केही खुलाइएको छैन । टोलीमा प्रदेश सांसद साहसहित मधेस प्रदेशका विद्यार्थी अध्यक्ष दीपेश यादव, रामु महरा, अमरेन्द्र यादव र सुरेन्द्र यादव रहेका छन् ।

‘उहाँहरूको चीन यात्रा कार्यक्रम पहिले नै निर्धारण भइसकेको हो । यसलाई अन्य अर्थ लगाएर बुझ्नु गलत हुन्छ’, अध्यक्ष यादवनिकट एक नेताले खबरहबलाई भने, ‘पहिले नै तय भइसकेको कार्यक्रम भएकाले उहाँहरू महाधिवेशनबीचमा जानु परेको हो । अध्यक्ष यादवको सल्लाहमै जानु भएकाले महाधिवेशन छाडेर हिँडेको भन्न मिल्दैन ।’

आरोप

जसपा अध्यक्ष यादवलाई चिनियाँनिकटको आरोप लाग्ने गरेको छ । त्यहीकारण उनले यस पटकको महाधिवेशनमा चीनलाई निम्तो नै दिएनन् ।

बरु भारतसहित दक्षिण एसियाली र युरोपेली मुलुकका प्रतिनिधि जसपा महाधिवेशनमा आए । अन्य मधेशवादी दलहरूले लगाउने गरेको चीननिकटको ट्याग मेटाउने कोसिसस्वरुप यादवले यस पटक उत्तरलाई निम्तो नदिएको स्रोतको भनाइ छ।

जसपा प्रवक्त मनिष सुमनका अनुसार बरु भारत, मलेसिया, अजरबैजान, स्पेन र इण्डानेसियाबाट अतिथिहरू यो महाधिवेशनमा आएका थिए ।

मलेसियाको डेमोक्रेटिक एक्सन पार्टीका युवा नेता नुर रहिम बिन निसार, भारतीय समाजवादी पार्टीका नेता एवम् सामाजिक चिन्तक डा. सुनिलम महाधिवेशनमा भाग लिन आएका थिए ।

त्यस्तै स्पेनिस सोसलिस्ट वर्कर पार्टीका अन्तर्राष्ट्रिय संयोजक रिकार्ड टोरेल, भारतका सोसलिस्ट पार्टीका प्रवक्ता मनिस सिंह, राष्ट्रिय जनता दलका प्रवक्ता आलोक मेहता, भारतीय कांग्रेसका नेता बीआर पाटिल र प्रवक्ता उदित राजसमेत अतिथिका रूपमा आए ।

त्यस्तै अजरबैजानका सांसद स्माइलोभ शाहिन, प्रोग्रेसिभ एयरलाइन्स र सोसल डेमोक्रेटिक एलाइन्सका प्रतिनिधि पनि महाधिवेशनमा आएका थिए ।

यादवले भूराजनीतिक दृष्टिकोणबाट भारतसँगको दूरी नबढाउने योजनासहित चीनबाहेकका प्रतिनिधिलाई बोलाएको उनीनिकट नेताको तर्क छ।

सुझाव

‘जहिले भारतविरोधी ट्याग लाग्ने गरेको छ । यस पटकको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा पनि भारतसँगको सम्बन्ध सुधार्नुपर्ने कुरा उठेको छ’, ती नेताले भने, ‘महाधिवेशनमा समूहबाट आएको सुझाव भनेको भारतसँग सम्बन्ध सुधार गर्दै जानुपर्ने रहेको छ ।’

यादवको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफलबाट आएका ९ मुख्य सुझावमध्ये एउटा विदेशी एवम् छिमेकीसँगको सम्बन्धबारे पनि थियो ।

‘विदेशी एवम् छिमेकी सँगको सम्बन्ध र नीतिबारे पार्टी प्रस्ट हुनु पर्छ’, समूहगत सुझाव दिँदै नेता-कार्यकर्ताले भनेका थिए, ‘खासगरी छिमेकी मुलुक भारतसँग सम्बन्ध सुधारको लागि स्पष्ट नीति ल्याउनु पर्नेमा नेतृत्वले जोड दिनुपर्छ ।’

चीननिकट आरोपको सामना गरिरहेका यादवलाई नेता-कार्यकर्ताले भारतसँग सम्बन्ध सुधार्न दबाब दिइरहेका बेला एउटा टोली उत्तरतिर गएको हो ।

‘उहाँहरूको कार्यक्रम पहिले नै तय भइसकेको थियो । भ्रमणमा जानु भएकाहरूले जसपा नेतृत्व तहको सन्देश त लान सक्नु होला तर कुनै राजनीतिक कुराकानी गर्ने अवस्था छैन’, यादवनिकट ती नेताले भने, ‘उहाँहरू केवल सद्‍भावना भ्रमणका लागि जानु भएको हो । यसलाई भारततिर सम्बन्ध विस्तारको कुरा आइरहँदा चीनतिर नजिकिएको रुपमा बुझ्नु उचित हुँदैन ।’

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ३ : ०६ बजे

प्रिमियरसिप : लिभरपुलको अग्रता, पालमरको चार गोलमा चेल्सीको जित

काठमाडौं– कोल पालमर प्रिमियरसिपको पहिलो हाफमा नै चार गोल गर्ने

बाढी–पहिरो अपडेट : ९९ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौं– भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९

आज सर्वदलीय बैठक बस्दै

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ

आजको मौसम : आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज

आज २०८१ साल असोज १३ गते आइतबारको राशिफल

काठमाडौं– आज २०८१ साल असोज १३ गते आइतबार तदनुसार सन्