काठमाडौं- सत्ता साझेदार नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनमा १८ सय ७८ जना प्रतिनिधिहरू सहभागी हुने भएका छन् ।
आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि प्रतिनिधि संख्या शुक्रबार सार्वजनिक गरिएको हो ।
अध्यक्ष माधवकुमार नेपालले शुक्रबार अन्तरपार्टी निर्देशिका (अपानि) जारी गर्दै महाधिवेशन प्रतिनिधि र निर्वाचन कार्यक्रमसमेत सार्वजनिक गरेका हुन् ।
अपानिमा भूगोलका संघीय निर्वाचन क्षेत्रबाट ११५७ जना, उपत्यका प्रदेशका जिल्ला कमिटीका कार्यक्षेत्रबाट २३ जना, प्रदेश सम्पर्क कमिटी क्षेत्रबाट २२ जना, भारत प्रवास क्षेत्रबाट ८ जना अन्य प्रवास क्षेत्रबाट १५ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने निश्चित भएको छ ।
केन्द्रीय सल्लाहकार परिषद्बाट ५ जना, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चबाट ५ जना, विभिन्न महासंघहरूबाट ८५ जना र जनसंगठनबाट ५६ जना प्रतिनिधि महाधिवेशनमा आउने भएका छन् ।
अपानिमा उल्लेख भएअनुसार केन्द्रीय कमिटीबाट ३४६ जना, केन्द्रीय आयोगहरूबाट १०४ जना, केन्द्रीय विभाग र केन्द्रीय कार्यालयबाट ३२ जना र मजदुर विशेष आरक्षणबाट २० जना प्रतिनिधि महाधिवेशनबाट आउँदैछन् ।
महाधिवेशनमा रसुवा र मनाङबाट जम्मा १ जना मात्रै प्रतिनिधि आउने भएका छन् । रसुवामा जम्मा ६३ जना पार्टी संगठित सदस्य छन् । त्यहीकारण खुल्लातर्फबाट महाधिवेशनमा एकजना सहभागी हुने भएका छन् । हिमालपारिको मनाङमा समाजवादीका ५ जना पार्टी सदस्य छन् । मनाङबाट पनि १ जना मात्रै महाधिवेशन प्रतिनिधि आउने भएका छन् ।
महाधिवेशन मधेश प्रदेशबाट सबैभन्दा धेरै २९६ जना प्रतिनिधि आउने भएका छन् । मधेश प्रदेश अध्यक्ष नेपालको गृह प्रदेश पनि हो । उनले रौतहटबाट चुनाव जितेका छन् । बागमती प्रदेशबाट २०५ जना प्रतिनिधि आउँदैछन् । उता गण्डकीबाट ७० जना मात्रै प्रतिनिधि आउँदैछन् ।
०७८ असारमा एमालेबाट विभाजित भएर साउनमा एकीकृत समाजवादी दर्ता भएको दल हो । समाजवादीले एमालेकै लिगेसीलाई निरन्तरता दिँदै असार १६ देखि २० गतेसम्म १०औँ महाधिवेशन गर्ने भएको हो । समाजवादीले आफ्ना सदस्यको इतिहास पनि एमालेसँगै जोडेर गणना गरेको छ ।
प्रतिक्रिया