‘एसईईमा हामीले पढाइको नतिजा खोज्यौं, सिकाएनौं’ | Khabarhub Khabarhub

शिक्षकका तर्क

‘एसईईमा हामीले पढाइको नतिजा खोज्यौं, सिकाएनौं’

नीतिनिर्माता र अभिभावक नै मुख्य दोषी !



विद्यालय शिक्षा परीक्षा (एसईई) मा सामेल बहुमत विद्यार्थी (५२.१४ प्रतिशत) असफल भएका छन् । यो असफलताबारे विभिन्न कोणबाट टिप्पणी भइरहेको छ । असफलताको जिम्मेवारी लिन शिक्षकहरू तयार छैनन्, न त्यसो गर्न उनीहरू बाध्य नै छन् । न त तालुकदार मन्त्रालयको नेतृत्व गरेका मन्त्री र कर्मचारीहरूमै त्यो संवेदनशीलता देखिन्छ ।

नैतिकताको संकट मुलुककको कार्यकारी प्रमुखदेखि कार्यालय सहयोगीसम्म विस्तार भएको छ । प्रधानमन्त्रीको सचिव मानिने बहालवाला मुख्यसचिव भ्रष्टाचारको काण्डमा निलम्बित हुन्छन् । तर प्रधानमन्त्री सुशासनको भाषण गरेर थाक्दैनन् । अदालतबाट न्याय, पुलिसबाट अनुसन्धान, पत्रकारबाट समाचार, कर्मचारीबाट सुशासन, अस्पतालबाट उपचार र स्कुलबाट शिक्षाको ज्योति दुर्लभ बन्दै गएको छ ।

यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईई परीक्षाको नतिजाले देशको शैक्षिक जग कमजोर मात्र देखाएको छैन, विद्यार्थी फेल भएको रमिता हेर्ने शिक्षकको चरित्रमा कहिले सुधार आउँछ भन्ने प्रश्न पनि उठाएको छ । परीक्षा दिएका विद्यार्थीमध्ये ५२.१४ प्रतिशत अनुत्तिर्ण भएका छन् ।

अर्को वर्षको परीक्षामा सुधार ल्याउन सरकारी कार्यक्रम कस्तो हुन्छ ? कसैलाई पत्तो छैन । के विद्यार्थी असफलताको स्वामित्व शिक्षकले लिनुपर्दैन ? यो प्रश्नको जवाफ हामीले काठमाडौंका केही स्वनामधन्य सामुदायिक विद्यालयका शिक्षकलाई सोधेका थियौं ।

‘शिक्षा सिरिन्जबाट दिन मिल्दैन’
पवित्रा सुवेदी, रत्नराज्य स्कुल

शिक्षक भनेको खेती लगाउने कृषकजस्तो हो । बालीमा जति सुधार भए पनि अझै राम्रो गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । समग्रमा हेर्दा नतिजा राम्रो होइन । तर, सामुदायिक विद्यालयको हकमा नतिजा राम्रो हो । विद्यार्थीको पारिवारिक पृष्ठभूमि, वातावरण र अभिभावकको समयले शिक्षण सिकाइलाई सहयोग गर्छ ।

अभिभावक, विद्यार्थी स्वयम, समुदाय र बौद्धिक वर्ग सबैले शिक्षकलाई दोष दिने प्रवृत्ति छ । सबैभन्दा दोषी अभिभावक, शिक्षासँग सम्बन्धित निकाय हो । शिक्षक मेसिन होइन, सिरिन्जबाट ज्ञान दिन सकिँदैन । सिकाइका लागि विद्यालयभित्र र बाहिरको वातावरणले प्रभाव गर्छ । शिक्षाका नीति तथा कार्यक्रमले गर्छ ।

शिक्षकलाई तेस्रो दर्जाको नागरिकको रूपमा हेरिएको छ । तलब सुविधाबारे सबैलाई थाहा छ । विद्यार्थीलाई जसरी शिक्षकलाई पनि उत्प्रेरणा दिनुपर्छ । २० वर्षदेखि राहतमा पढाइरहेका शिक्षकको मनोदशा कस्तो हुन्छ ? हौसला, खुसी, प्रेरणा कुनै पनि क्षेत्र र उमेरको मानिसलाई चाहिन्छ । ३ महिनादेखि हामीले तलब पाएका छैनौं ।

नतिजा भनेको ‘ग्रुप वर्क ’ हो । एक विद्यार्थी , शिक्षक, अभिभावक र नीति निर्माता सबै मिलेर काम गर्न सकेमा मात्रै राम्रो नतिजा दिन सकिन्छ । कोभिडपछि समग्र विद्यार्थीमा अध्ययनप्रति रुचि घट्दै गएको छ । आर्थिक, सामाजिक र मानसिक समस्या बढ्दै गएको छ ।

‘बच्चाको स्वामित्व अभिभावकले लिँदैनन्‌’
रामाशिष यादव, प्रधानाध्यापक रत्नराज्य स्कूल

अघिल्ला वर्षहरूमा पढाइप्रति विद्यार्थीको आकर्षण थियो । अहिले आकर्षण बढाउन वा पढाइप्रति रुचि जगाउन नसकिएको अवस्था छ ।

यस वर्षको नतिजा हेरिसकेपछि शिक्षा प्रणालीलाई सुधार गर्नुपर्ने देखिन्छ । नतिजा दिने प्रणाली हरेक वर्ष फरकफरक गरिएको छ । केही वर्ष स्थिर त हुनुपर्‍यो । विद्यमान प्रणालीले विद्यार्थीको पढाइ प्रतिको सोच र धारणालाई हतोत्साही गरेको छ ।

अर्को; अभिभावक सचेत नभएको अवस्थामा नतिजा कमजोर हुन गएको छ । यो प्रणालीसँग उहाँहरूको असन्तुष्टि खै ? आफ्नो बच्चा बिहान कति बजे उठ्छ ? होमवर्क गर्छ ? विद्यालय हिँडेको बच्चा पुगेको छ वा छैन ? संगत कस्तो छ ? यसबारे सोच्ने र आवश्यक व्यवस्थापन गर्ने फुर्सद कसैलाई छैन ।

अभिभावकले आज विद्यालयमा के पढियो भनेर सोध्न र दिनमा एक घण्टा समय बच्चाहरूका लागि दिने गरेका छैनन् । भर्ना मात्रै गराएर उत्कृष्ट नतिजा अपेक्षा गर्नुहुँदैन ।

निजी तथा सरकारी जुनसुकै विद्यालयमा पनि अभिभावको निगरानी मुख्य कुरा हो । पाठ्यक्रम सबैको एउटै हो । विदेशको शिक्षा परिवेशलाई नक्कल गरेर नतिजा राम्रो आउँदैन । सरकारले विद्यार्थी पलायन रोक्ने नीति ल्याउनुपर्छ ।

‘पाठ्यक्रम बनाउने एउटा, गाली खाने शिक्षक’
जीवनप्रकाश रेग्मी

यो नतिजा पढाइ ज्यादा र सिकाइ कमको निचोड हो । पढाएपछि आउने नतिजा यस्तै हो । हाम्रो पाठ्यक्रमले पढाउने व्यवस्था गरेको छ । विद्यार्थीलाई सिकाएको भए यो नतिजा देख्नु पर्दैनथ्यो । सिकाइ भनेको विद्यार्थीलाई पढाइप्रचि रुचि जगाउनु हो ।

हामीले पढाए अनुसार यो नतिजा धेरै राम्रो हो । जसरी पढाएका छौं- त्यो अनुसार १२ प्रतिशत मात्रै पास हुनुपर्ने हो । वास्तविक नतिजा यो भन्दा बढी छैन । हिजो ३६ सालमा र ४० सालमा पनि नतिजा राम्रो होइन । सिकाइको नतिजा शत्‌प्रतिशत हुन्छ ।

खासमा नतिजा २० प्रतिशतमात्रै उत्तीर्ण हो । ४७ प्रतिशत उत्तीर्ण भएको नतिजा अनेक गरेर निकालिएको हो । आफ्नो मौलिक शिक्षा नीति बनाएर अघि बढ्ने हो भने अवस्था सुधार हुन्छ । विदेशी चन्दा दाताले बनाएरको नीतिले सुधार हुँदैन । पाठ्यक्रमको कमजोरीले यो नतिजा भोग्नुपरेको हो ।

भूकम्प र कोभिडजस्ता विपत्तिले नेपालको समग्र शिक्षा प्रणालीलाई असर गरेको छ । यो १० वर्षको असर हो । एक कक्षामा विक्षिप्त भएको बच्चा १० कक्षासम्म सन्तुलनमा आउन सकिरहेको हुँदैन । यो अवधिमा बच्चाहरूको शैक्षिक नतिजा कमजोर हुन्छ । अझै केही वर्ष कमजोर नतिजा आउनु स्वाभाविक हो ।

पाठ्यक्रम बनाउने अर्को हुन्छ । गाली चाहिँ शिक्षकले खाइरहेका छन्‌ । शिक्षकलाई दोष दिन सजिलो छ । शिक्षा प्रणाली, पाठ्यक्रम बनाउने र सरकार सबै उम्किए । पाठ्यक्रम अनुसार नै शिक्षक दौडने हो ।

सिकाइ ‘मेरो लागि हो’ भन्ने भावना जगाउनुपर्छ । ‘सिकिएन भने मेरो जीवन गयो’ भन्ने भावना विद्यार्थी स्वयम्‌मा जागृत गराउनुपर्छ ।

पाठ्यक्रम अनुसारका शिक्षक अभाव
रीता तिवारी, प्रधानाध्यापक, पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालय

यस विद्यालयबाट ८९ जना विद्यार्थीले परीक्षा दिएका थिए । त्यसमा केही विद्यार्थी गणित र विज्ञानमा कमजोर देखिएका छन् । बाँकी सबै विषयमा राम्रो अंक ल्याएका छन् । गत वर्षको तुलनामा हाम्रो विद्यालयको नतिजा सुधारोन्मुख हो ।

गत वर्ष सैद्धान्तिक र व्यवहारिक ज्ञान जोडेर जीपीए निर्धारण गरिएको थियो । अहिले सैद्धान्तिकमै ३५ ल्याउनेपर्ने भयो । त्यो हिसाबले विद्यार्थीको मिहिनेत पहिले भन्दा अहिले राम्रो हो । तर, ३५ नल्याउने बित्तिकै अनुत्तीर्ण भए ।

बाहिर दूरदराजका र काठमाडौं उपत्यकाका विद्यार्थीलाई एकै प्रश्न दिइएको छ । तर, त्यो पाठयक्रम अनुसारको सिकाइको लागि आवश्यक जनशक्ति, शिक्षण सामाग्री र प्रयोगात्मक अभ्यास दिइयो वा दिइएन ?

पाठ्यक्रम धेरै कठिन बनाइदिएर पनि यो नतिजा आएको हो । गणित र विज्ञानको प्रयोगात्मक गराउनै मुस्किल छ । विद्यार्थीको आन्तरिक क्रियाकलापमा २५ प्रतिशत दिइएको छ । त्यस लगायत पाठ्यक्रम परिमार्जन गर्नुपर्छ । ३ घण्टाको परीक्षामा अनुत्तीर्ण भएको विद्यार्थीलाई कमजोर ठान्न हुँदैन ।

घरको वातावरणका कारण पनि धेरै विद्यार्थीले राम्रोसँग पढ्न सकेका छैनन् । शिक्षकको पनि केही कमजोरीले अनुत्तीर्ण भएको सत्य स्वीकार्नुपर्छ ।

अर्को वर्षको सुधारका लागि सबै पक्ष सचेत हुनुपर्छ
राजेन्द्र महरा, शिक्षक, पद्मकन्या विद्याश्रम

समग्र नतिजा कस्तो आयो भन्नेमा चासो हुन्छ । अर्को; शिक्षकलाई आफ्नो विषयमा विद्यार्थीले कस्तो नतिजा ल्याए भन्ने कुरामा चासो हुन्छ ।

यसमा सबैभन्दा अधिक गणित र विज्ञानमा फेल भएका छन् । हाम्रो विद्यालयमा गणितमा विगत ८० प्रतिशत विद्यार्थी पास छन् । यो वर्ष ८८ प्रतिशत पास भएका छन् ।

देशभरको समग्र नतिजाले विद्यार्थी, शिक्षक र अभिभावक सबैलाई सजग बनाएको छ । जति हामीले मेहनत गरेका छौं- त्यो पुगेको छैन ।

४७ प्रतिशत विद्यार्थी पास हुनु पनि राम्रो हो । हाम्रो तयारी जति थियो- त्यसअनुसार नतिजा आएको हो । राज्यका सबै निकायले गरेको प्रयास यत्ति नै थियो ।

५२ प्रतिशत अनुत्तीर्णलाई हेरेर अब अल्झने होइन । भोलि सुधार गर्न सकिन्छ । अब यसलाई आधार बनाएर अर्को वर्ष उत्कृष्ट नतिजाको लागि तयार हुनुपर्छ । विद्यार्थी, शिक्षक, अभिभावक, परीक्षा नियन्त्रण कार्यालय र शिक्षा मन्त्रालयलाई कमजोर देखाएर टिकाटिप्पणी गर्नुभन्दा सुधार कसरी गर्न सकिन्छ भनी सल्लाह दिनुपर्छ ।

राम्रो वातावरण पाएका विद्यार्थी पास भएका छन् । कुन वातावरणले विद्यार्थीको पढाइ प्रभावमा पारेको छ, त्यसको खोजीमा लाग्नुपर्छ । अबको समय मोबाइलबाट बच्चाहरूलाई टाढा राख्न सकिँदैन । मोबाइललाई पढाइसँग जोड्नेतर्फ लाग्नुपर्छ ।

‘नेपाली बुझाउन महाभारत हुँदैछ’
मुनाकुमारी निरौला, शिक्षक, पद्मकन्या विद्याश्रम

पहिलेको तुलनामा अहिले नेपाली बुझाउन गाह्रो हुँदै गएको छ । राम्रो नतिजाका लागि धेरै नै मेहनत गर्नुपरेको छ । मिडिया, सामाजिक सञ्‍जाल र घरमा पनि अभिभावकले धेरै अग्रेजी प्रयोग गर्ने र सुन्ने गर्ने बच्चाहरूलाई आफ्नै भाषा कठिन हुँदै गएको छ ।

सरकारी विद्यालयहरूमा पनि अंग्रेजी माध्यम अनिवार्य गराइएको छ । यसले नेपाली ओझेलमा पर्छ कि भन्ने डर छ । उत्तीर्ण कम भएपनि विद्यार्थीहरूको मूल्याङ्कन सही छ । अभिभावक- जो आफ्ना बच्चाहरूको पढाइप्रति सचेत छन्, उनीहरूको नतिजा राम्रो छ । जसका अभिभावक सचेत छैनन् , उनीहरूका बच्चा फेल भएका छन् ।

शिक्षकले त सबै विद्यार्थीलाई बराबर नै पढाउने हो । विद्यार्थीको फर्म भर्ने समय सकिन लाग्यो भनेर अभिभावकलाई विद्यालयले नै सम्झाउनुपर्छ । कोरोनाको प्रभावले परीक्षा नदिई कक्षा बढाइएको थियो । गत वर्ष १२ पास भएर अहिले स्नातक पढ्ने विद्यार्थी एसईई नदिई पास भएका हुन् । अहिले एसईई दिनेहरू सात कक्षामा वार्षिक परीक्षा नदिई माथिल्लो कक्षा पढेका हुन् । त्यसैको असर परेको हो । टेष्ट पनि हट्यो, खुरुखुरु पास हुने नीति आयो ।

यतिखेर विद्यालय शिक्षाको नतिजामा त्यसको असर परेको छ । नतिजाको प्रभाव विद्यार्थी र शिक्षकको कमजोरीले मात्रै हुने होइन । विद्यार्थीको शिक्षासँग सम्बन्धित सबै क्षेत्र निकायले यस प्रकारको नतिजाको जिम्मेवारी लिनुपर्छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ५ : १६ बजे

चितवनमा रगतको अभाव, रक्तदान गर्न दाताहरूलाई आग्रह

चितवन– जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण रक्तदान

आरएसडिसी लघुवित्तले १० प्रतिशत बोनस दिने 

काठमाडौं– आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–०८१ को

बिजुलीको झिलीमिलीले ओझेलमा माटोका पाला

जलेश्वर– बिजुलीको झिलीमिलीमा स्थानीय रमाउन थालेपछि तराईमा तिहार र छठका

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौ‌ं– काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको

विपक्षी दलहरूसँगको छलफलमा प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी