विश्वासको मत लिँदा ओलीलाई छेक्न सक्लान् प्रचण्डले ? | Khabarhub Khabarhub

विश्वासको मत लिँदा ओलीलाई छेक्न सक्लान् प्रचण्डले ?

प्रचण्ड सरकारको ‘डेडलाइन‘ असार २८



काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते संसद्बाट विश्वासको लिने निर्णय गरेका छन् । उक्त निर्णयको जानकारी उनले संसद् सचिवालयलाई शुक्रबार दिएका छन् ।

यही १९ गते बुधवार एमालेले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएर सबै ८ जना मन्त्रीले राजीनामा दिएपछि सरकार अल्पमतमा छ ।

यस्तोमा शुक्रबार अशोक राई नेतृत्वको जनता समाजवादीले पनि दुई मन्त्री र एक राज्यमन्त्रीको राजीनामा गराउँदै समर्थन फिर्ता लिइसकेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका चार मन्त्री पनि बिहीबार राजीनामा दिन बालुवाटर पुगेका थिए। तर प्रचण्ले विश्वासको मत लिने भन्दै उनीहरूलाई फर्काइदिए । समर्थन फिर्तासँगै अल्पमतमा परेपछि एमाले मार्ग प्रशस्त गर्न भनिसकेको छ । उता एमालेसँग सहमति गरेको कांग्रेसले पनि प्रचण्डलाई सरकार छाड्न भनेको दुई दिन भइसकेको छ ।

तर प्रधानमन्त्रीले विश्वासको मत सामना गर्ने अडान छोडेनन् । यसअघि नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि भेटेर प्रचण्डलाई राजीनामा दिन सुझाइसकेका छन् । तर पनि प्रचण्ड संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिने अडानमा छन् ।

एमालेसँग नयाँ समीकरणका लागि सहमत कांग्रेस पदाधिकारी बैठकले पनि नयाँ सरकार बनाउने प्रकृया सुरु भएको जानकारी दिँदै मार्ग प्रशस्त गर्न प्रचण्डलाई औपचारिक रुपमै आग्रह गरेको थियो ।

एमाले र कांग्रेस दुवैको दबाबबीच प्रचण्ड सरकार गठनलाई संविधानको धारा ७६ (३) मा पु¥याएर केपी ओलीलाई रोक्ने योजनामा छन् । यदि उपधारा ३ मा पुगे अबको प्रधानमन्त्री संसद्को ठूलो दल कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा हुने छन् । त्यहीकारण उनी विश्वासको मतमा पुगेर ओलीलाई संवैधानिक समस्यामा पार्ने तयारीमा लागेका हुन् ।

तर कोशी प्रदेशमा एकै धाराको प्रयोग गरेर पटक पटक सरकार बनेको नजीर कांग्रेस–एमालेसँग छ । त्यहीकारण संविधानको धारा ७६ (२) बाट ओली प्रधानमन्त्री हुन सक्ने तर्क दुई दलका नेताले गरिरहेका छन् ।

विज्ञको भनाइ

संविधानविद् डा. भीमार्जुन आचार्य प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताउँछन् । प्रधानमन्त्रीले साउन १९ गतेसम्म सरकार चलाउन पाउने संविधानमा स्पष्ट लेखेको बताउँदै आचार्यले प्रधानमन्त्रीले त्यसअगावै विश्वासको मत लिने कुरालाई कांग्रेस–एमालेले स्वागत गर्नुपर्ने उल्लेख गर्छन् ।

बजेट पास होस्

प्रचण्डका प्रेस सल्लाकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीले दुवै सदनबाट बजेट पास गरेर मात्रै विश्वासको मत लिन लागेका हुन् । उनी विश्वासको मत लिने क्रममा संसद्मार्फत सम्बोधन गरेर सन्देश दिने योजनामा छन् ।

‘उहाँ अल्पमतमा परेको कुरा स्वीकारिसक्नु भएको छ । उहाँले संविधानको व्यवस्था अनुसार विश्वासको मत लिन्छु भन्नुभएको हो । ३० दिनअघि नै उहाँले बाटो खोलिदिनु हुँदैछ’, उनले भने, ‘उहाँ अस्ति नै यो प्रक्रियामा जानु हुन्थ्यो तर बजेट दुवै सदनबाट पारित हुन बाँकी भएकाले रोकिनु भएको हो । बजेटबारे सबै मन्त्रीले जवाफ दिने प्रक्रिया पनि सकिएको छैन ।’

रास्वपा प्रमुख सचेतक सन्तोष परियार पनि दुवै सदनबाट बजेट पास भएपछि राजीनामा दिन सुझाएको दाबी गर्छन् ।

उनले खबरहबलाई भने, ‘हामीले बिहीबार भेटेर जतिसक्दो छिटो विश्वासको मत लिन भनिसकेका छौँ । उहाँले पनि असार अन्तिम या साउन पहिलो साता विश्वासको मत लिन्छु भन्नुभएको थियो ।’

प्रधानमन्त्री अल्पमतमा परिसक्दा पनि रास्वपाले भने समर्थन फिर्ता लिएको छैन । एमाले र जसपा पछि हट्दा रास्वपा भने कुरेर बसेको छ ।

आखिर किन रास्वपाले साथ नछाडेको त ? ‘हामी जनताको समस्या समाधान गर्ने र राजनीतिको फोहोर सफा गर्न आएको हो । बजेट नै दुवै सदनबाट पास भएको छैन । कसरी समर्थन फिर्ता लिने । यही राजनीतिक चरित्र हुन्छ भनेर संविधान बनेको हो नि त । सरकार परिवर्तनको खेलमा लागेर संविधानमाथि नै प्रहार गर्ने त । ३० दिन त उहाँले चलाउन पाउनुहुन्छ नि । हामी प्रकृयामा जान सहयोग गर्छौँ’, परियारले भने ।

यता प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यका अनुसार २६ गतेसम्ममा बजेको छलफल सकेर संसद्मा प्रधानमन्त्रीले जवाफ दिने र विश्वासको मत फेस गर्ने बताउँछन् ।

उनले खबरहबलाई भने, ‘यसबारे उहाँले सत्ता बाहिर रहेका र सक्ता गठबन्धनमा रहेका सबै दलहरूसँग छलफल गरिसकेर निर्णय गर्नुभएको हो ।’

प्रधानमन्त्रीलाई समर्थन गरेका एमालेबाहेकका रास्वपा र नेकपा एकीकृत समाजवादीले अहिले नि साथ दिइरहेका छन् । यी दुवै दल प्रचण्डले असार २८ गते विश्वासको मत लियुन्जेल मन्त्री फिर्ता नबोलाउने योजनामा छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेसँग सहमति गरेर धेरै अघि बढिसकेको बताए पनि प्रधानमन्त्री अझै साथ लिने कोसिसमा छन् । तर एमालेसँग सहमति गरिसकेको काग्रेस अहिले नै दायाँबायाँ गर्ने मनस्थितिमिा देखिएको छैन । प्रचण्डले कांग्रेससँग आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऊँ भनेर सहयोग मारिहेको कांग्रेसका एकजना शीर्ष नेताले बताए ।

संविधानविद् आचार्य दलहरूको अवस्था हेर्दा राष्ट्र सहमतिको सरकार बन्ने सम्भावना नभएको बताउँछन् । तर एमाले, कांग्रेस र प्रधानमन्त्री प्रचण्ड अहिले पनि राष्ट्रिय सहमतिको रटान लगाइरहेका छन् । यसबारे संविधानविद् आचार्य भन्छन्, ‘प्रतिपक्षीबिनाको सरकारको कसरी कल्पना गर्ने ?’

प्रचण्डको सत्ता यात्रा

दाहाल हाल ३२ सिटसहित प्रतिनिधिसभामा छन् । ८८ सिटको कांग्रेस र ७९ सिटको एमालेलाई साथमा लिएर उनले पालैपालो सरकारको नेतृत्व गरिरहेका छन् । उनले तेस्रो कार्यकालको एक वर्ष छ महिना सरकारमा रहँदा नयाँ–पुराना सबै दलसँग उठबस गरिसकेका छन् ।

२०७९ पुस ११ गते एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धनबाट उनले सरकारको नेतृत्व गरेका थिए । त्यसबेला कांग्रेस प्रतिपक्षमा थियो । तर निर्वाचनका बेला माओवादी र कांग्रेसको गठबनन्धन थियो । प्रचण्ड चुनावी गठबन्धन तोडेर एमालेतिर गए पनि पुस २६ मा कांग्रेसले विश्वासको मत दियो ।

तर प्रचण्डसँग एमाले र रास्वपाको सहकार्य लामो समय टिकेन । एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी दुई महिनापछि फागुनमा सरकारबाट बाहिरिए ।

राष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई नसघाई कांग्रेसका रामचन्द्र पौडेललाई प्रचण्डले सघाएपछि एमालेले सरकार छाडेको थियो ।

१३ फागुनमा ८ दलीय गठबन्धन बनाउँदै एमालेलाई छाडेका प्रचण्ड नेतृत्वको गठबन्धनमा फागुन २५ मा राष्ट्रपति निर्वाचन हुँदा १० दल पुगेका थिए । त्यसपछि प्रचण्डले ६ चैत २०७९ मा दोस्रो पटक विश्वासको मत लिए । पुस २६ मा संसद्को करिब ९९ प्रतिशत विश्वास पाएका उनको पक्षमा चैतमा १७२ मत पर्‍यो ।

तर त्यसको एक वर्षपछि २०८० फागुन २१ मा प्रचण्ड कांग्रेससँगको सहकार्य तोड्दै एमालेसँगै मिल्न पुगे । त्यसपछि फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिए । त्यसबेला उनले कांग्रेसमाथि सङ्क्रमणकालीन न्याय टुंग्याउन साथ नदिएको, विवादित मन्त्री हटाउन नमानेकोसहितका आरोप लगाए । फागुन ३० मा एमाले, रास्वपा र एकीकृत समाजवादीले साथ दिए। त्यसपछि उपेन्द्र यादव नेतृत्वको जसपा पनि मिसियो ।

तर २३ वैशाख २०८१ मा अशोक राईले जसपा फुटाएपछि प्रचण्ड अल्पमतमा परे । उनले ७ जेठ मा चौथो पटक विश्वासको मत लिए । त्यसबेला १५७ जना सांसदको साथ मिल्यो ।

तर चौथो पटक विश्वासको मत लिएको एक महिना नबित्दै प्रचण्ड अल्पमतमा परेका छन् । अब उनीसँग सत्ताबाट बहिर्गमनको विकल्पमात्रै छ। यसअघि पटक–पटक साथ दिएका कांग्रेस र एमालेले मोर्चा कस्दा प्रचण्ड एक्लिन पुगे । उनले २०८० फागुन ३० कांग्रेस–एमाले मिलेर सरकार बनाउन चुनौती दिएका थिए । त्यही चुनौतीलाई दुई ठूला दलले स्वीकार्दा प्रचण्डको तेस्रो कार्यकालमा पूर्णविराम लाग्ने अवस्था आएको छ ।

याे पनि…

दुई दलको दबाब पर्दा पनि किन दिएनन् प्रधानमन्त्रीले राजीनामा ?

ओलीले प्रचण्डलाई भने, ‘तपाईं राष्ट्रिय नायक हो, राजीनामा दिएर मार्ग प्रशस्त गर्नुस्’

सत्ता सहकार्य नजिक कांग्रेस–एमाले, ओलीलाई देउवाको प्रस्ताव स् तपाईं प्रधानमन्त्री बन्नू

 

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ८ : १६ बजे

सेनाले राख्न थाल्यो खुर्कोटको सुनकोशीमा बेलिब्रिज

काठमाडौं– खुर्कोट र रामेछाप जोड्ने बेलिब्रिज निर्माणको काम सुरु भएको

एनपीएलमा आरिफ र अविनाश सुदूरपश्चिमबाट खेल्ने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय क्रिकेट

विश्व दृष्टि दिवसमा नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने

काठमाडौं– विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क

सरकारविरुद्ध अन्तर्राष्ट्रिय निकायमा जाने भूपू गोर्खा सैनिकको चेतावनी

काठमाडौं- ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले सर्वोच्च अदालतको फैसला

स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता 

काठमाडौं– आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि