भागबन्डा नमिल्दा मधेशमा सकस, अर्थमा मिलेन कांग्रेस र मुख्यमन्त्रीको कुरो | Khabarhub Khabarhub

भागबन्डा नमिल्दा मधेशमा सकस, अर्थमा मिलेन कांग्रेस र मुख्यमन्त्रीको कुरो

कांग्रेसले चार र लोसपाले दुई मन्त्रालयमा गरे दाबी


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – केन्द्रीय सत्ता समीकरण फेरबदलसँगै मधेश प्रदेशमा सबैभन्दा पहिला नेपाली कांग्रेस र नेकपा एमालेको निर्णय कार्यान्वयनमा आएको छ ।

एमाले नेतृत्वको गठबन्धन भत्किएर नयाँ समीकरण बनेपछि नेकपा माओवादी केन्द्रसहित चारदललाई मुख्यमन्त्री सतीशकुमार सिंहले मन्त्रिमण्डलबाट हटाइसकेका छन् ।

उनले कांग्रेस र एमालेको समर्थनमा विश्वासको मत पनि प्राप्त गरे । त्यसअनुसार कांग्रेस, एमाले र लोसपा नेपालले मधेश प्रदेश सरकारमा सहभागिताका लागि मन्त्रालय बाँडफाँट गर्दैछन् ।

जनमत, कांग्रेस, एमाले र लोसपा मधेश प्रदेश सरकारमा सहभागी हुने भएपछि भागबन्डाको गृहकार्य सुरु भएको हो ।

मुख्यमन्त्री सिंहले विश्वासको मत पाएदेखि नै मन्त्रालय बाँडफाट मिलाउँदै छन् । तर कांग्रेसले चार मन्त्रालय र लोसपाले दुई मन्त्रालयमा अडान राखेपछि मुख्यमन्त्री अलमलमा छन् ।

कांग्रेस संसदीय दलको बैठकले चार मन्त्रालयका लागि नामसमेत टुंगो लगाइसकेको छ । लोसपाले दुई मन्त्रालय पाउनुपर्ने अडान लिएपछि शनिबार नै गर्ने भनिएको शपथग्रहण आइतबार पनि हुन सकेन । सोमबार पनि हुने अनिश्चित छ।

कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्णकुमार यादवले चार मन्त्रालय आफूहरूको अडान रहेको बताए । उनले त्यहीअनुरुप वार्ता भइरहेको जानकारी दिए ।

यादवले खबरहबसँग भने, ‘चारवटा मन्त्रालयमा हाम्रो अडान छ । दिने कुरा लगभग पक्का भइसकेको छ । तर कुन मन्त्रालय हामीलाई दिने अन्यौल छ । त्यहीकारण ढिलाइ भइरहेको छ । मन्त्रालयको हिसाब मिले आजै शपथ ग्रहण हुन सक्छ ।’

लोसपा नेपालका संसदीय दलका उपनेता उपेन्द्र महतोले आफूहरूलाई दुई मन्त्रालय नदिएसम्म सरकारमा सहभागी नहुने बताए । आफूहरूले सत्ता साझेदार सबैसँग ‘वान टु वान’ वार्ता गरिरहेको बताए ।

लोसपाका एक नेताले रानीकुमारी तिवारी र जैनुल राइनको नाम मन्त्रीको सम्भावित सूचीमा रहेको बताए । तर दुई मन्त्रालयमा कुन कुन पाउने टुंगो लागिनसकेकाले नाम सिफारिस नगरिएको बताए ।

यता नेपाली कांग्रेसले जनार्दनसिंह क्षेत्री, सुनील यादव, शेषनारायण यादव र कौशलकिशोर रायलाई सरकारमा पठाउने आन्तरिक निर्णय गरिसकेको छ ।

स्रोतले बताएअनुसार कांग्रेसले क्षेत्रीको नेतृत्वमा चारजनालाई सरकारमा पठाउने तयारी गरेको छ । तर मन्त्रालय टुंगो नभएकाले दलहरू छलफल छन् ।

गत जेठ २५ मा जनमत प्रदेश सांसद सतिश सिंह नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

सत्ता समीकरण बदलिएसँगै शनिबार मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुअगावै माओवादी, समाजवादी, नागरिक उन्मुक्ति र संघीय समाजवादीका ६ मन्त्रीलाई बर्खास्त गरे ।

नयाँ गठबन्धनअनुसार प्रदेश सरकारमा कांग्रेस र लोसपा सहभागी हुँदैछन् । दुवैले विश्वासको मत दिएर मुख्यमन्त्री सिंहको सरकार जोगाइदिएका छन् । कांग्रेस–एमाले गठबन्धनको निर्णय मधेश प्रदेशबाटैै कार्यान्वयन सुरु भएको छ ।

स्रोतका मन्त्रालय बाँडफाँट सोमबार नै टुंगो लगाएर कांग्रेस र लोसपा दललाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री सिंहको तयारी छ ।

कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता यादवले आफूहरूबीच चार मन्त्रालयका लागि मुख्यमन्त्रीसँग सहमति भएको बताएका छन् । उता एमाले र जनमतले कांग्रेसलाई तीन र लोसपालाई एक मन्त्रालय दिएर सरकारमा सहभागी हुन भनिरहेका छन् ।

कांग्रेसले अर्थमन्त्रालय मागिरहेको छ । अर्थसहित चार मन्त्रालयमा कांग्रेसले अडान छाड्न मानेको छैन ।

तर मुख्यमन्त्री सिंह अर्थ आफैंले राख्ने पक्षमा छन् । अर्थमा पनि दलहरूबीच हलो अड्किएको छ ।

जनमत पार्टीका केन्द्रीय सचिव बीपी साह जुन दलको मुख्यमन्त्री बन्छ, उसैले अर्थ पनि राख्ने कुराबाट दायाँबायाँ हुन नहुने बताउँछन् । मुख्यमन्त्रीले यसअघि पनि अर्थ राख्ने गरेको स्मरण उनले अन्य दललाई गराएका छन् ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ४ : ४३ बजे

जनार्दनको प्रस्तावमा गठित महाप्रसादविरुद्धको जाँचबुझ समिति रद्ध

काठमाडौं- सरकारले नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न गठित

अर्थ मन्त्रालयद्वारा राहत र पुनर्निर्माणलाई व्यवस्थित बनाउन स्रोत व्यवस्थापनको गृहकार्य सुरु

काठमाडौं– अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र

प्रधानमन्त्री उद्धार कोषमा एमालेको पनि ५० लाख सहयोग

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग

काठमाडौं– नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख

हेलिकप्टर प्रयोग गरेर भए पनि राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

पाटन– गृहमन्त्री रमेश लेखकले खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी