देउवाका प्रिय रोल्पाली कृष्णबहादुर, प्रदेशसभा छिर्न नसकेका यज्ञराजलाई अवसर | Khabarhub Khabarhub

कांग्रेसबाट नयाँ प्रदेश प्रमुख

देउवाका प्रिय रोल्पाली कृष्णबहादुर, प्रदेशसभा छिर्न नसकेका यज्ञराजलाई अवसर


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले तीनवटा प्रदेशका प्रदेश प्रमुख हेरफेर गर्दा दुईवटामा कांग्रेस नेताहरूले अवसर पाएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्दा कांग्रेसको कोटाबाट दुईजनाले अवसर पाए ।

बागमती प्रदेश प्रमुखमा दीपक देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई अवसर दिइएको छ । माओवादीको कोटाका तत्कालीन प्रदेश प्रमुखहरूलाई हटाएर उनीहरूलाई अवसर दिइएको हो ।

यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियारलाई प्रदेश प्रमुख बनाएको थियो । अब उनीहरूलाई बिदाइ गरेर कांग्रेस-एमाले गठबन्धनबाट नयाँलाई अवसर दिइएको हो ।

दुईजनाको राजनीतिक यात्रा

लुम्बिनीको नयाँ प्रदेश प्रमुखमा सिफारिस घर्तीमगर कांग्रेस रोल्पाका पूर्व जिल्ला सभापतिसमेत हुन् ।

केन्द्रीय सभापति शेरबहादुर देउवानिकट उनी २०५९ सालमा कांग्रेस विभाजित हुँदा नेपाली नेपाली कांग्रेस लोकतान्त्रिकमा गएका थिए । २०५९ मा उनी आमन्त्रित केन्द्रीय सदस्य र केन्द्रीय सल्लाहकार बने ।

उनी देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकमा लागे रोल्पा जिल्ला सभापति पनि भए । उनी २०४८ देखि २०७२ सम्म कांग्रेस महासमिति सदस्य रहे ।

उनले रोल्पामा १४ वर्षसम्म कांग्रेसको नेतृत्व गरेको अनुभव बोकेका छन् । देउवासँगै कांग्रेस प्रजातान्त्रिकमा लागेका उनी २१ मंसिर २०७८ देखि काठमाडौंमा एक सातासम्म भएको महाधिवेशनका क्रममा वडामै पराजित भएका थिए ।

१४ औँ महाधिवेशनका क्रममा भएको पार्टी जिल्ला अधिवेशनको क्षेत्रीय प्रतिनिधि छनोटका क्रममा कांग्रेस कार्यकर्ताहरूले उनलाई वडामै हराइदिएका थिए ।

डा. शेखर कोइराला नेतृत्वको संस्थापन इतर समूह हावी हुँदा उनी वडामै पराजित भएर क्षेत्रीय प्रतिनिधिमा पनि आउन सकेका थिएनन् ।

घर्तीमगर २०१६ माघ १० गते रोल्पाको घर्तीगाउँमा जन्मिएका थिए । २०३६ सालको विद्यार्थी आन्दोलनमा नेविसंघमा जोडिएर उनले राजनीति थालेका थिए ।

त्यसक्रममा उनले जेल जीवन पनि बिताए । २०४७ सालमा रोल्पा जिल्ला कार्यसमिति समिति सदस्य भएका उनी त्यसपछि सचिव भए ।

२०४९ सालमा साविकको घर्तीगाउँ विकास समितिका अध्यक्ष पनि निर्वाचित भए । गाविस अध्यक्षछि रोल्पा जिल्ला विकास समितिको सभापतिमा उठेका उनी तत्कालीन संयुक्त जनमोर्चा (हाल माओवादी केन्द्रका नेता) का झक्कुप्रसाद सुवेदीसँग पराजित भए ।

घर्ती रोल्पामा एउटा निजी विद्यालयका सञ्चालक पनि हुन् । उनले २०५० देखि रोल्पा सदरमुकाम लिवाङमा तुलसी इङ्लिस बोर्डिङ चलाइरहेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य जोशी

केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारले कर्णाली प्रदेश प्रमुखमा सिफारिस गरेका यज्ञराज जोशी कञ्चनपुरको महेन्द्रनगरका हुन् ।

उनी २०७४ मंसिरको प्रदेश सभा निर्वाचनमा पराजित भएका थिए । प्रदेश सभा चुनावका क्रममा कञ्चनपुर क्षेत्र नम्बर ३ (क) मा नेकपा एमालेका प्रकाश रावलसँग उनी हारेका थिए । उनलाई पराजित गरेका प्रकाश रावल अहिले एकीकृत समाजवादीमा छन् ।

कांग्रेस कञ्चनपुरका पूर्वसभापति उनी २०५९ सालमा पार्टी विभाजन हुँदा पनि मूल कांग्रेसमै थिए । दुई कांग्रेसबीच एकीकरण हुँदा उनी जिल्ला सभापति थिए ।

एकीकरण भएपछि उनले तत्कालीन कांग्रेस प्रजातान्त्रिकका सभापति बहादुरसिंह थापालाई सभापतिका लागि मार्गप्रशस्त गरेका थिए ।

२०४९ को स्थानीय निकाय निर्वाचनमा जोशी कञ्चनपुरको तत्कालीन महेन्द्रनगर नगरपालिकाको मेयर बने ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा विजयी भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले कञ्चनपुर–४ छोडेपछि उनलाई उपनिर्वाचनमा उम्मेदवार बनाइएको थियो ।

२०७४ को निर्वाचनमा जोशी कञ्चनपुर–३ ‘क’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार थिए । त्यसबेला उनी एमालेका प्रकाश रावलसँग ३५ मतले पराजित भए ।

२०७९ को निर्वाचनमा पनि जोशी प्रदेशसभा निर्वाचनमा आकांक्षी थिए । तर, माओवादी र एकीकृत समाजवादीसँगको गठबन्धनका कारण पछि हट्नु परेको थियो ।

कांग्रेसको १४ औँ महाधिवेशनमा जोशी संस्थापन समूहबाट केन्द्रीय सदस्यमा विजयी भएका थिए ।

सभापति देउवानिकट उनी २०७८ मंसिरमा काठमाडौंमा भएको १४औँ महाधिवेशनबाट कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य निर्वाचित भएका हुन् ।

डा. रणबहादुर रावल र यज्ञराज जोशी त्यसबेला सुदूरपश्चिम प्रदेश खुलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । जम्मा ४६७७ मत खसेकोमा रावलले २६६९ मत र जोशीले २०४४ मत ल्याएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  २ : २५ बजे

सरकारले सबै सामर्थ्य लगाएर परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीनबाट स्वदेश फर्किएका छन्

हवाई भाडा महँगो नलिन अमेरिकाबाटै प्रधानमन्त्रीको आग्रह

काठमाडौं– अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले हवाई भाडा

नवलपरासीको बाढी प्रभावित क्षेत्रमा पुगे विनोद चौधरी

परासी– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरी

बाढीपहिरोबाट १५ जलविद्युत आयोजनामा दुई अर्ब रुपैयाँ बढी क्षति

काठमाडौं – बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण चलेको बाढीपहिरोबाट

पहिरोमा परेका साथी बचाउन जाँदा कर्णेल केसीले गुमाए ज्यान

काठमाडौं- साथीलाई बचाउन जाँदा नेपाली सेनाका एकजना कर्णेलले ज्यान गुमाएका