तारन्तार मन्त्री- पदीय गरिमाकै धज्जी ! | Khabarhub Khabarhub

तारन्तार मन्त्री- पदीय गरिमाकै धज्जी !

राजनीतिक प्रणालीको पुनःसंरचना गर्न अब स्वतन्त्र आन्दोलन



कांग्रेस–एमाले गठजोडको सरकारले १०० दिन नपुग्दै देखाएको व्यवहारका सन्दर्भमा हामीले जुन टीका-टिप्पणीहरू गरेका छौं- एउटा सचेत मनस्थितिबाट त्यसले राम्रो होस् भनेर गरिएको हो । सरकार भर्खरै गठन भएको कारण अहिले नै त्यसले सकारात्मक सन्देश अथवा सकारात्मक उपलब्धि दिइहाल्छ भनी अपेक्षा गर्नु स्वाभाविक होइन ।

सुशासन भनेको एउटा लामो प्रक्रिया वा सरकारको नतिजामा देखिनुपर्ने कुराहरू हो । त्यसले केही समय पनि लिन सक्छ। त्यसकारण सरकारले राम्रो काम गर्छ र गर्नुपर्छ भन्ने अपेक्षा राख्नुपर्छ ।

सरकारले सामान्य कुराहरूमा प्रशासनको मनोबल उठाउने कामहरू गर्नुपर्छ, त्यो काम ढिलो भएको छ । कर्मचारीको मनोबल गिर्‍यो भने त्यसले के गर्छ त ? कर्मचारीले अनुमति दिए भन्दा बढी न सुशासन हुन सक्छ, न विकास । त्यसकारण कर्मचारीको मनोबल उठाउने काम गर्दा बजेट समयमै कार्यान्वयन हुने वा नीति राम्रो हुने, संवाद राम्रो हुने, सेवा प्रवाह राम्रो हुने, प्रशासनिक नेतृत्व राम्रो हुने हुन्छ । सरकारले कहिलेकाहीँ बाटो बिराएर अलिकति यताउता लाग्दा व्यावसायिक सल्लाह दिने लगायतका कुरामा प्रशासनिक व्यावसायिकताले सहयोग गर्छ ।

तर, विगत केही वर्षदेखि कर्मचारीको मनोबल गिरेर गएको छ । अहिले त हुँदा-हुँदा सचिव, मुख्य सचिवहरूको नियुक्तका कुरामा सरकारका सिद्धान्तहरू काटिएको जस्तो देखिन्छ ।

पछिल्लो समय योग्यता प्रणालीमात्र नभएको हैन, सौदावाजीमा यस्ता पदहरू गएको देखिन्छ । एउटा व्यक्तिलाई बनाउन अर्को व्यक्तिले सपोर्ट गर्ने र उसले सल्लाहकार या राजदूत पाउने भएको छ । जसले जे गर्दा पनि हुने रहेछ भन्ने कुरा आम जनतामा परेको छ । यसो गर्दा आम जनतालाई मार पर्छ । र हामीले भनेको विकास र समृद्धिमा पछि पर्छौं ।

आर्थिक सुधार कार्यक्रमको अहिले आवश्यकता छ लगानीको वातावरण छैन । त्यसैले अहिले सरकारले एउटा प्रशासनको मनोबल बढाउने अर्को चरणको सुधार कार्यक्रमहरू बनाउनुपर्छ । यो दुई काम भयो भने सुशासन पनि हुन्छ र विकास पनि हुन्छ ।

असल काम शुरू प्रदेशले गर्दा पनि हुन्छ, स्थानीय तहले गर्दा पनि हुन्छ । तर अभिभावकीय भूमिका संघको भएको हुनाले असल कामको शुरूवात पनि संघबाट नै हुनुपर्छ ।

संघमा भएका बेथितिहरू प्रदेश र स्थानीय तहसम्म पुग्छ । तलका कुराहरू माथि आउन केही समय लाग्ला । त्यसकारण यसको नेतृत्व संघले नै गर्नुपर्छ

कुनै पनि संस्था या सरकारले कुनै व्यक्तिलाई कुनै ठाउँमा राख्नु उपयुक्त मान्यो भनेदेखि उसले सरुवा गर्न सक्छ । तर, त्यो प्रणालीभित्र अस्थिरताको बाटोमा जानु हुँदैन । व्यक्तिको क्षमता र योग्यता बाहिरबाट भन्दा पनि सरकार भित्रका व्यक्तिहरूले मूल्याङ्कन गर्नुपर्छ ।

गृह प्रशासनको कुरा, गृहसचिवको कुरा वा आइजीपीको कुरा होस्– उहाँहरूको व्यावसायिक सदाचारिताले त्यसलाई सपोर्ट गर्नुपर्छ ।
हिजो नराम्रो गरेका व्यक्तिले नराम्रो नै गर्छ भन्ने भावना राख्नुहुँदैन । किनकी पहिले नै नियुक्त भइसकेका व्यक्तिहरू नै संवैधानिक पदमा छन् ।

अब हामीले कसलाई विश्वास गर्ने त ? त्यसैले यो सबैमा सरकारले त पहरेदारी गर्नैपर्छ । तर, सरकार भन्दा पनि ठूलो स्वतन्त्ररूपमा पहरेदारी गर्ने आमसञ्चारका माध्यम र नागरिक समाजले सरकार, प्रशासन ट्रयाकभन्दा बाहिर जाने, अपराधीहरू छुट्नेजस्ता जोखिममा निगरानी गर्नुपर्छ ।

बजेट तर्जुमा गर्दा जहिले पनि ५/६ जिल्लाले बाहेक अन्यले आवश्यक सरकारी साधनस्रोत पाउँदै पाएनन्‌ । न्यूनमात्रै पाए । यसले न न्याय दिँदैन, विद्रोह ल्याउँछ

त्यसैले अहिले अराजकताको राजनीतिकरण भइरहेको छ । राजनीतिक दलहरू त सुशासन प्रदायक संस्थाहरू हुन् । तिनीहरूले संसद्‌मा बोल्ने साझा एजेन्डा बनाउनुपर्‍यो ।

हाम्रो आर्थिक समृद्धिका, सुशासनका एजेन्डाहरू परपर धकेलियो । त्यसमा आर्थिक विकास र प्रशासनिक स्थायित्वको कुराहरूमा राजनीतिक प्रभाव छेक्ने कुरा पनि गर्नुपर्‍यो ।

एउटा सानो देश ! यति धेरै प्राकृतिक स्रोत भएको देश ! यति राम्रो देश ! यति सुन्दर देश ! त्यसैले अरूलाई सुधार्ने हैन, अरूलाई सुझाव दिने पनि होइन । पहिले आफू चाहिँ सुध्रिनुपर्‍यो ।

सबै व्यक्तिहरू नराम्रा छैनन् । केही राम्रा कर्मचारी पनि छन् । राम्रा नेता छन्, मन्त्री छन्, प्राध्यापक छन् । ती राम्राबाट शुरूवात गर्नुपर्‍यो । राम्रा व्यक्तिहरू छोपिए ।

अहिले त गलत सोच, गलत बुझाइ, गलत सोचाइ, गलत गराइ भइरहेको छ . त्यसैले यस्ता राम्रा व्यक्तिहरूलाई उजागर गर्नेगरी समाज र संस्थाले तिनलाई प्रवर्द्धन गर्नुपर्‍यो ।

राजनीतिक दलको कार्यकर्ता बनेको वा सदस्यता लिएको दिनदेखि राजनीतिक नेतृत्वले उनीहरूको आर्थिक स्थिति, क्रियाकलाप, सामाजिक हैसियत, उसले गरेको योगदानको पार्टीभित्र र बाहिरबाट पनि पारदर्शी बनाउनुपर्‍यो । होइन भने गलत गर्ने व्यक्तिले पो राम्रो गर्ने व्यक्तिलाई सुशासनको चाहिँ पाठ पढाइरहेको हुन्छ ।

त्यसैले घर-घरबाटै सामाजिक अभियान शुरू गर्नुपर्छ । नत्र यो समाज नै निराशातिर जान्छ । राजनीतिक दलहरू नै समाजमा राजनीतिक शक्ति र स्रोत परिचालन गर्ने व्यक्ति हुन् । उनीहरूमा असल कुराको ज्ञान हुनुपर्छ

राजनीति असल व्यक्तिले गर्नुपर्छ । राजनीति अपराधीकरण गर्ने कुरा होइन । १८-२० पटक कुनै व्यक्तिले मन्त्री बन्न हुन्छ र ? त्यसो गर्दा त पदले नै उसलाई गिज्याइरहेको हुन्छ । अवसर पाउने भनेको थोरै दिनको लागि हो । त्यो थोरै दिनमा नै योग्यता देखाएर राम्रो गरिसक्नुपर्छ । पटक-पटक एउटै व्यक्ति त्यही पदमा दोहोरिनु उक्त पदको गरिमा माथि नै अन्याय हो ।

यस्तो कुराहरू हुन नदिन ‘पब्लिक भोटिङ’ चाहिन्छ । त्यसैले नेपालको निर्वाचन प्रणाली नै परिवर्तन गरिनुपर्छ । म निर्वाचन आयोगमा रहँदा पब्लिक फण्डिङको व्यवस्था गर्ने, पैसाबाट चल्ने राजनीतिलाई नियन्त्रण गर्ने, चन्दा लिन नपाइने, लिएको चन्दा पनि चेकबाट मात्र प्रवाह गर्ने / नगद दिन नपाउने लगायतका कुरा राखेका थियौँ ।

यहाँ त कुनै राजनीतिक पार्टीको विरोध गर्छौँ वा दलको र त्यसैलाई भोट दिएर जिताइदिन्छौँ । यस्तो अवस्था छ । हामीले राम्रो भनेको व्यक्ति नै खराब चरित्रको परिदिन्छ । त्यसैले; हामीले राम्रो छनोट नै गर्न सकेनौँ ।

बजेट बनाउँदा कुनै सम्पन्न वा प्रभाव पार्न सक्ने व्यक्तिका कारण बाजुरामा वा मुगुमा पैसा नै पुग्दैन  ।पैसा पुग्ने भनेको त ५/६ वटा जिल्लामा मात्रै ! यो त भूगोलप्रति गरेको अन्याय हो नि ! कुनै ठाउँमा खानेपानीको व्यवस्था पनि हुन नहुने र कुनै ठाउँमा चाहिँ अर्बौं लागतको अनावश्यक संरचना खडा गर्ने ! केही औचित्य नहुने भयो ।

यस्तो कुरामा राजनीतिक प्रणालीको पुनःसंरचना गर्न एउटा स्वतन्त्र आन्दोलन चाहियो । चुनावको प्रक्रिया परिवर्तन गर्नुपर्‍यो । नागरिक शिक्षा/सचेतना बढाउने आन्दोलन पनि हुनुपर्‍यो ।

हामीले नयाँ व्यक्ति चाहने वा यो व्यक्ति चाहने भनिरहँदा गलत व्यक्ति रोज्नु हुँदैन । उसको सामाजिक पृष्ठभूमि, उसले समाजमा कति योगदान गरेको छ लगायत हेर्न सक्नुपर्छ । त्यो हेर्न सक्न जनताले विवेकशील भएर मत दिने अवस्था हुनुपर्‍यो । त्यसको लागि निर्वाचन प्रणाली ठूलो आधार हो ।

अर्को- आमसञ्‍चार माध्यम र सरकारका अङ्गले निगरानी गरिरहनुपर्‍यो । पहरेदारी गर्ने निःस्वार्थ व्यक्तिहरू समाजमा छन् । उनीहरूबाट अलि बढी आशा लिने गरी राम्रो रूपबाट यसलाई अघि बढाउनुपर्छ । अरू देशमा यसो गरेको इतिहास पाइन्छ । हामीकहाँ पनि यो कुरा हुन्छ, गर्न सक्छौँ । यसो गर्न घर-घरबाटै सकारात्मक सोच विकास गर्न सक्नुपर्छ ।

अहिले नेपालमा त उत्पादन मात्र हैन, उपभोग गर्ने व्यक्ति पनि बाहिरिइसकेका छन् । यस्तो प्राकृतिक स्रोतले धनी देशको कुनै पनि प्राकृतिक स्रोत सदुपयोग हुन सकेको छैन ।

अब पनि राज्यका निकायमा भएका व्यक्तिले यतातिर नसोच्ने हो भने उनीहरूको योग्यतामा थप प्रश्न उठ्छ । वर्तमान सरकार र शासकहरूलाई पनि यो अन्तिम मौका हो । त्यसकारण उहाँहरू सुध्रिनुपर्छ ।

(नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनालीसँग गरिएको कुराकानीमा आधारित।)

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ८ : ३३ बजे

भारतका पूर्वप्रधानमन्त्री सिंहको निधनमा प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन

अनुशासनमा नरहेपछि भीम रावललाई कारबाही : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावल पार्टी अनुशासनमा

रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाह ७२ प्रतिशत पूरा

रसुवा – चीनसँग सीमा जोडिएको मुलुकको उत्तरी नाका रसुवाको टिमुरेमा

‘सभापति जहाँ भए पनि रास्वपा बलियो बनाउँछौँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका १२ भाइ समानुपातिक सांसदमध्ये मनिष झा

तिलावे पुल मर्मत सम्भारको माग

वीरगञ्ज– पर्साका ग्रामीण भेगलाई जोड्ने वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको