वर्षासम्बन्धित प्रकोपले एसियाभर गत साता २५० भन्दा बढीको मृत्यु « Khabarhub

वर्षासम्बन्धित प्रकोपले एसियाभर गत साता २५० भन्दा बढीको मृत्यु


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारत र चीनमा गत साता मुसलधारे वर्षाबाट दुई सय ५० भन्दा धेरै व्यक्तिको मृत्यु भएको छ । त्यस्तै पाकिस्तानमा अन्य तीन जनाको मृत्यु भएको छ ।

उत्तर कोरियामा चीनको सीमा नजिकै ठूलो बाढी आएको समाचार छ तर बाढीबाट कसैको ज्यान गएको छ वा छैन भन्ने कुनै जानकारी प्राप्त भएको छैन । वर्षको यो समय एसियामा मनसुन र आँधीको मौसम हो र जलवायु परिवर्तनले यस्ता आँधीहरूलाई तीव्र बनाएको छ । मुसलधारे वर्षाका कारण पहिरो र बाढीबाट बाली नष्ट भएको, घरहरू क्षतिग्रस्त भएको र मानिसहरूको ज्यान गएको छ ।

चीनको मौसम विज्ञान प्रशासनले गत महिना जारी गरेको प्रतिवेदनअनुसार चीनमा अत्यधिक गर्मी दिन र लगातार तीव्र वर्षा भइरहेको ऐतिहासिक तथ्याङ्कले देखाउँछ । मौसम विज्ञान प्रशानसनले दुवै अवस्था आगामी ३० वर्षमा अझ बढ्ने पूर्वानुमान गरेको छ ।

सरकारहरूले क्षति न्यूनीकरण गर्न विपद् रोकथाम योजनाहरू सुरु गरेका छन् । आँधी आउनुअघि मानिसहरूलाई बाहिर निकाल्न र विच्छेद भएका क्षेत्रमा हेलिकप्टरमार्फत राहत सामग्री पुर्याउन उद्धार टोलीहरूले प्रयास गरिरहेका छन् । चीनले वर्षा हुने प्रान्तहरूमा आपत्कालीन सञ्चारका लागि ड्रोन तैनाथ गरेको छ ।

भारत : २०१ को मृत्यु, करिब २०० बेपत्ता
मङ्गलबार बिहान भारी वर्षाले दक्षिणी भारतको केरल राज्यमा चिया बगान र गाउँहरूमा आएको बाढीले पुल र घरहरू क्षतिग्रस्त भएका छन् ।
चौथो दिनको खोजीमा जीवित मानिस भेटिने अपेक्षा कम भएको छ ।

मुख्य पहिरोबाट ३० किलोमिटर तल नदीमा शवहरू फेला परेका छन् । भारतमा मनसुनको मौसममा नियमितरूपमा बाढी आउँछ । बालीनालीका लागि महत्त्वपूर्ण मनसुनी वर्षा जुन र सेप्टेम्बरको बीचमा हुने गर्दछ ।

चीन : ४८ को मृत्यु, ३५ बेपत्ता
गत साता पश्चिमी प्रशान्त क्षेत्र हुँदै आएको गेमी नामक आँधीबाट फिलिपिन्समा ३० भन्दा धेरै र ताइवानमा १० जनको मृत्यु भएको थियो । यद्यपि चीनमा उष्णकटिबन्धीय आँधी कमजोर भएपछि यो घातक भएको थियो ।

धेरै दिनसम्म चीनको हुनान प्रान्तका केही भागमा वर्षा भएको छ । आइतबार बिहान एक होमस्टेमा पहिरो जाँदा १५ जनाको मृत्यु भयो । हुनानका अन्य स्थानमा सोमबार तीन शव फेला परेका छन् । उनीहरू पनि पहिरोको शिकार भएको विश्वास गरिएको छ ।

नजिकैको जिक्सिङ सहरका अधिकारीहरूले बिहीबार बाढीबाट ३० जनाको मृत्यु र ३५ जना बेपत्ता भएको घोषणा गरेका छन् । जलस्रोत मन्त्रालयले चीनमा यो वर्ष २५ वटा ठूला बाढी रेकर्ड गरेको छ । यो आँकडा सन् १९९८ मा तथ्याङ्क राख्न सुरु गरेयताको सबैभन्दा बढी हो ।

उत्तर कोरिया : क्षति तर मृत्युको जानकारी छैन
उष्णकटिबन्धीय आँधीका कारण उत्तर कोरियाको सीमामा रहेको उत्तरपूर्वी चीनमा भारी वर्षा हुँदा दुवै मुलुकलाई विभाजन गर्ने यालु नदीमा बाढी आयो ।

उत्तर कोरियामा वर्षाले चार हजार एक सय घर, तीन हजार हेक्टर खेत र धेरै सार्वजनिक भवन, सडक र रेल्वे डुबानमा परेका छन् । यहाँको सरकारी सञ्चारमाध्यमले मृत्युको बारेमा जानकारी दिएको छैन तर नेता किम जोङ उनले हताहतीको सङ्केत गरेका छन् । उनले ‘हताहतीलाई अनुमति दिन सकिँदैन’ भन्दै सार्वजनिक अधिकारीहरूमाथि विपद् रोकथाममा बेवास्ता गरेको आरोप लगाए ।

पाकिस्तान : तीनको मृत्यु

पाकिस्तानमा बिहीबार लाहोर सहरमा रेकर्ड वर्षाले सडकहरू जलमग्न भएका छन् र कम्तीमा तीन जनाको मृत्यु भएको छ । लाहोरको केही भागमा केही घन्टाभित्रै तीन सय ५३ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ । यसले ४४ वर्ष पुरानो कीर्तिमान तोडेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ८ : २५ बजे

अफगानिस्तान-पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु

एजेन्सी– गत अक्टोबरमा भएको घातक झडप पछिको पछिल्लो पाकिस्तान–अफगानिस्तानको मुख्य

नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको छ : प्रथम राष्ट्रपति यादव

वीरगञ्ज– नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालले आँखा उपचारमा

चितवनले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबार जारी दोस्रो खेलमा अहिले

वालिङ–हुवास सडक कालोपत्र हुँदै

पर्वत– दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र

अमेरिका–युक्रेनबीच सुरक्षा सहयोगको प्रारम्भिक ढाँचा तयार

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले दुई दिनसम्म चलेका वार्तापछि संयुक्त राज्य