‘टीआरसीमा माओवादीले हतियार उठाउनुको औचित्य खोज्नुपर्छ’ | Khabarhub Khabarhub

अन्तर्वार्ता

‘टीआरसीमा माओवादीले हतियार उठाउनुको औचित्य खोज्नुपर्छ’

नेपालमा मानवअधिकार हननका प्रमाण सुरक्षित छन्‌



सशस्त्र विद्रोही नेकपा (माओवादी) र तत्कालीन सरकारका बीचमा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको १८ वर्ष पुगेको छ । २०६३ मंसिर ५ मा भएको त्यही शान्ति सम्झौतामा टेकेर माओवादी शान्ति प्रक्रियामा आयो । पटकपटक सत्ताको राजनीतिमा माओवादी होमियो र अधिकांश समय सत्तामा बित्यो । सङ्क्रमणकालीन न्यायको विषयलाई माओवादीले राजनीतिक एजेन्डा मात्रै बनाइराखेको आरोप खेपेको थियो । झन्डै १० वर्षदेखि अड्किएको सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा प्रमुख तीन राजनीतिक दलबीच सहमति जुटेपछि मानवअधिकारकर्मीको चासोका विषयमा जोडिएर मानवअधिकारकर्मी सुशील प्याकुरेलसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंशः

टीआरसी समझदारी र राजनीतिक पार्टीहरू बीचको लेनदेनलाई कसरी हेर्नुभएको छ ?

अहिले समझदारी भएको जुन कुरा आयो- यो त प्रारम्भिक मात्रै हो । अब यसपछि निश्चित रूपमा द्वन्द्वबाट प्रभावित भएका हामी सबैले यसलाई मूल्याङ्कन गर्छौं । तर, बाहिरबाट आएको समाचार अनुसार जति कुरा उहाँहरूले गर्नु भएको छ- त्यस्तै हो हाम्रो माग पनि । र, यो काम गर्न उहाँहरूले १९ वर्ष लगाउनुभयो ।

सङ्क्रमणकालीन न्याय द्वन्द्वपीडितका लागि हुनुपर्ने हो । त्यस अन्तर्गत द्वन्द्वबाट प्रभावितलाई न्याय दिनुपर्नेमा त्यसो नगरी राजनीतिक दलहरूबीच खिचातानी भयो । उहाँहरूले यो मामिलालाई आफ्नो हितमा उपयोग गर्न र उन्मुक्ति पाउन आजसम्म झुन्ड्याएर राख्नुभयो । त्यसैले १९ वर्ष लाग्यो ।

यो बीचमा द्वन्द्वपीडितहरू; जसलाई न्याय परिपूरण चाहिन्थ्यो- तीमध्ये कति मानिस बितिसके । यहाँ त अर्को अपराध भएको छ । तर, १९ वर्ष देखिको निरन्तरको लडाइँले बल्लतल्ल केही कुराहरू हामीले भनेको जस्तो आएको छ ।

यो भन्दा अघि मानव अधिकार हननका सङ्गीन अपराध र मानव अधिकार हनन भनेको एकै हो भन्ने भाष्य तयार पार्न प्रयत्न गरिएको थियो, त्यो असफल भएको छ ।

विशेषगरी द्वन्द्वबाट प्रभावितहरूको निरन्तर संघर्षको प्रतिफलको रूपमा केही आएको छ । तर, यसमा पनि कतिपय विवादित प्रावधानहरू नै राखिएजस्तो देखिन्छ । जस्तो कि अपराधमा दिएको सजाय न्यून गर्ने अधिकार उहाँहरूलाई कसले दियो ? कुनै पनि देशको संविधान र कानून सबैभन्दा माथि हुन्छ । सङ्क्रमणकालीन न्याय निरन्तर चल्ने प्रक्रिया हो । छिटो गर्नुपर्ने भएकोले त्यो अर्को षड्यन्त्र गरिएको हो ।

सङ्क्रमणकालीन न्यायको लागि भिन्नै संयन्त्र र कानूनको तात्पर्य ढिला गर्नु भन्ने होइन, छिटो गर्न हो । छिटो गर्दा त्यसले संविधान मान्न पर्दैन, कानून मान्न पर्दैन, अन्तर्राष्ट्रिय प्रावधानहरू मान्नुपर्दैन भन्ने होइन ।

अर्को कुरा नेपालमा कति बेला भयो भन्ने सन्दर्भ पनि आउँछ । जस्तो- कहिले कुनै उपाय नपाउँदा विद्रोह गर्न पाइन्छ भनेर संयुक्त राष्ट्र संघको घोषणापत्रमा लेखिएको छ । यद्यपि; त्यसभित्र पनि कतिपय नेगोसियसन गर्दा पश्चिमा मूल्य र मान्यता बढी भयो होला । तर आधारभूत कुराहरू हामी सबैको समझदारीबाट भएको हो । नेपालमा जतिबेला माओवादीले हतियार उठायो, त्यो आवश्यक थियो भन्ने कुरा छ- त्यो सन्दर्भलाई हेर्नुपर्छ भन्ने कुरा पनि आउँछ ।

त्यसैले उहाँहरूलाई त यहाँ बस्ने बोल्ने अधिकार थियो नि ! हामीले गणतन्त्र त शान्तिपूर्ण ढङ्गबाट ल्यायौँ नि ! ११ वर्षपछि त त्यही चक्करमा आयो ।

त्यही अपराध एउटा जनताले गर्दा ऊ २० वर्ष जेल बस्नुपर्ने र अर्कार्ले गर्दा ५ वर्ष मात्रै बस्नु पर्ने भन्नुको तर्क के हो भन्ने एउटा प्रश्न छ । यद्यपि हामी मानवअधिकारकर्मीहरू र द्वन्द्वपीडितहरू पनि यसलाई झुन्ड्याएर राखेर १९ वर्ष भयो, २५ वर्ष सम्म लडौँला भनेर बस्ने हैन ।

द्वन्द्वमा प्रत्यक्ष संलग्न भएकाहरू सरकारमा हावी हुँदासम्म अर्थात्‌ नेकपा (माओवादी) सरकारमा बसिरहेका कारण यो काम हुन नसकेको हो । अहिलेको मौकामा सायद द्वन्द्वमा संलग्न भएको सरकार र सुरक्षा संयन्त्रहरूले पनि अब यो भन्दा बढी पर्खिनु उचित छैन । किनकी यो एउटा राष्ट्रिय चासो भएको विषय हो भन्ने कुराको अनुभव गरेर सहमतिमा टुङ्गाउनु पर्छ भन्ने ठाउँमा त उहाँहरू पुग्नु भयो ।

तर कतिपय आधारभूत कुराहरू बाँकी नै छन् । त्यो कुरा संसद्मा जानुपर्छ र सांसद्ले‌ पनि खुला दिमागले सोचेर काम गर्नुपर्छ । त्यसैले यसले केही हुँदैन भन्नु भन्दा पनि केही हुँदैछ र केही सुधार आवश्यक छ भन्न सकिन्छ ।

२०६३ को मंसिर ५ पछिका ६ महिनाको बीचमा यो घटनाक्रम भइदिएको भए चाहिँ हामीले बहस गर्ने पाटो फरक हुन्थ्यो होला ?

यही कुरा भएको भए त त्यति बेलादेखि अहिलेसम्म त धेरैले न्याय पाइसक्थे नि ! उहाँहरूले पहिले बहिर्गमित भनेकोलाई मान्नै चाहनुभएन । त्यो भनेको त काम लगाउनु भएको थियो । पछि त अयोग्य नै भन्नुभयो ।

अहिले पनि ढाकछोपमा नै उहाँहरू लाग्नुभएको छ। कत्राकत्रा पदमा पुगेका मान्छेहरूले पद छोड्ने स्थिति आइसकेको छ । त्यसैले एक न एक दिन पर्दाफास हुन्छ नै ! नेपालको सन्दर्भमा पनि हिजोभन्दा आज केही हदसम्म सुधार भएको छ ।

सङ्क्रमणकालिन न्यायका नाममा जसरी गोलचक्करमा फसाएर द्वन्द्व पीडितको आँखामा छारो हालेर यो मुद्दाबाट बाहिर निस्किनुपर्‍यो, जिल्ला जिल्लामा फाइलहरू खुल्न थाले, अदालतबाट आदेशहरू आउन थाल्यो । त्राहिमाम परिस्थिति कल्पना गरिराख्दा द्वन्द्व पीडितहरूका अघिल्तिर भोलिका दिनमा अरू विकल्प त होलान्‌ नि त  ?

कोलम्बियादेखि लिएर दक्षिण अफ्रिकासम्मका द्वन्द्वलाई हेर्दा कति मान्छे मारिए/हराए भन्ने तथ्याङ्क छैन । हामीकहाँ दशकौंअघि नै द्वन्द्वहरू भए पनि वि.सं. २०६७ मा मानवअधिकार आयोग स्थापना भएको थियो ।

आयोगले पनि तथ्याङ्क सङ्कलन गर्दै थियो । त्यो बेला नै इन्सेकको एउटा प्रमुख काम नै घटनाहरूको डुकुमेन्टेसन गर्ने थियो । हामीले सबै जिल्लाबाट घटनाहरूको विवरण लियौँ । त्यसपछि अरू पैरवी मञ्‍चहरू विस्तारै खुल्दै गए । उनीहरूले पनि तथ्याङ्कहरू राख्दैछन् ।

पछि नेपालमा संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायोग (ओएचसीएचआर) मिसन पनि आयो । उसले पनि विभिन्न घटनाको विश्लेषण गरेको छ । त्यो डुकुमेन्टेसन पनि हामीसँग छ ।

अहिले उहाँहरूले मान्छे मरेर गएपछि घटना त सकियो भनेर पनि सोच्नुभएको होला । तर त्यो व्यक्ति रहे पनि नरहे पनि घटना रेकर्ड भएको छ । त्यसको जवाफ त आज नभए पनि भोलि र भोलि नभए पनि पर्सि त दिनैपर्छ । त्यसैले अहिले उहाँहरूले यो सबै सोचेर होला- अलिकति ठाउँमा आउने प्रयास भएको छ । तर, त्यसमा सबै पर्याप्त त भएको छैन । थप सुधार आवश्यक छ ।

मेलमिलाप र क्षमादानमा पीडितको सहमति अनिवार्य गरिएको नै पहिलो ढोका खोलिसकेको हो । कतिपय कुरालाई नियोजित भनिएको छ । त्यो नियोजितको परिभाषा गर्नुपर्ने पनि हुन्छ । कानून मात्रै बनेर हुँदैन । हाम्रोमा राम्रो राम्रो कानून बन्छन्, तर त्यसको कार्यान्वयन कसरी हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हो । नेतृत्व कसरी अघि बढ्छ भन्नेमा पनि भर पर्छ । ‘मलाई दलले खटाएर आएको हुँ, यिनीहरूलाई बचाउनुपर्छ’ भनेर आयो भने त यसले पनि काम गर्दैन । दोस्रो चरणमा नेतृत्वको पनि कुरा छ, त्यसमा पनि चनाखो हुनुपर्छ ।

धेरै घटनाहरूका सन्दर्भमा अदालतबाट आदेश आएको र न्यायिक प्रक्रियाहरू अघि बढिरहेको पनि छ । यो त द्वन्द्वकालीन घटना हो, सामान्य अदालतमा लानुहुँदैन भनेर रोकेको अवस्था पनि छ । यी दुई प्रक्रिया कसरी अगाडी बढ्छन् होला ?

अदालतमा गइसकेकाको हकमा यो अनुसार काम गर्नुहोस् भनेर भन्न सक्छन् । पहिलेको कानूनमा अदालत गइसकेपछि पनि अदालतको अनुमति लिएर, जस्तो मानव अधिकार आयोगका केसहरू पनि अनुमति लिएर ल्याउन सकिने भन्ने थियो । त्यो स्वीकार्य पनि भएन ।

मुख्य ४ वटा बुँदा उहाँहरूले छोड्नुभएको थियो । त्यसमा कुरा नमिलेको हो । त्यो ४ वटै बूँदामा राजनीतिक दलहरू एउटा समझदारीमा पुगेका छन् । द्वन्द्वपीडितहरू र अरू मानवअधिकारकर्मीहरूको प्रतिक्रिया आउन बाँकी नै छ । मेरो विचारमा अघि बढ्नका लागि अब ढोका चाहिँ खुलेको छ ।

नियमित प्रक्रियामा गएका मुद्दाहरूको हकमा के हुन्छ ?

अदालती प्रक्रियामा निश्चित रूपमा उनीहरूले प्रमाण खोज्छन् होला । जाहेरी परेको छ । सत्य पत्ता लगाउने भनेको हरेक घटनाको सत्यतथ्य पत्ता लगाउने हो । त्यो घटना पनि दर्ज त होला नि ! त्यसपछि त अदालतले पनि यो के हो भनेर सोध्नुपर्छ र सोध्छ पनि ।

अदालतले हामी आयोगमा हुँदा पनि ‘यो केश के हो ?’ भनेर सोधेको थियो । हामीले पनि ‘अनुसन्धान यो हो र यहाँ पुग्यो’ भनेर भन्यौँ । त्यसरी सोध्दा न्यायनिरुपणमा अदालतलाई नै सजिलो पर्छ ।

अर्कातिर हाम्रो मुलुकी फौजदारी कार्यविधि संहितामा जवाफ प्रहरीकै हुनुपर्छ भन्ने खालको पनि छ । तर, यसमा कानून नै बनेकोले सत्य पत्ता लगाउने दायित्व भयो ।

मुद्दा दायर भएपछि अदालत आफ्नो नियमित प्रक्रियामा पनि जान सक्छ । यो पार्टीहरू बीचको समझदारी हो । तर, त्यो समझदारी भित्रबाट कानून बनाउँदा कसरी आउँछ- हेर्दै जानुपर्छ ।

‘म खाँदिन, मलाई चाहिँदैन’ भनेर त्यागेको मान्छे, अहिले पछिल्लो समयमा १८/२० जना राजदूतको लागि भनेर एउटा जुन चर्चा चलिराख्या छ- यो सन्दर्भमा केही टिप्पणी गर्नुहुन्छ ?

जुन प्रश्नहरू मैले उठाएको थिएँ- ती प्रश्नहरू अनुत्तरित नै छन्‌ । अहिले भर्खरै उच्च नेतृत्वको कुरा आएको छ । एक जना कृष्णमानको बारेमा कुरा आयो । त्यसको लागि उसको क्षमता के हो, कसरी आएको छ भनेर पनि हेर्नुपर्छ ।

यो पार्टी सिस्टम हो, त्यसैले आफ्नो मान्छे राजदूत बनाउन खोज्छन् । तर, सम्बन्धित ठाउँमा त्यो विषयको मान्छे पठाउँदा राम्रो हुन्छ भन्ने मेरो सोचाइ हो ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ५ : ३५ बजे

अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता

किमाथाङ्का – सङ्खुवासभाको चैनपुर नगरपालिका–११ खहरेस्थित अरुण नदीमा पूजा गर्ने

इराकमा भएको हवाई आक्रमणमा पाँच जना आइएस लडाकुको मृत्यु

एजेन्सी – इराकको उत्तरी प्रान्त किर्कुकमा गरिएको  हवाई आक्रमणमा इस्लामिक

काठमाडौँका विभिन्न ठाउँमा तीन जनाको शव भेटियो

काठमाडौं – काठमाडौँका विभिन्न क्षेत्रमा आजमात्रै तीन जना मृत भेटिएका

कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना, ३१ जना घाइते

दोधारा चादनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा यात्रुबाहक

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

एजेन्सी – गाजामा शनिबार भएको इजरायली हमलामा छ बालबालिकासहित १९