माओवादी अपहरण र दुई दुर्घटनामा बाँचेका क्याप्टेन अरुण शिवपुरीमा अस्ताए | Khabarhub Khabarhub

माओवादी अपहरण र दुई दुर्घटनामा बाँचेका क्याप्टेन अरुण शिवपुरीमा अस्ताए


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


50.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एअर डाइनेस्टीको नाइनएन-एजेडी एअरबस हेलिकप्टर दुर्घटना हुँदा बुधबार दिउँसो चार चिनियाँ पर्यटकसँगै क्याप्टेन अरुण मल्लले ज्यान गुमाए ।

नुवाकोटको शिवपुरी गाउँपालिका-७, सूर्यचौर जङ्गलमा भएको उक्त दुर्घटनामा रसुवाको स्याफ्रुबेँशीतर्फ जाँदै गरेको हेलिकप्टरमा सवार क्याप्टेन मल्लसहित पाँचै जनाको मृत्यु भएको हो ।

माओवादीद्वारा अपहरण

हेलिकोप्टर उडानमा निकै अनुभवी र पोख्त पाइलटका रूपमा चिनिएका मल्लले यसअघि नै पटकपटक मृत्युसँग साक्षात्कार गरेका थिए । एकपटक युद्धरत तत्कालीन नेकपा माओवादीको कब्जाबाट र दुईपटक हेलिकप्टर दुर्घटनाबाट उनी उम्किएका थिए ।

तत्कालीन विद्रोही माओवादीले वि.सं. २०५९ भदौ २४ गते सोलुखुम्बुको जुबुस्थित प्रहरी चौकीमा आक्रमण गर्दा क्याप्टेन मल्ल घाइतेको उद्दारमा खटिएका थिए । त्यतिखेर सञ्‍चालित कर्णाली एअरको मेडिभ्याक हेलिकप्टर उडाएर उनी जुबु पुगेका थिए ।

रसियाबाट हेलिकोप्टर उडान तालिम लिएका मल्लले माओवादी आक्रमणमा घाइते भएका चारजना बिरामीलाई उपचारका लागि काठमाडौं ल्याउन खोज्दै थिए । तर, तत्कालीन विद्रोही माओवादीले हेलिकप्टरमै आक्रमण गरे । आगो लगाउनुअघि माओवादीहरूले हेलिकप्टरबाट पाइलट र चारजना बिरामीलाई बाहिर निकालेका थिए ।

उनीहरूले पाइलट मल्ल र एक घाइतेलाई अपहरण गरेका थिए भने अन्य तीनलाई छाडिदिएका थिए । अपहरणमा परेको केही दिनपछि पाइलट मल्ललाई पनि माओवादीले कब्जाबाट मुक्त गरेका थिए ।

जोगिएका थिए दुई दुर्घटनामा

मल्लले दोस्रोपटक २०७० असोज १० गते बिहान ८ बजेर २० मिनेट जाँदा सोलुखुम्बुकै लुक्लामा मृत्युलाई पराजित गरेका थिए । दुई यात्रु लिएर तेञ्जिङ हिलारी विमानस्थलको हेलिप्याडमा ल्याण्ड गर्न खोज्दा मल्लले उडाएको हेलिकप्टर विमानस्थलको तारबारमा ठोक्किएको थियो ।

त्यतिखेर मल्लले डाइनेस्टी हेलिसर्भिसेसको नाइनएन–एइएक्स हेलिकप्टर उडाएका थिए । उक्त दुर्घटनामा दुई यात्रु घाइते भएका थिए भने क्याप्टेन अरुण र सोनाम छिरिङ शेर्पाको सकुशल उद्दार भएको थियो ।

क्याप्टेन मल्ल तेस्रोपटक २०७९ चैत २९ गते हवाई उडानकै क्रममा मृत्युमाथि हावी हुन सफल भएका थिए । आज नुवाकोट सूर्यचौरमा दुर्घटना भएकै हेलिकोप्टर त्यस दिन ह्याम्स अस्पतालको छतमा अवतरण क्रममा दुर्घटनामा परेको थियो ।

उक्त दिन क्याप्टेन मल्लले त्रिभुवन विमानस्थलबाट उडाएर ह्याम्स अस्पतालको छतमा हेलिकोप्टर अवतरण गराउँदै थिए । बिरामी लिन चितवन भरतपुरतर्फ जान चिकित्सक टोली लिन उनी अस्पतालको हेलिप्याडमा पुगेका थिए । तर अवतरण गर्न खोज्दा हेलिकप्टर ठोक्किएर टेल रोटर भाँचिएको थियो । उक्त दुर्घटनामा कसैलाई पनि चोटपटकभने लागेन ।

हेलिकप्टर उडानमा ३५ वर्ष लामो अनुभव भएका क्याप्टेन मल्लले बुधबार दिउँसो भएको दुर्घटनामा भने मृत्युलाई हराउन सकेनन्‌ । दुर्घटनामा क्याप्टेन मल्लसहित चिनियाँ पर्यटकहरू जुदाड टाङ (पुरुष), जिली (पुरुष), जेमिङ सी (पुरुष) / यियाद वु (महिला) ले ज्यान गुमाए ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ५ : ४३ बजे

खोजमूलक पत्रकारिता गर्नुपर्नेमा सञ्चारमन्त्रीको जोड

कास्की– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले खोजमूलक पत्रकारिता

अमेरिकाको सान डिएगोमा विमान दुर्घटना, पाइलटसहित ६ जनाको मृत्यु

एजेन्सी– अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो नगरमा बिहान बाक्लो कुहिरोबीच

किएभमा आक्रमणबीच रूस-युक्रेन कैदी आदान–प्रदान

एजेन्सी– युक्रेनको राजधानी किएभमा शनिबार भएको ड्रोन र मिसाइल आक्रमणमा

नेताहरूले गरेको योगदानलाई जनतासामु लैजान जरुरी : सभापति देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीका नेताहरूले

मुगुको विकट गाउँ पुलुमा ‘हेलिप्याड’

मुगु– यहाँको विकट क्षेत्र मानिने मुगूम कार्मारोङ्ग गाउँपालिकाको केन्द्र पुलुमा