आधुनिक जीवनशैली र खानपानका कारण विश्वभर शारीरिक तथा मानसिक रोगको प्रकोप बढ्दो छ। क्यान्सर, मुटुरोग, मिर्गौलाको रोग र विभिन्न मानसिक रोगबाट हुने मृत्यु दर हरेक वर्ष बढ्दो क्रममा छ। यी रोगको प्रमुख कारक मदिरा, लागूपदार्थ र सूर्तीजन्य पदार्थलाई मानिएको छ।
मदिरा सेवन कुनै समुदायको संस्कार हो, कुनै समुदायको लागि आधुनिकताको पहिचान हो भने युवा पुस्ताका लागि अरूभन्दा भिन्न देखिने फेसन वा चाहना हो। जेसुकै कारणले मदिरा सेवन गरे पनि उनीहरूलाई धेरै थोरै त्यसको शारीरिक वा मानसिक कु-प्रभावको बारेमा ज्ञान हुन्छ। तर पनि मान्छे जानीजानी यसको कुलतमा फसिरहेका छन्। यसले हाम्रो स्वास्थ्यमा मात्रै नभई सामाजिक रुपमै असर गरिरहेको छ। हाम्रो समाजमा हुने हत्या हिंसा, आत्महत्या, बलात्कार लगायतका घटनामा पनि मदिरा सेवन जोडिएको छ।
किशोरावस्थादेखि नै यसबारे जनचेतना जगाउन आवश्यक रहेको मनोचिकित्सक बताउँछन्। यदि यो कुलतमा लागिहाल्यो भने पनि समयमै उपचार गरे पूर्ण रुपमा निको पार्न सकिने भएकाले उपचार गर्न तर्फ लाग्न चिकित्सकको सुझाव छ।
लागू पदार्थ तथा मादक पदार्थ सेवन गर्नु पनि मानसिक समस्या हो ? मदिराले हाम्रो मानसिक स्वास्थ्यमा कसरी असर गर्छ ? मदिराकै कारणले देखिने मानसिक समस्या के के हुन् ? मादक पदार्थ सेवन समस्याको उपचार के हुनसक्छ ? यिनै विषयमा झापाको भद्रपुरमा रहेको ओम साई पाथीभरा अस्पतालमा कार्यरत टाउको, नसा, कुलत तथा मनोरोग विशेषज्ञ डा. सन्दर्भ अधिकारीसँग गरिएको कुराकानीः
मादक पदार्थ तथा अन्य लागू पदार्थ सेवन गर्नुलाई पनि मानसिक समस्याकै रुपमा हेर्न सकिन्छ। यसले मानसिक समस्यालाई बढावा दिने गरेको छ।
लागूपदार्थ तथा मादक पदार्थ सेवन गर्नु पनि मानसिक समस्या हो ?
मादक पदार्थ तथा अन्य लागू पदार्थ सेवन गर्नुलाई पनि मानसिक समस्याकै रुपमा हेर्न सकिन्छ। यसले मानसिक समस्यालाई बढावा दिने गरेको छ।
मदिराले हाम्रो मानसिक स्वास्थ्यमा कसरी असर गर्छ ?
हाम्रो मस्तिष्कमा नसा हुन्छन्। ती नसामा विभिन्न न्युरो केमिकल, न्युरो ट्रान्समिटर हुन्छन्। मदिराले तिनको गतिविधिमा तलमाथि गर्छ। जस्तै सेरेटोनिक, गाभा, लगायतका ट्रान्समिटरलाई बढाउने काम गर्छ भने कुनैलाई घटाउने काम गर्दछ। जसका कारण विभिन्न मानसिक समस्या देखा पर्दछन्।
मदिरा सेवन गरेको व्यक्तिको कस्तो अवस्थालाई मानसिक समस्या मान्ने ?
मदिरा सेवन गर्ने तरिका पनि व्यक्ति अनुसार फरक हुन्छ। कसैले जीवनमा एक-दुई पटक मात्रै खाएको होला, कसैले केही महिनाको फरकमा खान्छन्। त्यस्तोले खासै असर गर्दैन। तर जब मादक पदार्थ सेवनले व्यक्तिको चेतनामा, व्यवहारमा परिवर्तन आउन थाल्छ भने त्यसलाई मानसिक समस्या मानिन्छ। मदिराको प्रयोग ३ प्रकारले हुने गर्दछ।
जब मादक पदार्थ सेवनले व्यक्तिको चेतनामा, व्यवहारमा परिवर्तन आउन थाल्छ भने त्यसलाई मानसिक समस्या मानिन्छ।
नसा
भर्खर मदिरा सेवन गर्न सुरु गरेको र त्यसले गर्दा व्यवहारमा केही परिवर्तन आएको छ। जस्तै बोली लर्बरिने, रिंगटा लाग्ने, संवेदना शक्तिमा समस्या आउने, आँखा धमिलो देखिने, कसैकसैलाई मदिराको मात्रा धेरै भएर कोमामा समेत जाने हुनसक्छ।
हानी गर्ने गरी मदिराको प्रयोग
यो समस्या दैनिक पनि नखाने तर खाएपछि आफ्नो स्वास्थ्यलाई असर गर्ने गरेर खानेहरुमा हुन्छ। जुन शारीरिक पनि हुनसक्छ मानसिक पनि हुनसक्छ। शारीरिक समस्या कलेजोमा असर गर्ने, सुगर देखिने, मुटुमा समस्या देखिनसक्छ भने मानसिक समस्या पनि देखिनसक्छ। त्यस्तो अवस्थालाई हामफुल युज मानिन्छ।
लत
एडिक्सन अर्थात् लतका चार पाँच वटा क्राइटेरिया छन्। ती क्राइटेरियामध्ये ३ वटा मिल्यो भने पनि लत मानिन्छ।
जस्तै पहिलो तलतल लाग्ने-खाने बानीको सुरुवात हुन्छ। हरेक दिन त्यो समय भएपछि तलतल लाग्ने गर्दछ।
दोस्रो आफूलाई नियन्त्रण गर्न नसक्ने – जस्तै एक ग्लास खान्छु भनेर बस्ने खान थालिसकेपछि आफूलाई कन्ट्रोल गर्न नसक्ने अवस्था हुन्छ।
तेस्रो नियमित खाने बानी परेको छ भने कहिलेकाही नखाँदा शरीरमा विभिन्न समस्या देखिने जस्तै जिउँ काप्ने, चिटचिट पसिना आउने, निन्द्रा नलाग्ने लगायतका समस्याहरु देखिन सक्छन्।
मादक पदार्थ सेवनले आफूलाई हानी गरिरहेको छ भनेर थाहा पाउँदा पाउँदै पनि मदिरा सेवन गर्न छोड्दैन भने मानसिक समस्या सुरु भयो भनेर थाहा पाउन सकिन्छ।
चौथो टोलरेन्स – पहिले–पहिले एक ग्लास खाँदा मात्रै पनि लाग्थ्यो भने विस्तारै पचाउँदै गएपछि त्यतिले नपुग्न सक्छ।
पाचौं नेग्लेस – मादक पदार्थ सेवनलाई मात्रै प्राथमिकता दिने अरु आफ्नो जिम्मेवारीहरुलाई वास्ता नगर्ने अवस्थासम्म पुग्छन्।
मादक पदार्थ सेवनले आफूलाई हानी गरिरहेको छ भनेर थाहा पाउँदा पाउँदै पनि मदिरा सेवन गर्न छोड्दैन। यी विभिन्न कारणमध्ये तीन कारणमात्र देखिए भने पनि मानसिक समस्या सुरु भयो भनेर थाहा पाउन सकिन्छ।
पछिल्लो समय धेरैको घर झगडाको कारण बनेको मदिरा सेवनले अप्रिय घटना घटेका उदाहरण छन्। यो पनि मानसिक समस्या भएरै हुने हो या मदिराको असर मान्ने हो ?
मदिरा सेवनले हाम्रो शारीरिक र मानसिक स्वास्थ्यलाई मात्रै नभई हाम्रो कामकाजमा बाधा पुग्ने गर्छ। घरपरिवार तथा सामाजमा झैझगडा हुने, लगायत विभिन्न सामाजिक असर पर्ने गर्दछन्। ती सबै मदिराकै कारणले निम्त्याउने नकारात्मक असर हुन्।
मदिराकै कारणले देखिने मानसिक समस्या के के हुन् ?
सर्वप्रथम त मदिरा आफैमा एउटा मानसिक समस्या हो। मदिरा सेवनले निम्त्याउने समस्या सबैलाई मानसिक समस्या नै मानिन्छ। साथै यसले अरु मानसिक रोगलाई बढावा दिने काम गर्दछ।
मदक पदार्थ सेवन गर्ने व्यक्तिमा सँगसँगै अन्य पदार्थको पनि लत हुने गर्दछ। जस्तै चुरोट खैनी, गाँजा सेवन गर्ने यो यौटा समस्या हो भने मानसिक समस्या नै भन्नुपर्दा निम्न प्रकारका समस्या देखिन्छन्।
– पर्सनालिटी डिसअर्डर अर्थात व्यक्ति विकार-जसले समाजको नियम कानुन नमान्ने, म मात्रै सही हो अरु सबै गलत हुन् भन्ने भावना मनमा आउने हुन्छ।
-डिप्रेशन मादक पदार्थ सेवन गर्ने ३० देखि ४० प्रतिशत मान्छेमा डिप्रेशनको समस्या देखिने गरेको छ।
-एञ्जाइटी डिसअर्डर- डिप्रेशन भन्दा धेरै हाम्रो समुदायका एञ्जाइटी डिसअर्डरका बिरामी रहेका छन्। त्यसमध्ये २५ देखि ५० प्रतिशत मादक पदार्थ सेवन गर्ने रहेका छन्। त्यस्तै कसैलाई बिर्सिने रोग, निन्द्राको समस्या, यौनिक समस्या पनि देखिन सक्छन्। त्यो बाहेक मदिरा सेवन गर्ने व्यक्तिमा आत्महत्या गर्ने प्रवृत्ति पनि बढी रहेको छ।
आत्महत्या गर्ने व्यक्तिमध्ये १० देखि १५ प्रतिशत मादक पदार्थ सेवन गर्ने रहने विभिन्न अध्ययनमा पाइएको छ।
आत्महत्या गर्ने व्यक्तिमध्ये १० देखि १५ प्रतिशत मादक पदार्थ सेवन गर्ने रहने विभिन्न अध्ययनमा पाइएको छ।
मादक पदार्थ सेवन समस्याको उपचार के हुनसक्छ ?
मादक पदार्थ सेवन गर्नेका लागि पनि उपचार हुन्छ। यसको लागि अस्पतालमा भर्ना गरेरै उपचार गर्नुपर्ने हुन्छ। मादक पदार्थ सेवन गर्ने व्यक्तिको शरीरबाट विभिन्न औषधीको माध्यमबाट मादक पदार्थ निकालेर फालिन्छ। जसलाई डिडक्सीकेशन भनिन्छ। यो प्रक्रियाका लागि एक हप्तादेखि १० दिन लाग्नसक्छ।
यसका साथसाथै विभिन्न परामर्श जस्तै साइकोथेरापी र विभिन्न परामर्श सँगसँगै गरिन्छ। त्यसपछि बिरामीलाई डिस्चार्ज गर्ने बेलामा मादक पदार्थ खान मन नलाग्ने औषधी दिइन्छ । त्यो औषधी दिएर मादक पदार्थको तलतललाई मेटाउने काम हुन्छ।
मादक पदार्थको लत छुटाउन पारिवारिक सहयोग महत्त्वपूर्ण हुन्छ। उपचारपछि चिकित्सकको परामर्शमा निरन्तर रहेमा फेरि मादक पदार्थको लतमा पर्ने सम्भावना न्युन हुन्छ।
मादक पदार्थको लत छुटाउन पारिवारिक सहयोग महत्त्वपूर्ण हुन्छ। उपचारपछि चिकित्सकको परामर्शमा निरन्तर रहेमा फेरि मादक पदार्थको लतमा पर्ने सम्भावना न्युन हुन्छ।
मादक पदार्थ सेवन गर्नेहरु प्राय उपचारमा जानै चाहदैनन् भनिन्छ उनीहरुलाई उपचारका लागि कसरी तयार गर्ने त ?
मादक पदार्थ सेवनको लतमा लागेकाहरुको प्राथमिकता भने मदिरा सेवन मात्रै हुन्छ। अरु कुरामा उनीहरुको ध्यान नै हुँदैन। प्रयोगकर्ताले नै मादक पदार्थ सेवनलाई समस्याको रुपमा लिँदैनन भने उपचारमा ल्याउन गाह्रो हुन्छ।
त्यसैले यसको उपचार प्रयोगकर्ता आफैले बुझेर गरायो भने अझ प्रभावकारी हुन्छ।
अहिले मादक पदार्थ सेवनको समस्या लिएर कत्तिको बिरामी आउने गरेका छन् ?
मानसिक समस्या लिएर जति पनि बिरामी आउँछन् उनीहरुको हिष्ट्री हेर्दा मादक पदार्थ सेवन पहिलो प्राथमिकतामा राखिन्छ। किनकी मानसिक समस्याले मादक पदार्थको सेवनलाई बढावा दिन्छ भने मादक पदार्थको सेवनले मानसिक समस्यालाई बढावा दिने भएकाले यो बुझ्न जरुरी हुन्छ।
त्यस्तै कतिपय मादक पदार्थ सेवनकै कारण सिकिस्त भएर पनि आउने गर्दछन्। उनीहरुको पनि मानसिक समस्या केही छ कि त्यो हेरेर उपचार गर्ने गरिन्छ।
कतिपय समुदायमा परम्परागत रुपमै मदिराको सेवन गर्ने प्रचलन छ, स्वास्थ्यका हिसाबले पनि कहिलेकाहीँ खाँदा राम्रो नै हुन्छ भनिन्छ, यसमा कत्तिको सत्यता छ ?
पहले पहिले केही वर्ष अगाडि लिमिटमा खायो भने अथवा उदाहरणका लागि वाइन एक ग्लास नियमित खायो भने मुटुलाई राम्रो हुन्छ भनिन्थ्यो। तर अहिले विभिन्न अध्ययनबाट यो स्वास्थ्यका लागि राम्रो होइन भन्ने कुरा प्रमाणित भइसकेको छ। त्यसैले यसमा कुनै सत्यता छैन। जुनसुकै अल्कोहल पनि स्वास्थ्यका लागि हानिकारक नै मानिन्छ।
मदिरा सेवनबाट हुने मानसिक समस्याहरुबाट बच्न के गर्ने ?
मादक पदार्थ तथा लागूपदार्थ सेवनबाट हुने मानसिक समस्याबाट बच्नका लागि सर्वप्रथम त यसको प्रयोगबाट बच्नुपर्छ।
मादक पदार्थ तथा लागूपदार्थ सेवनबाट हुने मानसिक समस्याबाट बच्नका लागि सर्वप्रथम त यसको प्रयोगबाट बच्नुपर्छ।
किशोरकिशोरी अवस्थामा यसको सुरुवात हुने भएकाले पाठ्यक्रममा यसलाई समावेश गर्नुपर्यो। घरपरिवारले त्यो अवस्थामा आफ्ना छोराछोरीको बारेमा जानकारी राख्नुपर्यो। केही गरी यसको बानी परिहाल्यो भने पनि सुरुवाती अवस्थामै उपचारका लागि आउनुपर्छ। त्यसको परिणाम एकदमै राम्रो हुन्छ।
हामीकहाँ ब्राउन सुगर, गाँजा, मदिरा सेवन लगायत लागुपदार्थका धेरै केश आउने गर्दछन्। तीमध्ये लत नै लागेका केश आउँदा उपचार त्यति राम्रो हुँदैन। एकपटक खान छोडे पनि फेरी खान थालेका केशरहरु पनि छन्। त्यसैले सुरुवाती अवस्थामै उपचार गर्नु राम्रो हुन्छ।
प्रतिक्रिया