कसरी हुन्छ घुँडाको प्रत्यारोपण ? | Khabarhub Khabarhub

कसरी हुन्छ घुँडाको प्रत्यारोपण ?


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शरीरको सम्पूर्र्ण भार थेग्ने घुँडाको जोर्नीलाई शरीरको महत्त्वपूर्ण जोर्नी मानिन्छ। यो जोर्नीमा समस्या आउँदा हिँडडुल गर्न, उठ्न-बस्न नै समस्या आउने हुँदा शरीर चलायमान गर्न सकिँदैन। सामान्यतया ६० वर्षभन्दा माथि उमेर भएपछि हड्डी खिइँदै जाने समस्या हुन्छ। जुन जोर्नीमा आउने समस्याको मुख्य कारण हो। योसँगै टीबी रोग र दुर्घटनाका कारणसमेत जोर्नीमा समस्या आउनसक्छ। यस्तो समस्या आउँदा घुँडा प्रत्यारोपण उपचार पद्धति प्रभावकारी भइरहेको छ।

चिकित्सकका अनुसार घुँडाको जोर्नीमा सामान्य समस्या देखिने बित्तिकै उपचार गराउँदा प्रत्यारोपण गर्नुपर्ने अवस्था आउँदैन। त्यसैले घुँडाको जोर्नीमा सामान्य समस्या देखिने बित्तिकै उपचार गर्नुपर्ने चिकित्सकको सुझाव छ। घुँडा प्रत्यारोपणलाई हामीले कसरी बुझ्ने ? के कारणले हुन्छ घुँडा प्रत्यारोपण गर्नुपर्ने अवस्था ? बढ्दो उमेरसँगै घुँडा खिइएको कसरी थाहा पाउने, लक्षण कस्ता देखिन्छन् ? जोर्नी तथा घुँडा प्रत्यारोपणको अवस्था आउन नदिन के गर्ने ? यिनै विषयमा केन्द्रित भएर अर्थोपेडिक सर्जन डा. मनिसविक्रम शाहसँग गरिएको कुराकानी :

बढ्दो उमेरसँगै घुँडा खिइने समस्या हुन्छ। यस्ता बिरामीमा कृत्रिम घुँडा राख्ने प्रक्रिया नै घुँडा प्रत्यारोपण हो।

घुँडा प्रत्यारोपणलाई हामीले कसरी बुझ्ने ?
बढ्दो उमेरसँगै घुँडा खिइने समस्या हुन्छ। यस्ता बिरामीमा कृत्रिम घुँडा राख्ने प्रक्रिया नै घुँडा प्रत्यारोपण हो। सकेसम्म कम उमेरका व्यक्तिमा यो उपचार गरिँदैन। औषधी थेरापी लगायत विभिन्न उपचारबाट जोगाउने प्रयास हुन्छ। बिरामी कस्तो अवस्थामा अस्पताल आइपुग्छन् भन्नेमा यसको उपचार निर्भर हुन्छ। सुरुवाती अवस्थामा आयो भने प्रत्यारोपणको अवस्था आउँदैन अन्य उपचारबाटै निको हुन्छ। तर अन्तिम अवस्थामा आयो भने घुँडा प्रत्यारोपणको विकल्प हुँदैन।

के कारणले हुन्छ घुँडा प्रत्यारोपण गर्नुपर्ने अवस्था ?
यसको मुख्य कारण बढ्दो उमेरसँगै हड्डी खिइनु हो। त्यस्तै घुँडाको जोर्नीमा संक्रमण हुनु, टिबी लगायतका कारणले प्रत्यारोपण गर्नुपर्ने अवस्था आउँछ। नेपालमा दुर्घटना तथा टिबीका कारणले पनि धेरैलाई युवावस्थामै घुँडा प्रत्यारोपण गर्नुपर्ने अवस्था हुन्छ। सामान्यतया उमेरका हिसाबले हड्डी खिइएर प्रत्यारोपण गर्नुपर्ने अवस्था चाहिँ ५०, ५५, ६० वर्ष माथिका व्यक्तिमा गर्ने गरिन्छ।

कस्तो अवस्थामा उपचारका लागि आउँदा घुँडा फेर्नुपर्ने अवस्था आउँछ ?
घुँडाको जोर्नीको दुई वटा हड्डीको बिचमा एउटा कुरकुरे हड्डी हुन्छ। जसले घुँडाको हड्डी एक अर्कासँग ठोक्किन दिँदैन। त्यो खिइएर अर्थात् इन्फेक्सन भएर कामै नलाग्ने गरी बिग्रिएको अवस्थामा अस्पाताल आयो भने घुँडा फेर्नुपर्ने अवस्था आउँछ।

घुँडाको जोर्नीको दुई वटा हड्डीको बिचमा एउटा कुरकुरे हड्डी हुन्छ। त्यो खिइएर अर्थात् इन्फेक्सन भएर कामै नलाग्ने गरी बिग्रिएको अवस्थामा अस्पाताल आयो भने घुँडा फेर्नुपर्ने अवस्था आउँछ।

बढ्दो उमेरसँगै घुँडा खिइएको कसरी थाहा पाउने, लक्षण कस्ता देखिन्छन् ?
यदि बिरामीले उकालो ओरालो हिड्न गाह्रो हुन्छ , घुँडा दुख्छ भन्छ भने त्यो सुरुको संकेत हो। विस्तारै बसेर उठ्दा, पलेटी कसेर बस्दा घुँडा दुख्न थालेको छ भने घुँडा खिइएको हो कि भनेर शंका गर्न सकिन्छ।

घुँडा खिइएकाका लागि प्रत्यारोपण मात्रै विकल्प हो कि अन्य उपचार पनि गर्न सकिन्छ ?
बिरामी कुन अवस्थामा अस्पताल आइपुग्छन् त्यसमा भरपर्छ। हामीकहाँ आउने कतिपय बिरामी ८०/९० वर्षको उमेरमा घुँडा दुख्यो भनेर आउँछन्। तर हेर्दा केही समस्या देखिँदैन। कसैको फेरि घुँडा खिइसकेको हुन्छ र समस्या पनि देखिँदैन। त्यसैले बिरामीको अवस्था कस्तो छ दुखाई एकदमै धेरै भइरहेको छ, औषधी र सुइले पनि काम गरिरहेको छैन भने घुँडा फेर्नुपर्ने हुन्छ।

एक पटक घुँडा प्रत्यारोपण गरेपछि यसले कति समयसम्म काम गर्छ ?
६० वर्ष भन्दा कम उमेरको मान्छेमा सकेसम्म हामी घुँडा प्रत्यारोपण गर्न खोज्दैनौ। जति कम उमेरमा घुँडा प्रत्यारोपण गरिएको छ फेरि पनि गर्नुपर्ने अवस्था आउनसक्छ। एकपटक प्रत्यारोपण गरेको घुँडाले १० देखि २० वर्षसम्म काम गर्छ। फेर्ने मान्छेले कत्तिको स्याहार गरेको छ भन्नेमा भरपर्छ। कृत्रिम घुँडा भए पनि सामान्य क्रियाकलाप मान्छेले सजिलै गर्न सक्छ। तर भारी बोक्ने, उकालो ओरालो धेरै गर्न थाल्यो भने चाँडै फेर्नुपर्ने अवस्था पनि आउनसक्छ। कसैको बाचुञ्जेल चल्नसक्छ।

यसका जटिलता के के छन् ?
घुँडा प्रत्यारोपण गर्नुअगाडि धेरै कुरा हेरिन्छ। जस्तै बिरामी ८०/९० कटेको छ, मुटुको, किड्नीको, सुगर लगायत दीर्घरोगको उपचार गरिरहेको व्यक्तिमा हामीले प्रत्यारोपण गरेपनि रिजल्ट राम्रो हुँदैन। यदि बिरामी अन्य कुराबाट स्वस्थ छ भने सामान्य दैनिक क्रियाकलाप गरेर सामान्य जीवन जिउन सक्छन्।

यो कत्तिको खर्चिलो छ ?
हाडजोर्नीको उपचार आफैमा महँगो उपचार पद्धति हो। त्यसमा पनि घुँडा प्रत्यारोपण अझ महँगो मानिन्छ। सामान्य परिवारको मान्छेले यो उपचार गर्न गाह्रो नै पर्छ। यसको लागि सरकारले पनि केही सोचिदिए सबैले उपचार पाउँथे।

हाडजोर्नीको उपचार आफैमा महँगो उपचार पद्धति हो। त्यसमा पनि घुँडा प्रत्यारोपण अझ महँगो मानिन्छ। सामान्य परिवारको मान्छेले यो उपचार गर्न गाह्रो नै पर्छ।

नेपालमा घुँडा प्रत्यारोपण उपचार कत्तिको प्रभावकारी भइरहेको छ ?
नेपालमा घुँडा प्रत्यारोपणको उपचार सुरु भएको १० वर्ष जति भयो। सुरुवाती अवस्थामा विदेशी टिम आएर नेपालमा उपचार गर्ने गर्थे भने कतिपय बिरामी भारत लगायत अन्य मुलुकमा जाने गर्दथे।

अहिले चार पाँच वर्ष जति भयो नेपालमै घुँडा प्रत्यारोपण गराउनेको संख्या बढिरहेको छ। पहिले पहिले त प्रत्यारोपण गर्नै मान्दैनथे। तर अहिले प्रत्यारोपण गरेका केशमा पनि राम्रो परिणाम आउन थालेपछि जनचेतना फैलिएको छ।

जोर्नी तथा घुँडा प्रत्यारोपणको अवस्था आउन नदिन के गर्ने ?
घुँडा तथा जोर्नीमा सामान्य समस्या देखिने बित्तिकै सुरुवाती अवस्थामै उपचार गराउने, धेरै उकालो ओराले नहिँड्ने, जोर्नी बलियो बनाउने दैनिक अभ्यास गर्ने, समस्या देखिन थालेको छ भने यसको लागि राम्रो उपचार भनेको थेरापी हो। त्यसैले सुरुवातदेखि नै दैनिक अभ्यास तथा थेरापी गर्ने हो भने जोर्नी प्रत्यारोपण गर्नुपर्ने अवस्थाबाट बच्न सकिन्छ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ७ : १५ बजे

धितोपत्र बोर्ड अध्यक्षमा तीन जनाको नाम सिफारिस

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिका लागि सिफारिस

बुद्धको सन्देश विश्वभर फैलाउनु आवश्क छ : मन्त्री पाण्डे

भक्तपुर – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्धको

फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन

मनिला – फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय समुदायमा आइतबार भएको

मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा

पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि

इस्लामाबाद – पाकिस्तानमा आइतबार तीन जनामा पोलियोको सङ्क्रमण पुष्टि भएको