तस्बीर : एआई
करिब आठ वर्षको अन्तरालमा भलापलाई काठमाडौंमा भेटे । नक्सालस्थित तरकारी बजारमा उनी तरकारी छान्दै थिइन् । पातलो उनको शरीर केही मोटाएछ तर उनको गालाको डिम्पल जस्ताको त्यस्तै थियो । सिल्की कपाल पनि जस्ताको त्यस्तै थियो । बीचको दातमा थोरै ग्याप थियो, त्यो पनि जस्ताको त्यस्तै थियो ।
एसएलसी पास गरेर म काठमाडौं पढ्न आएँ । मेरो बसाइ होस्टलमा थियो । घरदेखि टाढा, परिवारबाट छुट्एिर बस्दाको पीडा अत्यासलाग्दो हुने । त्यसैबखत गाउँकी सखीसँगको जम्काभेटले हृदयमा खुशीको छाल आयो ।
उनलाई देखेर मलाई झम्टिएर अंगालो हालौं जस्तो भएको थियो, तर थोरै हच्किएँ ।
किनभने उनी विवाहित थिइन् । धेरै वर्ष अगाडि बिहे गरेर काठमाडौं आएकी थिइन् । उनको सम्पन्न परिवारमा बिहे भएको थियो । झ्याप्प अंगालो हाल्नु कतिपय अवस्थामा स्वभाविक नहोला भन्ने लाग्यो ।
तर, उनलाई देखेर मेरो शरीरमा रोम–रोम हर्ष दगुरिरहेको थियो । मैले मुस्कुराउँदै सोधें– भलाप सञ्चै छौ ?
उनले मलाई हेरिन् तर बोलिनन् ।
मैले फेरि सोधें, मलाई चिनिनौं ? म रमा ।
उनले याद गर्न खोजेजस्तो गरिन् तर ठ्म्याउन सकिनन् ।
सानै उमेरमा बिहे गरेर पारिवारिक बन्धनमा बाँधिएकी थिइन् । सायद पछिल्ला जिम्मेवारी निभाउँदा निभाउँदै उनले स्कुलकी साथी नै पो बिर्सिइन् कि ?
फेरि उनलाई सम्झाउने कोसिस गरें, म रमा पौडेल । तिम्रो स्कुले साथी ?
उनले फेरि पनि मलाई नचिनेको बताइन् । तर, मैले हार नखाई बाल्यकाल सम्झाइरहें । स्कुले साथी, बिर्सिए पनि उनले आफ्नो स्कुलको हेडमास्टरलाई पक्कै बिर्सिएकी छैनन् भन्ने लाग्यो ।
म हेडसर प्रकाशचन्द्र पौडेलकी छोरी के !
उनले टाउकोको इसाराले हेडसरलाई नचिनेको बताइन् । केही उपाय बाँकी नरहेपछि उनलाई मैले गाउँको नाम सम्झाएँ ।
तिम्रो माइतीघर शिवनगर होइन ?
यो सोधिरहदाँ मभित्रैबाट गलेजस्तो भइरहेकी थिएँ । उनले शिवनगर भन्ने गाउँको नाम आफूले कहिल्यै नसुनेको बताइन् ।
उनका जवाफहरुले मलाई भक्कानो फुटाउलाजस्तो भइरहेको थियो । मेरो अनुहार पिल–पिल हुन थालेको थियो । तर, आँसु नै देखाउन भएन भनेर पछाडि सरें ।
अलि पर पुगेर रोकिएँ । सम्हाल्दा–सम्हाल्दै आखाँबाट आँसु खस्यो । फेरि पछाडि फर्किएर हेरें । उनले पनि मलाई नै हेरिरहेकी थिइन् ।
उनी भलाप नै थिइन् । तर, किन आफ्नो गाउँ, स्कुले साथी, हेडसर सबैलाई निचनेर पनि चिन्दिनँ भनिन् ? मेरा आँखा फेल खालान् तर मेरो अन्तरआत्मा फेल खाएको छैन । उनी भलाप नै थिइन् र हुन् ।
आखिर उनले साथी चिन्न नचाहनुको कारण के थियो ? आफ्नो गाउँ, स्कुल र सर कसैलाई पनि चिन्न नचाहनुको कारण के थियो ? के कारण थियो होला बाल्यकालका दुई सखीबीचको यो खाडल बनाउने ? लामो समयपछि भेट हुदाँ चिनेर पनि अन्जान हुनुपर्ने ?
यो मनोविज्ञान बुझ्न पुनः एक पटक आठ वर्ष अगाडिको समयमा फर्किनुपर्छ ।
भलापको वास्तविक नाम पार्वती खड्का थियो । भलाप उनका बुबाआमाले राखिदिएको ‘निक नेम’ थियो । हामीले सबैले उनलाई भलाप नै बोलाउने गर्थ्यौ ।
उनको एक सम्पन्न परिवारमा जन्म भएको थियो । उनका बुवा ब्रिटिस आर्मीमा थिए । गाउँमा प्रशस्त जग्गा जमिन थियो । गाउँमा उनीहरुले उच्च धनी वर्गको प्रतिनिधित्व गर्थे । त्यतिबेला बोर्र्डिङ स्कुल थिएन । धनी र गरिब सबैका छोराछोरी पढ्ने स्कुल एकै थियो ।
कक्षामा उनी सबैभन्दा उमेरले ठुली उनी थिइन् । कक्षा पाँचमा हुँदा सम्भवतः १४ वर्षकी थिइन् । खेलकुद र अतिरिक्त क्रियाकलापमा राम्रै भए पनि पढाइ कमजोर थियो । अरु विद्यार्थीले झै बुझ्दिनथिन् र सरको पिटाइ भेटिराख्थिन् ।
उनले सधैं कक्षामा पिटाइ खाएको देखेर मलाई स्कुल नै नआएहुन्थ्यो जस्तो लाग्ने । उसको साटो आफूले पिटाइ खाइदिएर पनि नहुने ।
स्कुल र गाउँमै पनि सरहरुले माया लागेर पास गरिदिएको भन्दै कुरा काट्थे । बाबुले स्कुललाई जमिन दिएका थिए । बेलाबेलामा दान पनि गरिराख्थे । त्यसैको बदलामा हेडसरले(मेरा बुवा) ले उनलाई पास गर्दिएको भन्दै कुरा गर्थे । त्यो कति वास्तविकता थियो वा थिएन । तर, पनि उनलाई पढ्न आएन ।
उनीसँगै एक कक्षामा भर्ना भएका साथीहरु नौ कक्षामा पुगिसकेका थिए । उनी सधै फेल हुने गर्थिन् । कक्षा पाँचमा पढ्ने विद्यार्थी नाम बाहेक लेख्न नसक्ने, नेपालीमा शुद्ध पढ्न र लेख्न आउँदैनथ्यो ।
उनलाई पढ्न मनै थिएन, बुवाआमाको करले स्कुल आउँथिन् । स्कुलमा पनि उनलाई पढ्न नजानेकै कारणले साथीहरुले हेप्ने गर्थे । स्कुल अवधिभर निन्यारो अनुहार पार्दै बस्थिन् । उनको अनुहारमा खुसी भनेको खेल्ने समयमा मात्रै हुन्थ्यो । कक्षामा सोधेको कुरा त जानिएन, उनी होमवर्क पनि गरेर आउँदिनथिन् । किनकि उनलाई आउँदैनथ्यो ।
उनले दिनदिनै पिटाइ खाएको देखेर मैले होमवर्क गर्दिन थालेँ । कम्तिमा होमवर्क नगरेकै कारणले पिटाइ नखाओस् भन्ने मेरो उद्देश्य थियो ।
मलाई अरुले जस्तो उनलाई कहिल्यै हेप्न मन लागेन । कसैलाई पढ्न आउछ, कसैलाई आउँदैन । पढाइमा कमजोर हुँदैमा किन हेप्नु जस्तो लाग्थ्यो । त्यही भएर पनि हामी निकै मिल्ने साथी भएका थियौं ।
भलापले मलाई निकै माया गर्थिन् । उमेरले पनि ठुली भएर होला, कहिले साथी कहिले बहिनीलाई जस्तो गर्थिन् । हामी एक अर्काको खाजा बाडेर खान्थ्यौं । उनले कहिलेकाँही पैसा पनि लिएर आउँथिन्, हामी दोकानमा गएर मिठाई र चुइगम खान्थ्यौं । स्कुलमा चुइगम खाएको पाएमा, सरहरुले पिट्नुहुन्थ्यो । हामीले लुकेर खान्थ्यौं अनि सरको र अरु साथीहरुको कुरा पनि काट्थ्यौं ।
कहिलेकाँही भलापले आफ्नै बुवाआमा र दाइको पनि कुरा काट्थिन् । बुवा धेरै छुचो भएको बताउँथिन् । दाइले सुर्ती खान सिक्दैछ भन्थिन् ।
उनी पनि बदमासी गर्नमा एक नम्बर थिइन् । घरबाट पैसा चोर्ने गरेको पनि सुनाउँथिन् । पढ्न नपरे जीवन कत्ति रमाइलो हुन्थ्यो भन्थिन् । पढाइका कारणले उनको बाल्यकाल तहसनहस भएको थियो ।
मैले उनलाई पढ्न धेरै दुःख छैन भनेर सम्झाइरहन्थें । छोरी मान्छेले एसएलसी पास गर्नुपर्छ भनेर सम्झाइरहन्थें । एसएलसी पास गरेकाले जागिर पाउँछ भनेर सुनेकी थिएँ । एसएलसीसम्म जसरी पनि पढ्नपर्छ भनेर सम्झाइरहन्थें । आफ्नो ज्ञानले भ्याएजति उनलाई सिकाइरहन्थे ।
वैशाखको महिना थियो । तराईमा टन्टलापुर घाम थियो । नाङगो आँखाले सूर्यको किरण हेर्नै नसकिने थियो । बाहिर गर्मी त्यस्तै थियो ।
तिनदिनदेखि भलाप स्कुल नआएर तनाव भइरह्यो । बिरामी भई कि ? के भयो ? कतै जान्छु भनेर सुनाएकी पनि थिइन । अचानक स्कुल आउन छाडी ।
मनमा विभिन्न तर्कना खेलाइहेकी थिएँ, भलापको बिहे तय भयो भन्ने स्कुलमा हल्ला चल्न थाल्यो । उनको बिहेको कुराले मलाई साह्रै खुसी लाग्यो । गाउँमा अब पञ्चेबाजा सुन्न पाइने भयो । भोज हुने भयो । बिहेमा धेरै रमाइलो हुने भयो ।
पढ्न नआए पनि भलाप साह्रै भायमानी थिई । बुवाले आफ्नै क्याम्पको साथीको छोरासँग बिहे गरिदिन लागेका थिए । उनीहरु काठमाडौंका थिए ।
गाउँकी, सामान्य लेखपढ भएकी केटीको काठमाडौंको सम्पन्न परिवारमा बिहे हुनु चानचुन थिए । गाउँमा त्यत्तिको धनीको परिवारमा आजसम्म कुनै केटीको बिहे भएको थिएन ।
बिहेमा दुलहीलाई आएको कपडा र गहना देखेर गाउँलेहरु चकित खाएका थिए । सबैले लाहुरेको छोरी भाग्यमानी रहिछे भने ।
शहरबाट आएका जन्तीहरु छुँदै दाग लाग्ला जस्ता थिए । कति सफा र सुन्दर मानिसहरु थिए । शहर भनेको सुख हो, सयल हो भनेर उनीहरुका गहना र लुगाले झल्काइरहेका थिए । अब त हाम्री भलाप पनि यस्तै हुन्छे । ओ हो अब भलाप भन्न हुँदैन, अबदेखि पार्वती भनेर बोलाउनुपर्छ ।
तीन गाउँलाई भोज खुवाएर भलाप परिवार र गाउँ छोडेर कर्मघर लागिन् । उनी बिदाइमा रोएको देखेर एक छेउ बसेर म आफंै पनि रोइरहेकी थिएँ । अब स्कुलमा एक्लै हुने भएँ भन्ने पिरले पनि सतायो ।
उनी गाउँ शून्य पारेर गइन् । स्कुल सुन्य पारेर गइन् । सबैभन्दा धेरै उनी मलाई एक्लो बनाएर गइन् ।
बिहे भएको एक महिनातिर उनी दुल्हन फर्काउन माइती आइन् । गाउँ प्रवेश गरेसँगै उनी आएको खबर फैलियो । म पनि दर्गुदै हेर्न गएँ । गाउँलेहरुलाई उनले हात हल्लाइन् । उमेरअनुसार कसैलाई नमस्कार गरिन् । उनी एक हिरोइन अथवा सेलिब्रेटी जस्ती देखिएकी थिइन् । म घर अगाडि आँगनमा उभिएको थिएँ । उनी मलाई पनि हात हल्लाउँदै अगाडि बढिन् ।
दुल्हन फर्काएर गएपछि भलाप गाउँ फर्केर कहिल्यै आइनन् । बिहे भएको करिब डेढ वर्षमा उनी आफ्नो पतिलाई छोडेर कुनै एक ड्राइभरसँग भागेको हल्ला फैलियो ।
रानीको जस्तो जीवनशैली छोडेर के देखेर पोइल गएकी ? ब्रिटिस आर्मीको एक्लो छोरा छोडेर कसरी ड्राइभरसँग गएकी ? लाहुरेको छोराको त्यत्रो सम्पत्ति किन पचेन ? किन बुद्धि बिगारेकी ? यस्तै–यस्तै आरोप–प्रत्यारोप गाउँमा थियो ।
लाहुरेको छोरासँग के थिएन ? ड्राइभरसँग के थियो ? त्यो उनले मात्र जान्दन्थिन् । अरुले त अनुमान लगाउने हो ।
गाउँलेहरुले कुरा काटेर उनका बुवाआमा गाउँमा बस्न सकेनन् । बिहे गरेर अन्माएकी छोरीले ज्वाइँलाई छाडेर ड्राइभरसँग हिँडेको कुराले उनीहरुले पनि आफूलाई सम्हाल्न सकेनन् ।
बुवाले क्याममा सम्धीसँग आँखा जुधाउन नसकेको कुरा गर्थे रे । छोरीले नाक काटी भनेर रुन्थे रे ।
केही समयपछि उनीहरुले गाउँको बसै सम्पत्ति बेचेर उनीहरु बेलायत पलायन भए ।
उनी ड्राइभरसँग हिँडेपछि र उनका अभिभावकले गाउँ नै छोडेपछि यो किस्सा सकिएको थियो । उनीहरुलाई सबैले बिर्सिएका थिए ।
तर, भलाप मेरो हृदयमा रहिरहेकी थिइन् ।
प्रतिक्रिया