गोसाईंकुण्डमा जनैपूर्णिमा मेलाअघि पहिलो पटक पुग्यो बिजुली | Khabarhub Khabarhub

गोसाईंकुण्डमा जनैपूर्णिमा मेलाअघि पहिलो पटक पुग्यो बिजुली


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाईंकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले समुद्र सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाईंकुण्डमा शुक्रबार ग्रिडको विद्युत् पुर्‍याएको छ । बत्ती पुगेसँगै गोसाईंकुण्ड क्षेत्र झिलिमिली भएको छ ।

धार्मिक एवम् पर्यटकीय गन्तव्य गोसाईंकुण्डमा जनैपूर्णिमा दिन लाग्ने मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याइएको हो । अहिलेसम्म गोसाईंकुण्ड क्षेत्र र त्यहाँ पुग्ने पैदल बाटोमा पर्ने केही स्थानका पर्यटन व्यवसायीले सौर्य ऊर्जाबाट विद्युत् प्रयोग गरिरहेका थिए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत गोसाईंकुण्डमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याइएको बताए ।

कार्यकारी निर्देशक घिसिङले भने, ‘प्राधिकरणमा जागिर सुरुगर्नासाथ मैले प्यूठानस्थिति धार्मिक एवम् पर्यटकीय स्थल स्वर्गद्धारीमा विद्युत् पुर्‍याएको थिएँ, अहिले देशलाई पूर्ण रूपमा उज्यालो बनाउने अभियानअन्तर्गत पूर्ण विद्युतीकरणको अन्तिम यात्रामा सुस्ता, गोसाईंकुण्ड,अन्नपूर्ण आधार शिविर, माथिल्लो मुस्ताङ, विभिन्न ठाउँमा रहेका गुम्बा, मस्जिद, मन्दिर जस्ता धार्मिक, पर्यटकीय एवम् ऐतिहासिक क्षेत्रमा राष्ट्रिय ग्रिडको विद्युत् पुर्‍याइरहेका छौँ ।’

रसुवाको सदरमुकामबाट गोसाईंकुण्डतर्फ जाने बाटोमा पर्ने चन्दनबारीसम्म यसअघि नै राष्ट्रिय ग्रिड पुगेको थियो । चन्दनबारीबाट करिब ८ किलोमिटर ११ केभी लाइन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै गोसाईंकुण्डमा पुर्‍याइएको छ । यसका लागि निकुञ्जसँगको समन्वयमा २ सय वटा पोल राखिएका छन् । पोल, ट्रान्सफर्मरलगायतका उपकरणहरू मानिस र खच्चडले ढुवानी गरिएको थियो ।
गोसाईंकुण्डमा विद्युत् आपूर्तिका लागि १५ केभिए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरिएको छ ।

वर्खायाम सकिएर मौसममा सुधार आउनासाथ ५० केभिएको ट्रान्सफर्मर राखिने छ । वर्खाका कारण ठूलो क्षमताको ट्रान्सफर्मर ढुवानी गर्न नसकेपछि हाललाई बुद्धमन्दिर र गुसाईकुण्डमा १५/१५ केभीए क्षमताका ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको प्राधिकरण धुन्चे वितरण केन्द्र प्रमुख सञ्जिव भट्टराईले बताए ।

भट्टराईले गोसाईंकुण्ड जाने बाटोमा पर्ने जोलाङपाटी, लौरीबिना र बुद्धमन्दिरमा ५०/५० केभीएको वितरण ट्रान्सफर्मर राखिने बताए । जोलाङपाटी र लौरीबिनामा केही होटलहरु सञ्चालित छन् । मेलाका यात्रुहरूलाई लक्षित गरी त्यस क्षेत्रमा छाप्राहरू बन्ने गरेका छन् ।

गोसाईंकुण्डमा विद्युत् पुर्‍याउन गत वर्षको असोजमा ठेक्का सम्झौता भएको थियो । उक्त कार्यको अनुमानित लागत करिब ३ करोड रुपैयाँ रहेको छ ।

 

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  १२ : २३ बजे

सभामुख घिमिरेले दिए बडादसैँको शुभकामना

काठमाडौं– सभामुख देवराज घिमिरेले बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका

दसैँमा तेह्र लाख मानिस उपत्यकाबाट बाहिरिए

काठमाडौ‌ं– एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन्

बैतडीका निङ्गलाशैनी र उदयदेव मन्दिरमा राँगा बोकाको बलिसहित जात्रा

काठमाडौं – बैतडीको निङ्गलाशैनी भगवती र उदयदेव मन्दिरमा जात्राको रौनक

अन्नपूर्ण क्षेत्रमा पर्यटक सूचना केन्द्र स्थापना

कास्की – अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ टुसेमा पर्यटन

प्रधानन्यायाधीश राउत क्वालालम्पुरमा

 काठमाडौं– प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि यही असोज २८ गतेसम्म